arrow

हिजो श्रीलंका आज नेपाल

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० जेठ १३ शनिबार
article-rajendra-panthi-66a.jpg

के पो बाँकी रह्यो र अब त अति भो ! देशलाई खोक्रो बनाइयो । लुटियो । बेचियो । ए ! अब त अति भयो । आज जताततै जनताका मुखबाट यस्तै चित्कार र सुस्केराहरू निस्किन थालेका छन् । जनताको अभिभावक भनिने राज्य सत्ताको खेलमा लिप्त छ । नेपाली जनताहरू भोकले मर्ने अवस्थामा पुग्दैछन् । 

आम्दानीका श्रोतहरू सबै बन्द हुँदैछन् । उद्योग, कलकारखाना, व्यवसाय, व्यापार ठप्प हुँदैछन् । देशले अनियमितता र भ्रष्टाचारको चरमोत्कर्ष रुप बेहोरिरहेको छ । देशको अर्थतन्त्र अप्ठ्यारो र संकटमा परेको छ । देशका आर्थिक सूचकहरू अत्यन्तै कमजोर स्थितिमा पुगेका छन् । 

पैसाको लोभमा राज्य नै प्रत्यक्ष संलग्न भइ मान्छे बेच्नेसम्मको संगठित आपराधिक क्रियाकलापमा संलग्न भएको छ । यहाँभन्दा अपराधको पराकाष्ठा केही होला र ? पक्कै केही हुन सक्दैन । देश नै अब असफल राज्यतिर धकेलिँदै छ । हिजो श्रीलंका यस्तो भएको थियोे भनेर सुनिएको थियो । आज त नेपाल पनि त्यस्तै हुन लाग्यो । 

अब त सास फेर्न पनि मुस्किल मुस्किल होलाजस्तै छ । यहाँभन्दा अझै संकट हुनु भनेको त्यही श्रीलंका हुनु नै हो । यो विकराल अवस्था सुनाउने कसलाई हो ? सुन्ने नै कोही छैन । राज्य भएको अनुभूति नै छैन । आवाज सुन्नेले नै देश लुट्नेको नेतृत्व गरेका छन् भने त्यस्तोलाई के राज्य वा सरकार छ भन्ने ? 

प्रधानमन्त्री, मन्त्री, नेता, न्यायाधीश, प्राध्यापक, डाक्टर, प्रशासक, कर्मचारी, प्रहरी कोही पनि भ्रष्टाचारबाट अछुतो छैनन् । देश अत्यन्तै संकटमा परेको छ र साँच्चै नै देशलाई जोगाउने बेला आएको छ । अब जसरी पनि जनताले नै देशलाई जोगाउनु पर्छ । जुरुक्क उठौँ । खबरदारी गरौँ ।

२०४६ सालपछि व्यवस्था परिवर्तन गरिएको नाममा भ्रष्टाचारका काण्डहरू ज्यादा भए । देशलाई लुट्नेसम्म लुटियो । राजनीतिलाई पेशा बनाएर देशका सीमानाहरू सारिए र नदीहरूसमेत बेचिए । प्रजातन्त्रलाई लुटतन्त्रका रुपमा विकसित गराइयो । सत्तालाई कमाइ खाने भाँडो बनाइयो । जनताका गाँस, बास, कपास, शान्ति, सुव्यवस्था, रोजगारको बारेमा कहिँ कतै बहस र चर्चा हुन सकेनन् । 

पुराना दलहरू भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी सत्ताको दाउपेचमा लागे र सत्तालाई आफ्नो निजी सम्पत्ति जस्तो ठानी भागबण्डाको राजनीतिमा अझैसम्म चुर्लुम्म डुबेका छन् । पार्टी नेतृत्वले आआफ्ना पार्टीलाई निजी कम्पनी जस्तो बनाइ चलाइरहेका छन् । 

