- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्रीमद्भगवद्गीताको पहिलो अध्यायमा अर्जुनमा विषाद आयो, भगवान् श्रीकृष्ण बोल्नुभएन । उहाँले अर्जुनलाई खुलेर बोल्न दिनुभयो र अर्जुनका कुरा ध्यानपूर्वक सुन्नुभयो । अर्जुनका विषाद सम्पूर्ण रुपमा बाहिर ल्याउन दिनुभयो । भगवानलाई थाहा थियो कि जबसम्म अर्जुनका सबै विषाद बाहिर आउँदैनन् तबसम्म आफू बोल्नुको कुनै अर्थ छैन किनकी त्यो बेलासम्म अर्जुन सुन्ने स्थितिमा थिएनन् ।
भगवान् तब मात्र बोल्न थाल्नुभयो जब अर्जुन जिज्ञासु बन्न थाले जब अर्जुनले भगवानलाई गुरू माने र सुन्न तयार भए, जब उनले आफूलाई भ्रमित भएको माने । रणभूमिको बीचमा रथ लाने आग्रह पनि अर्जुनको थियो र युद्ध नगर्ने निर्णय पनि अर्जुनकै थियो । त्यो भन्दा पहिले युद्ध गर्ने निर्णय पनि अर्जुनकै थियो । तर जब उनले आफू विवेक हराएको ठानेर भगवानलाई के गरौं भनेर सोधे अनि मात्र भगवान् बोल्न थाल्नुभयो ।
त्यो क्रममा उहाँले केही बुद्धिका र केही कर्मका कुरा गर्नुभयो । बुद्धिका कुरा बताउने क्रममा भगवान् श्रीकृष्णले शरीर र आत्मा बीचको फरक देखाइदिनुभयो । शरीर कसरी नाशवान छ र आत्मा किन अविनाशी छ भन्ने कुरा भन्नुभयो । उहाँले शरीर मर्ने र आत्मा नमर्नुको कारण पनि भन्नुभयो ।
कर्मका कुरा गर्ने क्रममा क्षेत्रिय धर्म, धर्मले निर्दिष्ट गरेको कर्म र के गर्दा ठीक हुन्छ र के गर्दा बेठीक हुन्छ भन्नेसम्मका कुरा भगवान् श्रीकृष्णले गर्नुभयो । भगवानले यसरी कर्म र बुद्धिका बारेमा सविस्तार बताइरहँदा ध्यानपूर्वक सुनेका अर्जुन तेस्रो अध्यायमा आइपुग्दा फेरि दुबिधामा पर्छन् । उनको तात्कालिक बुद्धिअनुसार भगवानले नै भनेको कुरा पनि उनलाई दुई किसिमको लाग्छ ।
भगवानले भन्न खोजेको के होला भन्ने कुरा अर्जुनले बुझ्दैनन र उनी भ्रमित हुँदै सोध्छन्– प्रभु ! यदि बुद्धि ठूलो हो भने किन मलाई यस्तो भंयकर युद्ध कार्यमा लगाउनुहुन्छ ? मेरो हित केमा छ त्यो मात्रै मलाई बताइदिनुहोस् ।
अर्जुनको यही प्रश्न र आग्रहबाट श्रीमदभगवद्गीताको यो तेस्रो अध्याय सुरु हुन्छ । त्रिचालीस श्लोकको यो अध्यायमा अर्जुन जम्मा तीन श्लोक बोल्छन् भने भगवान् श्रीकृष्ण बाँकी चालीस श्लोकको माध्यमद्वारा अर्जुनलाई आफ्नो कर्म सिकाउनुहुन्छ ।
कर्मयोग नामको यस अध्यायलाई पाँच भागमा बाँड्न सकिन्छ ।
