- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। अमेरिका र इरानबीचको तनाव अहिले चरम उत्कृर्षमा पुगेको छ। इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि उनीहरुको तनावले ठूलो रुप लिएको हो। यो घटनासँगै अहिले युद्धको अवस्था आउनसक्ने आशंका जारी छ। युद्ध कुनै पनि समस्याको समाधान होइन र युद्धले कुनै पनि मुलुकलाई फाइदा गर्दैन। यो कुरा दुवै मुलुकले राम्रोसँग बुझेका छन्। त्यसैले दुवै मुलुकले आफ्नो उद्देश्य युद्ध गर्नु नरहेको बताउँदै आएका छन्। विश्लेषकहरुले भने अमेरिकाभन्दा पनि इरानको यो युद्ध नचाहेको बताएका छन्।
उनीहरुका अनुसार दुई मुलुकको युद्ध भए इरानले त्यसलाई थेग्न सक्ला ? भन्ने प्रश्न निकै महत्वपूर्ण छ। पछिल्लो समय इरानको आर्थिक अवस्था पनि त्यति राम्रो छैन। यस्तो अवस्थामा उसले युद्धको खर्च धान्न नसक्ने उनीहरुको भनाइ छ। इरानको अर्थतन्त्रको विषयमा आधिकारिक तथ्यांक त उपलब्ध छैन। तर, अन्य स्रोतबाट पाइएको तथ्यांकको आधारमा अमेरिकासँगको युद्धका लागि इरानको इरानको अवस्था यहाँ उल्लेख गरिएको छ–
आर्थिक मन्दी
अहिले इरान आर्थिक मन्दीको सामना गरिरहेको छ। अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको कारण इरान आर्थिक समस्याबाट गुज्रिएको हो। यसअघि अन्तर्राष्ट्रिय प्रतिबन्धको कारण समस्याबाट बाहिर आउन नसकेको अर्थतन्त्र अमेरिकाले पुनः लगाएको प्रतिबन्धको कारण समस्यामा देखिएको हो। सन् २०१५ मा भएको आणविक सम्झौतापछि इरानको अर्थतन्त्र सुधारको दिशामा थियो। तर, २०१८ मा अमेरिकाले यो सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गर्यो। यसले इरान पुनः प्रतिबन्धको मारमा पर्यो। यस्तो अवस्थामा कुनै पनि युद्ध उसको लागि अर्को समस्या बन्नसक्छ।
कमजोर तेल क्षेत्र
इरानको अर्थतन्त्रको मेरुदण्ड तेल व्यापार हो। विश्व बैंकका अनुसार इरान तेल सञ्चितिको हिसाबमा इरान विश्वको चौथो सबैभन्दा ठूलो मुलुक हो। मुलुकको आर्थिक वृद्धि र सरकारी राजस्वको धेरैजसो हिस्सा तेल व्यापारबाट आउने गरेको छ। तर, अहिले अमेरिकाले उसको तेलमाथि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धको कारण उसको तेल व्यापारमा उल्लेख्य कमी आएको छ। दुई वर्षअघिको प्रतिबन्धको कारण अहिले इरानको तेल क्षेत्र निकै कमजोर बन्न पुगेको छ। प्रमुख वित्तीय संस्थाहरुले पनि इरानको तेलको व्यापारमा यस वर्ष पनि उल्लेय कमी आउने अनुमान गरेका छन्। यसले पनि इरानको लागि यदि युद्ध भएको खण्डमा त्यो महँगो साबित हुनसक्ने देखिन्छ।
घट्दो व्यापार