ती निजी कम्पनीका साहुहरू आफू अनुकूल राज्य सञ्चालन गरेका छन् । ती पुराना पार्टीमा कहिँ कतै नैतिकता, अनुशासन, जवाफदेहिता, जिम्मेवारबोध भन्ने छैन । भर्खरै मात्र जनताको विरोध र आक्रोशबाट केही नयाँ वैकल्पिक दलहरू उदाएका छन् । तिनीहरूलाई हेर्न र बुझ्न अझै बाँकी नै छ । तिनीहरूबाट केही शुभ संकेतहरू भने देखिएका छन् ।

अब नेपालको राजनीतिक, प्रशासनिक, शैक्षिक, कानूनी आदि लगायतका सबै क्षेत्रमा थुपरिएका फोहरका डङ्गुरहरूलाई तुरुन्त मिल्काउनु पर्नेछ । अब पनि ढिलो गरियो भने यो देशलाई बचाउन र सुखको सास फेराउन सकिँदैन । यस्तो किसिमको घिनलाग्दो फोहरलाई हटाउन अब हामी सबै एकजुट भएर लाग्नुपर्छ । अब यो बाहिरबाट हेरेर वा केही भनेर सफा हुँदैन । यो डुङ्डुङ्ती गन्हाएको फोहरलाई मिल्काउनै पर्छ । यो फोहरले कहिँकतै बाँकी रहेको सफालाई पनि अझै दुर्गन्ध बनाउँदै जान्छ । 

अब विकृति र विसंगतिरुपी रुखहरूका पात झारेर वा हाँगा काटेरमात्र देश समुन्नत बन्न सक्दैन । जरा नै उखेल्नुपर्छ । ऐजेरु जस्तै देशका हरेक अङ्ग र निकायमा भ्रष्टाचार र कुशासन रुमलिएको छ । जालो लागेको छ । यसलाई फाँड्नुपर्छ र हटाउनुपर्छ । अबको अन्तिम अस्त्र भनेको राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक सबैतिरका भ्रष्टाचारी, असक्षम र असफल नेतृत्वलाई जसरी पनि मिल्काउनु नै पर्छ । 

हरेक निकायमा नयाँ, ताजा र सफालाई अवसर दिई भित्र्याउनु पर्छ । जसरी हुन्छ अब मितव्ययी र कानूनी राज्यको स्थापना गर्नुपर्छ । नेपाली जनता अब अल्छी नगरी पुनः एकपटक जुरुक्क उठ्नु र जुट्नु पर्ने अवस्था आएको छ । अब कुनै पनि मूलधार वा पुराना राजनीतिक दलका पछाडि लागेर वा यिनले गर्लान् कि भनेर आश गरेर देशले निकास पाउनै सक्दैन । 

धेरै वर्ष कुरियो र हेरियो पनि तर जनताको अवस्थामा तात्विक परिवर्तन आउन सकेन । अहिलेसम्म पनि प्रमुख समस्या भनेका आधारभूत आवश्यकताहरू नै रहिरहेका छन् । देशको समृद्धि र पूर्वाधारका कुराहरू त हुनै सकेनन् भन्दा पनि हुन्छ । नेपालका पुराना र मूलधारका राजनीतिक दलहरू पटक पटक परीक्षणबाट असक्षम र असफल भए । 

तिनीहरूमा कुनै किसिमको देश बनाउने भिजन देखिएन । राजनीति भनेको पोसिने, कमाउने र कार्यकर्ता पाल्ने व्यवसाय बन्यो । यी दलहरू निजी कम्पनीजस्ता भए । यिनीहरूले आफूहरू उत्रिएर देशलाई नराम्ररी डुबाए । नेपाली जनतालाईसमेत बेचेर आपराधिक कार्य गर्न थाले । यी नेताका आम्दानीका श्रोतहरू कहिँ केही छैनन् तर अथाह सम्पत्तिका मालिक बनेका छन् । 