यो अध्यायको पहिलो भागको पहिलो श्लोकदेखि आठौं श्लोकसम्म भगवान् अर्जुनलाई ज्ञानयोग र कर्मयोग अनुसार आशक्तरहित वा अनाशक्त भावसँग आफ्नो कर्म गर्यो भने त्यसबाट श्रेष्ठता मिल्छ र मानिसको जीवन सफल हुन्छ भन्ने कुरा बुझाउनु हुन्छ । यहाँ सफलताको अर्थ मुक्ति प्राप्त गर्नु या मोक्ष प्राप्त गर्नु हो । यो क्रममा भगवान् भन्नुहुन्छ- भगवानलाई बुझ्ने दुईवटा पाटा हुन्छन् । एक किसिमका मानिसहरुले ज्ञान र अनुभवबाट भगवानलाई बुझ्न प्रयास गर्छन् भने दोस्रो प्रकारका मानिसहरु कर्मद्वारा भगवानसम्म पुग्ने प्रयास गर्छन् । यी दुई मानिसहरुमध्ये पहिलो ज्ञानयोगमा लागेको हुन्छ जो वेद आदि अध्ययन गर्छ र भगवानलाई बुझ्ने चेष्टा गर्दछ । त्यस्तो मानिसमा कर्मको अभाव हुन्छ । उसका लागि अध्ययन नै कर्म हो । दोस्रो प्रकारमा मानिसहरु कर्मयोगमा लागेका हुन्छन्, उनीहरु कुशल कर्मको माध्यमद्वारा भगवानसँग सम्बन्ध गाँस्न पुग्छन् ।
यहाँ कर्मभाव जोड्दै भगवान् भन्नुहुन्छ– मानिसले कर्म गरेपछि सोही कर्मबाट नै सेवा र भक्तिको भाव उत्पन्न हुने हो । कर्म नगरीकन सेवा पनि हुँदैन, भक्ति पनि हुँदैन । शास्त्रले आफूलाई जुन कर्म गर भनेर निर्देशित गरेको छ, त्यो कर्म कुशलापूर्वक निर्वाह गर्नुपर्छ ।
श्रीमद्भगवद्गीताको अध्याय तीनको आठौं श्लोकमा भगवान् भन्नुहुन्छ– तिमी आफूलाई तोकिएको कर्म गर । शास्त्र र धर्मद्वारा प्रदत्त कर्म नै तोकिएको कर्म हो । धर्म र शास्त्रले अर्जुनका लागि युद्ध गर्ने कर्म तोकिदिएको छ । अर्जुन क्षेत्रिय भएको हुनाले क्षेत्रिय धर्मको पालना गर्नु नै उनको कर्म हो । यसैगरी ब्राह्मणले ब्राह्मणको, वैश्यले वैश्यको र शुद्रले शुद्रकै धर्म पालना गर्नुपर्छ, त्यो नै उनीहरुको कर्म हो ।
कर्म गर्दा इन्द्रियतृप्तिका लागि मात्रै गर्नु पाप हो । जसले मीठो खानको लागि, राम्रो लगाउनको लागि, अरुका अगाडि मान सम्मान पाउनका लागि मात्रै कर्म गर्छ त्यो त ठग होे, चोर हो । कर्म जहिले पनि भगवानका लागि र निस्वार्थ हुनुपर्छ । अन्यथा त्यो कर्म यो जन्म र अर्को जन्म दुवैका लागि काम नलाग्ने हुन जान्छ । यस्ता कर्मले आफू पापको कुवामा फसिन्छ भने आफ्ना सन्ततिको पनि भलाई हुन्न ।
यही कुरालाई आजको सन्दर्भमा हेर्दा जसलाई जुन कुराले निर्दिष्ट गरिएको छ त्यही काम गर्नुपर्छ । हिजोका दिनमा गर्न हुने र नहुने कुरा शास्त्रमा लेखिएका हुन्थे भने आज त्यही कुरा नियम कानुनमा हुन्छन् । हिजो शास्त्रमा भएका कुरा गर्दा वा नगर्दा धर्म र पापको भागिदार हुनुपर्थ्यो भने आज त्यसैलाई अर्को रुपवाट हेर्दा पुरस्कार र सजायको रुपमा व्याख्या गर्न सकिन्छ । हामीले जुन कर्म गर्ने भनेर दृढ भएका छौं र जुन शास्त्र, नियम र कानुनद्वारा निषेध छैन त्यो कर्म विचलित नभई गर्नु नै आजको आवश्यकता हो । श्रीमद्भगवद्गीताले यही कुरा भन्छ ।
यदि तपाईंको काम राम्रोसँग तपाईंको अफिस सञ्चालन गर्नु हो भनेर तोकिएको छ भने त्यो तपाईंको कर्म हो । त्यस कर्मलाई तपाईंले निर्वाह गर्नुपर्छ । कसैको कर्म सरकार चलाउने होला, कसैको कर्म घर चलाउने होला । यी सबै हाम्रो धर्मले वा हाम्रो समाजले वा हाम्रा नियम कानुनले हामीलाई निर्दिष्ट गरेको कुरा हुन् । यो सबै हामीलाई प्राप्त जिम्मेवारी हो ।
