arrow

कुरा बराबरीका

मिसटोलदेखि मिसवल्डसम्म 

महिला र पुरुष बराबर हुन्, कोही मान्छे र कोही वस्तु होइनन्, कसैले कसैलाई बिक्री गरिनु हुँदैन

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० जेठ २७ शनिबार
article-rajendra-panthi-fashion-69.jpg

आजको २१ औं शताब्दीको विश्वमा पनि महिला र पुरुषका समानता बारेमा आवाज र आन्दोलन सशक्त रुपमा घन्किरहेका छन् । महिला हिंसाका घटनाहरू सोचे अनुकूल न्यून हुन सकेका छैनन् । अहिले पनि महिला हिंसा हुनुको प्रमुख कारण पुरुष वा पितृसत्ता नै हो भनेर भनिन्छ । 

समाज विकासको रुपान्तरण ढुङ्गेयुगबाट आजको एटमबम युगसम्म आउँदा पुरुषहरूबाट नै महिलाहरू हेपिएका र दबिएका छन् भनिनु कत्ति पनि सकारात्मक  पक्ष होइन । अझै पनि संसारका अधिकांश मुलुकमा सत्तापक्षबाट नै महिलाहरू लैङ्गिक, सामाजिक, आर्थिक, धार्मिक, जातीय, वर्गीय, राजनीतिक आदि विभिन्न  कारणले शोषित र विभेदित भएका छन् । 

विश्वका धनी, गरिब, विकसित, अर्धविकसित, अविकसित सबै देशमा सरकारी एवम् गैरसरकारी तर्फबाट महिला उन्मुक्ति, अधिकार, समानता र सशक्तीकरणका बारेमा थुप्रै किसिमका जनचेतनामूलक कार्यक्रम पनि संचालन भइरहेका छन् ।  तर पनि विभेद, हिंसा र बलात्कारका घटना भएकै छन् ।

हाम्रो समाज र सत्ताले खासगरी महिला र पुरुष भनेको समान हो भन्ने कुरालाई मान्न तयार भएकै छैन । ऐन, कानून, संविधान, नीति, बोली, नारा, भाषण, सिद्धान्त जहाँसुकै महिला र पुरुष बराबर भनिए तापनि व्यवहारमा हुन सकेको छैन । सत्ता र पितृसत्ताको प्रभावले पुरुषबाट महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएकै छ । 

पुरुषको उपभोग्य वस्तुको रुपमा व्यवहार गरिएको छ । महिलाहरू पछाडि पर्नु, अवसरबाट बन्चित हुनुमा केवल सत्ता र पुरुषको मात्र दोष मात्र छैन यसमा महिलाको पनि कमजोरी र दोष रहेको छ ।

अहिलेको पूँजीवादी युगले त झन् हरेक कुरालाई नाफाघाटामा हेरिरहेको हुन्छ । यो युगमा संवेदना र भावना भन्दा पनि वस्तु, उपभोग र बजारलाई महत्व दिएको पाइन्छ । पूँजीवादको उद्देश्य भनेको जसरी हुन्छ मुनाफा कमाउ भन्ने नै हो । यही पूँजीवादले महिलालाई अधिकार दिने, महिलाको बौद्धिकता र क्षमतामा वृद्धि गर्ने भन्ने नाममा विभिन्न किसिमका मिस प्रतियोगिता गरेर महिलालाई नङ्ग्याएर उनीहरूको अङ्ग प्रदर्शन गरी नयाँनयाँ फेसन डिजाइन गरी व्यापार र व्यवसाय सञ्चालन गरिरहेको छ । 

