- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई पूर्ण रुपमा ज्ञान, भक्ति र कर्ममा आधारित रहेर जीवन बाँच्न उपदेश दिनुभएको छ । यी तीनवटैमा विवेकको आवश्यकता रहन्छ । ज्ञानमा तत्व र अनुभव प्रधान रहन्छ भने भक्तिमा प्रेम प्रधान रहन्छ । जब कुरा कर्मको आउँछ त्यहाँ सेवा र अनाशक्ति नै यसका आधार हुन् ।
श्रीमद्भगवद्गीताको यो अध्याय ज्ञान र कर्मबाट प्राप्त हुने संन्यासका विषयमा केन्द्रित छ । यो अध्यायमा भगवान् श्रीकृष्णले कर्मयोगका विषयमा, योगीमहात्माहरुका विषयमा र यज्ञहरुबाट प्राप्त हुने फलका विषयमा अनि ज्ञानको महिमाको विषयमा उपदेश दिनुहुन्छ ।
यो अध्यायको सुरूमै भगवान् के भन्नुहुन्छ भने, म तिमीलाई आज यस्तो ज्ञान दिन्छु, जुन ज्ञान पहिले मैले सूर्यलाई दिएको थिएँ, सूर्यले मनुलाई दिए र मनुले राजा इच्छ्वाकुलाई दिए । तर पछि यो गुरू शिष्य परम्परा टुट्यो, छिन्नभिन्न हुन गयो ।
भगवानका ति कुरा सुनेपछि अर्जुनमा फेरि एउटा संशय पैदा हुन्छ । अहिले आफूसँग भएका भगवान् श्रीकृष्णले सूर्यलाई यो ज्ञान कसरी दिनुभयो ? अर्जुन अलमलमा पर्छन् । यहि अलमल र संशय नै यो अध्यायको मूल जरो हो ।
बयालीस श्लोक रहेको यो अध्यायमा भगवान् र सूर्यदेवको जन्मको विषयमा संशय राख्दै जम्मा एक श्लोकमा अर्जुन प्रश्न गर्छन भने बाँकी सबै एकचालीस श्लोकमा भगवान् श्रीकृष्ण बोल्नुहुन्छ । यो चौँथो अध्यायलाई चार भागमा बाँडेर व्याख्या गर्न सकिन्छ ।
यो अध्यायको पहिलो भाग अर्थात् पहिलो श्लोकदेखि अठारौं श्लोकसम्म भगवानको साकार रुपको वर्णन तथा कर्मयोगको बारेमा चर्चा गरिएको छ । जुन रुपमा भगवानलाई हामीले देख्छौं त्यही नै साकार रुप हो । कैलाशमा देवी पार्वतीका साथ गलामा नाग धारण गरी बाघको छालाको वस्त्र लगाएर डमरु त्रिशुल लिएर बसेका शिव, चार हातमा शंख, चक्र, गदा, पद्य लिएर नागसैयामा सुतेका भगवान् श्रीविष्णु आदि भगवानका साकार रुप हुन् । हामी अहिले भगवानका तीनै साकार रुपको पूजा गर्छौं । हुन त भगवानको निराकार रुपको पनि पुजा गरिन्छ तर त्यो कठिन कार्य हो ।
यसअघि तेस्रो अध्यायमै भगवान् श्रीकृष्णले मैले गर्नु पर्ने काम केही पनि बाँकी छैन तैपनि म काम गर्छु भनिसक्नुभएको छ । तर पनि अर्जुनले भगवानलाई चिन्दैनन, उनले भगवानलाई बुझिसकेका छैनन । अर्जुन त पहिलेजस्तै अहिले पनि श्रीकृष्णलाई आफ्नै बालसखा र नातेदारको रुपमा नै देखिरहेका छन् । तथापी ज्ञान प्राप्त गर्नाका लागि उनले श्रीकृष्णलाई गुरू चाँही माने । यसबाट के कुरा थाहा हुन्छ भने कसैलाई गुरू मान्नका लागि ऊ को हो भन्दा पनि उसले कस्ता कुरा गर्छ र उसले दिएका ज्ञान कति दिव्य छन् भन्ने हुन्छ ।
