arrow

अधिकमास अर्थात् मलमास

logo
तुलसी पन्थी, 
प्रकाशित २०८० असार ३० शनिबार
article-tulsi-panthi-2080-03-30.jpg

हाम्रो चलन चल्तीमा रहेको हिन्दू पञ्चाङ्गअनुसार महिनाहरू दुई किसिमका हुन्छन्  जसलाई मास भनिन्छ । सूर्यको गतिअनुसार गणना गरिने बैशाखदेखि चैतसम्मका बाह्र महिनाहरू सौर्यमास हुन् । यी बाह्र महिनाको एक वर्षमा ३६५ दिन हुन्छन् । चन्द्रमाको गतिअनुसार गणना गरिने महिनाहरु पनि बाह्र वटा नै हुन्छन् । 

यी महिनाहरू चन्द्रमाको गतिअनुसार तिथि बमोजिम गणना गरिन्छ । चन्द्रमासको एक महिनामा दुई पक्ष हुन्छन्, कृष्ण पक्षमा प्रतिपदादेखि ‍‍‍‍‍‍औंशीसम्म पन्ध्र र शुक्ल पक्षमा प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र तिथिहरू हुन्छन् । चन्द्रमासमा तिथिहरू घटी बढी हुने भएकाले एक वर्षमा ३५४ दिनमात्र हुन्छन् । प्रत्येक वर्षमा चन्द्र वर्ष सौर्य वर्ष भन्दा एघार दिन घटी हुन्छ ।

हामीले मनाउने अधिकांश चाडपर्व र श्राध्द तिथिअनुसार मनाइने हुँदा हरेक वर्ष   सौर्यमासमा फरक फरक दिनमा परेका हुन्छन् । हाम्रो धर्मशास्त्रअनुसार ३० महिनादेखि तीन वर्षभित्र चन्द्रमासमा एक महिना थपिन आउँछ । यसलाई अधिकमास भनिन्छ । 

एक चन्द्रमास भित्र कुनै सूर्य संक्रान्ति नपर्दा र एक सौर्य महिनामा दुई वटा औंशी परेको अवस्थामा चन्द्रमास अधिकमास हुन्छ । यस वर्ष साउन १ गते औंशी परेकाले साउन २ गतेदेखि ३१ गतेसम्म अधिक श्रावण कृष्ण पक्ष र अधिक श्रावण शुक्ल पक्ष परेकाले यो चन्द्रमास अधिकमास भएको छ । सौर्यमासअनुसार एक वर्षमा ३६५ दिन हुने तर चन्द्रमास अनुसार ३५४ दिन हुने हुँदा हरेक तीन वर्ष भित्रमा अधिकमास थप हुँदा चन्द्रमासलाई सौर्यमाससँग मिलान गरेको देखिन्छ ।
          
अधिकमासलाई चलन चल्तीमा मालमास भन्ने गरेको पाइन्छ । अधिकमास बाहेकका अन्य १२ महिनाहरूका कुनै न कुनै देवताहरू स्वामी भएकाले ती महिनाहरू शुध्द मानिएका छन् । तर अधिकमासको कुनै देवता स्वामी नभएका कार‌‌ण यो महिना अशुध्द भई मलिन महिना हुँदा मलमास हुन गएको रहेछ । यस महिनालाई मलमास, अधिकमास र पुरुषोत्तममास भनिन्छ । मलमास कसरी पुरुषोत्तममास भयो भन्ने बारेमा कथा यस प्रकार रहेको छ ।

