- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२०७४ असोजको कुरा हो काठमाडौँबाट एक बस लोकवार्ता विषयका विज्ञहरू २१ गते बिहान लोकवार्ता परिषद्को सातौँ राष्ट्रिय सम्मेलन सफल बनाउन जाँदै थियौँ । यस वर्ष सयको हाराहारीमा गोष्ठीपत्र प्राप्त भएको हुँदा एउटा विङ्गर थपेका थियौँ । तर यात्रा गर्ने सहभागी एउटै बसमा अटाउने पाएपछि विङ्गर फर्कायौँ । केही सहभागी बिरामी भएर, केही सामाजिक धार्मिक कार्यले रोकिनु परेर, केहीले समय व्यवस्थापन गर्न नसकेर अनुमान गरे जति सहभागी जुट्न सकेका थिएनन् । काठमाडौँ बाहिरका सहभागी केही बाटोमा सामेल भए भने केही बास स्थलमा आइपुगे ।
सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन असोज २२ गते कपिलवस्तु जिल्लाको तौलिहवामा तोकिएको थियो । तर सो जिल्लाका संयोजकको व्यवस्थापनमा केही कमी देखिएकाले हामी लुम्बिनीस्थित कोरियन धर्मशालामा बस्नु परेको थियो । यस बारेमा अब केही भन्नु छैन । चार छाकमा २०० जना जतिको भोजनको व्यवस्था केन्द्रले गर्नु परेको थियो ।
अब गुनासो गर्ने ठाउँ छैन । जे हुनु र व्यहोर्नु थियो भइनै सकेको छ । अँ हामीले २१ गतेको दिवा भोजन नारायणी नदीपारी गैँडाकोटमा गरेका थियौँ । स्वादिलो र स्वस्थ्यकर थियो । प्राडा चुडामणि बन्धुज्यूले होटेल रोजेर व्यवस्था गराउनु भएको थियो । प्राडा बन्धु धेरैजसो समय गैँडाकोटमा रहेको घरमा बस्ने गर्नु भएको थियो । त्यसो भएको हुँदा हाम्रो आग्रह बमोजिम उहाँले भोजनको बन्दोवस्त मिलाउनु भएको थियो ।
भोजन पश्चात हामी आफ्नो उद्देश्य पूर्ण गर्न बाटो लाग्यौँ । तर यो के बुटवलका मित्रहरूले स्वागत गर्ने बहाना बनाएर साँझको खाजाको व्यवस्था गर्नु भएको रहेछ, हाम्रो पूर्व निर्धारित कार्यक्रम अनुसार भैरहवाका मित्रहरूले खाजा पर्खेर बस्नु भएको थियो । तर बुटवलले रात पार्नाले हात जोडेर भैरहवाबाट बिदा माग्न बाध्य भयौं । बुटवलमै रात परिसकेको थियो, तसर्थ सरासर हामी लुम्बिनीमा रहेको कोरियन गेष्ट हाउसमा गएर आ–आफ्नो सामान थन्काएर, खानपिनपछि आराम गर्न थाल्यौँ । भोलिपल्ट यानी २२ गते बिहान तरोताजा भएर तौलिहवाको लागि प्रस्थान गरियो । खाजा बाटोमा र खाना तौलिहवा नगरपालिकाको सभाकक्ष परिसरमा गरियो ।
सामान्यतया लोकवार्ताको उद्घाटन सत्रमा स्थानीय सहभागीता उल्लेख्य मात्रामा रहने गरेको थियो । तर त्यो अभाव तौलिहवामा पाइयो । मन बुझाउन उपस्थिति थोरै भए पनि गुणात्मक दृष्टिले गर्विलो थियो भनेर भन्न सक्तिन । किनभने जुन नगरपालिकाको हलमा कार्यक्रम भइरहेको छ त्यहीँको मेयर र कार्यकारी प्रमुख कार्यक्रममा नआउनुलाई कुन रूपमा लिउँ म । उद्घाटन सत्रमा लोकवार्ता परिषद्ले बडो मेहनत साथ प्रकाशित गरेको पुस्तक “प्राडा जयराज पन्तका वैचारिक विरासत” को लोकार्पण गर्ने काम भयो ।
