arrow

चरित्र हत्या र समाधान 

logo
डा. बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ जेठ १९ शनिबार
badri-ojha-81-2-19.jpg

चरित्र हत्या अथवा क्यारेक्टर असासिनेसन (सीए) भन्नाले चरित्रको माध्यमबाट व्यक्तिको प्रतिष्ठा वा विश्वसनीयतालाई जानीजानी नष्ट गर्नु हो । सीएको औजारका रूपमा नकारात्मक अभियान, अफवाह फैलाउने वा उपनामबाट अनलाइनमार्फत मानहानी लगायतका विषयहरूको प्रयोग गरिन्छ । 

सीए सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था कार्पका अनुसार सीएलाई वर्तमान राजनीतिको एउटा सामान्य घटनाका रूपमा लिइन्छ । सीए अभियान गर्नेहरूले खासगरी समाजमा प्रतिष्ठा कमाएकाहरूमाथि आक्रमण गर्दछन् ।  नेतामात्र नभइ सेलिब्रिटीहरू, खेलाडी,  वैज्ञानिकहरू र उच्च सार्वजनिक प्रोफाइल भएका व्यक्तिविरुद्ध पनि सीए प्रयोग गरेको पाइएको छ । यतिमात्र होइन सामान्य जीवन बिताइरहेका मानिसलाई पनि उनीहरूले टार्गेट गर्छन् । 

सीए अभियन्ताहरू सामाजिक सञ्जालमा छद्म नामले आउँछन् र आफैँ पीडित भएको जिकिर गर्दै अर्को साँच्चिकै पीडितको निजी जीवन, मूल्य र पहिचानलाई लक्षित गर्छन् । उनीहरू पहिचान बनाएका मानिसहरूलाई बदनाम गरी उनीहरूलाई तिरस्कार र उपहासको पात्रका रूपमा स्थापित गर्ने प्रयास गर्दछन् ।

कार्पमा खासगरी अमेरिकाको जोन म्याडिसन विश्वविद्यालय र नेदरल्यान्ड्सस्थित आर्म्स्टर्डम विश्व विद्यालयका अध्येताहरू संलग्न छन् । उनीहरूले सीएको इतिहास तथा वर्तमान आयाम, शिक्षाक्षेत्र र स्रोता तथा दर्शक समुदायलाई सीएका कारणबारे जानकारी दिने, सीएको असर तथा यसबाट हुने हानिबारे अध्ययन गरी जोखिममा परेका व्यक्तिहरूलाई जोगाउँने रणनीतिलगायतका विषयमा अनुसन्धान गर्दछ । 

कार्पमा अनुसन्धानरत विभिन्न अध्येतामध्येकी एक एलिसन पियर्सनले चलचित्र नायक केभिन स्पेसीसँग अन्तर्वार्ता लिइन् । सन् २०१७ पछि ह्यास्ट्याग मिटुको प्रभाव बढ्दै गएका बेला स्पेसीमाथि यौन दुराचारको आरोप लाग्यो । उनको कमाइ ह्वात्तै घट्यो । जेल नै परे तर सन् २०२२ मा अदालतले सफाइ दियो । उनको गुमेको छवि सुधार्नमा पियर्सनको टेलिभिजन अन्तर्वार्ताले निकै ठूलो काम गरेको थियो । 

कार्पले सन् २०१७ मा आयोजना गरेको विश्व सम्मेलनले तयार पारेको प्रतिवेदनमा सीएका तरिकामध्ये स्प्रिंकलले पानी छर्के जस्तै गरी नकारात्मक सन्देशहरू फैलाइन्छ र लक्षित व्यक्तिको मानमर्दन गरिन्छ । 

कार्पजस्तै अर्को विश्व संस्था इस्काका अनुसार सीएका विभिन्न आयाममध्ये नार्सिसिस्टहरूको अभियान पनि एक हो । अरुलाई दुःख दिएर आफूहरू मस्ती मार्ने वा व्यक्तिगत लाभका लागि अरुको मानमर्दन गर्दा आफूलाई हर्षित ठान्दछन् । नार्सिसिस्टहरू अरुको मानमर्दन गरेर आफ्नो उद्देश्य पूरा गर्न उद्दत रहन्छन् र यसका लागि उनीहरू आफैँले तयार पारेका मिथ्यांकलाई तथ्यांकका रूपमा प्रस्तुत गर्दछन् ।  

नार्सिसिस्टसम्बन्धी अध्येताहरू क्रो एमएल, विस बी लियाम, डीआर क्यामबेल तथा डब्लू के तथा मिलर जेडीको संयुक्त अध्ययनले नार्सिसिज्मलाई मानसिक समस्याका रूपमा इंगित गरेको छ । यस अध्ययनले पनि नार्सिसिस्टले अरुको मानमर्दन गर्न मिथ्यांकहरूलाई तथ्यांकका रूपमा स्थापित गर्न खोज्दछन् र आफ्नो उद्देश्य प्राप्तिका लागि प्रयास गर्दछन् भन्ने नै निष्कर्ष निकालेको छ । यस्तै क्रिजान जे र हर्लेस एडीको अध्ययनले नार्सिसिस्टहरू कल्पनाको संसरमा बाँची आफ्ना मुद्दाहरूलाई स्थापित गर्न प्रचार शैली अपनाउँछन् । 

