arrow

घट्यो पेट्रोलियम पदार्थको आयात, यस्तो छ कारण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा आयात घटेको पाइएको हो । प्रादेशिक कार्यालय अम्लेखगञ्जका प्रमुख एवं नेपाल आयल निगमका पूर्व प्रवक्ता बिनितमणि उपाध्यायले पेट्रोलमा ९ प्रतिशत, डिजेलमा २५ प्रतिशत र मट्टितेलमा ३४ प्रतिशतले आयात कम भएको बताए । 

अमलेखगञ्जबाट मुलुकका लागि चाहिने ६० देखि ६५ प्रतिशत पेट्रोलियम पदार्थ वितरण हुन्छ । उपाध्यायका अनुसार अमलेखगञ्जबाट काठमाडौं, पोखरा, भैरहवा, विराटनगर, जनकपुरमा वितरण हुन्छ । त्यस्तै अमलेखगञ्ज वरिपरिका १२ जिल्लामा पनि यहीँबाटै वितरण गरिन्छन् । नेपालगञ्जमा पूर्णरुपमा डिजल बोन्डाबाट आउँछ । धनगढीमा बन्थराबाट आउँछ । चारआलीमा पूर्णरुपमा सिलिगुडीबाट आउँछ । उपाध्याय भन्छन्, ‘यति ठाउँभन्दा बाहेक हामीले नै सप्लाइ गर्छौं  । पेट्रोलियम पाइपलाइन आएपछि चार वर्षदेखि हामीले यसरी नै गरिरहेका छौँ ।’  

पेट्रोल, डिजेल र मट्टितेलमा आयात घटे पनि हवाई इन्धनमा भने १३ प्रतिशतले आयात वृद्धि भएको छ । 

गत आर्थिक वर्षको बैशाख मसान्तसम्म ६ लाख १४ हजार ४६८ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ५ लाख ५७ हजार ८६४ किलोलिटर मात्रै पेट्रोल आयात भएको छ ।

त्यसैगरी डिजेलको हकमा पनि गत आर्थिक वर्षको वैशाखसम्म १४ लाख ५२ हजार ६४७ किलोलिटर आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा १० लाख ९० हजार २६८ किलोलिटर आयात भएको छ ।

के कारणले कम भयो त आयात ? 
आयात घट्नुमा दुई कारण मूख्य देखिएका छन् । त्यसमा पर्छ पछिल्लो समय देखिएको आर्थिक मन्दी । त्यसले केही कमी भएको निगमको अनुमान छ । आर्थिक चलायमान कम भएका कारणले नै यो समस्या आएको हो । 

अर्को मुख्य भनेको नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो हुनु हो । उपाध्यायका अनुसार ६–७ महिना अगाडिसम्म भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो थियो । जसका कारण नेपालमा आउने जति पनि भारतीय सवारी थिए तिनीहरुले नेपालबाटै पेट्रोलियम पदार्थ सवारीमा भरेर लैजान्थे । अहिले त्यसमा कमी आएको छ । 

नेपालमा भारतमा भन्दा मूल्य कम हुँदा सीमा आसपासमा प्रायः नेपाल आएरै लैजाने गरेका थिए । यसलाई रोक्नका लागि आयल निगमलाई त्यतिबेला समस्या पर्दै आएको थियो । 

तर अहिले भने भारतमै तेल सस्तो भएपछि नेपालमा आएर भर्नेको संख्या नै छैन । 

अहिले पनि भारतको उत्तर प्रदेशतिर त नेपालमा भन्दा १५ देखि २० रुपैयाँसम्म नै महँगो छ । तर बिहार क्षेत्रतिर अझै पनि करिब डेढ रुपैयाँ जतिले महँगो छ प्रतिलिटर नेपालतिर । 

यी दुई कारणले गर्दा नै नेपालमा खपत कम भएको हुन सक्ने उपाध्याय बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