arrow

जेठमा ६० प्रतिशतले बढ्यो बैंकहरुको नाफा, कमाए आठ अर्ब, कुन बैंकको कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
banks-nepal-final.jpg

काठमाडौँ । जेठ महिनामा मात्र नेपालका बैंक तथा वित्तीय संस्थाले झण्डै ८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । एक महिनाको अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले मात्रै ७ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको देखिएको हो । 

चालु आर्थिक वर्षको बैशाख महिनासम्म बैंकहरुको कुल नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । यो प्रतिमहिना औसत ४ अर्ब ८६ करोड रुपैयाँ बराबर हो । तर जेठ महिनामा भने औसतभन्दा नाफा झण्डै ६१ प्रतिशत बढेको हो । यो वृद्धिसँगै कुल नाफा ५६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

यो महिना बैंकहरुको नाफा बढ्नुमा बैंकहरुले निष्क्रिय कर्जाबापत प्रोभिजनिङ घट्नु र ब्याज खर्चभन्दा ब्याज आम्दानी बढ्नु मुख्य रहेको देखिएको छ । जेठ महिनामा समग्र बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ब्याज आम्दानी गरी ३५ अर्ब रुपैयाँ ब्याज खर्च गरेका छन् । यो आम्दानी र खर्च अघिल्लो महिनाको तुलनामा क्रमशः ९.३१ प्रतिशत र ९.०६ प्रतिशत बराबर हुन आउँछ । 

त्यस्तै, बैंकहरुले बैशाख महिनासम्म ७८ अर्ब ५८ करोड रुपैयाँ बराबरको जोखिम प्रोभिजनिङ गरेकोमा जेठ महिनामा यस्तो प्रोभिजनिङ घटेर ७७ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ । अघिल्लो महिनाभन्दा प्रोभिजनिङ घटेका कारणले पनि यसले नाफा बढाएको देखिन्छ । 

यो महिना बैंकहरुले झण्डै २८ करोड रुपैयाँ बराबरको थप राइटअफसमेत गरेका छन् । यसले पनि बैंकहरुको नाफामा सुधार आएको देखिएको छ । 

यद्यपि यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने झण्डै १६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको ११ महिनामा बैंकहरुले ६७ अर्ब २३ करोड नाफा कमाएकोमा यो वर्ष ५६ अर्बमा सिमित भएको छ । 

कुन बैंकको कति नाफा ? 

११ महिनाको अवधिमा नबिल बैंकले ६ अर्ब ३३ करोड नाफासहित सबैभन्दा बढी नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आईएमईले ५ अर्ब ९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब ५५ करोड र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै राष्ट्रय वाणिज्य बैंकले ३ अर्ब ६ करोड, प्रभु बैंकको ३ अर्ब ३ करोड, कृषि विकास बैंकको ३ अर्ब २ करोड तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन् । 

बाँकी बैंकहरुमध्ये एनएमबी, हिमालयन, लक्ष्मी सनराइज, सिद्धार्थ र एनआईसी एसिया बैंकको नाफा २ अर्बभन्दा माथि छ भने बाँकी सिटिजन्स बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक माछापुच्छ्रे बैंक र नेपाल बैंकको नाफा १ अर्बभन्दा माथि छ । ११ महिनाको अवधिमा सबै बैंकले नाफा कम्तीमा १ अर्ब रुपैयाँ बढाएका छन् । 

त्यस्तै, जेठ महिनामा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ९६ करोड, नबिल बैंकले ८७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६१ करोड, हिमालयन बैंकले ५३ करोड, प्रभु बैंकले ५२ करोड र राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रुपैयाँ बराबरको नाफा बढाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