- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गत सप्ताहान्तमा काकाकाकीको निमन्त्रणालाई स्वीकार्दै उहाँहरूकी छोरीको जन्मोत्सव कार्यक्रममा सहभागी हुन पाइएको थियो । उक्त जन्मोत्सव कार्यक्रममा करिब एक सय जना जति प्रवासी नेपालीहरू उपस्थित भएका थियौँ ।
उक्त कार्यक्रममा निमन्त्रित पाहुनालाई असाध्यै राम्रो सत्कार गरिएको थियो । उहाँको घर नजिकै रहेको सामुदायिक पार्कमा आयोजना गरिएको उक्त जन्मोत्सव कार्यक्रमको जमघट र उपस्थितिलाई हेर्दा हामी अमेरिका होइन नेपालकै एक पार्कमा भएजस्तो अनुभूति भएको थियो ।
एकापसमा गरिएका कुराकानीदेखि लिएर खानपिन, पहिरन, लवज सबैमा नेपालीपन, स्वाद, परम्परा, संस्कार, संस्कृति नै थियो । काकाकाकीले आफ्ना पाहुनाहरूलाई दिउँसो र साँझको स्वादिष्ट किसिमका नेपाली परिकारहरू खुवाउन मेहनतका साथ व्यवस्थापन गर्नुभएको थियो ।
हामी उपस्थित पाहुनाले काकाकाकीलाई धन्यवाद व्यक्त गर्यौँ । करिब मध्यान्ह १२ बजेदेखि शुरु भएको उक्त जन्मोत्सव कार्यक्रम राति ८ बजे समापन भएको थियो । छोरीको जन्मोत्सव हुनाले उनलाई सुस्वास्थ्य र दीर्घायुको कामना दियौँ । यो कार्यक्रममा भएका गतिविधि, नेपालीपन, व्यक्त विचार, पहिरन, बोली, व्यवहार, सत्कार, आतिथ्य आदि क्रियाकलापले मेरो मनमा नेपाल, नेपाली, नेपालको समृद्धि, प्रवासी नेपालीहरूका चिन्ता आदि बारेमा धेरै विचार मनमा उठे ।
यसैलाई नै एउटा प्रतिनिधि घटना र पृष्ठभूमिमा राखेर नेपाल र नेपालीको आशा र नेपाली डायस्पोराको चिन्ता र चिन्तनलाई यहाँ समेट्न प्रयास गरेको छु । उक्त कार्यक्रममा तीन पुस्ताहरू हजुरबुवा आमा, छोराछोरी र नातिनातिनाको उपस्थिति रहेको थियो । तीनै पुस्ताको संख्या लगभग बराबर नै थियो । छोराछोरी यहाँ आएको हुनाले यतै भेट्न, घुम्न र बस्न आएका हजुरबुबाआमा, पढ्न वा रोजगारीका लागि आएका स्वयं छोराछोरी र यतै जन्मिएका र हुर्किँदै गरेका साना बालबालिका नातिनातिनाहरू थिए ।
एउटा पुस्ता प्रवासी हुँदा तीन पुस्ता प्रवासीएको चित्र त्यहाँ देखिन्थ्यो । ती तीन पुस्तामा पहिलो पुस्ता र दोस्रो पुस्ताका बीचका कुराकानीमा नेपालकै सम्झना ज्यादा गरेको पाइयो । सामान्यतया अमेरिका र नेपालको नियम, विकास, राजनीति संस्कार, संस्कृति आदिका बारेमा धेरै कुराहरूमा तुलना भए र गरिए ।
नेपालका कमीकमजोरीका बारेमा आलोचना गरियो । नेपाल छोटो समयमै समृद्ध मुलुक बन्न सक्ने सम्भावनाका तरिकाहरूबारे छलफल भए । विदेशी हुनुको बाध्यताका बारेमा थुप्रै कारणहरू केलाइए र नेपालको प्रगति र समृद्धि हुन नसक्नुमा सबैको एउटै निष्कर्ष थियोे – नेपालको राजनीतिक अस्थिरता र भ्रष्टाचार ।
