- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको संविधान अनुसार संघीय र प्रादेशिक सांसदको लागि आवधिक निर्वाचनको मिति नजिकिदै छ । पार्टीहरू चुनावको लागि तात्न लागेका छन् । देशमा संघीय सांसदहरू मध्येबाट नै देशको कार्यकारी प्रमुख प्रधानमन्त्री चुनिने हुनाले अबको ४१ औं प्रधानमन्त्री को बन्लान् भन्ने कुरामा जनमानसमा जिज्ञासा र कौतूहलता देखिन्छ । तर दलहरू आधिकारिक रुपमा नबोले पनि उनै पुराना नेताकै नाम लिएको सुनिँदा जनमानसमा खिन्नताको महसुस पनि पाइन्छ ।
अब राजनीतिक दलहरू आधिकारिक रुपमा नाम नै लिएर निर्वाचनमा जानुपर्छ । देशको प्रधानमन्त्री भनेको देशको मूल नायक भएको हुनाले जनताले निर्वाचन पूर्व नै थाहा पाउनुपर्छ । निर्वाचन अघि नै प्रस्तावित प्रधानमन्त्रीका देश विकासका योजना र उद्देश्य जनताले नै थाहा पाउनुपर्छ । दलहरूले निर्वाचनपछि गुटबाट वा टीके प्रणालीबाट प्रधानमन्त्री बनाउने परम्परालाई अन्त्य गर्नुपर्छ । सबै पार्टीभित्र आन्तरिक लोकतन्त्रको विकास गरिनुपर्छ ।
राजनीतिक दलहरूले हाम्रो पार्टीले अवसर पाएमा अबको प्रधानमन्त्री यो हुनेछ भनेर बोल्न सक्नुपर्छ र सम्बन्धित व्यक्तिलाई अघि सारेर जनतासँग मत माग्ने हिम्मत गर्नुपर्छ । अबको प्रधानमन्त्री पनि ऊ र उस्तै बनाउने होइन । पुरानालाई स–सम्मान बिदा गरी नयाँलाई अवसर दिनुपर्छ । अहिले नै दलहरूले एउटा महत्वपूर्ण निर्णयमा पुग्नुपर्ने देखिन्छ । अहिले दलहरूप्रति के कस्तो जनआक्रोश र वितृष्णा देखिएको छ भन्ने कुरा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामबाट सिक्नु पर्ने देखिन्छ ।
जनताले अब दलमात्र हेरेर भोट दिने अवस्था पनि छैन । त्यसकारण दलले हाम्रो होइन राम्रो उम्मेदवार र पुराना जाँचिएर असफल भएका ऊ र उस्तै होइन अर्कै नयाँ व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा उठाउनु पर्छ । नेपालको राजनीतिमा विकृत ज्यादा भयो । दलहरूलाई पुरस्कार र दण्ड दिने भनेकै आवधिक निर्वाचन हो । अब आँखा चिम्लेर फेरि पनि ऊ र उस्तै पार्टी वा व्यक्तिलाई कदापि भोट दिनु हुँदैन । जनताहरू दलहरूबाट वाक्कदिक्क भएका छन् । यस्तो हुँदा पनि नसच्चिए नेपालका दलहरू इतिहासको पानामा मात्र सीमित हुनुपर्छ ।
नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगनकुमार थापाले अबको प्रधानमन्त्री आफूलाई बनाउन प्रस्ताव र आग्रह गरेका छन् । आम नेपाली जनताले अबको प्रधानमन्त्री नयाँ र युवा हुनुपर्छ भनिरहँदा गगन थापाले आफै मुख खोलेर बोलेको हुँदा यो उद्घोषलाई पक्कै पनि बहसमा ल्याउनु पर्ने पनि देखिन्छ ।
