arrow

पिताजीका ती आँसु

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ फागुन २८ आइतबार
rajendra-panthi-chandrakanta-panthi-aricle.jpg

करिब एक महिनापछि थकाइ मारेर उठेजस्तै गरी ठुटे कलमलाई चलाउन खोज्दैछु । यो कलमले अलि पहिले त सर्सर्ती लेख्थ्यो । आज अल्छी गरी गरी लेख्न खोज्दै छ । मलाई पनि कतै उकुसमुकुस भए जस्तै छ भने कतै केही नै नभए जस्तो शून्य शून्य पनि छ । 

शरीर गह्रौं भारी भए जस्तो पनि छ । उता जागिर गुम्यो भन्ने पीडा पनि छ । लेखाइको सिलेसिलेवारमा शिर र पुछार मिल्छ वा मिल्दैन, खै थाहा छैन । आज आफ्नै जीवन भोगाइमा परेको दर्दनाक घटनाको केही भावना र केही तथ्यको नजिक रही पाठक सामु पुग्ने प्रयत्न गर्दैछु । थाहा छैन पाठकलाई न्याय दिलाउन सक्छु वा सक्दिन । आशा छ कतै मनोगत वा उडन्ते जस्तो भएमा सुझाव भने पक्कै पाउने नै छु ।

२०७९ को माघ २७ गते कृष्णपक्षको पञ्चमी तिथिको दिन बिहानको ९ः३० बजेको समय मेरो जीवनमा निर्मम र असाध्यै पीडादायी दिन बन्यो । ठूलो बज्रपात आइलाग्यो । संसार अन्धकार नै भयो । मेरो पूज्यनीय पिताले सदाका लागि यो संसारबाट बिदा लिनुभयो । मानवीय जीवन न हो भनेर व्याख्या वा प्राकृतिक नियम नै हो भनेर चित्त बुझाउने थुप्रै बाटा त नभएका त होइनन् तर त्यस्तो पीडा र बज्रपात भने मलाई जीवनमा पहिलो पटक परेको थियो । 

जताबाट घुमाएर मनलाई सम्हाल्न खोजे पनि र जेसुकै भने पनि मैले अब कहिल्यै नपाउने गरी मेरो पिताजीको त्यो भौतिक शरीर गुमाएको थिएँ । त्यो अभाव र पीडा मैले मात्र अनुभूति गरेको थिएँ । जुन दिन हिजो र तिथिले आज एक महिना बित्यो । आज हिन्दू संस्कारअनुसार पूज्यनीय पिताको पहिलो मासिका गर्दैगर्दा उहाँको जीवनको अन्तिम समयतिर अर्थात् माघ २५ गते बेलुका करिब ७ बजेको समयमा म अमेरिकाबाट घर फर्की उहाँलाई भेट्दा मेरो अनुहारलाई एकोहोरो हेरिरहेर आवाज निकाल्न नसकी आँखाभरि आँसु निकालेर ती आँसुमार्फत मलाई भन्न खोजेका कुराहरू के के थिए होलान् भनी सोच्दै, अर्थ लगाउँदै, कल्पना गर्दै बुझ्न खोज्दैछु । पिताजीका ती आँसुभित्र लुकेका आवाजलाई स्मरण गर्ने प्रयास पनि गर्दैछु ।

सायद पिताजीका आँसुमा लेखिएको माया र आशीर्वादको मप्रतिको पहिलो प्रश्न थियो– राजु ! मलाई भेट्न किन ढिलो आइस् । त्यस प्रश्नको उत्तर त्यति सजिलै म दिन सक्दिनथेँ र म केहीबेर भक्कानिएर रुन्थेँ अनि शान्त हुन्थेँ होला । किनकि मसँग तत्कालै मेरो लागि यस्तो जटिल र कडा किसिमको प्रश्नको उत्तर दिने क्षमता थिएन । किनकि अध्ययन बिना नै परीक्षामा सामेल भएको जस्तो थिएँ । 

अहिलेसम्म पनि हुन्छ वा हुन्न भनेजस्तै गरी वस्तुगत रुपमा उत्तर दिन सक्दिनँ । मान्छेले आदर्श जीवनका बारेमा जे जस्तो चर्चा गरे पनि वास्तविक जीवन चाहिँ फरक नै रहेछ र मेरो सन्दर्भमा पनि त्यो प्रश्नको उत्तर सप्रसङ्ग, व्याख्यात्मक र विवेचनात्मक नै हुन्छ । यस कुरामा म पूर्ण चुकेको त छैन तर उत्तर केही लामो छ । 