भगवान् श्रीकृष्णले अर्जुनलाई मैले नै सूर्यलाई ज्ञान दिएको हूँ भनिसकेपछि अर्जुन फेरि भगवासँग आफ्नो जिज्ञासा राख्न चाहन्छन् । भगवानले अघिल्लो अध्यायमै पुनर्जन्मका बारेमा बताइसक्नुभएको थियो । तर भगवानको कुराले अर्जुन झन दुबिधामा परेका छन् र उनमा फेरि एकपटक संशय पैदा हुन्छ ।
त्यसपछि अर्जुन भन्छन– प्रभु ! यो जीवनमा अहिले भर्खरै तपाईं र म जन्मेका छौँ, हामी त सँगसँगै खेलेर हुर्केका हौँ । तर तपाईंले यो ज्ञान मैले सूर्यलाई दिइसकेको छु भन्नुभएको छ । यो कसरी संभव भयो प्रभु ? किनकी सूर्यदेवको जन्म त धेरै पहिले भएको थियो । यहाँ आएर फेरि श्रीमद्भगवद्गीताले सनातन धर्मको मान्यता विभिन्न जन्म, आयु र पुनर्जन्मको विषयमा प्रकाश पारेको पाईन्छ । साथै भगवान् एकातिर अजन्मा र अर्कोतिर पटक पटक विभिन्न अवतार धारण गर्नुहुन्छ भन्ने कुरा पनि बताउँछ ।
तपार्इंले यो ज्ञान कसरी सूर्यलाई दिनुभयो ? भनेर अर्जुन भगवान् श्रीकृष्णसामु सबैभन्दा पहिले यो संशय व्यक्त गर्छन् । त्यसपछि भगवान् अर्जुनलाई भन्नुहुन्छ, तिमीले भनेको ठिकै हो । तर त्यतिमात्रै बुझेर पुग्दैन् हे अर्जुन ! भगवान् विभिन्न जन्मको कुरा गर्दै फेरि भन्नुहुन्छ–
मेरा र तिम्रा धेरै धेरै जन्महरु भइसके, तिमी साधारण मानव भएकोलै तिमीलाई ती सबै जन्मका बारेमा थाहा छैन तर म भगवान् भएकोले मलाई मेरा र तिम्रा सबै जन्मका बारेमा थाहा छ । यति भनेर भगवान् श्रीकृष्णले अर्जुनलाई फेरि दुईवटा कुरा सम्झाउनु भयो, पहिलो हाम्रा हजारौं जन्म हुन्छन् र दोस्रो भगवान् र मानवका बीचमा गहिरो सम्बन्ध छ र फरक पनि छ । दुवैले पटक पटक जन्म लिने समानता हो भने भगवानलाई पहिलाका विभिन्न जन्मका बारेमा ज्ञान हुने र मानिसलाई ती जन्मका बारेमा थाहा नहुने फरक हो ।
अघिल्लो अध्यायमा यज्ञका माध्यमद्वारा भगवानले यी दुईको सम्बन्ध बताउनुभएको थियो भने यो अध्यायमा आएर जन्म र सम्झनाका आधारमा यी दुईका सम्बन्ध बुझाउनुभयो । यति मात्रै हैन भगवान् आफू अजन्मा भए पनि विभिन्न कारणले जन्मनु परेको पनि बताउँदै श्रीमद्भगवद्गीताको अत्यन्तै प्रभावशाली र अलि अलि पनि श्रीमद्भगवद्गीता बुझ्ने वा पढेको मानिसको दिमागमा कण्ठ भएको श्लोक मार्फत भगवान् र मनुष्यसँगको सम्बन्धलाई कस्नुहुन्छ । भगवान् भन्नुहुन्छ, म भगवान् हूँ र विभिन्न कालखण्डमा र विभिन्न परिस्थितिमा अलग अलग रुपमा प्रकट हुन्छु र म अलग अलग युगमा प्रकट हुन्छु ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
भगवान् श्रीकृष्ण थप्नुहुन्छ– जहाँ–जहाँ, जहिले–जहिले धर्मको पतन र अधर्मको उन्नती हुन्छ, म त्यहाँ सज्जनहरुको उद्धार, दुष्टहरुको विनाश र धर्मको पुनस्र्थापनाका लागि अवतार लिन्छु ।