विश्वको सबैभन्दा धनी, विकसित र सर्वशक्तिमान मुलुकमा पढ्न आउनु र घुम्न आउनु स्वभाविकै हुन सक्ने भए पनि जीवन जिउनै आउनुमा रहर नभएर बाध्यता नै हो भन्ने निष्कर्ष थियोे । यहाँ रहेका तेस्रो पुस्तालाई म नेपाली हुँ भन्ने भए पनि नेपालीपन वा नेपाली भाषा र नेपाली संस्कृतिप्रति खासै चासो देखिएन ।
तिनीहरूले अभिभावकको दवावमा नेपाली भाषा बोल्न खोजे पनि अत्यन्तै गाह्रो मान्थे । अनि लेख्न, बोल्न र सबै किसिमका क्रियाकलाप गर्न अङ्ग्रेजी भाषा नै सहज ठान्थे । बच्चाबच्चीले सामान्य नेपाली भाषा बुझे पनि फर्काउन सक्दैनथे । छोराछोरी विदेशीनु पर्दा हजुरबुबाआमा र नातिनातिना तीन पुस्ता नै विदेशी हुन परेको यथार्थ र प्रतिनिधिमूलक चित्र यहाँ देखिन्थ्यो ।
हजुरबुबाआमालाई अमेरिकाको बसाइँ बारेमा सोधेको जिज्ञासामा उहाँहरूले नेपाल नै राम्रो छ भन्नुहुन्थ्यो । के गर्नू नेताले देश सके, नेपालमा रोजगार छैन, कानूनी राज्य बन्न सकेन । युवाको भविष्य नै अन्धकार छ । सबै नेपाली विदेशीएर सकिने भए । विकल्प केही छैन, अब त बूढाबूढीसमेत विदेशीन बाध्य भइयो भनेर चिन्ता व्यक्त गर्नुभएको थियोे । हुन पनि आजको वास्तविक नेपालको यथार्थ अवस्था पनि यही हुन पुगेको देखिन्छ ।
आजको नेपालको यो वास्तविक चित्रलाई उजागर गर्न खोज्दा अत्यन्तै चिन्ता र दुःख लाग्छ । आज जनसंख्याको करिब एक तृतीयांश विदेशीएका छन् भने देशको कुल बजेटको करिब दुई तिहाई रेमिट्यान्सबाट धानिएको देखिन्छ । देशमा भएको दक्ष जनशक्तिलाई बाहिर पठाउने र तिनीहरूले पठाएको रेमिट्यान्सबाट देश चलाउने गरेको देखिन्छ ।
देश कहिले बन्ने हो र कहिलेसम्म पर्खने हो भन्ने सबैमा कौतुहलता, जिज्ञासा, आवेग र आक्रोश देखिन्छ । प्रजातन्त्र पुनः बहाली भएको ३४ वर्ष हुँदा पनि राजनीतिक अस्थिरताले जरा गाडिरहेको छ । राजनीतिक नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न देशलाई राजनीतिक अस्थिरतामा फसाइरहेको छ ।
संविधानसभाले ८ वर्ष लगाएर बनाएको २०७२ सालको संविधानमा देशलाई समाजवाद उन्मुख बनाउने भनेर जनताका धेरै मौलिक अधिकारहरू लेखिए पनि ती व्यवहारमा कार्यान्वयन हुन सकेनन् । देशमा व्यवस्था परिवर्तन भयो, नयाँ संविधान बनाइयो । तर जनताका अवस्थामा परिवर्तन हुन सकेन । देशका मूल राजनीतिक दलहरूले देशको विकास कसरी गर्ने भन्ने भन्दा पनि कसरी आफू सत्तामा टिकिरहने हो भन्ने कुरालाई प्राथमिकता दिनाले नै आज देश बर्बादीतिर धकेलिएको देखिन्छ ।
केही वर्ष पहिले विद्यार्थीहरू छात्रवृत्तिमा पीएचडी गर्न मात्र विदेश जाने रहर र लहर थियो । ती विदेशमा उच्चशिक्षा हासिल गरेका अधिकांश नेपाली विज्ञहरूले नेपालमा आफ्नो भविष्य केही छैन भनेर फर्केनन् । तिनीहरूको सिको गर्दै अहिले यो विस्तारै विद्यालय तहमा पुगेको छ । अहिले दश कक्षा पढ्ने विद्यार्थीहरूले विदेशको सपना बुन्दैछन् भने कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले नेपालमा बसेर आफ्नो भविष्य उज्ज्वल छैन भन्दै विदेशीएका छन् ।
