arrow

नैतिकवान कर्मचारीको सम्झनामा

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ चैत १५ बुधबार
rajendra-panti-article-narayan-prasad-poudel.jpg

नारायणप्रसाद शर्मा पौडेलको जन्म वि.सं.१९९५ साल असार ४ गते गुल्मी जिल्लाको मदाने–७ (साविकको भनभने गाविस) नेटाखर्कमा भएको थियोे । स्वर्गारोहण वि.सं.२०७९ चैत ३ गते शुक्रबारको दिन बुटवलमा भयो । पौडेलले २०२८ सालदेखि घरेलु तथा उद्योग कार्यालयमा विकासतर्फको अधिकृतस्तरमा ३ वर्ष काम गरी २०३१ सालदेखि लोकसेवाबाट स्थायी नियुक्ति पाई सोही कार्यालयबाट नै निजामती सेवाको जागिर शुरु गर्नुभएको थियो । 

उहाँ गुल्मी पश्चिमबाट निजामती सेवामा प्रवेश गर्ने दोस्रो व्यक्ति हुनुहुन्थ्यो । पहिलो व्यक्ति सूर्यबहादुर सेन वली हुनुहुन्थ्यो । पौडेलले स्थानीय विकास अधिकारी, सहकारी निर्देशक, घरेलु प्रमुख भई २९ वर्ष निजामती सेवामा रही २०५७ सालमा सहसचिवबाट अवकाश लिनु भएको थियोे । 

उहाँले उद्योग, कृषि, सहकारी, शिक्षा, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय अन्तर्गत विभिन्न कार्यालयमा रही अधिकृत, सहायक सचिव, उप सचिव र सहसचिव भई सेवा गर्नुभएको थियो । पौडेलले २०१८ सालदेखि गुल्मीको भन्भनेको बालचक्षु प्राविमा पनि करिब तीन वर्ष जति अंग्रेजी शिक्षकको रुपमा काम गर्नुभएको थियोे । 

उहाँले २०१९ सालमा तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि बिष्टको भन्भनेमा भ्रमण हुँदा पाँच श्लोकको स्वागत गीत पनि गाउनुभएको थियोे । उहाँले रचेको उक्त स्वागत गीतको पहिलो हरफ ‘राजधानीदेखि आएका हे नेपाली तारा, सबैजना खुशी भएका जनताका प्यारा’ भन्ने थियोे । त्यस्तै उहाँले पुर्कोटको धाराचौर र मर्भूङको नमातमा पनि अंग्रेजी शिक्षक भई सेवा गर्नुभएको थियोे ।

नारायणप्रसाद शर्मा पौडेलका हजुरबुवा पण्डित देवीराम पौडेल १९९० सालमा अर्घाखाँचीको हंसपुर मेहेलपानीबाट भन्भनेको नेटाखर्कमा बसाइँसराइ गर्नुभएको थियो । देवीरामका तीन छोराहरू क्रमशः केशवराज, भक्तिराम र धर्मराज हुनुहुन्थ्यो । केशवराज पूर्वीय धर्म दर्शनका प्रखर र प्रतिष्ठित विद्वान हुनुहुन्थ्यो । उहाँ युवावस्थामै मोतियाबिन्दु लागेर दृष्टिविहीन हुनुभएको थियोे । 

त्यसपछि उहाँ ‘अन्धापण्डित’ भनेर  प्रख्यात हुनुभएको थियोे । उहाँ २०३६ सालमा  आफ्नो परिवारसहित गुल्मी भन्भनेको नेटाखर्कबाट रुपन्देहीको मक्रहरमा बसाइँसराइ गर्नुभएको थियो ।

नारायणप्रसाद शर्मा पौडेल तत्कालीन समयमा प्रगतिशील विचारधारामा आस्था राख्नुहुन्थ्यो । २०२६ सालमा उहाँले आफ्नो नेतृत्वमा जन्मभूमि नेटाखर्कमा प्रगतिशील पुस्तकालय भनी पुस्तकालयसमेत स्थापना गर्न खोज्दा गाउँको असहमति भएपछि उहाँकै पिताकै नामबाट केशव पुस्तकालयको स्थापना गर्नुभएको थियो । 

पुस्तकालयको स्थापना गर्दा कुनै व्यक्तिको नामबाट किन खोल्ने भनेर विवाद पनि आएको थियो । तर पछि शिक्षाको ज्योति केशवराजकै नामबाट  खोलिएको थियो । त्यसबेला पनि करिब छ हजार जति अंग्रेजी, नेपाली, संस्कृत र हिन्दी भाषामा लेखिएका ऐतिहासिक, धार्मिक, पौराणिक, साहित्यिक, राजनीतक, सामाजिक, व्यावसायिक, कृषि आदि विषयवस्तुका पुस्तकहरू सङ्ग्रहित गरिएका थिए ।