दुवै अध्ययनले देखाए अनुसार नार्सिसिस्टहरू समकालीनमा समाजमा व्याप्त मान्यता तथा समाजमा विकसित हुँदै गरेका मूल्यहरूलाई ढालका रूपमा प्रयोग गरी व्यक्तिगत लाभ लिने प्रयास गर्दछन् । उनीहरूले संवेगलाई मुख्य मुद्दाका रूपमा उठाउँछन् र यसैका माध्यमबाट आफ्नो पक्षमा जनमत तयार पार्दछन् । 

नार्सिसिस्टहरूलाई टेलिभिजन र सामाजिक सञ्जालले निकै सहयोग गरेको अध्ययनहरूले देखाएका छन् । सामाजिक सञ्जाल मात्र नभइ सञ्चारमाध्यमले पनि नार्सिसिस्टहरूका मुद्दालाई स्थान दिन्छन् । अमेरिकामा सन् २००२ देखि २००९ सम्म पत्रपत्रिकामा नार्सिसिस्टका मुद्दाले पाएको स्थानमा पाँच हजार प्रतिशतले वृद्धि भएको अध्ययनहरूले देखाएका छन् । 

अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनले सन् २०२१ मा प्रकाशित गरेको अनुसन्धान आलेखअनुसार मानिसहरूमा विकास हुने जानुजियन पर्सनालिटी कन्सट्रक्ट अथवा दुुईजिब्रे व्यक्तित्वका कारण अरुलाई सताएर रमाउने गर्दछन् । यस्ता मानिसहरू आफ्नो सौन्दर्य तथा सफलतालाई नै आफ्नो प्रभावको मुख्य स्रोत मान्दछन् । 

उनीहरू अरुले आफूलाई विशेष स्थान दिउन् भन्ने आशा गर्दछन् । जब उनीहरूको भावनामा सामान्य चोट लाग्दछ, उनीहरू आकाशै खसेजस्तो गरी हल्ला गर्दछन् । यसरी प्रचारमा उत्रिन्छन् कि उनीहरूको मुद्दाले नै समाजमा प्रभाव छोडोस्, उस्तै परे रुवाबासी गरेरै भए पनि आफूहरू स्थापित हुने प्रयास गर्दछन् । उनीहरू जसरी भए पनि आफूलाई उत्कृष्ट पात्रका रूपमा स्थापित गर्न चाहन्छन् । उनीहरूलाई अरुको भावनासँग मतलब हुँदैन र भरसक आफ्नै मात्र तर्क स्थापित गर्ने प्रयास गर्दछन् । यसो गर्न गाह्रो भए लैंगिक विभेद वा संवेगात्मक स्थितिहरूलाई अगाडि ल्याउँछन् । 

उनीहरू प्राकृतिक रूपमै आफूहरू विशेष प्राणी भएको दाबी गर्दछन् र आफ्नो मुद्दा स्थापित गर्न अरुलाई हतियार बनाउँछन् । यतिबाट अभिष्ट पूरा नभए आफ्नो सौन्दर्य वा अरुको सामान्य गल्तीलाई हतियारका रूपमा प्रयोग गर्दछन् । भरसक आफ्नो आलोचना सुन्नु नपरोस् भन्ने सोच्दछन् । केही गर्दा नसकिए उनीहरू अरुको निजी जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्दछन् । 

यस्ता मानिसलाई कसरी सहयोग गर्न सकिन्छ त ?
अस्ट्रलियाका मनोविज्ञ तथा लेखक डा. रोन पासफिल्डका अनुसार नार्सिसिस्टहरूलाई सहयोग गर्ने माध्यम औषधी उपचार, मनोचिकित्सा त यसै महत्वपूर्ण हुन्छन् नै । ध्यान पनि अर्को महत्वपूर्ण विषय हो जसले नार्सिसिस्टहरूलाई प्राकृतिक रूपमै सामान्य जीवनयापन गर्न सहयोग गर्दछ । ध्यानले मानिसको नकारात्मक सोचमा कमी ल्याउने हुनाले नार्सिसिस्टहरूलाई सकारात्मक बनाउन सहयोग गर्दछ । 

यसैगरी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयकी प्राडा. बोनी डुरानका अनुसार नार्सिसिस्टहरूमा म ठूलो हुँ भन्ने भावना विकास हुने हुनाले उनीहरू आफ्नो कुण्ठा अरुमाथि थोपर्छन् । यस्ता समस्याबाट उनीहरूलाई मुक्त पार्न ध्यानको उपयोग गर्न सकिन्छ । उनका अनुसार ध्यानले दिमागमा खुशी हर्मन उत्पादन गरिदिने हुनाले विस्तारै नार्सिसिस्टहरू सकारात्मक बन्दै जान्छन् । 

तथ्यांक स्रोतः www.psychalive.org, तस्बिरः एएफपी, भारतमा गर्मी छल्न पानीको प्रयोग गरिएको, यो लेखसँग प्रत्यक्ष सम्बन्ध नभए पनि सांकेतिक रुपमा प्रयोग गरिएको हो । 

 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