राज्य मौन बसी यही तरिकाले र यही रफ्तारमा नेपालीहरूलाई विदेश पठाउने हो र जान दिने हो भने केही वर्षमा नेपालका कलेज बन्द हुने र अबको १५–२० वर्षमा नेपालमा भन्दा विदेशमा नेपालीको जनसंख्या ज्यादा हुने देखिन्छ । नेपालको पछिल्लो एक तथ्यांक अनुसार वर्षमा करिब एक लाख बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको देखिन्छ ।
उच्च शिक्षामा गुणस्तर नहुनु र अध्ययन सकेपछि पनि रोजगार पाउन गाह्रो हुनुका कारण नै आज विद्यार्थीहरूको शैक्षिक गन्तव्य अष्ट्रेलिया, क्यानाडा, युरोप, अमेरिका, जापान आदि देश भएका छन् । आज नेपालको शिक्षामा विश्वास र गुणस्तरीयता नहुँदा विद्यार्थीसहित नेपालको रुपैयाँ पनि विदेशीएको छ ।
राष्ट्र बैंकको एक तथ्यांकअनुसार आव २०७९–८० को ११ महिनामा ७९ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ । यसरी नेपालको रुपैयाँ बाहिरिँदा यसले प्रत्यक्ष रुपमा नेपालको अर्थतन्त्रमासमेत ठूलो प्रभाव पुर्याएको देखिन्छ । उच्चशिक्षाको लागि बाहिर गएका विद्यार्थी फर्कने सम्भावना नै छैन । विदेशीएका विद्यार्थीहरूको एउटै प्रश्न छ – नेपाल फर्केर के गर्नू ?
राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र इमानदारी नहुँदा आज नेपालीहरू बाध्य भएर विदेशीनु परेको छ र अब नेपाल फर्केर के गर्नू भनी बाध्य भएर विदेश नै बस्नु परेको छ । आज राज्य अत्यन्तै कमजोर हुन पुगेको छ । राज्यका सम्पूर्ण अङ्गहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।
राजनीतिक दलहरूमा देशको समृद्धिका बारेमा कुनै चिन्ता र चिन्तन नै छैन । राज्यका प्रायः सम्पूर्ण संयन्त्रहरू निष्प्रभावी भएका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्क्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ क्रियाकलाप, मूल्यांकन विधि र परीक्षा प्रणालीको गुणस्तरीयका सवालमा अनेकौँ प्रश्नहरू उठिरहेका छन् ।
शिक्षा मन्त्रालयले शिक्षामा देखिएका कमीकमजोरीलाई सुधार्न पटक्कै ध्यान दिँदैन । राज्यको स्थायी सरकार मानिने कर्मचारी प्रशासन काम नै गर्न नसक्ने भइ झन् भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । कर्मचारी प्रशासनमा रहेको केन्द्रीय निकाय नै नेपालीलाई नक्कली भुटानी बनाइ बेच्ने संगठित अपराधमा संलग्न भएको देखिन्छ ।
जनताका प्रतिनिधि मानिने मन्त्री र सांसदहरू ठगी र तस्करी गर्दै हिँडेका छन् । न्यायपालिकाले न्यायको आँखाले निसाफ दिन सकेको छैन । न्यायपालिकामा मुद्दा फैसला गर्ने सवालमा राजनीति घुसपैठ र करोडौँको बार्गेनिङ हुन्छ । यस्तो अवस्थामा देश कसरी बन्छ र अगाडि बढ्न सक्छ ? अब गर्ने कसले र कसरी हो ? आज यस्ता तमाम प्रश्नहरू नेपाली सामु तेर्सिएका छन् । यिनीहरूको उत्तर खोजिनु र समृद्ध नेपाल बनाउन सपना देख्नु आजको प्रमुख आवश्यकता हो ।