सातौँ राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा लोकवार्ता परिषद् नेपाली समाजमा अवश्य आफ्नो पहिचान कायम गरेको जस्तो ठानेको थिएँ । तर उद्घाटन सत्रको अवस्था दयनीय पाउँदा मन खिन्न बनेको थियो ।
२३ गतेको दिन रुपन्देही जिल्लामा रहेको गौतम बुद्धसँग सम्वन्धित र अन्य पर्यटकीय स्थान घुमेका थियौँ । सबभन्दा पहिले हामी शाक्य वंशको राजधानी तिलौराकोटमा पाइएको राजदरवारको भग्नावशेष हेर्न गयौँ । दरवारको प्रमुखद्वारबाट प्रवेश गरेका थियौँ । सो बारेको सत्य डा. गितु गिरीले व्याख्यानको रूपमा बताउनु भयो । हामीले स्थानीयबाट पनि सुन्न चाह्यौँ । किनभने सत्य समाज हो र व्यक्ति त त्यसको अंगमात्र हो ।
कुनैपनि कुराको यथार्थको अधिष्ठान समाजमा हुन्छ । अधिकार समाजमा रहन्छ । व्यक्ति समाजप्रर्ति अर्पित हुन्छ, यो निरीह भावनाको कुरा हो, यानी अमुक कुराको जानकार विद्वानको कुरा आँखा चिम्लेर स्वीकार गर्ने हो भने यथार्थबाट पर पुर्याइदिन पनि सक्छ । हामी व्यक्तिको अपेक्षा गरेर शुद्धोधनको दरवारको भग्नावशेष हेर्न गएका भने होइनौँ । यसबारे धेरथोर ज्ञान सबै सहभागीलाई थियो । पढेर प्राप्त गरेको कुरा यहाँ पुष्टि गर्नुमात्र थियो ।
दरवारको भग्नावशेषको साथै सिद्धार्थले कन्थक र छन्दक साथमा लिएर कपिलवस्तु त्याग गर्दा निष्किएको द्वार पनि अवलोकन गरियो । समाजको हितमात्र सोचेका भए सिद्धार्थ बुद्ध होइन संभवत शाक्य कुलका राजा बन्न सक्दथे, उनमा समर्पणको भाव नआओस् भनी धेरै प्रयत्न गरिएको थियो । संक्षेपमा सत्ता र अधिकार त्याग गर्न सकेर व्यक्तिमात्र बनेको हुँदा सिद्धार्थ साधनाले बुद्ध बने ।
इसापूर्व चौथो शताब्दीमा निर्मित जोडी स्तुप हेर्न त्यसपछि हामी गयौँ । ठूलो स्तूपको व्यास ५२ फिट, उचाई साढे सात फिट थियो भने सानो स्तूप इसापूर्व दोस्रो शताब्दीमा निर्मित भएको व्यास २६ फिट रहेको पायौँ । त्यसपछि हामी कुदानमा रहेको प्राचीन निग्रोधाराम हेर्न गयौँ । निग्रोधारामको नामले चिनिने यस स्थानमा शाक्यमुनि बुद्धले बुद्धत्वप्राप्त गरिसकेपछि पहिलो पल्ट कपिलबस्तु आउँदा विश्राम गरेको स्थान रहेछ । बुद्धको बारेमा, बौद्धधर्म दर्शनको बारेमा अध्ययन गरेको भएता पनि यसअघि लुम्बिनी बाहेकको स्थानमा म पुगेको थिइन । यसपछि हामी निग्लिहवा जो कनकमुनि बुद्धको जन्मथलोको रूपमा परिचित छ, यस स्थलमा पनि सम्राट अशोक ईपू २४९ मा आफैँ आइ शिलालेखयुक्त शिलास्तम्भ रखाएका थिए ।
