arrow

निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन दबाब  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
nepal-oil-corporation.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको धेरै भयो । भारतीय आयल निगमबाट सस्तोमा किनेर पेट्रोलियम पदार्थ बेच्दै आए पनि निगम भने सधै घाटामै रहेको विवरण पेश गर्छ । 

निगमले आइतबार साँझ निकालेको विज्ञप्तिमा निगम अझै १८ अर्ब घाटामा छ । उसले एक सातापछि भारतीय आयल निगमलाई भुक्तानी गर्नुपर्ने, पुरानो वक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । 

निगमका अनुसार एलपी ग्यास सिलिन्डरमा प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ घाटा छ । निगमले खाने घाटा यत्ति हो । तर त्यसबाहेक सबै पदार्थमा निगमले नाफा लिइरहेको छ । जस्तो कि निगमकै पछिल्लो विवरणअनुसार पछिल्लो समय पेट्रोलमा निगमको करसमेत जोडेर कुल लागत प्रतिलिटर १ सय ६० रुपैयाँ ७८ पैसा पर्ने गरेको छ । पेट्रोलको उपभोक्ता मूल्य १ सय ७८ रुपैयाँ पर्छ । निगमलाई १७ रुपैयाँ २२ पैसा नाफा छ । 

त्यसैगरी डिजेलमा १ सय ६४ रुपैयाँ ८५ रुपैयाँ लागत पर्छ । त्यसको खुद्रा बिक्री मूल्य १ सय ७५ रुपैयाँ छ । यसअनुसार निगमलाई नाफा नै १० रुपैयाँ १५ पैसा हुन जान्छ । 

त्यस्तै मट्टितेल खरिदमा करसमेत जोडेर कुल लागत १ सय ४२ रुपैयाँ ९१ पैसा पर्ने गरेको छ । त्यसको खुद्रा मूल्य १ सय ७५ रुपैयाँ छ । निगमले प्रतिलिटर ३३ रुपैयाँ ०९ पैसा नाफा लिँदै आएको छ । 

हवाइ इन्धनमा नेपालमा दुईवटा मूल्य छ । आन्तरिक उडानलाई र बाह्य उडानलाई फरक–फरक मूल्यमा नेपाल आयल निगमले बिक्री वितरण गर्दै आएको छ । आन्तरिकतर्फ हवाइ इन्धनको लागत १ सय ३७ रुपैयाँ ४६ पैसा परेको देखिएको छ । निगमले भने हवाइ इन्धन १ सय ९० रुपैयाँमा बिक्रीवितरण गर्ने गर्छ । यसबाट निगमलाई ५२ रुपैयाँ ५४ पैसा नाफा हुने गरेको छ । त्यो भनेको ३८ प्रतिशत नाफा हो। 

बाह्य उडानको लागि हवाइ इन्धनमा निगमको लागत ११३ रुपैयाँ ५५ पैसा पर्ने गरेको छ । त्यसलाई निगमले १ अमेरिकी डलर ६४ सेन्टमा बिक्री गरिरहेको छ । यसबाट निगमलाई १ सय ३ रुपैयाँ ७८ पैसा नाफा हुन्छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त हवाई इन्धनको मूल्य तत्कालै समायोजन नगरिए हवाइ यात्राका लागि एक रोपनी जग्गा बेच्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । 

गत शुक्रबार काठमाडौंमा आयोजना भएको एभिएसन मिट २०२२ कार्यक्रममा उनले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महंगिएको बताउँदै हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि एक रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताए । 

अधिकारीले एलपी ग्यासमा छुट दिएर हवाइ यात्रुलाई मारमा पार्न नहुने तर्कसमेत गरेका छन् । 

आयल निगमले हिजो पेट्रोलमा थप २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाइ इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा ७८.२२ रुपैयाँ बढेर आएको जनाएको छ । तर मट्टितेलमा घटेर आएको भए पनि त्यसलाई सम्बोधन गरेको छैन । 

त्यसो त कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने व्यवस्था छ ।  

ऐनको दफा ३ को उपदफा १ मा ‘नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म केद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ’ भनिएको छ । 

यो ऐनबमोजिम हेर्ने हो भने निगमले बिक्री गर्ने मट्टितेल र हवाइ इन्धनको बिक्री नियम विपरीत देखिएको छ । 

निगम भने जहिले पनि घाटामात्र भइरहेको बताउँछ । यदि सरकारलाई तिनुपर्ने विभिन्न कर छ भने सरकारले त्यसमा कमी गर्न सक्नुपर्छ । तर उपभोक्तालाई मारमा पारेर आफैँ नियम विपरीत जान्छ भने त्यसमाथि गम्भीर आशंका गर्न सकिन्छ । 

निगमले यसअघि नै मूल्य घटाउनु पर्ने दबाब खेप्दै आएको छ । तर जहिले पनि तिर्नुपर्ने बक्यौता देखाउँदै अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्न तयार देखिएको छैन । 

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य धेरै घट्दा पनि नेपालमा पेट्रोलियम पदार्थको भाउ नघटाउने तर थोरै मात्र बढ्दा पनि भाउ बढाइहाल्ने गर्दै आएको छ । यसको विरोध प्रत्यक्ष असर खेप्ने विद्यार्थीले गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