हे अर्जुन ! तिमीले तिम्रो क्षेत्रिय धर्मबाट प्राप्त गरेको आफ्नो कर्म गर । आजको लागि युद्ध तिम्रो कर्म हो– भगवान् श्रीकृष्ण भन्नुहुन्छ । त्यो समयमा कर्मका लागि जात छुट्याइन्थ्यो, आजका दिनमा पद छुट्याइन्छ । जात कामको लागि हो छुवाछुतको लागि हैन ।
यो अध्यायको दोस्रो भाग अर्थात नवौं श्लोकदेखि सोह्रौं श्लोकसम्म भगवानले माथिका श्लोकहरुबाट कर्मबन्धनमा बाँधिएका मानिसहरुलाई त्यस्तो कर्मबन्धनबाट छुटकारा पाउने उपायहरुको चर्चा गर्नुहुन्छ । यी उपायहरुबारे उपदेश दिंदा भगवानले कर्मलाई यज्ञसँग जोड्नुभएको छ ।
यी श्लोकमा उहाँकै शब्दले कुशल कर्मलाई नै यज्ञ हो भन्छ । धेरैले यज्ञ भन्नाले हवन, अग्नि, चरु, ब्राम्हण आदि भनेर बुझ्छन् । ती सबै यज्ञ भएपनि ती मात्रै यज्ञ होइनन्, त्यो यज्ञको एउटा रुप मात्र हो । यहाँ भगवानले पूजा, पाठ र हवनलाई मात्र यज्ञ मान्नुभएको छैन । उहाँले अर्जुनलाई स्पष्ट शब्दमा भन्नुभएको छ– कुनै पनि कर्म गर्दा भगवानका लागि भनेर यज्ञका रुपमा गर । कुनै कर्मको आफै कारण या कर्ता नबन भन्ने कुरा भगवान् श्रीकृष्णले दोस्रो अध्यायमै भनिसक्नु भएको छ । यज्ञको रुपमा कर्म गर्दा कर्म बन्धनबाट मुक्त भइन्छ, यो नै सबैभन्दा ठुलो उपलब्धी हो ।
यो संसारमा आइसकेपछि जब मोक्ष प्राप्त गरिन्छ, त्यो सबैभन्दा ठूलो प्राप्ति हो । किनकी जहाँ कर्मबन्धनमा परिन्छ त्यहाँ जीवन फस्यो भन्ने जान्दा हुन्छ । फसेको जीवन फेरि यही मर्त्यलोकमा फर्केर आउनुपर्छ, फेरि जीवन र मरणको चक्रमा फस्नुपर्छ । तर कर्म गर्दा यसको कारण र कर्ता भगवान् हुन भनेर गरेपछि त्यस्तो कर्मबन्धनमा फस्नुपर्दैन । त्यसरी गरिएको यज्ञरुपी कर्मद्वारा भगवान् खुसी हुन्छन र भगवानसँग मानवजातिको सम्बन्ध बनिरहन्छ । यो किसिमको कर्म गर्ने मानवजाति भगवानको निकटस्थ हुन्छन् ।
यहाँ आइपुगेपछि हामी के बुझ्न सक्छौँ भने भगवान् श्रीकृष्णले यही सन्दर्भबाट फेरि भगवान् र मानिसको सम्बन्ध जोडिदिनुभयो छ र त्यो पनि यज्ञको माध्यमद्वारा । यज्ञ मानवजातिले गर्नुपर्छ र भगवानका लागि भनेर गर्नुपर्छ जसले भगवान् र मानवजातिबीचको सम्बन्ध स्थापित भइरहन्छ ।
भगवान् श्रीकृष्ण फेरि भन्नुहुन्छ– जसले कर्म नगरी खान्छ त्यो चोर हो । त्यसलाई पापी भनिन्छ र त्यसले स्वादका लागि मात्रै खान्छ । स्वाद इन्द्रियतृप्तीको कारण हो । त्यसैले तिमीले यज्ञ गर, यज्ञको प्रसादको रुपमा खाऊ । यसको अर्थ हो, भगवानका लागि भनेर कर्म गर र कर्मफलको रुपमा जे प्राप्त हुन्छ, त्यसलाई भगवानको प्रसादको रुपमा ग्रहण गर ।