कांग्रेस भित्रैबाट सहमत र असहमत आवाजहरू आइरहेका छन् । गगन थापा स्वयं आफूले आफैंलाई नेपाली कांग्रेस भित्रको विपक्षी दलको समूहको नेताको रुपमा चिनाएका पनि छन् । कांग्रेस भित्रको अन्तर्कलह र गुटबन्दी झाङ्गिदै गएको हुनाले गगनलाई सबैले सहजै पत्याउने र साथ दिने अवस्था भने छैन । कांग्रेस नेतृत्वले नै गगनलाई कांग्रेसभित्रको कम्युनिष्ट भनेर आरोप लगाउँछ ।
देशमा सुशासन, समृद्धि र नयाँ आयाम ल्याउन यतिबेला कांग्रेसले गहन तरिकाले सोच्नु पर्ने देखिन्छ । यतिबेला कांग्रेस आफू बलियो हुनुभन्दा गठबन्धनलाई बलियो बनाउन लागेको देखिन्छ । कांग्रेसभित्रको अन्तर्कलहको निरन्तरताले कांग्रेस पत्यारिलो र बलियो हुन सक्दैन । अहिले कांग्रेस पार्टीभित्र आमूल परिवर्तनको आवश्यकता देखिन्छ । यही तरिकाले पार्टी बलियो त हुँदैन भने लोकतन्त्र पनि झन् कमजोर हुँदै जान्छ ।
गगन थापा नेपाली कांग्रेसको महामन्त्री भएको हुँदा उनको पनि गुटको नेतृत्व गर्नतिर होइन सिङ्गो पार्टी एकजुट बनाउनतिर लाग्नुपर्छ । पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा बसेर अब सभापति देउवा वा कुनै व्यक्ति विशेषलाई दोष लगाएर उम्कने र भाग्ने ठाउँ छैन । गगन थापा कांग्रेसको महामन्त्री बन्न सक्नुपर्छ नकि कुनै गुटको नेतामात्र । उनी कांग्रेसलाई एक ढिक्का बनाएर अरु पार्टीलाई साथ र विश्वास दिलाई अबको निर्वाचनपछि देशको प्रधानमन्त्री बन्ने हिम्मत राख्न सक्नुपर्छ । अब कांग्रेसमा देउवा होइन, गगनले नेतृत्व गर्नुपर्छ ।
अहिलेसम्म युवा पुस्ताबाट गगन थापा बाहेक अरुको नाम आएको सुनिएको छैन । कम्युनिष्टहरूमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा म प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने सामर्थ्य र हैसियत पनि कसैमा देखिँदैन । तत्काल सम्भावना पनि छैन । अहिले एमाले र माओवादी भनेका ओली र प्रचण्डका निजी कम्पनी जस्ता भएका छन् ।
कोही बोलिहाल्यो भने पनि उसको राजनीति नै सिद्धिन्छ । ओली र प्रचण्डको ज्यूहजुरी गरेर टीके प्रणालीबाट धेरैले पद प्राप्त गरेको हुनाले उनीहरू आफू चाहुन्जेल अरुलाई बोल्न पनि दिँदैनन् । यस्तो अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा, ओली, प्रचण्ड या यस्तै पात्रलाई रोक्ने उपायको एक मात्र विकल्प अहिले गगन थापा नै देखिएका छन् ।
दलका कार्यकर्ताहरू सधैभरि पार्टीको अन्धभक्त र पुच्छर बनेर हिँड्दा नेपालका प्रायः राजनीतिक पार्टीहरू कुनै खास व्यक्तिका निजी कम्पनीजस्ता बनाइएका छन् । नेपाली राजनीतिमा देखिएको यो पार्टी बनाउने र चलाउने विकृत संस्कारलाई चिर्नुपर्छ । नेतृत्वमा भित्रिएको टीके प्रणालीको विरोध गर्नुपर्छ । पार्टीहरूलाई लोकतान्त्रिक बनाउनुपर्छ । नयाँ नेपाल बनाउने हाम्रो सपनालाई साकार पार्न अब पार्टीभित्र आलोचना र विद्रोह गरिनुपर्छ । देशको नेतृत्व गर्नको लागि अहिलेका मुख्य राजनीतिक दलका नेतृत्व असक्षम सावित भए ।