इरानको तेलको निर्यात तथा अन्य क्षेत्रमा लगाइएको प्रतिबन्धले इरानको व्यापार पनि लगातार घट्दो क्रममा छ। इरानको बैंकिङ, खानी र समुद्री व्यवसायलगायतका क्षेत्रमा पनि प्रतिबन्ध लगाइएको छ। यसले मुलुकको समग्र वैदेशिक व्यापार निकै कमजोर अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको आकलन अनुसार मुलुकको निर्यात सन् २०१९ मा आयातभन्दा पनि कमजोर बनेको छ। साथै २०२० मा पनि यो प्रवृत्ति कायम रहने बताइएको छ।
बढ्दो महँगी
इरानको अर्को समस्या बढ्दो महँगी हो। इरानको केन्द्रीय बैंकले इरानी मुद्रा इरानियन रियाललाई प्रतिडलर ४२ हजार रियालको हारहारीमा स्थिर राखेको छ। तर, वास्तविक बजारमा भने यो मुद्रा आधिकारिक तथ्यांकभन्दा निकै कम हो। प्रतिडलर यो मुद्रा १ लाख ४० हजार रियालमा कारोबार हुने गरेको विश्लेषकहरुले बताएका छन्। कमजोर स्थानीय मुद्राको कारण मुलुकको मुद्रास्फीतिदर पनि अत्यधिक रहेको छ। सन् २०१९ को मे महीनामा इरानको मुद्रास्फीतिदर ५२ प्रतिशतमा पुगेको थियो। मुलुकमा महँगी बढेसँगै रोजगारीको अवसर पनि कम हुँदै गएका छन्। यसले मुलुकको समग्र रोजगारीको क्षेत्र पनि प्रभावित हुनसक्ने स्पष्ट देखिन्छ।
उच्च बेरोजगारी
अहिले इरानको अर्थतन्त्र कमजोर बन्दै जानुको अर्को महत्वपूर्ण कारण बेरोजगारी पनि हो। इरानको सुस्ताउँदो अर्थतन्त्रमा यसले अर्को समस्या थपेको छ। रोजगारीको अवसरमा देखिएको कमीले इरानको गरीबी झन् बढाउने अनुमान छ। विश्व बैंकले पनि इरानमा बढ्दो बेरोजगारीले अर्थतन्त्रलाई समस्यामा पार्नसक्ने बताइसकेको छ। अहिले इरानमा औसत मानिसको दैनिक जीवनयापनको खर्च ५ डलर ५० सेन्ट रहेको छ। दैनिक जीवनयापनको खर्च सन् २०१३ मा ८ दशमलव १ प्रतिशत बढेकोमा सन् २०१६ मा ११ दशमलव ६ प्रतिशत बढेको थियो।
बढ्दो बजेटघाटा
इरानको अर्को समस्या बजेट घाटा हो। यो समस्याबाट पार पाउन अहिले मुलुक संघर्ष गरिरहेको छ। त्यसका साथै युद्धका लागि विभिन्नि किसिमको कोषको पनि आवश्यक हुन्छ। त्यसले मुलुकको अर्थतन्त्र थप समस्यामा पार्नसक्छ। अहिले मध्यपूर्वमा तनाव जारी रहेको अवस्थामा सिरिया, यमन र अफगानिस्तान लगायतका क्षेत्रमा द्वन्द्वको असर पनि केही न केही मात्रामा परेको छ। तर, अब उसको लागि अमेरिकासँगको युद्ध निकै घातक बन्नसक्छ।
कमजोर रक्षा प्रणाली
प्रत्यक्षरुपमा इरानले अमेरिकाको सामना गरेको छैन। उनीहरुको बीचमा शीतयुद्धको जस्तो अवस्था अहिले चलिरहेको छ। धेरैजसो त उनीहरुको बीचमा वाकयुद्ध हुने गरेको छ। त्यसका साथै उनीहरु एकअर्कालाई चेतावनी दिन र धम्क्याउन भने छाड्दैनन्। त्यसको झल्को उनीहरुले पछिल्लो समय पनि दिइनै रहेका छन्। तर, अहिलेको अवस्था निकै संवेदनशील बन्न पुगेको छ। यो अवस्थामा कुनै पनि मुलुकले सानो गल्ती गर्दा मध्यपूर्वका साथै समग्र विश्वमा युद्धको छाया देखिने जोखिम छ।
