arrow

कठै झाँक्री दिदीका ती बलिन्द्र आँसु ! 

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ असार १३ सोमबार
rajendra-panthi-article-38.jpg

नेकपा एकीकृत समाजवादीकी सचिव एवं निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको मन्त्रालयमा भएको बिदाई कार्यक्रममा उनी अत्यन्तै भावुक मुद्रामा बलिन्द्र आँसुसहित उपस्थित भएकी थिइन् । उनका ती झरेका आँशुको सङ्केत के होला ? मन्त्री झाँक्रीको त्यो भावुकता, रोदन, आक्रोश र व्यङ्ग्य  जनताको सेवा गर्न नपाएकोमा पक्कै होइन होला ।

उनका ती आँसु जबर्जस्त मन्त्री पद खोसिएकोमा आएका थिए भनेर सजिलै अनुमान गर्न सकिन्छ । नेकपा एसभित्रको मन्त्री हेरफेरको विवाद छताछुल्ल बाहिर आएकै हुनाले नेपालको मन्त्री पद भनेको बाँडीचुँडी खाने पद हो भन्ने कुरा संविधानमा नलेखे पनि बुझिएकै छ । जोगी बन्न राजनीति गर्नुपर्छ भन्ने होइन । राजनीति गरेर मन्त्री, प्रधानमन्त्री बन्नुपर्छ । तर दुनियाँलाई रुन्चे स्वर सुनाएर, जनताका अगाडि कठै वा बिचरा बनेर मन्त्री बन्नुको कुनै तुक छैन । 

आठ महिना बीस दिन मन्त्रालय सम्हाल्दा जनतालाई के दिइयो त्यो महत्वपूर्ण कुरा हो । यहाँ झाँक्रीले फुमन्तरका आधारमा विकासले आकाशै छुनु पर्ने थियो भन्न खोजेको होइन । उनी मन्त्री भएको अनुभूति जनतालाई हुनुपर्दथ्यो । मन्त्रीको बिदाइमा जनता रुनुपर्दथ्यो र बल्ल सुहाउँथ्यो । 

कमरेड झाँक्रीलाई अरुलाई जस्तै काम गर्दै थिएँ वा काम गर्न दिएनन् भनेर सुख पाउने अवस्था छैन । यी स्वरहरू सुन्दासुन्दा वाक्कदिक्क भइएको छ । पार्टीको जिम्मेवार नेताले कसैलाई दोष दिएर उम्कने ठाउँ छैन । जनताको मन्त्री भनेर वाहीवाही गर्न पाए पो मज्जा । 
मन्त्रीको बिदाइमा जनताहरू डाँको छोडेर रोएको दृश्य पो दृश्य । मन्त्रालयभित्र मन्त्री पद खोसियो वा गयो भनेर आँसुको खोलो बगाएर भावुकताको नाटक वा नौटंकी देखाएर रुनुको खासै औचित्य देखिएन ।

आज नेपाली जनता रोग, भोक र शोकले ग्रसित भई चिच्याइ चिच्याइ आँसुको खोलो बगाउँदा जनताका आँशु नदेख्ने झाँक्रीका आँसु जनताले देख्नु पर्ने कुनै बाध्यता छैन । सरकारले जनतालाई राहत दिन आठ महिना भनेको थोरै समय होइन । रामकुमारीबाट नेपाली जनताले धेरै आश गरेका थिए । 

वर्तमान सरकारले मन्त्रीमण्डलको विस्तार गर्दा आशालाग्दो अनुहारमध्ये रामकुमारी अग्रपङ्तिमा देखिएकी थिइन् । तर यो आठ महिनामा उनले गरेका राम्रा काम भनेर औंला भाँच्ने अवसर पाइएन । बहुदलीय प्रजातन्त्रको स्थापनादेखि गणतन्त्रको आन्दोलनसम्म रामकुमारीको योगदान प्रशंसायोग्य र सम्माननीय नै छ । 

गुल्मीको दुर्गम गाउँ मदानेको म्यालपोखरीमा जन्मेकी एउटी महिला विद्यार्थी आन्दोलनको नेतृत्व गरी आन्दोलनलाई नयाँ उचाइमा पुर्याइ अनेरास्ववियूको अध्यक्ष भएर गणतान्त्रिक आन्दोलनमा टाउको फुटाएर रगतको खोलो बगाएको इतिहासमा लेखिएको कसैले मेट्न भने सक्दैन । 