सो अशोकस्तम्भ वर्तमान अवस्थामा दुई टुक्रा भएको पाइयो । टुक्रिएको अशोकस्तम्भको पहिलो टुक्रा जो १४ फिट ९ इन्चको छ, यसमा अभिलेख रहेकोले छाना बनाएर संरक्षण गरिएको छ । यहाँको अशोकस्तम्भमा राजा रिपु मल्लको अभिलेखसमेत रहेको छ । प्रसिद्ध चिनियाँ यात्रीहरू फा सियन र ह्युएन शाङले समेत आफ्नो यात्रा वर्णनमा कनकमुनि बुद्धको जन्मस्थानमा रहेको यस स्तुपको चर्चा गरेका छन् ।
पुरातत्वविद डा. फुररले आफ्नो दोस्रो पटकको खोज भ्रमण (१८९६ र १८९७) पश्चात तयार गरेको प्रतिवेदनमा यो स्थानमा बुद्ध कनकमुनिको ठूलो स्तुप रहेको र उक्त स्तुप सम्भवतः भारतमा विद्यमान स्तुपहरूमध्ये पुरानो हुन सक्ने दाबी गरेका थिए । अहिलेसम्म सो स्तुप पाउन सकिएको छैन । हुनसक्छ पूर्वी भागमा रहेको पोखरी निर्माणको क्रममा सो स्तुप क्षति भयो होला ।
आफ्नै भूमिमा शाक्यहरूको वध कसरी भयो र कहाँ भयो— यो कुरा थाहा पाउन ब्यग्र थियौँ हामी । विडूडभले शाक्यहरूलाई सामूहिक रूपमा वध गरेको स्थल सगरहवामा पुग्यौँ । सगरहवामा रहेको लुम्वु सागरको नामले चिनिने पोखरीको डिलमा हत्या गरिएको रहेछ । हत्या गरिनुको प्रमुख कारण शाक्य वंशको रक्त शुद्धिको घमण्ड ।
राजा प्रसेनजित शाक्य कन्यासँग विवाह गर्न चाहेर प्रस्ताव पठाए तर शाक्यले जातिय अभिमानले गर्दा दासी कन्या वाषभ क्षत्रियासँग झुक्याएर विवाह गराएर पठाए । भेद खुल्नु थियो खुल्यो । अनि तिनै वाषभ क्षत्रिया पुत्र विडूडभले शाक्यहरूको सामूहिक हत्या गरी बदला लिए ।
सगरहवामा शाक्य वंशको वध गरिएको सो पोखरी हालमा १०५९ फिट लम्बाई र २२५ फिट चौडाई छ । प्राचीन स्तुप तथा बिहार लगायतका संरचनाका भग्नावशेषहरू पोखरीको पश्चिम तथा दक्षिण क्षेत्रमा रहेका छन् । डा. फुहररद्वारा गरिएको उत्खनन्मा हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी लगायतका सामग्री फेला परेका थिए ।
लोकवार्ताको टोली अध्ययन अनुसन्धान कार्यमा हिँडेको थियो । हामी थारु संस्कृति र जगदीशपुर जलाशय अवलोकन गर्न गएका थियौँ । जहाँ हाम्रो स्वागत स्वस्फूर्त रूपमा जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले गरेको थियो ।
समाजको सामूहिक शक्ति राम्रो काममा लगाएको छ भने मुस्कुराउँछ । त्यसको ज्वलन्त उदाहरण हो विशाल र व्यापक जगदीशपुर जलाशयको संरक्षण । जहाँ पौडदै गरेका दुर्लभ चराहरू देखेर रमाउन पर्यटकहरू आउने गर्छन् । त्यतिमात्रै कहाँ हो र थारु समुदायले आफ्नो संस्कृति ओछ्याएर, आफ्नो परिकारको स्वाद चखाएर पर्यटक पाहुनाको हृदय जित्दा रहेछन् । हामी होमस्टेमा बसी थारु समुदायको पारिवारिक माया बटुल्न वञ्चित भए पनि स्वागतमा पाइएको आत्मीयताले धेरै कुराको जानकारी गरायो ।