मानिसको सम्बन्ध भगवानसँग स्थापित गर्ने क्रममा श्रीकृष्ण भन्नुहुन्छ–
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।
सबै प्राणीहरु अन्नमा आश्रित छन्, अन्न वर्षाबाट पैदा हुन्छ । बर्षा यज्ञबाट हुन्छ र यज्ञ कर्मबाट हुन्छ । जब मानव जातिले कर्म गर्छ त्यो नै वास्तवमा यज्ञ हो । कर्म गरिसकेपछि भगवान् खुसी हुनुहुन्छ र भगवान् खुसि भएपछि बर्षा गरिदिनुहुन्छ । स्वभाविक हो, हामीलाई अन्न फलाउन सिँचाई चाहिन्छ । त्यो बर्षाबाट प्राप्त हुन्छ, बर्षाबाट अन्न फल्छ र अन्नले फेरि मानवजातिको कल्याण हुन्छ । मानवजाति बाँच्नका लागि जे कुरामा आश्रित हुनुपर्ने हो त्यो चिज पाउँछन् । त्यसैले यज्ञका रुपमा गरिने कर्म आवश्यक छ र अनिवार्य छ । यज्ञले मानव र भगवानबीचको सम्बन्ध स्थापित गरिदिन्छ ।
शास्त्रले यज्ञलाई विभिन्न प्रकार र रुपमा ब्याख्या गरेको पाइन्छ । जसरी र जुन रुपमा व्याख्या गरेको भए पनि ती सबै यज्ञ कर्मसँग सम्बन्धित छन् । देवयज्ञ पूजापाठ आदिको माध्यमद्वारा गरिन्छ भने ब्रम्हयज्ञ आत्मज्ञान यज्ञको अर्को रुप हो । इन्द्रियसंयमयज्ञले कर्मलाई निस्काम बनाउँछ भने अनाशक्तयज्ञले कर्मलाई भगवानसँग जोड्छ । आत्मसंयमयज्ञले राग, द्वेश हटाउँछ भने द्रब्ययज्ञले सेवा कार्यमा आफ्नो सम्पत्ति लगाउँछ । तपोयज्ञको रुपमा भगवानको नाममा व्रत तथा उपवास हुन्छ भने योगयज्ञमा मन र शरीर शुद्ध पार्दै शरीरका आशन र स्वासका प्राणायामका माध्यमद्वारा चित्त शुद्ध पार्ने काम गरिन्छ । स्वाध्याययज्ञमा रामायण वेद आदिको अध्ययन गरिन्छ भने स्वाध्यायज्ञान यज्ञमा ती पढेका ग्रन्थ मनन गर्दै तिनका उपदेशलाई दैनिक जीवनमा उतार्ने काम हुन्छ । प्राणायामयज्ञले समाधितर्फ आकर्षित गर्दछ भने इन्द्रियमनोवृत्तियोग यज्ञले अहंकारको त्याग गराउने काम गर्छ । यसरी हरेक प्रकारका यज्ञ भगवानसँग प्रत्यक्ष सम्बन्धित छन् र भगवानसँग जोडिनका लागि गरिन्छन् ।
भगवानले यज्ञको कुरा गर्दा पनि यज्ञलाई विभिन्न भागमा बाँड्नुभएको छ । श्रीमद्भगवद्गीतामा कर्मलाई भगवानले जुन यज्ञ भन्नुभएकोे छ, त्यसलाई पनि विभिन्न भागमा विभाजन गरेर हेर्न सकिन्छ । यो संसारका सबै प्रकारका यज्ञहरुको सम्पादन मानिसबाट हुन्छ ।
जब मानिसले पूजा अर्चना गरेर यज्ञ सम्पन्न गर्छ, त्यसले देवलोक चलिराखेको हुन्छ । अर्थात् हामीले गरेको पूजा अर्चनाबाट देवताहरु प्रशन्न हुन्छन् ।
पितृ श्राद्ध वा तपर्ण यज्ञबाट पितृलोक चल्छ । हामीले गर्ने तर्पण र श्राद्धका माध्यमबाट हाम्रा पितृहरुले आफ्नो सृष्टि चलाइरहेका हुन्छन् ।
जप र अध्ययन यज्ञले ऋषिलोक चल्छ ।
गाँस, बास र कपासका लागि मनुष्यले जे गर्छ त्यो पनि यज्ञ हो र त्यसले मनुष्यलोक चल्छ ।