उक्त पुस्तकालयको संस्थापक अध्यक्ष स्वयं नारायणप्रसाद शर्मा र सचिव खिमानन्द शर्मा पन्थी हुनुहुन्थ्यो । गाउँलेको जनश्रमदान र सहयोगबाट रविलाल पन्थीको जग्गामा दुई तले पुस्तकालय बनाइएको थियोे । उक्त पुस्तकालयलाई दैनिक दुई तीन घन्टा सञ्चालन गर्न र पाठकलाई पढाउनको लागि स्थानीय घनश्याम पन्थीलाई नियुक्ति गरिएको थियोे । २०४१ सालसम्म त्यो पुस्तकालय राम्रै सञ्चालनमा रह्यो । तर पछि त्यसले निरन्तरता पाउन सकेन । त्यहाँ रहेका पुस्तकहरू पनि छिन्नभिन्न भए ।

पौडेल अग्लो, गहुँगोरो, टम्म मिलेका दाँत, जिउडाल मिलेको, हँसिलो अनुहारको हुनुहुन्थ्यो । पौडेल र हाम्रो सम्बन्धको कुरा गर्दा उहाँसित धेरै नातागत सम्बन्धहरू जोडिएका छन् । उहाँ हाम्रो परिवारकै आदरणीय र माननीय शैक्षिक प्रेरणादायी व्यक्ति हुनुहुन्थ्यो । मेरो हजुरबुवाको मामाकी छोरीको छोरा (भानिज), मेरी हजुर आमाकी बहिनी ज्वाइँ, मेरो बुबाको गुरुपुत्र र मार्गदर्शक, मेरा ससुराबुबाको मावली दाजु अनि मेरी अर्धाङ्गिनीको गायत्री गुरु हुनुहुन्थ्यो । 

नारायणप्रसाद शर्मा नैतिकवान, इमान्दार, असल विद्वान हुनुहुन्थ्यो । उहाँलाई हाम्रो परिवारले एउटा आदर्श व्यक्ति र मार्ग निर्देशक व्यक्तित्वका  रुपमा ग्रहण गरेको थियो । 

नारायणप्रसाद पौडेललाई मैले बाहुनबुबा भनेर सम्बोधन गर्थें । मेरो पूज्यनीय बुवा चन्द्रकान्त पन्थी, मेरो बुबाको मामा गोविन्दप्रसाद पोखरेल र नारायण बुबाको स्वर्गारोहण करिब दुई महिनाको अन्तरालमा सँगसँगै जस्तै भयो । उहाँहरू उमेर पनि मिल्दोजुल्दो थियोे, स्वर्गारोहण पनि सल्लाह गरे जस्तै तरिकाले भइदियो । तीनै जनालाई रोगले च्यापेकै भए पनि यस्तो स्वर्गारोहण हुनुमा कतै संयोग अथवा मनोवैज्ञानिक प्रभाव हो कि जस्तो लाग्छ । 

आफ्नो मनको मान्छे वा आफ्नो उमेर समूहको मान्छेको अगाडि मृत्यु हुँदा त्यसले पक्कै पनि मनोवैज्ञानिक प्रभाव पार्छ नै । नारायण बुबा लामो समयदेखि बिरामी नै हुनुहुन्थ्यो । पछिल्लो पटक उहाँले सात दिनसम्म श्रीमद्भागवत सुनेर र चौरासी पूजा गरेर उहाँको स्वर्गारोहण भयो । शर्माकी एक श्रीमती, तीन छोरा र चार छोरीहरू हुनुहुन्छ ।

यहाँ पौडेलको स्मरण गरिरहँदा उहाँका पनि पूज्यनीय पिता प्रज्ञाचक्षू प.केशवराज पौडेलको इतिहास र योगदानलाई जोड्दा अझै केही सान्दर्भिक होला जस्तो लाग्यो । नारायणप्रसाद पौडेल तिनै प्रज्ञाचक्षू केशवराज पौडेलका जेष्ठ सुपुत्र हुनुहुन्थ्यो । नेपालमा औपचारिक रुपमा विद्यालयहरू स्थापना नभएको अवस्थामा तत्कालीन समयमा गुरुकुल र दलाने पाठशालाहरू चलेका हुन्थे । 

तत्कालीन समयमा गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङ आदि ठाउँमा गुरुकुल र दलाने पाठशालामार्फत शिक्षाको ज्योति फैलाउन केशवराजको ठूलो योगदान थियोे । उहाँले शिक्षामार्फत चेतनाको जागृत गराउन ठूलो भूमिका निर्वाह गर्नुभएको  देखिन्छ । 

