arrow

इन्धन नसकियोस् बालेनको डोजरमा

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ भदौ १८ शनिबार
rajendra-panthi-article-50.jpg

अहिले काठमाडौंका मेयर वालेन्द्र साह (बालेन) ले अनधिकृत र अवैध रुपमा बनाइएका संरचना भत्काउँदा सम्पत्ति मालिकहरू आक्रोशित हुँदै उनलाई गालीगलौज गर्दै दोष लगाउँदै छन् । राजनीतिक पार्टीहरू आउँदै गरेको चुनावको लागि केही मसला बनिहाल्छ कि भनेर मेयर बालेनको अभियानलाई असफल बनाउने प्रयत्न गर्न लागेको देखिन्छ । 

वर्षौंसम्म जनतालाई केबल भोट बैंकमात्र बनाएका राजनीतिक दलले बालेनलाई विपक्षी बनाएर गाली गर्दा काठमाडौंका जनताबाट केही सहानुभूति र सद्भाव पाइहालिन्छ कि भन्नेमा पनि छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यिनै  राजनीतिक दलहरूबाट वाक्कदिक्क भएर मतदाताले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनलाई जिताएका थिए । स्थानीय निर्वाचनमा लौरो  चुनाव चिन्ह लिएर उठेका बालेन आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठकी पत्नी सिर्जना श्रेष्ठले भन्दा २३,४२६ भोट बढी लिएर विजयी भएका थिए । 

कांग्रेस र एमालेले काठमाडौं महानगरलाई आफ्नो गढ भनेर दाबी गर्छन् । यस्तो ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्दा यी राजनीतिक दलहरूलाई बसिखानु पक्कै भएको छैन । अब मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा पनि कतै जनताले फेरि नाङ्गेझार त पार्ने होइनन् भनेर दलहरू त्रसित छन् । आफ्नो कमजोरी र असफलतालाई स्वीकार गर्न नसकी उल्टै मेयरप्रति आक्रोश पोखेको पनि सुनिन्छ । काठमाडौं महानगरपालिका केबल देशका अन्य महानगरपालिका जस्तै सामान्य नगरपालिका वा महानगरपालिका होइन । 

यो त नेपालका सतहत्तर जिल्लालाई प्रतिनिधित्व गर्ने महानगरपालिका हो र नेपालको राजधानीसमेत हो । काठमाडौंका हरेक गतिविधि विशेष र नमूनायोग्य हुनुपर्नेमा झन् अव्यवस्थित र भद्रगोल नै देखिन्छ । हिजोको कान्तिपुरीनगरी कति सुन्दर र आकर्षक थियोे । त्यो आज काठमाडौं महानगर बन्दा यसको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा लोप हुँदै गएको देखिन्छ । कुनै बेला मन्दिरै मन्दिरको शहर भनेर चिनिने नेपालको राजधानी काठमाडौंलाई अहिले फोहरै फोहरको शहर भनेर चिनिनु पर्ने बाध्यता छ । काठमाडौंको खानेपानी, फोहर, ट्राफिक र प्रदूषणलाई कसरी स्थायी समाधान गर्ने भन्दा पनि काठमाडौंको समस्याभित्र राजनीति कसरी घुसाउने, यसैको नाममा कसरी चुनावी मुद्दा बनाउने  र कुम्ल्याउने भन्ने धन्दाले वर्षौँदेखि काठमाडौं उपत्यकाबासीहरू आजित हुनु परेको छ । 

राजनीतिक पार्टीहरू सस्ता र लोकप्रिय नारा बाँडेर चुनाव जित्ने अनि चुनाव जितेपछि सिन्को नभाँच्ने प्रवृत्तिले सफा र हराभरा काठमाडौं बन्न सकेको छैन । विगतमा जिम्मेवार निकायहरू कोही पनि उत्तरदायी र जवाफदेही नबन्नाले काठमाडौं प्रदूषित र दुर्गन्धित शहर बनेको हो । राजनीतिको आडमा सार्वजनिक जग्गा मिच्ने, नक्सा पास नगरी व्यापारिक महल बनाउने, सरकारलाई तोकिएको कर नतिर्ने जस्ता कारणले काठमाडौं व्यवस्थित हुन सकेको छैन ।

गत स्थानीय निर्वाचनमा काठमाडौं जस्तो राजधानी र राजनीतिको केन्द्र रहेको महानगरपालिकामा राजनीतिको लामो इतिहास बनाएर जरा गाडेर बसेका र आफूलाई शक्तिशाली हुँ भन्ने दल वा व्यक्तिलाई बालेनको लौराले सुम्ला उठुञ्जेल हिर्काएको थियोे । ती डाम र पीडा सुक्न र सेलाउन नपाउँदै कतै फेरि बालेनको डोजरले दलहरूको राजनीतिक जरा नै उखेल्दिने हो कि भन्ने ठूलो भय र त्रासमा पार्टीहरू देखिएका छन् । बालेन जस्ता थुप्रै स्वतन्त्र उम्मेदवारहरू यसपालि पनि चुनावी मैदानमा उत्रिसकेका छन् । 