आज देशका पूँजीपति र साहुमहाजन भनेका दलका नेता छन् । रातारात करोडौँ भ्रष्टाचार गरेर अर्बपति बनेका छन् । हिजो काठमाडौंमा चप्पल पड्काएर आउनेहरू आज अर्बपति भएका छन् । तिनीहरूले नेपालको लोकतन्त्रलाई लुटतन्त्रको रुपमा स्थापित गराए । ओहो ! अब त अति नै भयो, जुरुक्क उठ्नुको विकल्प नै छैन । अब एकपटक जताततै सफा गरेर यी सबैलाई मिल्काएर मात्र नेपाल बनाउन सकिन्छ । नत्र यही अवस्थामा पुनः यिनैलाई नेतृत्व सुम्पेर हामीले कुनै पनि निकास पाउन सक्दैनौँ र हामी पनि श्रीलंका जस्तै भयौँ भन्नु पर्ने हुन्छ । अब सबै जनता बाढीपहिरो, आँधीबेहरी र हुरीबतास जस्तो बनेर कुनाकानी र छेउँछाउँ लुकेर बसेका सबै किसिमका ठूला साना माछालाई समातेर कालकोठरीमा जाक्नुपर्छ ।

देशमा दशकौँदेखि जमेर बसेको भ्रष्टाचार र अनियमितताको फोहरलाई हुत्याउनु नै अहिलेको प्रमुख चुनौती र कार्य हो । अब केही समय जेल बनाउने काममा लाग्नु पर्ने देखिन्छ । भ्रष्टाचारका पुराना र नयाँ काण्डहरू खोतल्दै र खोल्दै जाने हो भने यहाँ हजारौं भ्रष्टाचारी भेटिने छन् र राष्ट्रको अर्बौं ढुकुटी जम्मा हुनेछ । 

अब एउटा बलियो अधिकार सम्पन्न आयोग बनाई भ्रष्टाचारीहरूको अनुसन्धान गरिनुपर्छ । पहिले त्यो आयोगमा बस्ने निष्कलंक पदाधिकारी खोजेर तिनीहरुमार्फत  भ्रष्टाचारीलाई एकएक गर्दै जेलमा कोच्नुपर्छ । नेपाली राजनीतिमा रहेका तथाकथित यी हजुरबा, बा, दाइ भाउजू, साब र कमरेडको दौराको फेरो समातेर वा तिनैको भजन गाएर अब देशले निकास पाउन सक्दैन ।

नेपाललाई आजको  दूरावस्थामा ल्याउने नै यी तथाकथित दलको नेतृत्व गरेका बाहरूलाई हुत्याउनुपर्छ । राजनीतिमा वाद, सिद्धान्त, निष्ठा, सेवा भन्ने कुरा बावाद र दाइवादमा परिणत हुनाले देशले विभिन्न किसिमका चुनौतीहरू र असहज परिस्थितिको सामना गर्नु परेको छ ।

अब नेपाली जनता अत्यन्तै निष्ठुरी बन्ने बेला आएको छ । अब सडकमै आएर देश बेचुवा अपराधीलाई थुत्दै कालकोठरीमा जाक्नुपर्छ । ती भ्रष्टाचारी र अपराधीलाई कुनै हालतमा छुट्ने मौका दिनु हुँदैन । देशमा अब त केही होला कि भनेर पर्खदा पर्खदा बाउ, छोरा र नाति तीन पुस्ताको समय सित्तैमा गएको छ । 

आज प्रत्येक नेपालीको टाउकोले त्रिहत्तर हजार सार्वजनिक ऋण बोक्नु परेको छ । भोलि त केही होला भनेर पर्खदा भोलि केवल भ्रष्टाचार, अपराध र अनियमितता मात्र भएको छ । एउटै नेता बारम्बार महको माखोजस्तै सत्ताको वरिपरि घुमेको घुम्यै छ । 

राजनीति केवल चुनावदेखि चुनावसम्म मात्र छ । जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षा, रोजगार आदि जस्ता आधारभूत आवश्यकतामा कहिल्यै कसैको ध्यान जान सकेको छैन । हाइस्कुल परीक्षा दिएको विद्यार्थीले अब त उतै खाडीमा भेटौँला भन्दा राज्य मौन छ । 