सातौँ राष्ट्रिय सम्मेलनको मूल उद्देश्य बुद्धसँग सम्बन्ध भएको ठाउँ अवलोकन गर्नु हो । हाम्रो निवास पनि बुद्ध जन्मस्थल लुम्बिनीमा नै थियो । यसकारण लुम्बिनी भ्रमणको समय निकाल्यौँ २४ गते बिहान । ११ बजेसम्म घुमेर हामी दिउँसो लुम्बिनी बौद्ध विश्वविद्यालयमा गयौँ र दिनभरि कार्यक्रममा सहभागी भयौँ ।
जो व्यक्ति या समाजले आफ्नो संस्कृतिलाई माया गरिराखेको हुन्छ, त्यो संस्कृतिको ओज कत्तिको हुन्छ भन्ने कुरा विरहाको प्रस्तुतिमा पाइयो । राज्यबाट प्रोत्साहन नपाए पनि जीवन्त प्रस्तुत गर्ने विरहाका विराट लोक गायक भाउच यादवलाई लोकवार्ताले सम्मानित गरेर सक्षम व्यक्तिको कदर हुन्छ, गरिन्छ ढिलै भए पनि भन्ने कुराको पुष्टि गर्यो । कार्यक्रम समापनपछि बचेको समय साँझपख लुम्बिनीमा हेर्न बाँकी रहेका विहारहरूमा गएर बितायौँ ।
चार रात आश्रय दिएको थलो लुम्बिनीस्थित कोरियन धर्मशालाको सम्झना मन मुटुमा सँगालेर २५ गते बिहानै हामी बुटवलतर्फ प्रस्थान गर्यौँ । बिहानको समयमा बुटवलको हिलपार्कमा मगर समुदायका महिला समूहले बटुक, सेल, भक्का, अचार, तरकारीले स्वागत गरेको त्यो आत्मियता मेरो हृदयमा छ । हो हिलपार्क हरियालीको साथै शौन्दर्यले भरीपूर्ण छ । बिहान–बेलुकी भ्रमण, अवलोकन योग्य स्वच्छ र सफा छ— व्यवस्थापनलाई धन्यवाद दिनै पर्छ ।
भोजन पश्चात होराइजन बोर्डिङ स्कूलको हलमा भएको कार्यक्रम भब्य थियो । स्थानीय सहभागीता उल्लेख्य रह्यो । बौद्धिक वर्ग र लोकसंस्कृतिको जगेर्ना गरेका साथै अमूर्त लोकसम्पत्तिमा रमाउनेहरूको उपस्थितिले कार्यक्रम मात्र होइन लोकवार्ता अभियान सार्थक रहेको बताइरहेको थियो ।
लोकको बीचमा गएर सम्मेलन गर्ने हाम्रो अभियान व्यापक बन्दै जाँदैछ । यसलाई लोककोबीच रहेर लोकको सम्पत्ति संरक्षण गर्नु भनिन्छ र लोकगायक, लोककलाकार, लोकअभियन्ता खोजेर योग्य छानेर सम्मान गर्ने गरेका छौँ । लोकले बचाइदिएको हुँदा नै त आज हामी अनुसन्धाता बन्न पाएका हौँ ।
यसकारण अनुसन्धान गर्ने लोकको बीचमा रहनु पर्छ । आपसमा मिलीजुलीकन लोकसंस्कृति, लोकप्रविधि, लोककला जस्ता कुराहरू जो राम्रा छन् संरक्षण गरिनुपर्छ, कुरीति जति हटाउनु पर्छ । यसप्रकार लोकवार्ता अभियन्ताको आफ्नो स्वार्थ बुझिन्छ र त्यही स्वार्थको प्रेरणाले लोककोबीच गएर लोकको सम्पत्तिलाई जीवनोपयोगी बनाउने गर्दछ ।
सो दिन साँझको भोजनको व्यवस्था पनि होराइजन बोर्डिङकै रहेको थियो । भोलिपल्ट बिहान बुटवलको सार्वजनिक पुस्तकालयले स्वागत गरेको थियो । हाम्रो तय गरिएको कार्यक्रममा नपरेको भएता पनि आत्मीयता साथ हार्दिकता पूर्वकको आग्रह अस्वीकार गर्न सकिएन । निश्चित दिनमा, निश्चित कार्यक्रम लिएर हिँडेकाले हार्दिकता स्वीकारेर नेपाली लोकवार्तालाई कुनै घाटा भने भएन ।