मिस वा मिसेज सौन्दर्य प्रतियोगिताका नाममा महिलाको बाहिरी रुप र अङ्ग प्रदर्शन गर्न लगाएर बौद्धिकता र सौन्दर्य मापन गरिएको छ । विश्वका केही निश्चित पूँजीपति, व्यवसायी र व्यापारीले आफ्नो व्यवसायको विस्तार गर्नको लागि महिलालाई प्रयोग गरेर मिसटोलदेखि मिसवल्डसम्मका सौन्दर्य प्रतियोगिता गराइरहेका छन् । यसले महिलाको अधिकार, उन्नति, क्षमता, बौद्धिकता, प्रतिस्पर्धा बढ्ने भन्दा पनि इज्जत र अस्मितामाथि नै प्रहार गरेको देखिन्छ । पश्चिमी मुलुकका विभिन्न देशको सौन्दर्य प्रतियोगिता र फेसन शोको अन्धानुकरणले नेपाली संस्कृति, भाषाभेष र परम्परामाथि ठूलो आक्रमण र अतिक्रमण भएको छ । 

विगत केही वर्षदेखि नेपालमा महिलाको बौद्धिक क्षमता र सुन्दरताको मापनका नाममा थुप्रै किसिमका मिस प्रतियोगिताहरू संचालन गरिएका छन् । मिस टिन, मिस एसईई, मिस पोखरा, मिस धरान, मिस नेपाल, मिस नेवाः, मिस जाति, मिस थर आदि नाम दिई महिलालाई कुनै वस्तुसँग दाँजिएर प्रदर्शित गरिएको छ । 

यसले महिलाको बौद्धिकता र सुन्दरताको प्रतिस्पर्धा गराइनु भन्दा पनि महिलालाई झन अपमान र नाङ्गो बनाइएको छ । मिस प्रतियोगितामा महिलाका अति गोप्य अङ्ग स्तन, यौनाङ्ग आदि प्रदर्शन गर्न लगाएर महिलाको इज्जतमाथि नै खेलबाड गरिएको छ र महिलालाई झन् अपमान गरी नंग्याइएको छ ।

मिस प्रतियोगितामा सौन्दर्यका मूल्यांकनका आधारका रुपमा महिलाको उचाइ, कपाल, मुख, आँखा, नाक, दाँत, स्तन, कम्मर, हिप, यौनाङ्ग, नङ आदिको बनोट र आकर्षणका कुरालाई महत्त्व दिएको छ।यसरी सौन्दर्यका नाममा महिलालाई सिंगार्न लगाएर प्रदर्शनमा बिक्री गर्न राखिएको कुनै वस्तु जस्तो बनाइएको हुन्छ । 

कसैको आँखाको नजरमा कुनै महिला राम्रो देखिनुले उसलाई सुन्दरी महिलाको ताज लगाइनुले सिङ्गो महिलाको सुन्दरताको मूल्यांकन हुन सक्दैन । यसले महिलाको सम्मान, इज्जत र प्रतिष्ठा बढ्ला भन्दा घटेको छ । कुनै व्यक्ति विशेषको नजरमा कुनै महिला राम्री देखिँदैमा सबैको नजरमा ती महिला राम्री र सुन्दरी हुन सक्दैनिन् । सुन्दरताको मापन भनेको जतिसक्यो नाङ्गो शरीर देखाउनु भन्ने हुनै सक्दैन । नेपाली मौलिक पोशाक लगाएर, सामाजिक मर्यादा अनुसार ढाक्नु पर्ने शरीर ढाकेर पनि मिस नेपाल र मिसवल्र्ड  वा मिस सौन्दर्य हुन सकिन्छ । बाहिरी आवरणका आधारमा कसैले मिस सुन्दरी भनेर घोषणा गर्दैमा कुनै महिला सुन्दरी हुन सक्दैनिन् ।

विश्वमा ठाउँ, परिवेश, परम्परा, संस्कृति अनुसार विभिन्न किसिमका सामाजिक संरचना छन् । सामाजिक परिवेश अनुसार सबैका सामुन्ने शरीरका अङ्गहरू देखाउन मिल्ने र नमिल्ने भन्ने मान्यता छ । शरीरका कतिपय अङ्ग पूरै छोप्नुपर्ने, कतिपय नछोपे पनि हुने भन्ने पनि छ । यो सबै सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक परम्परामा आधारित रहेका छन् । 