गाउँघरमा ज्येष्ठ नागरिक र बालबालिका मात्र छन् । खेतबारी सबै बाँझिएका छन् । युवाजति सबै रोजगारको लागि विदेशिएका छन् । देशमा केबल वस्तुको आयात र जनशक्तिको निर्यात भएको छ । देश बल्लतल्ल रेमिटान्सबाट चलेको देखिन्छ । देशको आम्दानीबाट चालू खर्च नै धान्न नपुग्ने अवस्थामा पुगेको छ । देशमा अब यहाँ भन्दा विकराल के पो हुन सक्छ र अब यसपछिको अवस्था भनेको उही श्रीलंका हुनु नै हो ।

अब नेतृत्वलाई एकोहोरो सम्झाएर, फकाएर र गाली नै गरेर पनि सुध्रिने अवस्थामा छैनन् । गधालाई धोएर कहिल्यै गाई हुन सक्दैन । अब यिनलाई हुत्याएर फाल्नै पर्छ । श्रीलंकामा जस्तै भ्रष्टाचारीलाई घरघरबाट थुत्दै निकाल्नु पर्छ र तिनीहरूको अकुत सम्पत्ति राज्यकोषमा जम्मा गरी देशको विकास निर्माणमा लगाउनु पर्छ । 

हिजो राजाको भनिएको अवैधानिक सम्पत्ति जसरी राज्यको नाममा ल्याइयो आज त्यही तरिकाले नै यी तथाकथित नेताको अवैधानिक सम्पत्ति पनि राज्यको ढुकुटीमा ल्याउनुपर्छ र यिनलाई हदैसम्मको सजाय दिनुपर्छ । प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र जनयुद्धका नायकहरू नै भ्रष्टाचारका महाकाण्डका नाइके बनेर आएका छन् । अब पनि हामी यिनका पछाडि दौड्नु भनेको हाम्रो आफ्नो अस्तित्व नै सकाउनु हो ।

अब पुरानो दलहरूमा रहेका केही निष्ठावान नेता, कार्यकर्ता र युवा पुस्ताले अत्यन्तै गम्भीर भएर सोच्ने बेला आएको छ । पार्टीलाई कम्पनी बनाएर त्यही कम्पनीको तल्लो दर्जाको कर्मचारी जस्तो बनेर अबको राजनीति कुनै हालतमा सफल हुन सक्दैन । 

राजनीति नै गर्ने नै हो पूर्ण रुपमा सच्चिएर नेपाली जनताको आशा, आक्रोश र सपनालाई साथ दिनुपर्छ । सबै कार्यकर्ता सबै नेता बन्नुपर्छ । एकल नेतृत्व स्वीकार्य हुन सक्दैन । बागमतीमा धेरैमा पानी बगेको छ । राजनीतिमा अब चाकरी र चाप्लुसीलाई अन्त्य गरिनुपर्छ । 

अहिले देश अत्यन्तै विकराल अवस्थामा पुगेको छ । यस्तो अवस्थामा पनि नसच्चिनु भनेको सकिनु नै हो । देश नै सकिँदा हाम्रो अवस्था के होला ? अब २१ औं शताब्दी अनुकूलको नेपाली माटो सुहाउँदो निष्ठाको राजनीति गरिनुपर्छ ।  नेपाल अधिराज्यको संविधान, कानूनी राज्य र सुशासनलाई नै मूल मन्त्र बनाउनुपर्छ । अहिले देश अत्यन्तै आर्थिक संकटमा परेको छ । भ्रष्टाचारी र आपराधिक क्रियाकलापका विरुद्धमा दरो भएर उभौँ र देशलाई बचाऔँ । देश बच्यो भने मात्र हामी बाँच्न सक्छौँ । ढिलो नगरौँ । देशलाई श्रीलंका हुनबाट जोगाऔँ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