भगवानले जब जब पापीहरुले दुराचार गर्न थाल्छन्, अन्याय गर्न थाल्छन् तब तब मैले अवतार लिन्छु भन्नुको मतलब भगवानसँग मानिसको प्रत्यक्ष सम्बन्ध छ भन्ने नै हो । यो संसारमा जब दुराचारीहरु मौलाउन थाल्छन् अनि सृष्टि जोगाउनका लागि भगवान् अवतार धारण गरेर आउनुहुन्छ । उहाँले संसारलाई दुराचारीहरुबाट मुक्त गरिदिनुहुन्छ । दुराचारीहरुले दुःख दिने भनेको त मानव जातिलाई नै हो । भगवान् विष्णुका विभिन्न अवतारहरु त्यसका उदाहरण हुन् । रावण मार्न श्रीरामको रुपमा जन्मलिनु र कंश लगायतको बधका लागि श्रीकृष्णको रुपमा अबतार लिनु यसका उदाहरण हुन् ।
अवतार लिनुको अर्थ तल आउनु भन्नु हो । जब जब आफ्ना भक्तहरुले दुःख पाउँछन् भगवान् आफैलाई तल झार्नुहुन्छ । मानव जीवनमा पनि यो सुत्र लागु गर्नसके आफन्त र आफ्ना लागि कार्य गर्ने सबैलाई खुसी र सुखी राख्न सकिन्छ । तर हाम्रो अहंले हामीलाई आफू पुगेको स्थानबाट तल आउन दिंदैन । जब तल आउन सकिन्न, न त त्यहाँ उद्धारको कुरा हुन्छ न त सहयोगको ।
ती त भए भगवानका देखिने अवतार, तर हाम्रा अगाडि विभिन्न रुपमा अहिले पनि भगवान् हुनुहुन्छ र हाम्रो रक्षा गरिरहनु भएको छ । यो कुरा भने कहिल्यै विर्सनुहुन्न ।
हामीले भगवानलाई उहाँको दिव्य रुपमा बुझ्न जरूरी छ । भगवान् बुझ्नका लागि अनिवार्य शर्तहरु भनेका कर्म, ज्ञान र भक्ति नै हो । भगवानलाई बुझ्ने मान्छेको ज्ञानका लागि उहाँ भन्नुहुन्छ– जसले मेरो जन्म, कर्म र दिव्यज्ञान बुझ्छ, त्यसले फेरि यो लोकमा फर्केर आउनुपर्दैन । उसले भगवद्धाममै आफ्नो लागि स्थान बनाइसकेको हुन्छ । सांसारिक मोहजालमा फस्ने र भगवानलाई नबुझ्ने मान्छेमात्रै यो संसारमा फर्केर आउने हो ।
हामीले देख्ने भगवानको रुप र गुण एउटै नहुन पनि सक्छ । उहाँ फरक फरक ठाउँ र फरक फरक परिस्थितिमा फरक फरक रुपमै प्रकट हुनुहुन्छ । त्यसैले भगवान् श्रीकृष्ण भन्नुहुन्छ –जसले जुन रुपमा मलाई देखेको छ त्यही रुपमा मलाई बुझे हुन्छ, मलाई माने हुन्छ । यस अर्थमा हाम्रा अगाडि पर्ने जो कोही पनि भगवान् हुन सक्छन्, चाहे ती तल्लो कूलमा जन्मेका किन नहुन् । यसबाट फेरि भगवान् समभावको कुरा जोड्दै भन्नुहुन्छ, राग, क्रोध र भयबाट पबित्र भएर जो मेरो भावमा आउँछ, त्यो मुक्त हुन्छ ।
भगवान् श्रीकृष्ण भन्नुहुन्छ– रजोगुणबाट उत्पन्न हुने कर्मको फल जसले चाहन्छन् उनीहरु देवताका पूजा गर्छन् र पूजाबाट प्राप्त हुने फललाई नै आनन्ददायी मान्दछन् । तर भगवानको पूजा गर्नुमात्रै भगवान् भक्ति होइन । फूल अक्षता चढाएर पूजा गर्दैमा भगवानको निकटमा पुगिन्छ भन्ने अहिलेको समाजको पनि जुन सोंच छ, त्यो गलत छ । मानिसहरुले गर्ने पुजामा केही पाउने अभिलाषा हुन्छ । जहाँ अभिलाषा हुन्छ, त्यहाँ भक्ति हुँदैन । भगवानलाई त पूजा भन्दा मानिसहरु कर्म र भक्तिमा लागेको बढी मन पर्छ । भगवान् भन्नुहुन्छ– पूजाले त फेरि यही संसारमा धकेलिदिन्छ ।