लामो समयसम्म गुरुकुल परम्परामा रहेर गुरुकुल शिक्षा दिएका शिक्षाका प्रेरणाका स्रोत केशवराजको १९९६–१९९७ सालमा मोतिबिन्दु लागेर दुवै आँखा बन्द भएका थिए । त्यसपछि उहाँ ‘अन्धापण्डित’ का नामले झन् प्रख्यात हुनुभयो । ३२ वर्षको उमेरमा अन्धा भए पनि उहाँलाई भागवतदेखि कर्मकाण्ड सबै कण्ठस्थ थिए ।

२००७ सालमा प्रजातन्त्र आए पनि औपचारिक शिक्षाको विकास २०१५ सालसम्म गाउँमा पुगेकै थिएन । गुरुकुलीन शिक्षा नै प्रमुख शिक्षा थियो।पछि क्रमशः गाउँ गाउँमा  सरकारी विद्यालय खोलिन थालियो र आधुनिक शिक्षाको विस्तार हुन थालेको देखिन्छ र गुरुकुलीन शिक्षा प्रणाली केही ओझेल परे । नेपालको पश्चिमका विभिन्न जिल्लामा शिक्षाको जग नै नबसेको अवस्थामा आफूले अनौपचारिक शिक्षा प्राप्त गरेर अरूलाई पनि शिक्षित गराउनु पर्छ भनेर तत्कालीन परिवेश अनुकुल शिक्षा प्रदान गर्नु सामान्य पक्कै होइन ।

यसरी आजको नेपालको शैक्षिक विकासमा अन्धापण्डित स्व. केशवराज पौडेलको अत्यन्तै ठूलो भूमिका रहेको छ । मान्छेलाई चाहिने सबभन्दा ठूलो कुरा शिक्षा हो । शिक्षाले मान्छेलाई चेतना दिन्छ र अवसरको खोजीमा जागृत गराउँछ । यस्ता ज्योतिपुञ्ज केशवराजको मृत्यु २०४१ असोजमा रुपन्देहीको मक्रहरमा भएको थियो । 

नारायणप्रसाद पौडेल विद्वान पिताकै विद्वान पुत्र हुनुहुन्थ्यो । उहाँ आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो । नारायणप्रसादले प्रारम्भिक शिक्षा आफ्नै हजुरबुवा प.देवीराम पौडेल र बुवा प.केशवराजकै सान्निध्यबाट प्राप्त गर्नु भएको थियोे । उहाँ आफ्नै बुबाबाट अमरकोश, व्याकरण, रुद्री, लघुकौमुदी, मध्य कौमुदी, पुराण, कर्मकाण्ड आदि थुप्रै किसिमका पूर्वीय धर्मदर्शन र साहित्यिक शिक्षा ग्रहण गर्नु भएको थियोे । 

उहाँले औपचारिक रुपमा भने अर्घाखाँचीको खिदिममा रहेको हरिहर संस्कृत पाठशालामा चार वर्ष, भारतको बनारसमा छ वर्ष अध्ययन गरी शास्त्रीसम्मको योग्यता हासिल गर्नु भएको थियोे भने त्रिभुवन विश्वविद्यालयबाट २०२६ मा इतिहास र पुराणमा आचार्यसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको थियोे ।

नारायणप्रसाद पौडेलको नातागत सम्बन्ध वा प्रेरणागत सम्बन्ध वा गुरुघरानको सम्बन्ध मेरो जिजुहजुरबुवादेखि नै निरन्तर रहिआएको देखिन्छ । हाम्रो घरपरिवारमा शिक्षा, धर्म, दर्शन, व्यवहार, अनुशासन नैतिकता आदिका प्रसङ्ग आउँदा अन्धापण्डितका दृष्टान्त बारम्बार आइरहन्थे र अहिले पनि काकाहरू उहाँकै प्रसङ्ग ल्याउनु हुन्छ ।

हजुरबुवा र बुवाहरूले हाम्रो घरमा शिक्षाको जग बसालिदिने र बाटो देखाउने प्रमुख प्रेरकको रुपमा अन्धापण्डितलाई मान्नुहुन्थ्यो । हामीहरू पनि उहाँका बारेमा कौतूहलतापूर्वक सुन्ने गर्दथ्यौं । 

नारायण बुवाको सत्कर्म र योगदानका बारेमा पनि मेरो पूज्यनीय बुवाले बारम्बार दोहोर्याउनु हुन्थ्यो । मेरो बुबाले सानो छँदा अनौपचारिक शिक्षा नारायण बुबाको घरमै बसेर उहाँसँगै पढ्नु भएको रहेछ । बुबाले बोलाउँदा पनि अत्यन्तै सम्मान र आदरपूर्वक नारायण दाजी भनेर सम्बोधन गर्नुहुन्थ्यो । बुबाले नारायण बुबालाई गुरुपुत्र, सहपाठी, मार्गदर्शक अनि प्रेरकको रुपमा लिनुहुन्थ्यो । 