जल, अन्न, बास पशुपंक्षीका लागि राखिन्छ त्यसले पशुपंक्षीको लोक चल्छ ।
यी सबै यज्ञकर्म मनुष्यले गर्नुपर्छ । मनुष्य यी सबै यज्ञका लागि माध्यम हो तर कतै कतै मानिसहरुले आफूलाई कारण अर्थात् कर्ता पनि मानिरहेका हुन्छन् त्यो गलत हो । त्यसैले यी सबै लोक चलाउनेगरी सबै किसिमका कर्म मानिसले गर्नुपर्छ, त्यो पनि यज्ञका रुपमा र भगवानका लागि ।
श्रीमद्भगवद्गीताको यो कर्मयोग अध्यायको तेस्रो भाग अर्थात, सत्रौं श्लोकदेखि चौवीसौं श्लोकसम्म भगवान् आफ्नै उदाहरण दिँदै सबैले कर्म गर्नैपर्ने शिक्षा दिनुहुन्छ । आफूले उपदेश दिँदा यदि ती कुराहरु आफ्नो जीवनमा आइपर्दा लागु गर्न सकिन्न भने त्यस्ता उपदेश दिनुहुन्न । यो सत्यको उद्घोष भगवान् यो भागमा गर्नुहुन्छ ।
भगवान् भन्नुहुन्छ– भगवानका लागि पनि कर्म आवश्यक छ । जो ज्ञानवान छ, जो भगवान् छ, उसको लागि पनि कर्म आवश्यक छ भनेर उहाँले आफ्नो उदाहरण दिनुहुन्छ । अरुलाई यस्तो गर र उस्तो नगर भनेर सिकाउन त सजिलो छ तर भगवानले श्रीमद्भगवद्गीतामा मानवजातिलाई दिनुभएको उपदेशमा के भन्नुहुन्छ भने म यो काम गर्दिन त्यसकारण यो काम यो कारणले गर्नुहुन्न भनेर आफ्नो उदाहरणसहित दिनुपर्छ ।
यो उदाहरण दिने क्रममा भगवान् भन्नुहुन्छ– हेर अर्जुन, ठुलाले जे काम गर्छन् सानाले त्यसैको अनुुशरण गर्छन् । तिमी पनि समाजको ठुलो ब्यक्ति हौ ।
उदाहरण दिँदै भगवान् थप्नुहुन्छ–
न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।
मैले गर्न पर्ने काम केही छैन । मलाई न कुनै चिजको लोभ छ न लालसा छ । तर पनि मैले कर्म गर्छु, किनभने मैले काम गरिन भने अरुले पनि मेरो सिको गर्छन् र तिनीहरु समेत अल्छी हुन्छन् । त्यसपछि हामी सबै समाजको विनासको बाटोमा लाग्छौँ । अनि त्यो विनासकोे जिम्मेवार म हुन्छु । यो कारणले पनि मैले कर्म गर्नुपर्छ । मैले कर्म गर्नुपर्छ नत्र समाज विनाश हुन्छ– श्रीमद्भगवद्गीताको अध्याय तीनको बाइसौं श्लोकमा श्रीकृष्णले अर्जुनलाई यसो भनिरहँदा आफूलाई भगवान् भनेर पहिलो पटक चिनाउनुहुन्छ । संसारमा मैले गर्नुपर्नुे केहि छैन भन्ने शब्दको उच्चारण भगवान् स्वयम् बाहेक अरु कसैले गर्नै सक्दैन । यति कुरा भनिसक्दा भगवानले आफूलाई परमात्मा स्वरुपमा प्रकट गर्नुभयो ।
श्रीमद्भगवद्गीतामा अहिलेसम्म श्रीकृष्ण एउटा गुरूको रुपमा, साथीको रुपमा अर्जुनलाई उपदेश दिँदै हुनुहुन्थ्यो । यहाँ आइपुग्दा भगवान् श्रीकृष्णले आफूलाई परमात्मा परमेश्वरको रुपमा प्रकट गर्दै भन्नुहुन्छ– मैल यो संसारमा गुर्नपर्ने कुनै कर्म छैन तै पनि म कर्म गर्छु किनकी मैले गरिन भने अरुले गर्दैनन र विनाश हुन्छ । अनि विनाशको कारण म हुन्छु । त्यसका लागि पनि मैले कर्म गर्नुपर्छ । अब श्रीमद्गभवद्गीताले अर्को स्वरुपमा प्रवेश गर्यो र त्यो हो श्रीकृष्णको परमात्मा स्वरुप ।