यति लामो सङ्घर्ष गरेर आएकी रामकुमारी झाँक्री मन्त्री बन्दा कुनै प्रश्न उठाउने ठाउँ चाहिँ थिएन । तर पदमा बहाली भएको केही महिना नहुँदै धेरै प्रश्न उठ्न शुरु भएका थिए । आन्दोलनको नेतृत्व गरेको कारण र युवाको आशाको रुपमा चिनिएकी हुनाले अरु जस्तै भएर रामकुमारीलाई उम्कने ठाउँ थिएन । 

रामकुमारी मन्त्री भएपछि आफ्नो मन्त्रालय मात्र होइन सिङ्गो दूषित संरचना सुधार्न उनले के के प्रयत्न गरिन् त्यो फेहरिस्त एकएक सुनाउने आँट उनले गर्नुपर्छ । शहरी विकास मन्त्रालयमा आठ महिना बीस दिनको मन्त्री रामकुमारी झाँक्री हुनु भन्दा उनी भिन्न केही भइन् र ? रामकुमारी झाँक्री भनेर भूतपूर्व मन्त्रीको सूचीमा नाम दर्ज गर्नु बाहेक उल्लेखनीय उपलब्धि के के भए ? त्यो जनताले थाहा पाउनुपर्छ र कामको विश्लेषण र मूल्यांकन गर्नुपर्छ ।

झाँक्री नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ नाम होइन । युवा पुस्ताको प्रतिनिधित्व गर्ने सशक्त र प्रष्ट वक्ता भनेर चिनिएकी नेतृ हुन् । उनी सरकारमा गएर विकास र समृद्धिको सवालमा आँधीहुरी ल्याउनु पर्ने थियो । तर उस्तैको निरन्तरता मात्रै देखियो । 

उनी आन्दोलन र विचारमा प्रष्ट छु भन्दाभन्दै पनि एमालेको गुट र उपगुटको राजनीतिबाट अलग रहन सकिनन् । राजनीतिको उचाइको यात्रामा २०५४ मा एक ठक्कर खाएकी झाँक्री फेरि अर्को राम्रो ठक्कर खान पुगेकी थिइन् । अब यो मन्त्रीबाट बिदा हुँदा तेस्रो ठक्कर खाने सम्भावना पनि देखिँदै छ । लामो सङ्घर्ष गरेर निर्माण र बलियो बनाएको पार्टी फुटालेर पुनः अर्को पार्टी निर्माणको प्रक्रिया पूरा हुँदा नहुँदै त्यसभित्र पनि विभाजनको सङ्केत देखिनु एउटा इतिहास नै बनाउन खोजेकी राजनीतिकर्मीको लागि दुःखद कुरा हो । 

जब सिद्धान्त र नीति बिना नै एमाले र माओवादीबीच एकता भयो त्यतिबेलादेखि नै झाँक्रीलाई पार्टीमा स्थान नदिइ काम गर्न नदिएकोमा उनका थुप्रै आक्रोश र आँसु सुनिएका र देखिएका थिए । राजनीति गर्ने मान्छेलाई निष्क्रिय बनाइएकोमा पार्टीभित्र विद्रोह गर्दागर्दै यतिसम्म पुग्यो कि एक अर्कालाई निषेध गर्ने अवस्थामा पुग्यो र अन्ततः पार्टी फुट्यो ।

रामकुमारीको विगतको राजनैतिक आन्दोलनप्रति प्रश्न उठाउने ठाउँ छैन । तर आन्तरिक पार्टीको किचलोप्रति उनको विद्रोहको स्वरको शैलीमा कत्ति पनि राजनैतिक चेत र संस्कार पाइएन । आजीवन राजनीति गर्ने भनेर होमिएको नेतामा राजनैतिक चेत र संस्कार पनि अनिवार्य चाहिन्छ । उनका केही टेलिभिजनका टक शोमा र जनसभामा बोलिएका भाषणमा अति नै तुच्छता प्रकट गरिएका थिए ।

अनेरास्ववियूको पूर्व अध्यक्ष, पार्टीको जिम्मेवार तहमा बसेको व्यक्तिले बोल्ने भाषा, शैली र कार्य कस्तो हुनुपर्छ भन्ने कुराले धेरै महत्वपूर्ण प्रभाव पार्छ । नेता भनेको सार्वजनिक व्यक्ति हो । उसका धेरै कुराहरूले समाजलाई प्रभाव पारेको हुन्छ । सामाजिक भएको हुनाले समाजको चासो हुन्छ । 

एमाले पार्टी फुट्नु, अध्यक्ष केपी शर्मा ओलीको विरोधको ज्वाराभाटाको ताण्डव प्रदर्शन गरिनु नै झाँक्रीको मन्त्रीमा प्रवेश हुनु पनि थियो । यहाँ झाँक्री मन्त्री हुने मान्छे होइन भन्न खोजेको पटक्कै होइन । मन्त्री हुँदा उल्लेखनीय काम केही नगर्ने अनि मन्त्री छोड्दा जनताका अगाडि बलिन्द्र आँसु देखाउनु नौटंकी मात्र हो भन्न खोजिएको हो । 

नेपाली जनतालाई रामकुमारी मन्त्री बनेपछि केही न केही परिवर्तन हुन्छ कि भन्ने आशा थियोे । तर त्यो निराशामा परिणत भयो । यही मन्त्री पद बिदाइसँँगै झरेका आँसुसरि उनको राजनीतिक यात्रा कतै उँधो बग्ने त होइन ?

