arrow

बैंकको नाफा उच्च

ब्याजदर घटाएका बैंकहरुको बैशाख महिनामा ह्वात्तै बढ्यो वाणिज्य बैंकको नाफा

चैत महिनासम्मको नाफाको तुलनामा बैशाख महिनामा कमाएको नाफा ७५ प्रतिशतले बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
banks-nepal-final.jpg

काठमाडौँ । ब्याजदर घटाएका वाणिज्य बैंकहरुको नाफा बैशाख महिनाका लागि ह्वात्तै बढेको छ । बैंकहरुले नेपाल राष्ट्र बैंकमा रिपोर्टिङ गरेको बैशाख महिनासम्मको कारोबारमा आधारित नाफा नोक्सान विवरण अनुसार नाफा एकै महिना झण्डै ८ अर्ब रुपैयाँले बढेको हो । 

चैत महिनाको अन्त्यसम्म हाल सञ्चालित २० वाणिज्य बैंकको कुल नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । बैशाखको अन्त्यमा आइपुग्दा यो नाफा बढेर ४८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसले बैशाख महिनामा मात्रै बैंकहरुको नाफा ७ अर्ब ९२ करोड रुपैयाँले बढेको देखिन्छ । 

चैत महिनासम्मको नाफा हेर्ने हो भने बैंकहरुले मासिक औसत ४ अर्ब ५२ करोड रुपैयाँ मात्रै नाफा कमाएको देखिन्छ । यसको तुलनामा बैशाख महिनामा कमाएको नाफा ७५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको तुलनामा भने यो नाफा वृद्धि अझै कमजोर छ । अघिल्लो बैशाखसम्म सम्पूर्ण वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए । त्यो आधारमा हेर्ने हो भने यो वर्षको बैशाखसम्मको नाफा झण्डै १४ प्रतिशतले कम हो । 

कुन बैंकको नाफा कति ? 

बैशाख महिनासम्मको कुल नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा छ । नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २२ करोड र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएका छन् । 

त्यस्तै, कृषि विकास बैंकले २ अर्ब ६९ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड, प्रभु बैंकले २ अर्ब ५० करोड र एनएमबि बैंकले २ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएका छन् । 

हिमालयन बैंकले २ अर्ब २२ करोड, एनआईशी एशियाले २ अर्ब १६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड लक्ष्मी बैंकले १ अर्ब ९५ करोड तथा सानिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएका छन् । 

सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंकको नाफा क्रमशः १ अर्ब ५० करोड, १ अर्ब ४२ करोड, १ अर्ब ४२ करोड, १ अर्ब १० करोड र ५९ करोड रुपैयाँ रहेको छ । 

बैशाख महिनामा कुन बैंकले कति कमाए ? 

बैशाख महिनाको नाफाका आधारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि छ । सो बैंकले एक महिनामा ८१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । 

त्यस्तै नबिल बैंकले ७९ करोड ४५ लाख रुपैयाँ प्रभु बैंकले ६९ करोड २१ लाख, कृषि विकास बैंकले ६४ करोड ४६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । 

नेपाल बैंकले ४५ करोड ९८ लाख रुपैयाँ, कुमारी बैंकले ३७ करोड ६४ लाख एभरेष्ट बैंकले ३७ करोड १८ लाख, प्राइम बैंकले ३४ करोड ७० लाख, लक्ष्मी सनराइज बैंकले ३४ करोड १० लाख रुपैयाँ नाफा वृद्धि गरेका छन् । 

सानिमा बैंकले ३० करोड ७० लाख, सिद्धार्थ बैंकले २९ करोड ३६ लाख, सिटिजन्स बैंकले २९ करोड १८ लाख, हिमालयन बैंकले २८ करोड ८ लाख र नेपाल एसबीआई बैंकले २५ करोड ८७ लाख रुपैयाँ नाफा बैशाख महिनामा कमाएका छन् । 

माछापुच्छ्रे बैंकले २५ करोड ७ लाख, एनआईशी एशियाला २४ करोड ८३ लाख, एनएमबि बैंकले २४ करोड ५७ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २१ करोड ८७ लाख र राष्ट्रिय वाणिज्य बैंकले १८ करोड ८३ लाख रुपैयाँ नाफा बैशाख महिनामा कमाएका छन् । 

नाफा वृद्धिको कस्तो छ अवस्था ? 

नाफा वृद्धिको अवस्था हेर्दा चालु आर्थिक वर्षको ९ महिनाको औसत नाफासँग बैशाख महिनाको नाफाको तुलना तथा अघिल्लो वर्षको बैशाखसम्मको नाफासँग यो वर्षको बैशाखसम्मको नाफाको तुलना उपयुक्त हुन्छ ।

यो आधारमा बैशाख महिनामा १७ वटा बैंकहरुले कमाएको नाफा चैत महिनासम्मको औसतभन्दा धेरै छ । तीन वटा बैंकको औसत नाफा भने अघिल्लो ९ महिनाको तुलनामा कम छ । यी बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, स्टन्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन् । 


तर अघिल्लो वर्षको बैशाखसम्मको नाफाको तुलना गर्ने हो भने ६ वटा बैंकको नाफा बढेको छ भने १४ बैंकको नाफा घटेको छ । यसरी नाफा बढाउने बैंकहरुमा कृषि विकास, प्राइम, सिद्धार्थ, प्रभु, एभरेष्ट र सिटिजन्स बैंक छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