पहिलो अध्यायमा अर्जुनले युद्धबाट सबै नाश भएपछि वर्णसङ्कर पैदा हुने र पितृहरुको पनि उद्धार नहुने संशय ब्यक्त गरेका थिए । अर्जुनको त्यो भ्रम चिर्दै तेस्रो अध्यायको चौवीसौं श्लोकमा भगवान् भन्नुहुन्छ– मैले कर्म नगर्नाले वर्णसङ्करहरु पैदा हुनेछन् र त्यसको कारण म हुनेछु । जब भगवानले पनि आफ्नो कर्म गर्न पर्छ भने हामी मानिसको त के कुरा ? कर्म गर्नेमा हामीले सिक्नुपर्ने सूर्यबाट हो । बाहिरको वातावरण जस्तो होस्, सूर्योदय र सूर्यास्त आफ्नो समयमा हुन्छ हुन्छ । ग्रहणको दिनसमेत सूर्योदय र सूर्यास्तमा अपबाद छैन । समाजका धनी र माथिल्लो तहमा पुगेका मानिसहरुमा आउने अल्छिपनले नै समाजलाई तल्लो बाटोतिर लगिरहेको हुन्छ । जति जति माथिल्ला श्रेणीका मानिसले कर्म गर्छन्, समाज त्यति नै छिटो विकास हुन्छ ।
श्रीमद्भगवद्गीताको तेस्रो अध्यायको चौँथो भाग अर्थात् पच्चीसौं देखि पैँतीसौंश्लोकमा अज्ञानी र ज्ञानवान् मानिसहरुको लक्षण के हो र राग द्वेशबाट अलग रहेर कसरी कर्म गर्नुपर्छ भन्ने प्रेरणा भगवान् दिँदै हुनुहुन्छ । यसको लागि भगवान् भन्नुहुन्छ– आफूलाई कहिल्यै पनि कर्ता नमान । इन्द्रिय तृप्तिका लागि मात्रै नगरिएको कर्म नै सकाम कर्म र उत्तम कर्म हो । इन्द्रिय तृप्तिका लागिमात्रै जसले कर्म गर्छ, स्वादका लागि मात्रै जसले खान्छ त्यो पापी हो भनेर भगवानले यही अध्यायमा माथि नै भनिसक्नु भएको छ । यहाँ आएर भगवानले भन्नुभएको छ, जुन कर्म इन्द्रिय तृप्तीभन्दा अलग र समाज कल्याणको लक्ष्यसहित गरिन्छ त्यो नै सकाम र उत्तम कर्म हो । यसअर्थमा कर्म आफ्ना लागि होइन, कर्म भगवानमा अर्पण गर भन्ने यसको मुल मन्त्र हुन आउँछ ।
जबसम्म मानिसले आफ्नो लागि भनेर कर्म गर्दछ तबसम्म उसले यो पृथ्वीमा जन्म लिने र मर्ने चक्र पार गर्नुपर्छ । तर जब उसले आफ्ना सम्पूर्ण कर्महरु भगवानका लागि भनेर गर्छ, ऊ मोक्ष हुन्छ । आफ्नो लागि वा सम्पत्ति संग्रहको लागि कर्म गर्ने मानिस तल्लो कोटीका हुन् र असल मानिसले उनीहरुको अनुकरण गर्नुहुन्न, बरु उनीहरुलाई पनि असल बाटोमा ल्याउने काम गर्नुपर्छ । कर्मयोगको पालनामा यदि कुनै बाधा छ भने त्यो पदार्थलाई मूल्यवान ठान्ने हाम्रो व्यवहार मात्रै हो । तसर्थ सबैले पदार्थप्रतिको आकर्षण त्याग्नुपर्छ ।
यस अध्यायको पैँतिसौं श्लोक श्रीमद्भगवद्गीताका अत्यन्त महत्वपूर्ण श्लोक मध्येको एक हो । यसले आजको मानव जातिका लागि धेरै ठुलो उपदेश दिएको छ । यो श्लोकमा भगवान् भन्नुहुन्छ–
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।।