यस अध्यायको तेह्रौं श्लोकमा भगवान् आफूले कर्मका लागि चार वर्ण सृष्टि गरेको बताउनुहुन्छ । चार वर्ण भनेको ब्राम्हण, क्षेत्रिय, वैश्य र शुद्र हो । यो जात हैन, कर्म हो । श्रीमद्भगवद्गीतामा भगवान् भन्नुहुन्छ– आफ्नो–आफ्नो स्वभाव र कर्मका लागि यी सृष्टि भएका हुन् । जसले आजका दिनमा आएर भगवानद्वारा कर्मका लागि बनाइएका ती वर्णलाई जातमा परिभाषित गरे र छुवाछुतको प्रथा चलाए, ती पापी हुन् । आज चाहे जात भातको रुपमा छुवाछुत चलाउने हुन् वा जातभातको विरोध गर्ने तर जात जातिका नाममा संस्था खोलेर खानेहरु तल्लो स्तरका मानव हुन् । उनीहरुले न यो जीवनमा सुख पाउँछन् न अर्को जन्ममा । मोक्ष त उनीहरुको भाग्यमा लेखेकै हुन्न ।
यो अध्यायको सोह्रौं, सत्रौं र अठारौं श्लोकका माध्यमद्वारा भगवान् अर्जुनलाई विभिन्न प्रकारका कर्मको भेद बुझाउनु हुन्छ । भगवान् भन्नुहुन्छ– जसले कर्म र अकर्मको बीचको फरक छुट्याउन सक्छ त्यो नै बुद्धिमान हो । के हो त भेद ? कर्मलाई तीन किसिमले बाँडेको पाइन्छ । कर्म, विकर्म र अकर्म । शास्त्रले जसकालागि जे काम जे काम गर्नु भनेको छ त्यो कर्म हो, कर्मको अभाव अकर्म हो र शास्त्रको बिरुद्ध गरिने काम विकर्म हो । जसले कर्मको भेद जान्दछ र कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने गर्छ र त्यो मान्छे नै विद्वान हो । यी तीनवटै कर्मका प्रकारहरु एकैचोटी पनि विभिन्न मान्छेका लागि अलग किसिमका हुन सक्छन । एकजना भिक्षुका लागि भिक्षा माग्नु कर्म हो भने गृहस्थीले भिक्षा माग्यो भने त्यो विकर्म हुन जान्छ । अनि फेरि एउटा भिक्षुले भिक्षा पनि मागेन भने त्यो चाँही कर्मको अभाव भएको अथवा अकर्मको स्थिति हो ।
हामीले आजको जीवनशैलीमा यो एउटा मात्र भेद बुझ्यौं भने समाजलाई सही मार्गमा लैजान धेरै मद्दत पुग्दछ । तर दुःखको कुरा हामीलाई आफ्नो बाहेक सबैको काम गर्न आउँछ, आफ्नो बाहेक अरु सबैको कर्तब्यको ज्ञान हामीमा छ । यसले समाजलाई पछाडि धकेलिरहेको हुन्छ । हामी अकर्म र विकर्ममा रमाउन थालिसकेका छौं । कर्मको अभाव हाम्रो जीवनशैली बन्न पुगिसक्यो । यो आजको बिडम्बना हो ।
यस अध्यायको दोस्रो भाग अर्थात् उन्नाइसौं श्लोकदेखि तेइसौं श्लोकसम्म भगवान् कर्म, अकर्म र विकर्मको भेद जान्ने योगी महात्माहरु कस्ता हुन्छन् र उनीहरुको आचरण कस्तो हुन्छ भन्ने बारेमा अर्जुनलाई सम्झाउनुहुन्छ ।
