arrow

मनुष्य जीवनको लक्ष्य के हो, कस्तो आहार खाने ?

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ माघ २२ बिहिबार
sivapuri-baba.jpg

शिवपुरी बाबा समक्ष जिज्ञासुहरूले राखेका प्रश्न र बाबाबाट प्राप्त उत्तरहरु ।

प्रश्न - मनुष्य जीवनको सबभन्दा ठूलो लक्ष के हो त बाबा?
उत्तर - श्री परमात्मा परमेश्वरको दर्शनगर्ने र जन्म मरणको चक्रबाट मुक्ति पाउने ।

प्रश्न - बाबा, के उपायले परमात्माको दर्शन पाइन्छ त?
उत्तर - स्वधर्म पालनागर्दै, उहाँको ध्यान, चिन्तन गर्दै गएपछि दर्शन पाइन्छ ।

प्रश्न - स्वधर्म भनेको के हो त प्रभु?
उत्तर - यो एक विवेकपूर्ण जीवन हो । यसमा मनुष्यले गर्नुपर्ने कर्तव्य र परमात्माको ध्यानलाई महत्त्व दिइन्छ ।

प्रश्न - यसबारे केही सुन्न पाउन बाबा?
उत्तर - पहिले शरीर ठीक राख्नुस् । कति सुत्ने, कति खाने, कति काम गर्ने, कति कमाउने, कति साथी बनाउने, इत्यादि विषयको पोको बनाउनुस् । दोस्रो मनलाई गीताको १६औँ अध्यायमा बताइए अनुसार अभय दैवी गुणहरूको अभ्यास गर्दै आसुरी गुणहरूलाई हटाउँदै जानुस् । तेस्रो उपरोक्त दुई कर्तव्यहरू गरेपछिको बाँकी समय परमात्माको ध्यान, स्मरण, पूजा, जप आदि गर्दै जानुस् । सुदामाको जस्तो बाहिरी जीवन बिताउनुस्, भित्री जीवनमा परमात्मा सम्झी राख्नुस् ।

प्रश्न -  स्वधर्मको शिक्षा शास्त्रहरूमा पनि त पाइएला नि?
उत्तर - हो पाइन्छ । श्रीकृष्णले गीतामा अर्जुनलाई भागवतमा उद्धवलाई दिनुभएको ज्ञान पनि स्वधर्मको शिक्षा हो ।

प्रश्न - बाबा साधकले कस्तो किसिमको खाना खानु पर्ला त?
उत्तर - मानिसले आफ्नो शारीरिक श्रम अनुसारको निद्रा, खाना लिनुपर्छ । तर परमात्मा दर्शन गर्न चाहनेले भने सात्त्विक खाना नै खानुपर्छ ।

प्रश्न - सात्त्विक खाना के हो त बाबा?
उत्तर - गाईको दूध । मालभोग केरा, फल, मसिनो चामल, मूंगको दाल आदि ।

प्रश्न - राजसिक खाना के केलाई भनिन्छ त बाबा?
उत्तर - मासको दाल, काउली, तेल, रहरको दाल, आलु,भैँसीको दूध आदि ।

प्रश्न - तामसिक आहार नि बाबा?
उत्तर - माछा, मासु, मदिरा, भन्टा, भटमास, फर्सी आदि ।  

प्रश्न - अनि सात्त्विक आहार नपाए के गर्ने नि?
उत्तर - राजसिक खाने, तर सात्त्विक भन्दा आधा । त्यसै गरी जीवन रक्षा कोलागि तामसिक खानु पर्ने  स्थिति आयो भने पनि सात्त्विक खानाको एक भाग मात्र खाने । स्वादको लागि होइन ।

प्रश्न - मासु खानु हुन्छ त बाबा?
उत्तर - खानुस्, तर जसको मासु तपाईँ खानु हुन्छ, पछि त्यसले लिने वालाको भोग गर्न पनि तयार भई रहनुस्,  तर माछा, मासु जस्ता तामसिक बस्तुहरूको संसर्गबाट पर नहटेसम्म परमात्मा दर्शन पाउन भने मुस्किल नै पर्छ ।

याद गर्नुस्, मानिसले खाना पकाउने कला राम्रो सँग जानेको छ भने उसले राजसिक, तामसिक वस्तुहरूबाट पनि त्यसमा भएका दुर्गुणहरू हटाएर खान भने सक्तछ । (क्रमश......)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :[email protected]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