सामान्यतया हाम्रो नेपाली समाजमा महिलाले छाती पुरै छोप्नुपर्ने र दिसा पिसाब गर्ने अङ्गसहित घुडासम्म छोप्नु पर्ने मान्यता छ । यो कुनै कानूनमा नभएर समाजले बनाएको मान्यता हो।महिलाले कति कपडा लगाउने र कति छोप्ने भन्ने  स्वनिर्णयको अधिकार हो तापनि समाजमा बसेपछि सामाजिक नियम र मर्यादालाई मान्नुपर्छ । यो सत्ता वा पुरुषले लगाएको बन्धन हो भनेर पूर्ण खुला हुँदा पनि सकारात्मक सन्देश जाँदैन ।

मानव सभ्यताको विकासमा आदि मानव नाङ्गै थिए । समय क्रममा मान्छेले रुखका पात र बोक्रा बेरेर हिँड्थे भनिन्छ । विस्तारै कपडाको विकास भएर नाङ्गो शरीर ढाक्न थालेको देखिन्छ । समय क्रमको विकास हुँदै जाँदा ठाउँ र परिवेश अनुकूल महिला र पुरुषले निश्चित अङ्ग अनिवार्य छोप्नै पर्ने भन्ने नियम बनाएको हुनसक्छ र त्यही परम्परालाई हाम्रो समाजले निरन्तरता दिएको हुनसक्छ ।

आधुनिक युगमा परम्परित मान्यता वा चलन पूरा ठीक छन् र पूरा बेठीक छन् भन्न सकिँदैन । मानिसको पोशाकले उसको समाज, भूगोल, संस्कृति, इतिहास, सभ्यता, आचरणको प्रतिबिम्बित गरेको हुन्छ । हुनत मान्छे जन्मदा नाङ्गै जन्मेको हुन्छ । बालक हुर्कदै जाँदा घरपरिवार र समाजबाट शरीरका निश्चित अङ्ग ढाक्नु पर्छ भनेर सिकेको हुन्छ र त्यसैबाट लाजशर्म भन्ने कुरा सिकेको हुन्छ ।

नेपालको कुनै कानूनमा शरीरका यी अङ्ग अनिवार्य छोप्नुपर्छ भन्ने छैन । तर पनि सामाजिक बन्धन र मर्यादाले शरीरका निश्चित अङ्ग छोपिएको हुन्छ । सामाजिक परम्पराले नै महिला र पुरुषलाई यी अङ्गहरू छोप्नुपर्छ भनेर भनिएको हो । केही अङ्गहरू नछोप्दा त्यसले विकृति र दुराचार निम्त्याउने कारणले पनि यी अङ्गहरू छोपिने परम्परा बसेको हुनसक्छ । 

आधुनिक बन्ने नाममा होस् वा अन्धविश्वास र सामाजिक परम्परा भत्काउने नाममा होस् महिलाका शरीरका अङ्ग प्रदर्शन गरेर वा नाङ्गिएर आधुनिक बन्न सकिँदैन र  महिला विभेद र हिंसा पनि अन्त्य हुन सक्दैन ।

महिलाको सौन्दर्यको मापन भनेको अनुहार, छाती, कम्मर मात्र हुन सक्दैनन् र उसको सौन्दर्य भनेको बाहिरी आवरण मात्र हुन सक्दैन । महिला वा पुरुषका सौन्दर्य भनेका बौद्धिकता, प्रतिभा, मानवता, सामाजिकता, राष्ट्रियता, अनुशासन, इमान्दारिता, कर्तव्यबोध, जिम्मेवारी लगायतका थुप्रै सूचकहरू मापनका आधार हुन सक्छन् । 