भगवान् अर्जुनलाई सम्झाउदै भन्नुहुन्छ– हे अर्जुन, तिमी स्वामित्वलाई त्याग । स्वामित्व भनेको कर्मफलको इच्छा हो । म कर्ता हूँ भन्ने कुरा बिर्स । यो मेरो, यो तेरो भन्नु हुन्न, यी सबै ब्यर्थका कुरा हुन् । जसले पाँच इन्द्रियले नभई मन र बुद्धिले कर्म गर्छ, उसले कर्म र अकर्मको भेद जान्दछ, ऊ कहिल्यै कर्मफलप्रति आकर्षित हुँदैन । यो भावना नै म बट हामीतर्फ जाने उपदेश हो ।
श्रीमद्भगवद्गीताको पहिलो अध्यायमै धृतराष्ट्रले मेरा र पाण्डुका छोराहरु भनेर अनि दुर्योधनले मेरा र पाण्डवका सेना भनेर सुरु गरेका जस्ता स्वामित्वको घमण्डले मानिसको पतन हुन्छ । स्वामित्वले मानिसमा घमण्ड उत्पन्न गराउँछ र त्यसले मानिसलाई मोहग्रस्त बनाउँछ । मेरो भन्ने कामना छोडेर स्वामित्वलाई त्याग गर । जसले स्वामित्वलाई त्याग गर्छ त्यो नै ज्ञानी हुन्छ । स्वतः प्राप्त हुने लाभबाट जो सन्तुष्ट हुन्छ, रिस र ईर्ष्याबाट जो मुक्त हुन्छ, सफलता र असफलतामा जो स्थिर हुन्छ त्यो नै ज्ञानी हो । यस्ता ज्ञानीहरु नै कर्म गर्दा गर्दै पनि कहिल्यै कर्मफलमा बाँधिदैनन् र मुक्त हुन्छन् ।
यो अध्यायको तेस्रो भाग अर्थात् चौबीसौं श्लोदेखि बत्तीसौं श्लोकसम्म भगवान् विभिन्न प्रकारका यज्ञ र यसको फलका बारेमा चर्चा गर्नुहुन्छ । शास्त्रले विभिन्न किसिमका यज्ञका बारेमा बताएको छ । अघिल्लो अध्यायमा भनिएझैं बिभिन्न प्रकारका यज्ञहरुमा एउटा देव यज्ञ हो, जहाँ पूजा पाठ गरिन्छ । ब्रह्मयज्ञ आत्मज्ञानयज्ञ हो । इन्द्रियसंयमयज्ञमा आफ्ना सबै इन्द्रियहरुलाई नियन्त्रण गरिन्छ । अनाशक्तयज्ञको पालन गर्नेले कर्मफल त्याग गर्छ । आत्मसंयमयज्ञले ज्ञानको ढोका खोल्छ । द्रब्ययज्ञ भनेको पाटी पौवा पुल बनाउने हो । तपोयज्ञमा ब्रत, उपवास राखिन्छ । योगयज्ञको अनुष्ठान गर्नेले साधना गर्छन्, स्वाअध्याययज्ञमा पढिन्छ, स्वाअध्यायज्ञान यज्ञमा पढेका कुरालाई मनन गर्ने गरिन्छ । प्रणायमयज्ञले समाधिको बाटोमा लान्छ । इन्द्रियमनोवृत्ति यज्ञमा अहंकारको त्याग हुन्छ भनी भगवान् यज्ञका विषयमा चर्चा गर्नुहुन्छ ।
यो अध्यायको चौँथो तथा अन्तिम भाग अर्थात् तेत्तिसौं श्लोकदेखि बयालिसौं श्लोकसम्ममा भगवानले ज्ञानको महिमा वर्णन गर्दै जीवनमा के श्रेष्ठ हो त भनेर भन्नुहुन्छ । यज्ञ भनेको कर्म हो भनेर अघिल्लो अध्यायमा भनिसक्नुभएका भगवान् यो अध्यायमा सबै यज्ञहरु नानाप्रकारका कर्मबाट उत्पन्न हुन्छन् भन्दै अब ती यज्ञका भेद र कुन यज्ञले मानिसलाई कर्मबन्धनबाट मुक्त गर्छ भन्ने बारेमा अर्जुनलाई उपदेश दिनुहुन्छ ।