अरुलाई तोकिएको कर्म अथवा परधर्म राम्ररी सम्पन्न गर्नुभन्दा त्रुटिपूर्ण तरिकाले भए पनि आफ्नो कर्तव्य वा स्वधर्मको पालन गर्नु नै राम्रो छ । परधर्ममा लाग्नुभन्दा आफ्नै धर्ममा रहेर मर्नु बरु उत्तम हुन्छ, किनभने परधर्ममा लाग्नु डरलाग्दो र खतरनाक हुन्छ । यहाँ धर्म वा शास्त्र निहित कर्म र त्यसको परिवर्तन खतरनाक खेल हो भनेर भगवानले अर्जुनको माध्यमद्वारा हामी सबैलाई बताइरहनुभएको छ ।
आजको समाज जहाँ अरुको काम गर्ने मात्रै हैन आफ्नो धर्मसमेत विभिन्न लोभ र लालचमा परेर परिवर्तन गर्नेहरुका लागि भगवान् श्रीकृष्णको यो उपदेश अत्यन्तै फलदायी छ । धर्म परिवर्तन गर्नु पाप मात्र हैन भयानक डरलाग्दो कृयाकलाप हो । त्यस्ता मानिसले यो जन्ममा र अर्को जन्ममा कहिल्यै सुख पाउँदैनन् ।
यहाँ धर्मलाई भगवान् फेरि कर्मसँग जोड्नुहुन्छ र भन्नुहुन्छ– आफ्नो कर्म गर, अरुको कर्म नगर । आफूलाई जे तोकिएको छ, त्यो कर्म गर । तिम्रो कर्तव्य अरुलाई तोकिएको कर्म गर्ने होइन । यहाँ बसेर युद्ध गर्दिन भन्ने तिमीलाई तोकेको कर्म होइन । शास्त्र विधानले तिमीलाई तोकेको कर्म युद्ध गर्नु हो । युद्ध गर्नेे मान्छेले अगाडी को छ भनेर हेर्दैन । तिमीले युद्ध गरेनौ भने तिमीले आफ्नो कर्म गर्दैनौ । आफ्नो कर्म र धर्म पालना गरेनौ भने त्यसको परिणाम भयानाक हुन्छ । यो प्रसंग युद्धका लागि मात्रै हैन । सरकारमा बस्ने र न्यायको कुर्सीमा बस्नेले समेत आफ्ना अगाडि को छन् र मैले गर्ने निर्णय र फैसलाले ती व्यक्तिमा के असर गर्छ भन्ने हेर्नु हुन्न । आफ्नो कर्तव्य निर्णय गर्नु हो, जुन गर्नैपर्छ ।
यो अध्यायको पाचौं वा अन्तिम भागको छत्तीसौं श्लोकदेखि त्रिचालीसौं श्लोक पापसँग सम्बन्धित छ । यहाँ भगवान् कर्म गर्दा किन र कसरी पाप हुन्छ भन्ने बारेमा बताउनुहुन्छ । अर्जुन भगवानलाई सोध्छन्– मान्छेले पाप किन गर्छन् प्रभु ? यसको जवाफमा भगवान् भन्नुहुन्छ– इन्द्रियतृप्तिको लोभले मान्छेले पाप गर्छ । रजोगुणबाट यो पाप उत्पन्न हुन्छ । रजोगुण इन्द्रियतृप्तिका लागि उत्पन्न हुने गुण हो । जब मानिसले इन्द्रियतृप्ति गर्न पाउँदैन यसबाट ऊ क्रोधित हुन्छ । जब मान्छे क्रोधले भरिएको हुन्छ उसमा कामवासना अर्थात् विषयवासना प्रवेश गर्छ र उसले पापकर्म गर्छ । यो सबै नाशवान पदार्थको इच्छामा आधारित हुन्छ ।
कुनै पनि इच्छा धर्मअनुरुप हुनका लागि चार तत्वको जरुरी हुन्छ । पहिलो, त्यो वर्तमानमा उत्पन्न हुनुपर्छ । दोस्रो, वर्तमानमै त्यसको पूर्तिका साधन उपलब्ध हुनुपर्छ । तेस्रो, त्यो इच्छाको पूर्तिबिना जीवन सम्भव नहुनुपर्छ र चौँथो, त्यो इच्छा पुरा गर्दा अरुको अहित हुनु हुँदैन । यी बाहेकका इच्छाले मानव जीवनलाई संग्रहतर्फ र पापतर्फ लैजान्छ । जब यी चार बाहेकका स्थितिमा इच्छा जागृत हुन्छन्, त्यसले मानिसलाई पापकर्म गर्न वाध्य बनाउँछ । यो मोह बाहेक अरु केही हैन । जुुन पाप अहिले दुर्योधन गर्न गइरहेका छन् त्यो यस्तै इच्छाका कारण जागृत भएको पाप हो ।