मलमास स्वामीविहीन महिना भएको कारण यसलाई सबैले घृणा गर्दा दुःखी भई यसबाट मुक्त हुन सकिन्छ कि भनी उपायको लागि मलमास नारदजीकहाँ गइ आफ्नो दुःखको सबै बेलिविस्तार गर्दा नारदजीलाई मलमासप्रति दया लागेर उसलाई विष्णु भगवान् कहाँ लिइ जानु भयो । मलमासले विष्णु भगवानसँग आफ्नो दुःखको सबै कुरा बताउँदा विष्णुले नारदलाई मलमासलाई लिएर गोलोकमा रहेका श्रीकृष्ण भगवानसँग जाउ वहाँले मलमासको उद्धार गर्नु हुनेछ भन्ने आज्ञा पाए पछि नारदजीले मलमासलाई गोलोकमा रहेका श्रीकृष्ण भगवानकहाँ लिइ जानुभयो । 

गोलोकमा पुगेर मलमासले आफ्नो दुःखका सबैकुरा भन्दा कृष्ण भगवानले मलमासलाई भन्नुभयो – तिमीले अब चिन्ता मान्नु पर्दैन । अबदेखि तिम्रो स्वामी म हुनेछु र तिम्रो नाम पुरुषोत्तम महिना हुनेछ । पुरुषोत्तम महिनामा जसले स्नान, जप, ध्यान,पुरुषोत्तममास महात्म्य श्रवण गरी दान गर्ला त्यसले अन्य महिनामा गरेको भन्दा कैयौँ गुणा बढी पुण्य प्राप्त गर्नेछ भनी भगवानले भन्नुभयो । आफ्नो स्वामी स्वयं श्रीकृष्ण भगवान हुनुभएको र पुरुषोत्तममास भएकोमा खुशी हुँदै नारदसँगै मलमास फर्कियो । त्यहाँ उपरान्त मलमासको नाम पुरुषोत्तममास भएको हो ।

पुरुषोत्तममासमा जसले गंगामा नदी तलाउमा गई स्नान गरी जप, ध्यान, ब्रत दान, पुरुषोत्तममास श्रवण, श्रीमद्भगवत गीता पाठ गर्दछ त्यसले श्रीकृष्ण भगवान् रहनु हुने गोकोल प्राप्त गर्ने मान्यताअनुसार भक्तजनहरू पुरुषोत्तममासमा गंगाजीमा, नदी, तलाउमा गई स्नान गरी जप, ध्यान, ब्रत, पुरुषोत्तममास श्रवण श्रीमद्भगवत गीता पाठ गरी दान गर्ने गर्दछन् । 

यस मासमा काठमाडौँमा श्री बूढानीलकण्ठ र मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिरमा महिनाभरी भक्तजनहरूले भगवानको दर्शन पूजा गर्दछन् । पुरुषोत्तममासमा भगवान् विष्णुका ३३ नाम स्मरण गरी अपुप मालपुवा दान गरेमा पूण्य मिल्दछ भन्ने शास्त्रीय वचन रहेको छ । यसै महिनामा गर्नै पर्ने नित्यकर्महरू गर्न हुने हाम्रा धर्मशास्त्रमा उल्लेख भएको छ ।

गुरु शुक्र अस्तमा जस्तै अधिकमासमा पनि गर्न नहुने कामः बगैँचाको निर्माण, जलाशयको निर्माण, गृह निर्माण आरम्भ, गृह प्रवेश, चान्द्रायणादि ब्रतारम्भ, उद्यापन, तुलादान, महादान, सोमयाग, अष्टकाश्राध्द, आग्रायणेष्टि, प्रथम उपाकर्म, उपनिषदव्रत, वेदव्रत, काम्य, बृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, व्रतबन्ध, विवाह, कहिले नगरेको देवताको दर्शन, नगएको तीर्थयात्रा, अग्निहोत्र,चतुर्मास्ययाग, समावर्तन, दीव्यपरीक्षा, एकाह, सप्ताह, नवाह आदि पुराण लगाउन मन्दिर निर्माण आरम्भ, देवता स्थापना, प्राणप्रतिष्ठा आदि अन्य दिनमा पनि गर्न मिल्ने काम्यकर्महरु । श्रोत सन्दर्भ- श्री पुरुषोत्तममास महात्म्य निर्णय सिन्धु
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