भगवान् भन्नुहुन्छ, यज्ञका भेद जति भए पनि यी सबै दुई स्थानमा आएर सकिन्छन् । ज्ञानमय यज्ञ र द्रव्यमय यज्ञ । यी दुई मध्ये ज्ञानमययज्ञ द्रब्यमययज्ञ भन्दा श्रेष्ठ छ । यज्ञको समाप्ती ज्ञानबाट हुन्छ । तसर्थ शरीरलाई दुख दिएर गरिने यज्ञ अथवा पैसा खर्च गरेर गरिने यज्ञभन्दा ज्ञानमययज्ञ सबैभन्दा श्रेष्ठ हुन्छ । ज्ञानमययज्ञमा मानिसले तत्वको अनुभव गर्दै भगवानसँग साक्षात्कार गर्न पुग्छ ।
यतिमात्रै होइन भगवानले योग भनेको कर्मको कुशलता हो भनेर अगाडीको अध्यायमा बताइसक्नुभएको थियो भने यो अध्यायको अठ्तीसौँ श्लोकमा भगवान् भन्नुहुन्छ– सम्पूर्ण योगहरुको पाकेको फल हो ज्ञान । सबै योगहरु वृक्ष हुन् भने त्यो वृक्षले दिने फल नै ज्ञान हो । ज्ञान सुरूवात हो, ज्ञान अन्त्य हो तर ज्ञानको अन्त्य कहीं छैन । ज्ञानको श्रोत सुयोग्य गुरू बाहेक अरु कोहि हुनै सक्दैन । तसर्थ भगवान् अर्जुनलाई ज्ञानका लागि गुरू भक्तिको आदेश समेत दिनुहुन्छ । ज्ञानको श्रोत गुरू हुन् । गुरूको अर्थ हुन्छ अन्धकार हटाउनु । अन्धकार भनेको अज्ञानता हो ।
भगवान् यो अध्यायलाई समाप्त गर्दै भन्नुहुन्छ, मानिसले कर्म गर्दा जति ज्ञान आर्जित गर्छ, यो सम्पूर्ण योगहरुको फल हो । ज्ञान पाउन को आधिकारिक व्यक्ति हो भन्दै भगवान् भन्नुहुन्छ– इन्द्रियलाई जसले वशमा पार्छ त्यो मात्रै ज्ञान पाउने आधिकारिक व्यक्ति हो । भगवानले अघि पनि भनिसक्नुभएको छ, काम, क्रोध त्याग्नु र लोभलालचको पछि नलाग्नु नै इन्द्रिय मोहमा नपर्नु हो । जब मानिसले ज्ञान प्राप्त गर्छ तब उसले आध्यामिक शक्ति र शान्ति प्राप्त गर्छ । त्यसैले हे अर्जुन !
अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति ।
नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः ।।
शास्त्रप्रति जसले शंका गर्छ, त्यसले इश्वरीय शक्ति कहिल्यै पाउन सक्दैन । तसर्थ शास्त्र भन्छ, शास्त्रमा लेखिएका कुरामा किन भन्ने प्रश्न नगरी पालन गर्नुपर्छ । तर अधर्मीहरु संशयीहरु त्यो मान्न तयार छैनन् किनकी उनीहरुको इन्द्रिय उनीहरुको मनको वशमा छैन । त्यसैले भगवान् भन्नुहुन्छ– संशयी ब्यक्तिले यस लोकमा मात्रै होइन परलोकमा पनि दुःख पाउँछ । अन्त्यमा भगवान् भन्नुहुन्छ– अर्जुन तिमीलाई ज्ञान पुगेको छैन । ज्ञान आर्जन गर, जब तिमीले ज्ञान प्राप्त गर्छौ अनि हतियार उठाऊ र युद्ध गर । भन्नुको तात्पर्य जब मनमा कुनै संशय छ भने कर्म भन्दा अगाडि ज्ञान हासिल गर्नुपर्छ जसलाई चलनचल्तीको भाषामा अहिले हामी तालिम भन्छौं । विना कुनै तालिम कुनै मानिसलाई कर्ममा लगायो भने त्यो भयङकर हुनसक्छ, जुनकुरा आज विभिन्न संस्था हाँकेर बस्ने उद्यमी व्यबसायीले बुझ्नु जरुरी छ ।
यो नै श्रीमद्भगवद्गीताको चौँथो अध्यायको सार हो ।
श्रीमद्भगवद्गीताको ज्ञानकर्मसन्यासयोग नामको चौथो अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)