इरानको अहिलेको अवस्थाले भने अहिले यद्धको भन्दा पनि आफ्नै मुलुक असुरक्षित बन्न पुगेको छ। इरानले अमेरिकासँगको तनाव चलिरहेकै अवस्थामा युक्रेनी विमानलाई खसाल्यो। त्यसमा सवार सबै १७६ जनाको ज्यान गयो। सो विमानमा धेरै इरानकै नागरिक थिए। यो घटनाको विषयमा इरानले गल्ती भएको स्वीकार गर्दै अमेरिकी विमान भएको आशंकामा प्रहार गरिएको बतायो। इरानको यो अभिव्यक्तिसँगै इरानमा ठूलो संख्यामा मानिसहरु आन्दोलनमा होमिएका छन्। उनीहरुले हाम्रो शत्रु मुलुकभित्रै रहेको भन्दै आफ्नो नेतृत्वलाई नै गाली गरिरहेका छन्। इरानले आफ्नो शत्रु राष्ट्रको रुपमा अमेरिका वा अन्य पश्चिमा मुलुकलाई भन्ने गरेको भए पनि आफ्ना नागरिकहरु धेरै रहेको विमान पनि पहिचान गर्न नसक्नुले उसको चरित्र उदाङ्गो बनाएको छ।
अमेरिकाले सधैं इरानलाई आफू शक्ति र अर्थतन्त्रमा तुलना गर्न नसक्ने अवस्थामा रहेको बताउँदै आएको छ। यस्तोमा इरानप्रति मानिसहरुले अमेरिकाको दम्भ भन्दै सहानुभूति पनि देखाउँदै आएका थिए। तर, आफ्नो ट्र्याकिङको प्रणाली नभएको अवस्थामा अमेरिकी विमानको आशंकामा आफ्ना नागरिक मार्नुले सबै मानिसहरुले सहानुभूति हटेको छ। विश्वमा जति नै निरंकुश भनिएका मुलुकमा पनि शासन व्यवस्था केही फरक प्रकृतिको होला, जीवनयापनको लागि कठोर नियम बनाइएको होला तर आफ्नै नागरिकलाई मार्ने नियत कुनै मुलुकको देखिँदैन। तर, इरानले अमेरिकाको विरोध गर्दागर्दै आफ्नै नागरिकमाथि प्रहार गरेको छ।
इरानले आफ्नो आकाशमा युक्रेनी विमान खसाल्नुलाई अमेरिकाले इरानसँगको द्वन्द्व जितिसकेको स्पष्ट हुन्छ। उक्त विमान खसेसँगै इरानको बाटो हुँदै जाने विमानले आफ्नो रुट परिवर्तन गरेका छन्। कूटनीतिक हिसाबमा पनि इरानको युक्रेनसँगको सम्बन्ध चिसिएको छ। त्यसका साथै सो विमानमा रहेका अन्य मुलक पनि इरानको यो व्यवहारले चिढिएका छन्। यसको असर इरानलाई दीर्घकालसम्म पनि पर्नसक्छ।
अन्य नोक्सानी त छँदै छ तर, यो घटनाले इरानले अमेरिकामा आक्रमण गर्नसक्ने भन्दै दिएको धम्कीजस्तो वास्तविक शक्ति भने नरहेको पनि देखाएको छ। आफ्नो र पराइको विमान पनि चिन्न नसक्ने इरानले अमेरिकालाई आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन सक्ला ? भन्ने प्रश्न उब्जेको छ। उसले अमेरिकासँग बदला लिनुभन्दा पनि पहिला आफ्नो प्रणालीमा सुधार गर्दै आफ्नो र अर्काको विमान छुट्याउनसक्ने आधारभूत अभ्यास गर्नु जरुरी देखिन्छ।