यिनीहरूलाई हामी धेरै पटक हेर्यौँ । संविधान अनुसार प्रधानमन्त्री प्रत्यक्ष जनताद्वारा चुनिने पद्धति नभएकाले नेपाली कांग्रेसले कुनै गनगन नगरी अबको देशको प्रधानमन्त्रीमा गगनलाई अगाडि सार्नु पर्दछ । जे कुरा सोच्नु पर्छ वा छलफल गर्नुपर्छ त्यो निर्वाचन अघि अहिले नै सोच्नुपर्छ । कुनै एउटा व्यक्तिको नेतृत्व र भिजनले देश रुपान्तरणमा महत्वपूर्ण भूमिका हुन्छ । आँखामा पट्टी बाँधेर पार्टीले जसलाई उठाए पनि भोट दिने परिपाटीले जो कोही पनि जनप्रतिनिधि बनेर सांसद र मन्त्रीको गरिमा नै लुट्ने काम भएको विगतमा देखिएको छ ।
सत्ताको भागबन्डाले नेपालको नम्बर एक कुख्यात अपराधी भनेर आरोप लागेका व्यक्ति मन्त्री बन्न पुगेको अवस्था छ । यस्तो परिस्थितिमा नेपालका दलहरू पनि अब सच्चिनु पर्छ । अझै पनि होशमा नआइ उही पुरानै आफ्ना र भरौटेलाई पैसासित टिकट साट्न हुँदैन । हामी बारम्बार पुस्ता हस्तान्तरण र रुपान्तरणको कुरा गरिरहँदा उनै र उस्तैको पछाडि लागेर अब पनि समय व्यतित गर्नु हुँदैन ।
नेपाली कांग्रेस पनि गुट र उपगुटमा नलागी कुनै कुराको शङ्कोच नगरी आगामी निर्वाचनमा प्रधानमन्त्रीको रुपमा गगन थापालाई अघि सार्नुपर्ने देखिन्छ । पार्टीका आन्तरिक कलहलाई एकातिर पन्छाइ नेपाली कांग्रेस एकजुट भएर लाग्ने हो भने गगन थापा प्रधानमन्त्री बन्ने प्रशस्त सम्भावना छ ।
व्यवस्था परिवर्तन तर अवस्था उस्तै
आधुनिक नेपालको निर्माण भएपछि पनि परिवर्तनका नाममा नेपाली राजनीतिमा धेरै उथल पुथल भए । पछिल्लो चरणमा प्रजातन्त्रको पुनः बहाली भएको करिब बत्तीस वर्ष बितिसक्दा देशमा आशालाग्दो र उल्लेखनीय उपलब्धि केही हुन सकेको छैन । व्यवस्था परिवर्तनले जनताको अवस्था परिवर्तन हुन सकेन । नेपाली जनतालाई धेरै पटक झुक्याइयो । अब पनि नेपाली जनताहरूले हामी झुक्कियौं भनेर धर पाउने अवस्था छैन ।
अब कति झुक्किने ? समय धेरै ढिलो भइसकेको छ । अब गुट वा पार्टी वा देश के बचाउने भनेर गहन निर्णय गर्नुपर्छ । विगतका निर्वाचन र सरकारबाट शिक्षा ग्रहण गरी आँखा चिम्लेर एक पटक त हो भनेर फेरि अक्षम्य गल्ती गर्नु हुँदैन । हामी पुरानो दल वा हामी नयाँ दल वा हामीलाई तिनले काम गर्न दिएनन् भनेर अनेक बहाना बनाइ भोट माग्न आउनेलाई उनीहरूको विगतको दुराचारी र भ्रष्टाचारी प्रवृत्तिलाई आलोचना र खण्डन गरी ओठे जवाफ दिनुपर्छ ।
अब यो पुरानो वा नयाँ पार्टी भनेर त्यसैको पुच्छर समातेर बैतरणी तर्न सकिने अवस्था छैन । एक झिल्को त गएको स्थानीय निर्वाचनमा आइसकेकोले अब आउने निर्वाचनमा मुस्लोसहितको झट्का ल्याउनु पर्छ ।
पछिल्लो समयको नेपालको राजनैतिक परिवर्तन र देश विकासको रुपरेखालाई नियाल्दा २०४६ सालको परिवर्तनपछि केही वर्ष नेपाली कांग्रेसको एकलौटी शासन चल्यो । सत्ता र शक्तिको मातले सांसदको किनबेच हुँदै कांग्रेसमा गुट उपगुट भइ पार्टी नै फुट्यो र अन्ततः शेरबहादुर देउवाले शासन सत्ता नै राजालाई बुझाएको इतिहास छ ।