शरीरको बाहिर आवरण हेर्दैमा मानिस सुन्दर र कुरुप भन्ने कुरा छुट्याउन सकिँदैन । समाजका बीचमा गरिने यस्ता किसिमका सौन्दर्य प्रतियोगिताले महिलाको अस्तित्व र अर्थ भनेको केबल बाहिरी आवरण र प्रयोगयोग्य वस्तु मात्र हो भन्ने कुरालाई देखाउन खोजेको देखिन्छ । 

महिलालाई प्रदर्शनमा राखेर, रङ्गीचङ्गी बनाएर, गोप्य अङ्गहरू देखाउन लगाएर बाहिरी आवरणका आधारमा मिसटोलदेखि मिसवल्डसम्म घोषणा गरेर झन हिंसा र विकृति बढ्दै जान्छ।यो तरिकाले महिलाको सौन्दर्यको पहिचान हुन सक्दैन र यो त  पूर्णरुपमा महिलालाई उपभोग्य र आकर्षणको वस्तु जस्तो बनाएर विश्वको पूँजीबजारमा बेच्न राखिएको मात्र हो ।

अहिले पश्चिमी संस्कृति भित्र्याउने नाममा नयाँ फेशन डिजाइनले शरीरमा छोप्ने अङ्गभन्दा देखाउने अङ्ग धेरै भएका छन् । शरीरमा लगाउने पोशाकहरू झन्पछि झन् साना हुँदै गएका छन् । कुनै एउटा सुन्दरी प्रतियोगितामा परिवारका सबै सदस्य सँगै बसेर हेर्न सकिने अवस्था छैन । कुनै भोज वा पाटीमा जानु पर्यो भने नयाँ शृङ्गार र फेसनले महिलाहरू झकिझकाउ भएका हुन्छन् । 

सौन्दर्यताका लागि केबल बाहिरी आवरणलाई महत्व दिइएको छ । यहाँ महिला वा पुरुषले श्रृंगार गर्नु हुँदैन भन्न खोजेको भने होइन । सबैले आफ्नो सामाजिक मान्यताभित्र रहेर आफ्नो संस्कार र संस्कृतिलाई ध्यानमा राखेर पहिरन गर्नुपर्छ र आफ्नो मौलिक पोशाकको सम्मान गर्नुपर्छ भन्न खोजिएको हो । 

गुन्यु, चोलो, पटुका लगाएर पनि महिलाको सौन्दर्य मापन गर्न सकिन्छ । सौन्दर्यका मापक बाहिरी श्रृंङ्गार र पोशाक मात्र होइनन् । मानिस भित्रका क्षमता र प्रतिभा हुन् । जोसँग सबैभन्दा धेरै प्रतिभा र क्षमता छ ऊ नै सबैभन्दा सुन्दर व्यक्ति हो । कालो, गोरो, होचो, अग्लो, मोटो, धनी, गरिब जो कोही पनि सुन्दर हुन सक्छ । श्रृङ्गार, गरगहना र छोटो पहिरन लगाएर सुन्दर देखिन्छ भन्नु सामाजिक मूल्य, परम्परा र मान्यतालाई भत्काउने प्रयत्न गर्नु हो र झन् समाजलाई विकृतितिर लैजानु हो । अनि महिलालाई वस्तुको रुपमा झन् प्रमाणित गर्न खोज्नु हो । 

महिला र पुरुष बराबर हुन् । कोही मान्छे र कोही वस्तु होइनन् । कसैले कसैलाई बिक्री गरिनु हुँदैन । सबै आ–आफ्नो मूल्य, मान्यता र संस्कारमा चल्नुपर्छ र आफ्नो अस्तित्व र पहिचानलाई बचाउनु पर्छ । सुन्दरी बन्ने नाममा नाङ्गिने परम्परालाई हटाउनु पर्छ । देश, समाज, संस्कृति, भाषाभेष, पहिचान, प्रतिभा र क्षमतालाई आधार बनाई मिस सुन्दरी चयन गरिनुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