समयमै चित्तबुझ्दो उत्तर दिन नसके तापनि जीवनको यस्तो परीक्षामा अनुत्तीर्ण नै चाहिँ हुँदैन जस्तो लाग्छ । पिताको त्यो भावनामा जब म अशक्त भएँ त्यतिबेला नै छोरो आउनुपर्दथ्यो, पालनपोषण र स्याहारसुसार गर्नुपर्दथ्यो भन्ने थियो होला भन्ने कुरा सहज अनुमान गर्न सक्छु । म किन ढिलो आएँ भनेर दिने उत्तर अलि लामै हुन्छ । कुनै दिन पक्कै दिने नै छु ।

अनि ती आँसु भित्रको अर्को प्रश्न हुनुपर्छ – तँलाई सन्चै छ, भोक लाग्यो कि ? नातिनातिनी र बुहारीलाई पनि सन्चै होला ? यसको उत्तर दिन मलाई अत्यन्तै सहज थियोे तर प्रश्न अत्यन्तै गम्भीर, मार्मिक रहस्यात्मक र दार्शनिक । जो व्यक्ति विगत तीन वर्षदेखि लगातार क्यान्सर जस्तो डरलाग्दो रोगसँग लडेर अन्तमा जीवन र मरणको दोसाँधमा छट्पटाएर बोल्न पनि नसकी आँसुमार्फत बोलिरहेको छ, उसैलाई आफ्नो शरीरको भन्दा छोरो भोकै छ कि भन्ने कति ठूलो चिन्ता छ ।

संसारमा आफ्नो  पिता हुनुको गौरव, अर्थ र महत्व यही हो जस्तो लाग्छ । जुन कुरा मैले अहिले गुमाएँ । आज मैले त्यही राजु, तँ भोकै छस् कि भन्ने महान् पिता गुमाएँ । आफ्नो जीवनमा आफ्नो भोकका बारेमा चिन्ता गर्ने व्यक्ति ईश्वर हो र जिउँदो भगवान हो अनि जिउने एउटा आधार पनि हो । 

बुबाआमा हुनु र नहुनुको महत्व र अर्थ नै मात्र ‘तँ भोकाइस् कि’ भन्ने शब्दावली नै काफी छ । छोराछोरी भोकै छन् कि भन्ने शब्दभित्र अनगिन्ती दार्शनिक कुरा लुकेका छन् । त्यसभित्र माया, मिठास, दया, खुशी जस्ता कति भावनात्मक र तथ्यात्मक कुराहरू छ्न, जुन कुराहरू विश्वका कुनै पनि विश्वविद्यालयका पाठ्यपुस्तकबाट पाइँदैन ।

अहिलेका हामी छोराछोरीले बाँचुञ्जेल हाम्रा आफ्ना बुवाआमाप्रति साँच्चै यिनै लुकेका मार्मिक, रहस्यात्मक र दार्शनिक कुराहरूको महत्त्वलाई बुझेर पालना गर्दै आफ्नो कर्तव्य पूरा गर्ने हो भने हामी मानव हुनुको एउटा महत्वपूर्ण औचित्य पूरा हुन्छ जस्तो लाग्छ । अहिले भर्खरै बुबालाई गुमाएको एक महिनामा मैले माथि भनेजस्तै म आफू नै छोरो हुनुको कर्तव्य पूरा गरेँ कि गरिनँ भनेर घोत्लिदै जाँदा र केही सीमाको परिधिभित्र रहेर पाठकसामु भन्नु पर्दाको सन्दर्भमा त्यति साह्रै कर्तव्यबाटै च्यूत भएजस्तो चाहिँ लाग्दैन । तर पनि म पूर्ण पक्कै छैन भन्ने कुरालाई स्वीकार्नै पर्छ । अहिलेको भौतिक दुनियाँको प्रभावका कारण म पनि स्वार्थी भएकै छु । म सुध्रिनै पर्छ र म सुध्रिने प्रण गर्छु ।

म अमेरिकाबाट घरमा आएको तेस्रो दिनमै उहाँले हामीलाई छोडेर जानुको कारण के होला ? मैले कहिँ कतै पूर्व सूचना पाएको पनि थिइनँ । सायद यति छिटो जानुहुन्छ भन्ने पूर्व सूचना पाएको भए केही दिन चाँडै पनि आउँथे होला । मलाई अहिले लाग्छ मेरो पर्खाइमा उहाँले धेरै कष्टकर दिनहरू त बिताउन परेन होला कि ? म अलि चाँडै आएको भए, चाँडै त जानुहुन्थेन होला वा यस्तो संयोग मात्र होला । अहिले यस्ता थुप्रै प्रश्नहरू मभित्र उठेका छन् । 

मैले चित्त बुझाउने बाटा पनि छन् । ती हुन्, अन्तिम क्षणमा भए पनि पिताजीको पाउमा ढोग्न पाएँ र आँसुभित्रका आवाज सुन्न, देख्न र पढ्न पाएँ । आज त्यही प्राण र आँसुमार्फत दिएका आशीर्वादलाई ग्रहण गर्दै जीवनलाई सार्थक बनाउने प्रण गर्दैछु ।