उनी पाँचौं पटक प्रधानमन्त्री हुँदा पनि अझै ज्योतिषीलाई चिना हेराउँदै छ्न् । कम्युनिष्टको सरकार हेर्दा मनमोहन अधिकारीको नौ महिने छोटो कार्यकालमा केही प्रचारमुखी र प्रसादमुखी काम भए तर ती कामले निरन्तरता पाउन सकेनन् । जनयुद्धको समयमा नेपालले सामाजिक र आर्थिक लगायतका ठूलो क्षति व्यहोर्नु पर्यो ।
संविधान निर्माणको नाममा आठ वर्ष बिते । देशको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक कुनै उपलब्धि हुन सकेन । राजनीतिलाई माग्ने र ठगी खाने भाडो बनाउँदा देशमा विकृति र विसंगतिले जरो गाड्दा केही सीमित वर्ग र नेताले प्रजातन्त्र र लोकतन्त्रको नाममा ब्रम्हलुट गर्दै बत्तीस वर्ष बिते ।
अझै गरिब, दीनदुःखी, अशिक्षित जनतालाई गुमराहमा पारी देशलाई लुटिएको अवस्था छ । आज नेपालको राजनीति लाजनीतिमा परिणत भएको छ । राज्यको हरेक अङ्गमा फोहरी राजनीतिको दुर्गन्ध फैलिएको छ । कुनै पनि अङ्ग चुस्त र दुरुस्त छैनन् । कानूनको कार्यान्वयन सम्बन्धित निकायले गराउन नसक्दा देश अस्तव्यस्त भएको छ र जिम्मेवार दलहरूको अनुत्तरदायी र असक्षमताले पनि नेपाली जनताहरू आजित भएका छन् ।
देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । नेपालको मौलिक खानेकुरा गुन्द्रुकसमेत आयात गर्नुपर्ने अवस्था छ भने देश कुन अवस्थामा पुगेको छ आफैं अनुमान गर्न सकिन्छ । यस्तो अवस्थासम्म पुर्याउने वर्तमान नेतृत्वदायी पंक्तिलाई फेर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता हो ।
२०७२ सालमा नयाँ सङ्घीय गणतन्त्रात्मक संविधान आएपछि पनि जनताका कुनै समस्या सम्बोधन हुन सकेनन् । कम्युनिष्टले दुई तिहाई मत लिएर पनि आन्तरिक कलहले संविधानलाई च्यातचुत पारी व्यवस्थाकै अन्त्य गर्न लागेको परिस्थिति देखियो । अन्तत पुनः देशलाई नै बन्धक बनाइ झन् दलहरू सत्ताको लुछाचुडीमा चुर्लुम्म डुबे ।
विश्वव्यापी फैलिएको कोरोनाको महामारीमा समेत दलहरू एकजुट भइ जनतालाई राहत दिने कार्यमा जुट्न सकेनन् । नेपाली राजनीतिलाई दुर्गन्धित बनाइ यसैको आडमा दलका नेता र कार्यकर्ता पालिने परिपाटीको निरन्तरताले भ्रष्टाचारले जरो गाडिरह्यो । राजनीतिको आडमा भ्रष्टाचारको जरो मौलाएका कारण राज्यका सबै अङ्गहरू झन् दुर्गन्धित हुँदै गएका छन् ।
आज देशका प्रशासनिक, शैक्षिक, न्यायिक जस्ता प्रमुख निकाय अस्तव्यस्त छन् । कुनै पनि वर्षको बजेटले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र उद्योग स्थापना गर्ने जस्ता पूँजीगत काम हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुन लायक कुनै उपलब्धि छैन । अहिले पनि करिब १७ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेका छन् ।
