arrow

मालढुङ्गा-बेनी सडक दैनिक चार घण्टा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
Maldhunga-beni sadak.jpg
फाइल तस्वीर

पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नति भइरहेको मालढुङ्गा-बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले दैनिक चार घण्टा बन्द गर्न लागिएको कालीगण्डकी करिडोर बेनी-जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

निर्माणको कामलाई सहजरूपमा गति दिन असार ३२ गतेसम्म दैनिक चार घण्टा सवारी साधन चलाउन बन्द गर्ने निर्णय भएको प्रजापतिले जानकारी दिए । आयोजना कार्यालयले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गर्ने जनाएको छ ।

सवारी-साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजनाले प्रशासनको अनुमतिमा सडक बन्द गर्ने सूचना जारी गरेको हो । तेह्र किलोमिटर दूरीको उक्त सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । सवारी आवत-जावत बन्द गरिएको अवधिमा सवारीसाधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजीकरणका लागि पर्वत, म्याग्दी, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने भएको छ ।

एम्बुलेन्स र बिरामी बोकेका सवारी-साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने छ । मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले वर्षायाम शुरु भए पनि सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताए ।

कुश्मा नगरपालिका-१ स्थित मालढुङ्गाबाट जलजला गाउँपालिका-८, ७, ४ र ३ हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको आयोजनाले जनाएको छ । मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल पक्कीसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो । 

विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरु गरिएको उक्त सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । पछिल्लो समय सडक जीर्ण थियो । पहिरा तथा बाढीका कारण बेला बेलामा यातायात सेवा प्रभावित हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