नवलपरासीको सुनवल पुगियो । त्यहाँको क्याम्पसको स्वागत स्वीकार गरियो । सिद्धार्थ गौतमको मावली देवदह जाने र घुम्ने समय नरहेको हुँदा— सिद्धार्थ मावली देवदह आउँदा डेढ दुई किलोमिटर हिँडेर नुहाउन आउँथे भनी संरक्षण गरिएको पोखरी अवलोकन गर्न पुगेका थियौँ ।
त्यस क्षेत्रको आदिवासी थारु समुदायले उच्च सम्मानसाथ पुज्दै आएको बर्दगोरिया थान जो राजमार्गदेखि उत्तरतर्फ जंगलमा छ, पनि गएका थियौँ । स्थानीय जनविश्वास अनुसार १२ औँ शताब्दीका गोपालवंशी राजाको समयमा डिल्लीमा मुसलमान शासकले एउटा गोरु मारेर खाने विचार गर्दा भागेछन् । हतियार भिरेका राजाका सिपाहीले समाउन नसकेपछि हतियारले हान्दै लखेट्न थालेपछि सो गोरुको खुर— खुद्रहर, सिङ— सिङ्गाह, सुनको हार— सुनवल र बाँकी शरीर—बर्दगोरियामा पतन भएको रहेछ ।
आस्थाले जन्माएको यस्ता कल्पना कुनै पनि समाजमा कमी छैन । न तर्क चाहियो, न तथ्य हुनु पर्यो, मात्र विश्वास र आस्था चाहियो पुग्यो ।
सम्राट् अशोकले उत्खनन् गर्न नपाएका नाग जातिले संरक्षण गरेको रामग्रामको एकमात्र स्तूप हो । पुरानो र मान्यताप्राप्त भइकन पनि धेरै कुरोमा पछाडि परेको । हो हामी त्यस स्तूपमा पुग्यौँ, स्थानीय मानिसहरूका बीचमा गोष्ठीपत्र प्रस्तुत गरिएको थियो, छलफल पनि गरियो । रामग्रामको बगैँचामा कोली वृक्ष हेर्न पायौँ । प्राचीन समयमा कुष्ठरोगीहरूलाई कोली वृक्षको जंगलमा बास गराउँथे, सो वृक्षको पातले उपचार गर्दथे— अनि रोग निको पार्दथे ।
यथार्थ के हो भन्न सकिन्न, लोकको विश्वासले भन्छ बुद्ध यहाँ आएका थिए र यो तलाउमा नुहाएका थिए— यो सत्य हो । हामीलाई यही कुरो बताइयो बुद्ध मंगलतालको बारेमा ।
स्थानीय जनसमुदायले स्वागत गरेर बाजागाजाको साथमा हामीलाई बुद्ध मंगलताल अवलोकन गराएका थिए । जलकुम्भीले छपक्कै छोपेको सो तालको डिलमा शिव लगायतका देवी देवताका मन्दिर छन् । त्यहाँ हामी स्थानीयहरूसँग कुटुम्ब जसरी नै नाच्यौँ, रमायौँ र कुराहरू सुन्यौँ । त्यसपछि त्रिवेणीमा रहेको प्राचीन शिव मन्दिरको भग्नावशेष हेर्न पायौँ— भग्नावशेषले भन्दैथ्यो ‘आफ्नो समयमा म स्वस्थ्य, सुन्दर र विपुल थिएँ । यथार्थमा त्रिवेणी क्षेत्र प्राचीन समयमा गुलजार अवश्य हुनुपर्छ ।
झमक्क साँझपख त्रिवेणीस्थीत गजेन्द्रमोक्षधाममा पुग्यौँ । डा. भक्त राई, डा. मधुसुदन गिरी, दिलविक्रम आङदम्वे, तुलसी प्रभास, मुकुन्द शर्मा र म हामी ६ जनाको गास र वास सदानिरा नारायणी किनारको श्रीरामजानकी मन्दिरमा टुङ्गो लगाइएको रहेछ । २६ गतेको त्रिवेणीधाममा पाँच स्थानमा स्थानीय आयोजकले व्यवस्थापन गरेको थियो ।