दैनिक २५ सय युवा विदेशिएका छन् । आन्तरिक उत्पादन घढ्दो छ भने विदेशी अनुदान घढ्दो र ऋण बढ्दो छ । वर्षांैदेखि अर्थतन्त्रका कुनै पनि सूचकहरू सकारात्मक छैनन् । दुर्गन्धित राजनीतिको भूमरीमा नेपालको अर्थतन्त्र फसेको छ । देशको विकास र समृद्धिको लागि राजनीतिक दलहरूमा विश्वास, सहमति र सहकार्य हुन सक्दैन । नेपाली जनतामा निराशा छाएको छ ।
लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । जे सुकै भए पनि निर्वाचनको प्रक्रिया र परिणामलाई स्वीकार्नुको विकल्प केही छैन । लोकतन्त्रमा फेरि पनि यिनै दल वा प्रतिनिधिलाई रोज्नुको विकल्प छैन । विकल्पमा सर्वोपयुक्त विकल्प रोज्नु पर्ने हुँदा अब नजिक आइरहेको निर्वाचनमा वितृष्णा बोकेर होइन आशावादी भइ गगनको नेतृत्वलाई हेर्नु पर्ने देखिन्छ ।
राजनीतिक इतिहासमा सकभर कुनै दाग नलागेको वा कम दाग लागेको व्यक्ति हेर्दा गगन उपयुक्त पात्र बन्न सक्छन् । कसैको अन्धभक्त भएर भजन गाइनु पनि हुँदैन भने विरोधको लागि भए नभएका दुनियाँ आरोप लगाएर नेतृत्व हुनबाट बन्चित गरिनु पनि हुँदैन । अब हामीले कुनै गुट र पार्टीलाई महत्व नदिइ देशलाई महत्व दिनुपर्ने अवस्था छ ।
गगन नै किन ?
गगन थापा नेपाली राजनीतिमा नयाँ नाम होइन । गगन योग्यता, उमेर, विचार, अनुभव परिपक्वता, क्षमता, योगदान, सोच र विकल्प आदि हरेक दृष्टिकोणले प्रधानमन्त्रीको लागि योग्य छन् जस्तो लाग्छ । प्रधानमन्त्री भनेको देशको नेतृत्व र देशलाई अग्रगतिमा डोहोर्याउने मुख्य नायक नै हो । देशले एउटा राम्रो नेतृत्व पाउन सकेमा देशका आमूल परिवर्तनका ढोकाहरू खोलिन्छ्न् ।
प्रधानमन्त्रीमा जोश, जाँगर दृढ सङ्कल्प, सपना र योजना हुनुपर्छ । राज्य सञ्चालनको मुटु भनेको प्रधानमन्त्री हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझेको र बुझ्न सक्ने क्षमतावान व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकियो भने नेपाली जनताले केही सुखको सास फेर्न सक्छन् । अहिलेको समसामयिक राजनीतिक परिवेशलाई नियाल्दा देश र जनताको विकास र समृद्धिको लागि निष्ठावान र जनउत्तरदायी बन्न सक्ने विश्वासलायक पात्र भनेको गगन नै देखिन्छन् ।
नेपालका दल र यिनै नेताबाट विकल्प रोज्नु पर्ने अवस्था भएकोले एउटा आशाको त्यान्द्रो उनमा देखिन्छ । अब नेपाली जनताले एक कदम अगाडि बढेर उही मेरै दल वा उही मेरो मान्छे हो भनी लहलहैमा आफ्नो मतलाई खेर फाल्नु हुँदैन । दलको दृष्टिले पनि नेपालको प्रजातन्त्र स्थापनाको महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस र नेतृत्वको दृष्टिकोणले पनि नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापनादेखि अहिलेसम्म निरन्तर लोकतन्त्रको रक्षाको लागि लडिरहेको युवापुस्ताको आशावादी नेता गगन थापा हुन् ।