नेपालमा थुप्रै समस्या छन् । ती समस्याका समाधानका उपायहरू पनि छन् । विगत ३४ वर्षमा केही नै नभएको भन्ने होइन तर जे अहिलेसम्म हुनुपर्ने थियोे त्यो हुन नसकेको हो ।
विश्वमा थोरै समयमा नै समृद्ध र विकसित मुलुक बन्न सकेका थुप्रै देशहरू छन् । देश बनाउनको लागि राजनीतिक नेतृत्वमा नै योजना, इमानदारी र दृढ इच्छाशक्ति नै चाहिन्छ । विचार र सिद्धान्तका गफ गरेर देश बन्दैन । ती विचार र सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ ।
राजनीतिक दलले सत्ताभन्दा देशलाई माथि राख्नुपर्छ । थोत्रा भाषण गरेर र एक अर्कालाई तथानाम गाली गरेर देश बन्न सक्दैन । निश्चित उद्धेश्यका साथ सबै एक मन भएर हातमा हात र काँधमा काँध मिलाएर काम गर्ने हो भने नेपालमा विकास छिट्टै हुन्छ ।
नेपाल प्राकृतिक रुपले अत्यन्तै सुन्दर देश हो । शान्ति, सुन्दरता, संस्कृति, सभ्यता, भाषा, धर्म, सगरमाथा, लुम्बिनी, पशुपति, जनकपुर आदि हाम्रा अन्तर्राष्ट्रिय पहिचान हुन् ।
यिनैलाई आधार बनाएर नेपालमा पर्यटन प्रवर्द्धन र उद्योगहरू खोल्न सकिन्छ । नेपाललाई कृषिप्रधान देश भनिन्छ । कृषिलाई समयसापेक्ष आधुनिकीकरण र व्यावसायीकरण गर्न सक्ने हो भने नेपालका हिमाल, पहाड र तराईमा विभिन्न किसिमका फलफूल, जडिबुटी र कृषि उत्पादन गरी सुन नै फलाउन सकिन्छ ।
कृषि उत्पादनलाई निर्यात गरी आम्दानी बढाउन सकिन्छ । राज्यले बेरोजगार जनशक्तिलाई कृषि, उद्योग, पर्यटन आदि क्षेत्रमा लगाई आम्दानी बढाउन प्रेरित गर्ने हो भने जीवन जिउनकै लागि विदेशीनु पर्दैन ।
राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउनुपर्छ । समाजसेवाको भावना भएको र इमानदार व्यक्तिमात्र राजनीतिमा लाग्नुपर्छ । अहिलेको यो झोले र टीके प्रणालीलाई अन्त्य गर्नुपर्छ र अहिलेका राजनीतिक कार्यकर्ता भनिएकालाई काममा लगाउनु पर्छ ।
गफ गरेर र कसैको झोले र चम्चे बनेर देश बन्दैन । देश बनाउन सम्पूर्ण जनशक्ति काममा लाग्नुपर्छ । अहिले रहेको विकराल भ्रष्टाचार अन्त्य गर्न एउटा अधिकार सम्पन्न स्वतन्त्र र निष्पक्ष आयोग बनाइ जो कोही सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।
प्रयोगबाट अयोग्य र असफल भएको अहिलेको राजनीतिक वा प्रशासनिक नेतृत्वलाई सदाका लागि बिदा गर्नुपर्छ । अबको विकल्प भनेको नयाँ नेतृत्व एउटा हुटहुटी र सङ्कल्पका साथ मैदानमा उत्रिनु पर्छ । समय धेरै अगाडि बढेको छ । अब पर्खिने र हेर्ने समय नै छैन ।
नेपालको आर्थिक अवस्था अत्यन्तै चिन्ताजनक देखिन्छ । हाम्रो आशा यत्ति हो कि स्वदेशमा रहेका नेपालीलाई बाँच्नकै लागि विदेशमा जान नपरोस् र विदेशमा रहेका नेपालीहरू रोजगारीका लागि स्वदेशमा नै फर्किन पाइयोस् । (भर्जिनिया, अमेरिका)