arrow

अनुमानै गर्न नसक्ने बैंकको ब्याजदर, अधिकांश बैंकको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
banks-nepal-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बजारमा पर्याप्त ऋण प्रवाह नभएर अधिक तरलताको अवस्था भएको भनिरहँदा बैंकहरुले भने ब्याजदरमा फरक फरक नीति लिएका छन् ।

बैंकहरुले आफ्नो निक्षेपको आकार व्यवस्थापन गर्न ब्याजदर घटाउने र बढाउने नीति लिएका हुन् । बजारमा ब्याजदर बढ्ने अबस्था नदेखिँदा केही बैंकले ह्वात्तै ब्याजदरसमेत बढाएका छन् । 

असार महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको ब्याजदर तालिका अनुसार बचत खाताका लागि नौ वटा बैंकले ब्याजदर घटाएका छन् । तीन वटा बैंकले ब्याजदर बढाउँदा बाँकी आठ वटा बैंकको ब्याजदर स्थिर छ । 

यसपटक बचत खातामा सबैभन्दा धेरै ब्याज राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकले समान ३.६५ प्रतिशत तोकेका छन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्शियल बैंक र कृषि विकास बैंकको समान ३ प्रतिशत रहेको छ । 

त्यस्तै व्यक्तिगत मुद्दती खातातर्फ आठ वटा बैंकले ब्याजदर घटाएका छन् । चार वटा बैंकको ब्याजदर बढ्दा बाँकी आठ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । यसपटक व्यक्तिगत मुद्दती खातामा सर्वाधिक ब्याजदर दिने बैंक माछापुच्छ्रे बनेको छ । उक्त बैंकले ७ प्रतिशत ब्याजदर तोक्दा सबैभन्दा कम दिने स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंकले समान ५ प्रतिशत ब्याजदर तोकेका छन् । 

उता संस्थागत मुद्दती खातातर्फ एघार बैंकको ब्याजदर घटेको छ । पाँच वटा बैंकको ब्याजदर बढ्दा बाँकी चार वटा बैंकको ब्याजदर स्थिर रहेको छ । संस्थागत मुद्दती निक्षेपका लागि एनएमबी बैंकले सर्वाधिक ६.५ प्रतिशत ब्याजदर तोक्दा कृषि विकास बैंकले सबैभन्दा कम ४.०१ प्रतिशत ब्याजदर तोकेको छ । 

यस्तो छ ब्याजदर निर्धारणका केही रोचक तथ्यहरु
एनएमबि बैंकमा व्यक्तिगतभन्दा संस्थागत मुद्दती खाता लागि ब्याजदर धेरै तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर तोक्दा संस्थागत निक्षेपमा ६.५ प्रतिशत ब्याजदर तोकेको छ । 

एनएमबि बैंकको उक्त ब्याजदर व्यक्तिगततर्फ बैंकहरुमध्येकै कम र संस्थागततर्फ सबैभन्दा बढीसमेत हो । उता संस्थागत ब्याजदरलाई व्यक्तिगतभन्दा माथि राखेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने यसलाई करेक्सन गरेको छ । अहिले दुईवटा ब्याजदरलाई बराबर बनाएको छ । 

यसपटक हिमालयन बैंकले पनि संस्थागत र व्यक्तिगत दुवैतर्फका मुद्दती खाताको ब्याजदरलाई एकैपटक १.७५ प्रतिशत विन्दुले बढाएको छ । बचततर्फ भने उक्त बैंकले ब्याजदर स्थिर राखेको छ । 

पाँचवटा बैंकले सबै सेगमेन्टको ब्याजदर घटाए

यसपटक पाँचवटा बैंकले बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाता गरी तीनवटै सेगमेन्टको ब्याजदर घटाएका छन् । यसरी ब्याजदर घटाउने बैंकहरुमा ग्लोबल आईएमई, सानिमा, लक्ष्मी सनराइज, कुमारी र नेपाल एसबीआई बैंक छन् । 

त्यस्तै, तीनवटै सेगमेन्टको ब्याजदर बढाउनेमा माछापुच्छ्रे बैंक एकमात्र देखिएको छ । कुनै पनि सेगमेन्टमा ब्याजदर घटबढ नगर्ने बैंकमा नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बाँकी बैंकहरुले कुनै सेगमृन्टमा ब्याजदर घटाउँदा कुनैमा बढाएका छन् । 

किन घटबढ हुन्छ ब्याजदर ? 

बैंकहरुले यसरी ब्याजदर घटबढ गराउनुको कारण त निक्षेप तान्नु वा भएको निक्षेप जोगाउनु नै हुन्छ । तर, यसका लागि घटबढ गर्नुपर्ने कारण भने फरक फरक हुनसक्ने बैंकर्सहरुको भनाइ छ । 

कुनै बैंकको आगामी महिना ठूलो रकम परिपक्व हुँदैछ र कम ब्याजदर दिँदा त्यस्तो निक्षेप पलायन हुने अवस्था रहन्छ भने त्यस्तो अवस्थामा ब्याजदर बढाएरै भए पनि निक्षेप जोगाउन ब्याजदर बढाउनुपर्ने बाध्यता हुने एक जना बैंकर्स बताउँछन् । 

कतिपय अवस्थामा भने पुँजीकोष अनुपात व्यवस्थापन गरेर लगानीयोग्य रकमलाई बढाउन बैंकहरुले ब्याजदर बढाएका हुन्छन् । अहिले ब्याजदर बढाउने अधिकांश बैंकको प्रयोजन त्यही नै भएको ती बैंकर्सको भनाइ छ । 

‘अहिले बैंकहरुमा तरलता धेरै छ भने पनि धेरै बैंकहरुको क्यापिटल एडेक्वेसी रेसियो नै मेन्टेन हुन नसकेर ऋण नै दिन नसक्ने अवस्था समेत कतिपय बैंकहरुमा छ,’ ती बैंकर भन्छन्, ‘अहिले ब्याजदर बढाएका बैंकहरुको मुख्य समस्या त्यही नै हो । नत्र अहिले ब्याजदर बढ्नुपर्ने समय होइन ।’

त्यसो त, असार महिना सर्वाधिक पुँजीगत खर्च हुने महिना समेत हो । सरकारले रकम भुक्तानी गर्दा केन्द्रीय बैंकमा भएको पैसा वाणिज्य बैंकमा आइपुग्छ । यो अवस्थामा बैंकहरुमा यसै पनि निक्षेप बढ्छ । यसको अनुमानका आधारमा धेरै बैंकहरुले भने निक्षेको ब्याजदर घटाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