गगन थापाको नेपाली राजनीतिक इतिहासमा व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षाका लागि तुलनात्मक रुपमा महत्वपूर्ण योगदान रहेको देखिन्छ । गगन थापा आफ्नो दलमा मात्र नभएर आम नेपाली जनताका बीचमा लोकप्रिय नेताको रुपमा स्थापित छन् । गगन थापाले छोटो समय स्वास्थ्य मन्त्री भएर केही लोकप्रिय कामहरू पनि गरेका थिए ।
उनले केही तत्काल गर्न सकिने र केही दीर्घकालीन नीतिगत, कानूनी र संस्थागत संरचनाका सुधारात्मक कार्यहरूको थालनी गरेका थिए । उनकै कार्यकालमा राष्ट्रिय स्वास्थ्य बिमा विधेयक आएको थियो र त्यो अहिले कार्यान्वयनको चरणमा छ ।
गगनको राजनीतिक यात्रा
गगन थापाको राजनीतिक पृष्ठभूमि हेर्दा २०४६ को राजनीतिक परिवर्तन पछि पनि उनी लगातार नेपाली राजनीतिमा अग्रपङ्तिमा जोडिएको नाम हो । २०३३ सालमा काठमाडौंमा जन्मिएका गगन २०४६ सालमा कक्षा नौ मै पढ्दा राजनीतिमा जोडिएको देखिन्छ ।
२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववीयू सदस्य,२०५३ मा सचिव र २०५५ मा सभापति भएका थिए । गगन थापा २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र २०५९ मा महामन्त्री भएका थिए । त्यसैबेला गगन थापाले गणतन्त्रको मुद्दा बोकेको भनेर तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले सभापति बनाउन चाहेनन् भन्ने चर्चा पनि चलेको सुनिन्थ्यो ।
२०६२–०६३ को आन्दोलनमा प्रखर वक्ता भइ नेतृत्व गरेका गगन थापा विद्यार्थी आन्दोलनका क्रममा पनि पटक पटक हिरासत र जेलमा पनि बसेका थिए । उनी २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए भने दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट सभासद्मा निर्वाचित भएका थिए । गगन थापा २०७३ सालमा छोटो समयका लागि स्वास्थ्य मन्त्री बनेका थिए र अहिले उनी काठमाडौं ४ का सांसद छन् ।
समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका गगन थापा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मत लिएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धामा पराजित भएका थिए भने गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा अत्यन्तै लोकप्रिय मतसहित नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका थिए ।
गगनको शुद्धताप्रति प्रश्न
नेपाली राजनीतिलाई नै ठगी र मागी खाने भाँडो बनाइएको हुनाले कुनै पनि दलभित्र दूधले नै नुहाएको शुद्ध नेता पाउन गाह्रो छ । हामीले यिनै दलहरूबाट रोज्नु पर्ने हुनाले तुलनात्मक रुपमा कम अशुद्ध रोज्नुको विकल्प छैन ।