लोकतन्त्रमा दलहरूको महत्वपूर्ण भूमिका हुन्छ । तापनि दलहरू असफल र असक्षम भएपछि जनता बाध्य भएर स्वतन्त्र उम्मेदवारलाई विजयी बनाएका हुन् । अब काठमाडौंका जनताहरू कसैका निजी पकेटवाला भोट बन्न सक्दैनन् भन्ने कुरा गत स्थानीय निर्वाचनबाट स्पष्ट भइसकेको छ । अब हिजोको जस्तो भागबन्डाले देश चलाउन खोज्नेलाई जनताले राम्रै तरिकाले सजाय दिने संकेत देखिएको छ ।

काठमाडौं महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै अवैध संरचना हटाउन सबै नगरबासीलाई अनुरोध गरेको थियो । तर अटेर गरेपछि बाध्य भएर मेयर बालेनले डोजर चलाएको देखिन्छ । काठमाडौंको मुख्य समस्या भनेको फोहर र ट्राफिक नै रहेको अवस्थामा यसलाई व्यवस्थापन गर्न सबैले मेयर बालेनलाई साथ दिनुपर्नेमा राजनीतिको आड लिएर विरोध गरेको सुनिन्छ । सबैले कानूनलाई मान्नैपर्छ । 

सडकको पेटीमा बसेर मकै पोलेर व्यापार गर्नेलाई कानून लाग्छ भने ठूल्ठूला व्यापारिक कम्प्लेक्सका मालिकलाई पनि कानून लाग्नुपर्छ । जबसम्म कानूनको पालना हुँदैन तबसम्म सुशासन र समृद्धि पनि हुँदैन । कानून विपरीत सार्वजनिक जग्गा, पोखरी, नाला मिचेर घर वा पार्किङ स्थल बनाउने जो कोहीलाई कानूनी कारबाही हुनैपर्छ । 

खासगरी काठमाडौंमा व्यापारिक वा व्यवसाय प्रयोजनका लागि बनाइएका भवनका मालिकहरूले बालेनको कदमको अवरोध गर्न खोजेको देखिन्छ । सम्पत्ति मालिकहरूले भवनको नक्सा पास गर्ने बेलामा बेसमेन्टमा पार्किङ गराउने भनेर राज्यलाई बुझाउनु पर्ने करमा भारी छुट लिने अनि त्यहाँ पार्किङ नबनाइ  व्यवसाय संचालन गरेर पैसा कुम्ल्याइरहेका छन् । जसले गर्दा सवारीसाधनहरू बाटोभरि पार्किङ गरिएका हुन्छन् । 

मान्छे हिँड्ने बाटोमा व्यापार, गाडी गुड्ने बाटोमा पार्किङ गरेपछि स्वभाविक रुपमा ट्राफिक समस्या निम्तिन्छ नै । अनि कतै सार्वजनिक खुला ठाउँ देख्यो भने फोहर फाल्नाले काठमाडौं प्रदूषित र दुर्गन्धित भएको हो यस्तो अवस्थामा अटेर गर्नेहरूलाई डोजर नचलाएर के फूलमालाले सत्कार गर्नुपर्ने हो र ? जे सुकै बाधा अवरोध आए पनि बालेनको यो इच्छाशक्तिको डोजरमा कहिल्यै इन्धन चाहिँ नसकियोस् ।

बालेनका नगर प्रहरीले सडक पेटीमा मकै बेच्नेलाई लछारपछार गरेर मकै खोसिदिन्छन् भने बाटो वा सडक र पेटी मिचेर बनाइएका व्यापारिक कम्प्लेक्स किन नभत्काउने ? संवेदना वा सहानुभूति कसलाई दिनुपर्ने हो र ? कुनै घर मालिकलाई आफ्नो घरको महत्व जति छ त्यो मकै बेचेर जीविका चलाउनेलाई पनि मकैको त्यति नै महत्व हुन्छ । धनीलाई त्यो एक घुँगा मकै केही नहुन सक्छ तर गरिबको लागि त्यो एक घुँगा मकै सर्वस्व हो । 

त्यो सडक पेटीमा बसेर मकै बेच्ने व्यापारीलाई कारबाही हुन्छ भने सार्वजनिक जग्गा मिचेर कम्प्लेक्स बनाएको मालिकलाई पनि कानूनी कारबाही हुनैपर्छ । मेयरको नजरमा सबै जनता समान हुनुपर्छ । यात्रु हिँड्ने बाटो बन्द नै गरेर मकै पोलेर बेच्ने गरिबमाथि अमानवीय तरिकाले नगर प्रहरीले लछारपछार गर्छ भने यही तरिकाले अवैध संरचनामाथि डोजर चल्नु अनौठो मान्नु पर्दैन र यसलाई बालेनको डोजर आतंक नभनेर राम्रो कामको शुरुआत भयो भनी स्वाबासी दिनुपर्छ । काठमाडौंलाई व्यवस्थित बनाउन सार्वजनिक जग्गामा बनेका यस्ता अवैध संरचनामा अब बालेनको डोजर विश्राम नलिइ चल्नैपर्छ ।