भोलिपल्ट बिहान ठूल्ठूला तीन वटा डुङ्गामा बसेर हामी नारायणी नदी तरेर चितवन जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जभित्र रहेको वाल्मिकी आश्रम अवलोकन गर्न गयौँ । रामकथामा वर्णित वाल्मिकी आश्रम, रामबाट परित्यत्ता सीताले आश्रय पाएको स्थल— लव र कुशले शस्त्र र शास्त्र सिकेको ठाउँ— जंगलभित्र पर्दो रहेछ— त्यहाँ पुग्यौँ र हाम्रो भ्रमण सार्थक र श्रेष्ठ भएको भन्न सक्ने भयौँ ।
बाटो असहज भएको हुँदा अलि गहिरो खोँचमा खस्न पुगेँ म । हाड नभाँचिए पनि देब्रे घुँडा अहिलेसम्म दुख्दैछ, पेन किलर खाने र लगाउने गर्दैछु । वाल्मीकी आश्रम अवलोकन पश्चात् गजेन्द्रमोक्षधाममा विशाल जनसमुदायको उपस्थितिमा कार्यक्रम गरियो । सो कार्यक्रममा सो धामका स्वामी कृष्णा प्रपन्नाचार्यबाट गजेन्द्रमोक्षधामको ऐतिहासिक र धार्मिक महत्त्वबारे प्रकाश पार्नु भएको ध्यान दिएर सुनेका थियौँ । खुला सभामा कार्यपत्र प्रस्तुत गरिएको थियो सो अवसरमा “लोकविश्वासमा बाँचेकोः टुना मुना मोहनी” शीर्षकको पत्र मैले प्रस्तुत गरेको थिएँ । सो दिन यानी २७ गतेको रात हामी बर्दघाटको तीन वटा लजमा आराम गर्यौँ ।
२८ गते बिहान वर्दघाटको दिब्यज्योति बहुमुखी क्याम्पसको कार्यक्रम भब्य थियो । किन नहोस्् त लोकवार्ताको सातौँ राष्ट्रिय सम्मेलन सफल बनाउन सहयोग गरेका व्यक्ति वा संस्थालाई सम्मानित गरेर कार्यक्रमको प्रतिष्ठा बढेको थियो । २१ गतेदेखि कार्यक्रममा सहभागी बनेकाहरू आ–आफ्नो परिवारमा रमाउन, पति–पत्नीको सम्बन्धमा पवित्रताको भाव बढाउन कार्यक्रम छोटो बनोस् भन्ने चाहना राख्दथे ।
जहाँ बर्दघाट नवलपरासीका आत्मीयजनले बलियो कार्यक्रम राखेर लोकवार्ता अभियानको मान बढाएका छन् त्यहाँ कार्यक्रम छोट्याउनुस् भनेर भन्न सकिने कुरो होइन । आयोजकको पनि चाहना अवश्य थियो— ‘समयमै बिदा गर्न सके, साँझसम्ममा काठमाडौँ पुग्नेछन् ।’
स्थानीय आयोजकले विचार गरेकै हुन् । गर्दै जाँदा समापन कार्यक्रम मध्यान्ह १२ बजेपछि सकियो । हुन पनि बर्दघाट जस्तो ठाउँमा देशका प्रतिष्ठित विद्वानहरू सधैँ यसरी आइरहँदैनन्, यसकारण यो अपूर्व संयोगलाई सार्थक बनाउन चुकेका थिएनन् ।
सहभागी विद्वानहरूका व्यक्तित्व नै त्यस्ता थिए । कोही पनि धेरै भन्दा धेरै समय साथै रहन चाहन्थे, त्यही चाहनाले गर्दा हामी बल्ल तल्ल काठमाडौँका लागि दिउँसो १ः३० बजे प्रस्थान गर्न सक्यौँ, बुद्ध जन्मेको, हुर्केको समाजको शौन्दर्यमा रमाउँदै ।