पिताजीका ती आसुँमा अर्को महत्वपूर्ण कुरा पनि लेखिएका थिए जस्तो लाग्छ । ती थिए, ‘मैले जतिसुकै आत्मबल बलियो बनाए पनि र तिमीहरूले जति प्रयत्न गरे पनि मेरो चौरासी गर्ने धोको पूरा हुन सकेन । मलाई रोगले अत्यन्तै पीडा दियो, दुःख पाएँ, तिमीहरू असल हुनू, सुखपूर्वक बाँच्नू र तिमीहरूकी यी आमालाई  सुखपूर्वक नै पाल्नू । म अब यस्तो  दुःखबाट सदाको लागि बिदा हुन्छु ।’

यस पाठमा पनि केही भावनात्मक, सन्देशात्मक र कर्तव्यका कुराहरू लेखिएका थिए । यसमा पनि आफूले आफैँलाई चित्त बुझाउने बाटो पाइन्छ । पिताजीले हामीलाई  छोडेर गए पनि आफ्नो त्यो दुःख त लुकाउनु भयो कि ? उहाँले पाउनु भएको दुःख वर्णन गरी साध्य छैन । पिताजीको चौरासी पूजा गर्ने धोको पूरा हुन सकेन । 

आफ्नो मृत्युपछि आफ्नी अर्धाङ्गिनीले दुःख पाउँछिन् कि भन्नु पनि एउटा असल पतिमा हुनु पर्ने कर्तव्य र चिन्ता पनि हो । तर त्यस कुरामा हामी छोराछोरी र सबै परिवार सचेत नै छौँ र पक्कै पनि कर्तव्य विमुख हुँदैनौँ । म आमाकै रगतको डल्लो हुँ भन्ने कुरामा हामी स्पष्टै छौँ । आमाकै पेटमा नौ महिना बसेर प्रसव वेदनाबाट बाहिर निस्की यो संसार चियाउने मौका पाएका छौँ र आज फलानाका सन्तान हौँ भनी गर्व गर्न पाएका पनि छौँ । 

कुनै भवितव्य नआइलागोस् । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि’ भन्ने मन्त्रको अर्थ र महत्व थाहा नै छ भनौँ । पिताजीको आँसुमा पढ्न पाएको अर्को महत्त्वपूर्ण गम्भीर कुरा थियोे, उहाँले अवलम्बन गरेको सत्मार्गलाई पछ्याउने काम । पिताजी सामाजिक, आध्यात्मिक, राजनैतिक कर्ममा पनि लाग्नु भएर एक किसिमको नाम कमाउनु भएको थियोे । ती आँसुमा त्यो व्यक्तित्व र कर्मलाई छोराछोरी र परिवारले ग्रहण गरी निरन्तरता दिनू है भन्ने थियोे होला जस्तो लाग्छ । 

पिताजीले आफ्नो जन्मभूमि गुल्मी जिल्लाको भनभनेमा विद्यालय स्थापना गरी शिक्षाको ज्योति फैलाउनु भएको थियोे । नेपालको राजनीतिक परिवर्तनमा पञ्चायती व्यवस्थालाई अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन उहाँ पनि आन्दोलनमा सरिक भई महत्वपूर्ण योगदान दिनु भएको थियोे  र पछिल्लो चरणमा आफ्नो पन्थी वंशको वंशावली निर्माण गरी दोस्रो संस्करणसमेत निकाल्ने तयारीमा हुनुहुन्थ्यो । 

तर त्यो पुरा हुन सकेन । मैले उहाँका कृतित्वलाई थप उजागर गर्दै पूरा हुन नसकेका कार्यलाई निरन्तरता दिने प्रण गर्नु नै आजको श्राद्धको औचित्यका रुपमा लिएको छु । उहाँका विश्वविद्यालयस्तरीय प्राप्त गर्न सक्ने ज्ञान अथाह छन् । आजको दिनमा एउटा असल पिताको असल पुत्र बन्ने प्रण गर्दछु । पिताजी हजुर भौतिक रुपमा यो संसारमा हुनुहुन्न । तर मन, मस्तिष्क, मुटु, नसा, रगतमा  हुनुहुन्छ । 

हजुरको त्यो सत्कर्म, सत्वचन र सत्मार्गलाई जहिले पनि पछ्याउने छु । हजुरले ती आँसुमार्फत भन्न खोजेका कुराहरू पालना गर्नेछु । अन्तमा, आजको यस पुण्य तिथिमा पुष्पगुच्छा टक्र्याउँदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । पितृदेवो भवः ।।
 



नयाँ