काठमाडौंका सम्पत्ति मालिकहरूबाट जानकारी बिना डोजर चलाइयो भन्ने कुरा छ । यी बकम्फुस कुरा हुन् जस्तो लाग्छ । अहिले होइन वर्षौंदेखि सूचना निस्केको निस्कै छन् । राजनीतिक पार्टीको अघिपछि लागेर चन्दा वा घुसका आधारमा अटेर गरेर नगलेको अवस्था मात्र हो । ठूलालाई चैन र सानालाई मात्र ऐन बनाएर राजनीति गर्नुको कुनै औचित्य छैन । नेपाल भन्दा बित्तिकै विश्वको नजर राजधानी काठमाडौंमा परेको हुन्छ । त्यही राजधानीलाई व्यवस्थित र सुन्दर बनाउँदा डोजर आतंक भनिनु सोझै विकासमा अवरोध गरिनु हो । 

बेसमेन्टमा व्यापार गरेका साना व्यापारीको जिम्मा लिने भनेको सम्पत्ति मालिकहरूले हो । त्यो महानगरको चासो होइन । पहिले अवैध संरचना बनाउने र भाडामा लगाउने अनि पैसा कमाउने अहिले महानगरपालिकालाई दोष लगाएर उम्कने अवस्था छैन । यसको सम्पूर्ण नैतिक, भौतिक, आर्थिक जिम्मेवारी र दायित्व सम्पत्ति मालिकले नै लिनुपर्छ । अवैध संरचना बनाएर भाडामा लगाएर पैसा कुम्ल्याउनेले कानूनी कारबाही भोग्नै पर्छ र ती मालिकहरूले साना व्यापारीलाई क्षतिपूर्ति दिनुपर्छ ।

काठमाडौं राजधानी भएको हुनाले विभिन्न अवसर र सुविधाको लागि सतहत्तरै जिल्लाका मानिसको गन्तव्य बन्नु स्वभाविकै हुनाले यसलाई व्यवस्थित गर्ने जिम्मा महानगरपालिकाको मात्र नभएर प्रदेश सरकार र संघीय सरकारको पनि हो । कतिपय मामिलामा संघीय सरकार चुप लागेर बसेको पनि हुन्छ भने कतिपय मामिलामा हस्तक्षेप गरेर काम गर्न नदिएका प्रशस्तै प्रमाण भेटिन्छन् ।

सबै किसिमका समस्या बालेनले एक्लै समाधान गर्न सक्दैनन् । सबैले उनलाई साथ दिनुपर्छ । अहिले गर्न लागेको कामलाई अल्झाउने होइन निरन्तरता दिनुपर्छ । राजधानीको मुहार फेर्ने काम आज नगरे कहिले गर्ने र बालेनले नगरे कसले गर्ने ? दलहरूले राम्रो काम गरेनन् भनेर स्वतन्त्र उम्मेदवारलाई जिताएपछि पनि काम हुँदैन भने अबको विकल्प केही छैन । 

त्यसकारण बालेनलाई काम गर्न घच्घचाउनु पर्छ र काम गर्न उत्प्रेरित गर्नुपर्छ । राम्रो काम गर्नेलाई प्रशंसा र साथ दिनैपर्छ । हिजो निर्वाचनमा भारी मत दिएर जिताउने अनि काम गर्ने बेलामा अवरोध गर्नुको कुनै औचित्य छैन । जसरी जिताइयो त्यही तरिकाले राम्रो काम गर्दा मेयरलाई साथ दिनैपर्छ । 

बालेनले गरेका जे काम पनि आँखा छोपेर समर्थन गर्नुपर्छ भनेको चाहिँ होइन । राम्रो कामको समर्थन र गलत कामको आलोचना गर्नै पर्छ । बालेनले पनि हौँसिएर जथाभावी डोजर लगाउनु हुँदैन । दललाई भोट नदिनु भनेको स्वतन्त्रले जे पनि गर्न पाइन्छ भनेको होइन । 

कानूनी राज्यमा सबैभन्दा ठूलो कानून हो । कानूनभन्दा माथि कोही हुन सक्दैन । अहिले काठमाडौंका मेयर बालेन साहले कानूनी तरिकाले महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन खोज्दा उनको यो अभियानलाई सबैले अन्तर्मनदेखि साथ, सहयोग, हौसला, उत्प्रेरणा दिनैपर्छ । अब देशको विकास र समृद्धिको लागि पर्खने बेला छैन । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्म गर्छन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