बुबाले गर्नु भएको गुणगान र प्रशंसाको प्रभाव वा झुकाव हामीमा पर्नु र उहाँप्रति सम्मान र श्रद्धा गर्नु स्वभाविकै पनि हो । नारायण बुवाको बारेमा प्रशस्त सुने पनि उहाँ र मेरो पहिलो भेट सायद उहाँको भाइको छोरा कृष्ण शर्माको विवाहको भोजमा वि.सं. २०५७ फागुनमा काठमाडौंमै भएजस्तो लाग्छ । म त्यस भोजमा ईश्वरी काकासँगै गएको थिएँ । उहाँले ‘तँ चन्द्रकान्तको छोरा होस् ?’ भन्नुभयो । अरु धेरै कुरा सोध्नु भयो, अरु कुरा अहिले म बिर्सिएँ । उहाँ अलि हक्की स्वभावकै हुनुहुन्थ्यो । पछि आक्कल झुक्कल भेट भए पनि अलि ज्यादा २०६३ पनि भयो । 

मैले २०६३ देखि बुटवलमा पढाउन थालेपछि उहाँसँग ज्यादा नजिक भएँ । उहाँको घरमा जाँदा वा कहीँ कतै भेट हुँदा उहाँले असाध्यै माया गर्नुहुन्थ्यो र घरपरिवार लगायतका सबै व्यावहारिक कुरा सोध्नुहुन्थ्यो । उहाँप्रतिको श्रध्दा, सम्मानकै कारणले उहाँसँग आँखा जुधाएर दोहोरो कुरा गर्न अलि धक नै लाग्थ्यो । 

उहाँ अहिलेको समयमा समाजमा बढ्दै गएको सामाजिक, धार्मिक, नैतिक, राजनीतिक अराजकता र विकृतिप्रति चिन्तित हुनुहुन्थ्यो । उहाँ जहिले पनि आफ्नो धर्म, परम्परा, रीतिरिवाज र राष्ट्रियतालाई जोगाउनु पर्छ भन्नुहुन्थ्यो ।

उहाँले मसित धेरै पटक आफ्नो पढाईको जीवन, जागिरे जीवन,व्यावहारिक जीवन सुनाउनु भएको थियो । उहाँसँग हाम्रा घरायसी र व्यवहारिक कुराहरू पनि हुन्थे । नारायण बुबाले नै आफ्नै भान्जभाइकी छोरीसित मेरो विवाह गरिदिनु भएको थियोे । 

मेरो विवाह हुँदा पनि उहाँकै घरमा म र मेरी पत्नीकाबीच पहिलो देखादेख र कुराकानी भएको थियोे । उहाँकै अभिभावकत्वमा हाम्रो विवाह सम्पन्न भएको थियो । उहाँ मेरो जन्ती बनी बुटवलबाट अर्घाखाँची जानुभएको थियोे । यसले नारायण बुबा र मेरो बीचको सम्बन्धमा अझै थप निकटता र आत्मीयता पनि बनाएको थियोे । 

आज नारायण बुवा यो संसारमा हुनुहुन्न तर उहाँको आदर्श, विचार, प्रेरणा, अभिभावकत्व भने मेरो मन मस्तिष्कमा घुमिरहेको छ र कानमा उहाँको आवाज  घन्किरहेको छ । उहाँको त्यो सतविचार, सत्मार्ग र सत्प्रेरणालाई आफ्नो जीवनमा अवलम्बन गर्नु र  मार्गदर्शनलाई  पछ्याउनु नै उहाँलाई सम्झनु र श्रद्धाञ्जली दिनुको अर्थ हुने मैले बुझेको छु ।

मान्छेको जीवनमा जन्म र मरण शाश्वत सत्य हुन् । मृत्यु स्वीकार्नुको विकल्प केही रहेनछ । मान्छेको आयु नै निश्चित छ । यसैले यस्तो निश्चित आयुलाई सत्कर्ममा लगाई मृत्युपछि पनि अमर हुने काम गर्नुपर्छ।मानवता र सामाजिक सद्भावबाट मानिस कहिले च्यूत हुनुहुँदैन । 

जीवनका विभिन्न पाटाहरूलाई अनुकरणीय हुने किसिमका बनाउनु पर्छ । नारायण बुबाका पनि थुप्रै कुराहरू अनुकरणीय छन् । उहाँको अध्यात्म र हिन्दूधर्मप्रतिको आस्था, शीलस्वभाव र व्यावहारिक र नैतिकवान चरित्र लाई हामीले ग्रहण गर्नुपर्छ । अन्त्यमा, आज १३ औं दिनको पुण्यतिथिका दिनमा उहाँको आत्माले शान्ति पाओस् र बैकुण्ठमा बास होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । आचार्य देवो भवः ।।
 



नयाँ