arrow

कान्छारामको मनोमानीविरुद्ध रामेछाप नेवीसंघ पनि तात्यो, सात माग राख्दै अनसन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
ramechhap-nebisangh-ansan-2080-02-30.jpg

रामेछाप । रामेछाप जिल्लामा नेपाली कांग्रेसको विवाद सतहमा आएको छ । कांग्रेस रामेछापका जिल्ला सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को कार्यशैलीले रामेछापको विकासको गति रोकिएको र सिङ्गो पार्टी नै जिल्लामा बदनाम हुन पुगेको भन्दै सात माग राख्दै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवीसंघ) का नेताहरु रिले अनसनमा बसेका छन् । 

मंगलबार बिहानै ६ बजेदेखि नेवीसंघका जिल्ला नेताहरु मनिशबहादुर चौहान, राजेश भण्डारी र सरोज बुढाथोकी अनसनमा बसेको नेवीसंघका पूर्व क्षेत्रीय सभापति उत्तम कार्कीले बताएका छन् ।  

उनीहरुले नेवीसंघको विधान विपरीत नेतृत्वले आफू अनुकुल नेतृत्व गरेकाले तत्कालखारेज गरी विधिसम्मत जिल्ला अधिवेशन गर्न माग गरेका छन् । 

त्यस्तै पार्टीका बहुसंख्यक नेता कार्यकर्तालाई बाइपास गरी सीमित व्यक्तिको स्वार्थको आधारमा पालिका, प्रदेश सम्मेलन नगरी जिल्ला सम्मेलन गर्न लागिएकाले तत्काल जिल्ला सम्मेलन स्थगित गरी सबै तहका नेता कार्यकर्तासँग समन्वय गरेर पालिका, प्रदेश र जिल्ला सम्मेलन गर्न माग गरिएको छ । 

विद्यार्थी नेताहरुले पार्टीलाई विधि र विधानमा चलाउनसमेत माग गर्दै सबैभन्दा सशक्त भ्रातृ संस्थालाई चलायमान गराउनसमेत जिल्ला सभापति एवं सांसद कान्छारामसँग माग गरेका छन् । 

पछिल्लो समय रामेछाप कांग्रेस नेतृत्व विवादमा परेको छ । रामेछापका लामो समयदेखि योगदान दिएका पार्टीका पाका नेताहरुसमेत हेपाइमा परेपछि असन्तुष्ट नेताहरुले केन्द्रीय समितिलाई नै झक्झक्याएका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रदेश प्रमुख इन्द्र बानियाँ, सहमहामन्त्री बद्री पाण्डे लगायतलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । 

कान्छारामले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरी मनोमानी गरेको भन्दै पार्टी जोगाउनका लागि पूर्व सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, युवराज भट्टराई, विनिता खड्का, मिना कार्की, रामकुमारी डाँगीलगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, प्रदेश कमिटीलगायतका ४६ जना नेता कार्यकर्ताले ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरुले ध्यानाकर्षण पत्रमा कान्छारामलाई कारबाहीको माग गरेका छन् । 

कान्छारामले पार्टी सञ्चालनका क्रममा गरिएका गलत कार्यविरुद्ध फरक मत राख्ने कांग्रेस नेताहरुमाथिसमेत स्पष्टीकरण नसोधी गालीगलौज गर्दै कारबाही गर्ने गरेको लगायतका आरोप उनीमाथि छ । 

महाधिवेशन प्रतिनिधि भरत चौलागाईले भने, ‘जिल्लामा ९५ प्रतिशत मानिस सभापतिको खिलापमा छन् । पार्टी पूरै ध्वस्त गराएको आरोप उहाँमाथि छ । उहाँको विरोध गर्यो कि कारबाही भइहाल्छ । जिल्लाभरबाट म एकललाई कारबाहीको सिफारिस गरिएको छ । अनुशासन समितिलेसमेत पनि अनुमोदन गरेको छैन । विद्रोही उठेकालाई आफूखुशी कारबाही फिर्ता गर्ने र हामीजस्ता पार्टीप्रति कटिबद्ध भएकालाई कारबाही सिफारिस गरिएको छ ।’

चौलागाईले भने, ‘उहाँले सांसदको टिकट कांग्रेसले नभइ प्रचण्डले दिएको भनेर भन्दै हिँड्नुहुन्छ अनि विरोध गर्यो कि असभ्य भाषा प्रयोग गर्नुहुन्छ, गाली गर्नुहुन्छ ।’

त्यस्तै महाधिवेशन प्रतिनिधि विनिता खड्काले कार्यकर्ताको भावना विपरीत निजी कम्पनी चलाएजस्तो पार्टी चलाएको, कामकारबाही एकलौटी चलाउने गरेको, मनोमानी ढंगले गर्दा कांग्रेसको शाख गिरेको भन्दै अब भनेको नभए अविश्वासको प्रस्ताव ल्याउने बताइन् । 

पीडितहरुले तत्काल समानान्तर पार्टी अफिस खोलेर कारबाहीका लागि माहोल बनाउने बताएका छन् । यसको मुख्य उद्धेश्य नै अविश्वासको प्रस्ताव ल्याएर कारबाही गर्ने नै हुने एक महाधिवेशन प्रतिनिधिले बताए । 

अहिले कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवीसंघ) को समानान्तर समिति बनिसकेको छ ।

त्यसैगरी संसदमासमेत कान्छारामको मनोमानीविरुद्ध आवाज उठेको छ । उनले ठेक्का लिने र ती ठेक्कापट्टा समयमै नसक्दा पार्टी नै बदनाम हुनुपरेको आरोप लागेको छ । 

कान्छारामका ठेक्काले रामेछापमा मात्र हैन अन्य जिल्लामा पनि बदनाम कमाएको बताइन्छ । ओखलढुङ्गामा पनि समस्या भएको त्यहाँका सांसदले संसदमै बोलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