नेपालका प्रायः नेताहरू कहिँ र कतैबाट हिलो छ्यापिएका छन् । गगन थापामाथि पनि थुप्रै प्रश्न उठाइएका छन् । अब उनी बिग्रिएका छन् भने सच्याउने मौका दिनुपर्छ र उनी सच्चिनु पर्छ । विरोधी वा आफ्नो गुटको होइन भनेर कसैमाथि एकोहोरो बिना आधार आक्षेप लगाउनु पनि हुँदैन । स्ववीयू सभापति हुँदादेखि लिएर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउनुन्जेलसम्म उनीमाथि धेरै भ्रष्टाचार र राष्ट्रघातका आरोप लागेका छन् ।
खासगरी गगन थापा स्वास्थ्यमन्त्री हुँदा उपकुलपति नियुक्तिमा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ भने बाख्रा पाल्ने भनेर सरकारी अनुदान लिएको आरोप पनि छ । गगन थापालाई पछिल्लो पटक संसदमा एमसीसी पास गराउने अमेरिकी डलरबाट पालिएको एजेन्ट भन्ने आरोप लागेको पनि सुनिन्छ । यी आरोपहरुको प्रमाण भने अहिलेसम्म कसैले पेश गर्न सकेको छैन ।
यी कति सत्य वा निराधार हुन् समयले प्रमाणित गर्दै जाला । त्यसो त यी प्रश्नको उत्तर गगनले पटक पटक जनताका अगाडि दिइसकेका छन् । जसले आरोप लगाए त्यसको खण्डन गरेर प्रमाण पेश गर्ने हैसियत नराखेकाले पनि उनको भनाइमा दम भएको स्पष्ट हुन्छ ।
गगन पूर्ण शुद्ध छन् भनेर आँखा चिम्लेर प्रशंसा गर्न खोजिएको पनि हैन । मात्र विकल्पमा र तुलनात्मक रुपमा अहिलेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको लागि उपयुक्त पात्र उनै हुन् भन्न खोजिएको मात्र हो । गगन थापा एउटा सार्वजनिक व्यक्ति भएको हुनाले उनको यो उद्घोष, योगदान र चरित्रलाई बहसमा ल्याउनु पर्छ ।
युवाको चाहना र वीपीको समाजवादको सपना
नेपाली कांग्रेसभित्र गुटबन्दीको गनगनले गर्दा महामन्त्री गगनले साथ पाउन धेरै गाह्रो त छ । अहिले पनि गगन कांग्रेसको महामन्त्री नभएर शेखर कोइराला समूहको मात्र महामन्त्री भएको आरोप संस्थापन पक्षले लगाएको छ । यसमा पनि गगनले स्पष्ट जवाफ दिइसकेका छन् । संस्थापनले निर्वाचित महामन्त्रीलाई जानकारी नै नदिइ विभिन्न निर्णय गरेको भएकाले त्यसको विरोध गरिएको उनको स्पष्ट भनाइ छ ।
सायद कम्युनिष्टमा यति भइदिएको भए पार्टी फुट्थ्यो र सत्तोसराप गर्दै हिँड्थे । तर कांग्रेस कसरी जोडिएको छ त्यो रहस्यात्मक छ । पार्टीभित्र बहस हुन्छ, आलोचना हुन्छ । त्यसले पार्टी नै फुट्ने भन्ने कमै हुने गरेको छ । बरु इतिहासका पाना पल्टाउने हो भने अहिलेका सभापति नै पार्टी फुटाउन उद्दत नेता हुन् ।
अब नेपाली कांग्रेस जस्तो पुरानो पार्टी सधैंभरि गुट र उपगुटमा अल्झिएर बस्नु हुँदैन । आम नेपाली युवा पुस्ताको चाहना, देशको आवश्यकता र कांग्रेसको मूलमन्त्र वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सपनालाई पनि साकार पार्न नेपाली कांग्रेस एकजुट भइ कम्युनिष्टहरूलाई पनि साथ लिई पार्टीको महामन्त्री गगन थापालाई अबको नेपालको ४१ औं प्रधानमन्त्री बनाउनुपर्छ । (लेखक अमेरिकाको भर्जिनियामा बस्छन्)