arrow

नेपाल, भारत र चीनको त्रिदेशीय मञ्च गठनका लागि दिव्यमणी राजभण्डारीको सुझाव

चीनसँगको 'अनअथोराइज्ड ट्रेड' र भ्रष्टाचार रोकिए नेपाललाई ठूलो गुन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ असोज २५ शनिबार
divyamani-rajbhandari.JPG

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा परराष्ट्र मामिलाका जानकार दिव्यमणी राजभण्डारीले नेपाल र चीनबीच भइरहेको अवैधानिक व्यापार (अनअथोराइज्ड ट्रेड) रोक्ने बिषयमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा छलफल हुनुपर्ने बताएका छन्। 

चीनका राष्ट्रपति सि जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुवै भ्रष्टाचारप्रति शून्य सहनशिल रहेको घोषणा गरेको बेलामा त्यस्ता गतिविधिलाई वढावा दिने अवैधानिक व्यापार (अनअथोराइज्ड ट्रेड) रोक्न कडाई गर्नुपर्ने विषयमा निर्णय हुनुपर्ने राजभण्डारीले बताएका हुन्। 

हाम्राकुरासँग कुरा गर्दै सांसद राजभण्डारीले दुवै देशका कार्यकारी नेतृत्व भ्रष्टाचार विरोधी रहेपनि अहिले पनि चीनबाट र चीनतर्फ भइरहेको अवैधानिक व्यापार (अनअथोराइज्ड ट्रेड) रोक्ने बारेमा खास काम हुन नसकेको उल्लेख गर्दै यस बारेमा यो भ्रमणमा ठोस निर्णय लिनुपर्ने बताए। 

सुन, रक्तचन्दन लगायतको संगठित तस्करीलाई रोक्न नसकिएको सन्दर्भ उल्लेख गर्दै राजभण्डारीले तस्करीको संगठित गिरोहको अन्त्य गर्न दुबै देशले संयुक्त रुपमा काम गर्नुपर्ने औंल्याए।

पूर्वाधार निर्माणको धेरै ठेक्का चीनकै पूर्वाधार निर्माण कम्पनीहरुले लिएपनि त्यसलाई समयमै पुरा गर्ने गम्भिरता नदेखिइरहेको बेला चिनियाँ कम्पनीहरुलाई सजग गराउने विषयमा पनि छलफल हुनुपर्ने उनले बताए। 

नेपालमा काम गर्न आएका कम्पनीहरुले समयमै काम नगर्दा कैयन ठूला आयोजनाहरु ढीला भएका, समयमै पुरा हुन नसकेका, लागत बढेका दृष्टान्त छन्। त्यस्ता चिनियाँ कम्पनीहरु कतिपय अनियमितताको कारक र कारण बनिरहेको उल्लेख गर्दै राजभण्डारीले भने, ' चिनीयाँ कम्पनीहरुले गरेका ढीलाई लगायत ती कम्पनीहरुबाट हुन सक्ने भ्रष्टाचार कसरी रोक्ने बिषयमा पनि दिपक्षीय बैठकमा छलफल हुनुपर्छ।'

न्यून विजकीकरण भएर आउने सामानले समेत हाम्रो अर्थतन्त्रलाई असर गरेको राजभण्डारीले बताए। चीनको राष्ट्रप्रमुखको भ्रमणका क्रममा न्यून विजकीकरणको बिषय, अवैधानिक व्यापार र चिनियाँ कम्पनीको अनियमिततालाई रोक्ने हो भने देशको कम्तिमा ३० प्रतिशत भ्रष्टाचार रोकिने विश्वास राजभण्डारीको छ। दुवै देशमा भ्रष्टाचार विरोधी नेतृत्व रहेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने उनको तर्क छ। 

एटीएम ह्याकिङ लगायतका संगठित अपराधका विषय चिनियाँ पक्षबाट पछिल्ला दिनमा भएको जनाउँदै दुवै देशले यस किसिमका नयाँ नयाँ सुरक्षा चुनौतीका बारेमा मिलेर काम गर्नुपर्ने सुझाव राजभण्डारीले दिए। 

संसदमा अन्तराष्ट्रिय सम्वन्ध समितिका सदस्य समेत रहेका दिव्यमणी राजभण्डारीले नेपाल, भारत र चीनको नयाँ फोरम बनाउनु पर्ने सुझाव समेत दिए। सहमतिमा जे नाम राखे पनि यस क्षेत्रको क्षेत्रीय शान्ति, स्थिरता, विकास र समृद्धीका लागि नयाँ फोरमको आवश्यकता औल्याए राजभण्डारीले।

तीनै देशको सहकार्यमा नेपालमा मेगा प्रोजेक्टहरु पुरा गर्न सकिने तथा यसबाट तीनै देश लाभान्वित हुन सक्ने उनले बताए। राजभण्डारीले भने, ' ठूला ठूला जलविद्युत आयोजना लगायतका अन्य मेगा प्रोजेक्ट बनाउन सक्यौ भने तीनै देशलाई फाइदा हुनसक्छ ।'

नेपाल र चीनबीच धार्मिक, सांस्कृतिक र पारम्परिकदेखि आर्थिक सम्वन्ध शताब्दियौ पुरानो रहेको तथा इतिहास गर्विलो रहेको उल्लेख गर्दै राजभण्डारीले नेपाल, चीन र भारतबीच आर्थिक, सांस्कृतिक र सुरक्षाको कुरालाई लिएर संयन्त्र बनाउनुपर्नेमा जोड दिए।

कतिपयले नेपाललाई भारत र चीनको पुल भन्ने गरेकोमा फरक मत राख्दै राजभण्डारीले भने, ' नेपाल भारत र चीनको पुल मात्र हैन साझेदार हो। त्यसकारण पनि सहकार्य गर्दै बिकास गर्न पनि त्रिदेशीय मञ्च चाहिएको छ। यस बारेमा यो उच्स्तरिय भेटमा छलफल हुनुपर्छ। '

माओले राजनीतिक परिवर्तन गरेको चीनमा देङस्याओ पिङले बसाएको आर्थिक विकासको जगलाई विस्तार गरि सीले चीनको प्रभाव संसारभर विस्तार गरेको राजभण्डारीले सुनाए। भारतमा पनि महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्र भारत स्थापित भइ लामो उतारचढाव पछि मोदीको कार्यकालमा भारतको प्रभाव संसारभर बढेको उनले बताए। यो बेलामा प्रभावशाली दुई छिमेकीहरुबाट नेपालले फाइदा लिन सक्ने राजभण्डारीले बताए। भारत चीनको सम्वन्ध राम्रो भयो भने हाम्रो लागि पनि धेरै राम्रो हुने उनले बताए। 

नेपाललाई कुनै पनि छिमेकीको विरुद्ध प्रयोग गर्ने अवस्था नरहोस भनेर हामीले ध्यान दिनुपर्ने बताए। यसैका लागि नेपालमा आणविक उत्पादन हुनुहुन्न भनेर आफूले संसदमा कुरा राखेको पनि उनले स्मरण गरे। कसैले पनि नेपाललाई चीन र भारतको विरुद्ध प्रयोग नगरोस भन्नका लागि पनि कुनै हालतमा पनि आणविक उत्पादनको काम गर्न हुन्न भनेर आफूले अडान राखेको उनले बताए।  परम्परागत रुपमा भातृत्व भावलाई विस्तार गर्दै नयाँ परिस्थितिमा विकास र समृद्धीका कुरा अघी लैजान सके विकासको फुल फुलाउने र जनतालाई सुखी बनाउने कुरा सम्भव हुने उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