आधुनिक समाजमा माथिका चार अवस्था हेरेर कसैले मनमा इच्छा पैदा गर्दैैन । अब के गर्ने त ? के यस्ता कामना नष्ट गराउने कुनै उपाय छ ? त्यस्तो कामनालाई नष्ट गराउने एकमात्र उपाय सेवा हो । सेवामा तल्लिन मानिस माथिका इच्छाहरुबाट पर हुन्छ । तर त्यस्तो सेवा निस्वार्थ हुनुपर्छ ।
त्यसैले भगवान् भन्नुहुन्छ, हे अर्जुन ! तिमी क्रोधलाई शत्रुसमान मान । तिम्रो सबभन्दा ठूलो शत्रु क्रोध हो, जुन तिमी आफैभित्र हुन्छ । अबको संसारमा सबै शत्रु आफू भित्रै हुने कुरा माथि नै भइसकेको छ । जुन यहाँ क्रोधको रुपमा आयो । मानिसमा क्रोध किन आउँछ भन्ने बारेमा पनि भगवानले माथि नै भनिसक्नुभएको छ । क्रोध नियन्त्रणका लागि तिमीले आफ्ना इन्द्रियहरुलाई नियन्त्रणमा राख्नु आवश्यक छ । आजको समाजले बुझ्नुपर्ने सबैभन्दा ठुलो कुरा यही हो । जब कामनाहरु, इन्द्रियहरु, मन र बुद्धिमा बस्छन् यिनीहरुले ज्ञानलाई ढाकेर भ्रमित बनाउछन् । त्यसैले इन्द्रिय भोगलाई दमन गरेर निष्काम कर्म गर्नु नै कर्मयोग हो । भगवान् भन्नुहुन्छ– भोगवासना र पदार्थहरुभन्दा कर्मेन्द्रियहरु राम्रा हुन्छन, इन्द्रियभन्दा मन राम्रो हुन्छ र मन भन्दा पनि बुद्धि राम्रो हुन्छ तर बुद्धि भन्दा आत्मा राम्रो हुन्छ । त्यसैले आत्मा सर्बश्रेष्ठ हो । आत्मा सर्वब्यापी हो । सर्बश्रेष्ठ भएकैले आत्मा अविनाशी छ । त्यसकारण तिमीले आध्यात्मिक शक्ति लिएर कामरुपी शक्तिलाई जित ।
इन्द्रिय भनेर आँखा, कान, नाक, जिब्रो र छालालाई बुझिन्छ भने कर्मेन्द्रियका रुपमा मुख, हात, गोडा, गुद्वार र लिंग गरेर पाँचवटा हुन्छन् । काम भनेको तृष्णा वा भोग गर्ने इच्छा हो । परको व्यक्ति वा वस्तु देख्ने वा सम्झिने लालसा काम हो । कामको उल्टो, छटपटी हुने, गडबडी हुने, छाला, आँखा रातो हुने, पसिना छुट्ने यी सबै क्रोध हुन् । भगवानले यो अध्यायमा अर्काे पनि एउटा कुरा भन्नुभएको छ कि कर्मेन्द्रियलाई वशमा राखेको जस्तो गर्ने तर मनले विषयभोगको कुरा मात्रै गर्ने मान्छे चाँही पाखण्डी हो त्यस्ताको विश्वास गर्न हुन्न । इन्द्रियलाई वशमा राख्न पर्यत्न गर्ने मान्छे नै सर्बश्रेष्ठ मान्छे हो । मानिसको शरीर रथ हो भने आत्मा सारथी हो र इन्द्रिय घोडा हो । शरीर रथजस्तै टक्क अडिएको छ, सारथीले यसलाई के गर्ने र कता लैजाने भनेर निर्देशन दिन सक्छ र घोडाले रथलाई दौडाउन सक्छ ।
यो नै तेस्रो अध्यायको सार हो ।
श्रीमद्भगवद्गीताको कर्मयोग नामको तेस्रो अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)