हुनत कुनै बेला टेलिभिजनको एउटा टक शोमा जनतालाई भात पकाइदिने काम हाम्रो हो र ? भनेर आक्रोश व्यक्त गरेकी थिइन् । नेता भएपछि जनतालाई भात मात्र पकाइ दिने होइन पर्यो भने सरसफाइ पनि गरिदिनुपर्छ । 

राजनीति भनेको नितान्त सामाजिक सेवा हो । यो कमाउने पेशा होइन । कमरेड झाँक्रीका आँसु धेरै पटक देखिए तर तिनमा जनताको पीडा बगेको देखिएन ।

पार्टीको आन्तरिक कलह, पार्टीबाट विद्रोह गर्नुको पीडा, गुट र उपगुट झगडा तथा जबर्जस्त मन्त्री पद खोसिँदाको रोदन मात्र उनका आँसुमा देखियो । उनका आँसुमा पूर्व मेचीदेखि पश्चिम महाकालीका नेपाली जनताको पीडा र व्यथा बग्नु पर्ने थियो ।

विगतमा आफू सरकार बाहिर हुँदा आम जनतालाई सडकमा ल्याइ आन्दोलन गर्न लगाइएका घटना जनताले आज बिर्सेका छैनन् । हिजोका रत्नपार्कमा दैनिकजसो गरिने चाहे मूल्य वृद्धि विरुद्धका आन्दोलन हुन् वा महिला हिंसा विरुद्धका आन्दोलन नै किन नहोउन् जनताले पुलिसका लाठी खाएका र टाउको फुटालेका बिर्सेका छैनन् ।

त्यसको अग्रपङ्तिमा रामकुमारी झाँक्री थिइन् । आज तिनै रामकुमारी झाँक्री सरकारको एउटा शक्तिशाली मन्त्री बन्दा जनताले के पाए ? उही वा त्यही मूल्यवृद्धि, महङ्गी, भोक, रोग, शोक र हिंसा । अब रामकुमारीको नेतृत्व त्यो आन्दोलनको माग र उनी मन्त्री हुँदाका उपलब्धिका बीचमा राम्ररी विश्लेषण गर्नुपर्ने देखिन्छ ।

उनले भनेजस्तै जनताका घरघरमा पुगेर भात पकाइ दिनुपर्छ भनेको होइन । तर परे पकाइदिनुपर्छ पनि । रामकुमारी वा यस्तै रामकुमारहरू सरकारमा जाँदा नेपाली जनताको अवस्थामा कुनै परिवर्तन हुँदैन भने फेरि रामकुमारी वा रामकुमारहरूले किन राजनीति गर्ने ?

अहिले नै रामकुमारीका आँसु देखेर उनलाई सहानुभूति दिने ठाउँ छैन । कुनै बेला गरेको योगदान हो भनेर सधैं नेपाली जनतालाई ऋणी बनाउनु हुँदैन । उनको हिजोको योगदानको कदर गर्दै जनताले नेता बनाए । सांसद बनाए र मन्त्री पनि बनाए ।

यहाँ रामकुमारी व्यक्ति विशेषलाई मात्र भन्न खोजिएको होइन उनले नै बारम्बार प्रयोग गर्ने शब्द प्रवृत्तिलाई भन्न खोजिएको हो । नेपाली युवा पुस्ताहरूले कहिले रामकुमारी झाँक्री मन्त्री बन्लिन् र हामीले रोजगारका लागि बाहिर जान नपर्ला भनेका थिए । तर उनका ती आँसुमा युवाका संवेदना बगेनन् । बगे त केबल कुर्सी छोड्नु र मन्त्री पदको जागिर छोड्नुको पीडा मात्र । 

कठै ! दिदी यही र यस्तै अवस्थामा ती आँसु पुछ्न सकिएन । जहिले हजुरका आँखामा जनताका आँसु आउलान् त्यसैदिन पुछौंला । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा बस्छन्) 



नयाँ