arrow

मोबाइल बैंकिङ र क्यूआरको क्रान्तिले एटीएम र पीएसओ भुक्तानीमा ‘स्टेगनेसन’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
banks-nepal-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । डिजिटल भुक्तानीका लागि सबैभन्दा प्रभावकारी मानिएको क्यूआर कारोबार दोब्बर भन्दा धेरैले बढेको छ । नौ महिनामा यस्तो प्रविधिमार्फत हुने भुक्तानी र कारोबार संख्या दुवैमा शतप्रतिशत भन्दा धेरैको सुधार आएको हो । 

चालु आर्थिक वर्षको चैत महिनासम्म मात्रै क्यूआर पेमेन्टमार्फत १ करोड ६१ लाख वटा कारोबार भएका छन् । यो अवधिमा यस्तो कारोबारमार्फत ४५ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ । गत चैतसम्म ७६ लाखपटक मात्रै यस्तो कारोबार भएको थियो । सो कारोबारमार्फत २२ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । 

अर्कोतिर मोबाइल बालेटमार्फत हुने भुक्तानीमा पनि यो वर्ष झण्डै एक तिहाई वृद्धि भएको छ । अघिल्लो वर्ष ९ महिनामा १ करोड ८६ लाख पटक वालेटमार्फत भुक्तानी भएकोमा यो वर्ष २ करोड ४४ लाख पटक भुक्तानी भएको छ । 

यो अवधिमा वालेटमार्फत् २६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो यही समयसम्म १९ अर्ब भुक्तानी भएको थियो । अहिले मोबाइल वालेट ग्राहकको संख्या २ करोड २२ लाख रहेको छ । 

डिजिटल भुक्तानीको अर्को महत्वपूर्ण पक्ष मानिने मोबाइल बैंकिङको प्रयोग यो अवधिमा झण्डै दुई तिहाइले बढेको छ । अघिल्लो वर्ष चैतसम्म मोबाइल बैंकिङमार्फत २ करोड ५७ लाख पटक कारोबार भएकोमा यो संख्या यो वर्ष ३ करोड ५१ लाख पुगेको छ । यस्तो कारोबारमा अघिल्लो वर्ष २ खर्ब ७ अर्ब रुपैयाँ कारोबार भएकोमा यो वर्ष २ अर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । अहिले मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ४० लाख रहेको छ । 

एटीएम र पीओएसमा ‘स्टेगनेसन’

उच्चतम रुपमा बढिरहेका प्रवृत्तिमा रुकावट आउने अवस्थालाई व्यापार चक्रमा स्टेगनेसन भनिन्छ । मोबाइल बैंकिङ, बालेट र क्यूआर भुक्तानीको विस्तारले अहिले एटीएम र प्वाइन्ट अफ सेल र इन्टरनेट बैंकिङको कारोबार यस्तै अवस्था देखिएको छ । अघिल्ला वर्षहरुमा उच्च रुपमा बढ्दै आएका यी सेवाहरु ज्यादै न्यून रुपमा मात्रै बढेका हुन् । 

एटीएम कारोबारमार्फत अघिल्लो वर्ष १ करोड ४ लाख पटक पैसा निकालिए । यो संख्या यस वर्ष बढेर जम्मा १ करोड ९ लाख पटक पुगेको छ । यो कारोबारमार्फत अघिल्लो वर्ष ८३ अर्ब भुक्तानी भएकोमा यो वर्ष ८९ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै पोइन्ट अफ सेल (पीओएस) कारोबार ९ लाख ८३ हजारबाट बढेरे १० लाख १२ हजार पुग्दा भुक्तानी रकम ५ अर्ब २४ करोड रुपैयाँबाट ५ अर्ब ४९ करोड रुपैयाँ मात्रै पुगेको छ । 

त्यस्तै यो वर्ष मोबाइल बैंकिङको ग्राहक तथा कारोबार पनि उल्लेख्य रुपमा बढ्न सकेन । गत वर्ष २ लाख ७६ हजार वटा इन्टरनेट बैंकिङ कारोबार भएकोमा यो वर्ष २ लाख ८१ हजार वटा मात्रै पुगेको छ ।

यो कारोबारमार्फत १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष १३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