arrow

दैनिक छ करोड ५१ लाख बढी घाटाले आयल निगम धरासायी बन्दै  

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगम दैनिक ६ करोड ५१ लाख रुपैयाँ घाटामा चलिरहेकाले धरासायी स्थितिमा पुगेको छ । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै भएका कारणले गर्दा निगम घाटामा पुगेको बताए । 

उनी भन्छन्, ‘दुई वटा चिजले मूल्य फरक पार्छ एउटा डलर र अर्को अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य । लकडाउनका बेलामा २२ डलरमा आएको कच्चा तेल अहिले ५९ डलर पुगिसकेको छ (प्रति ब्यारेल) ।’

आयल निगम घाटामा पुगेको बारेमा पौडेल थप्छन्, ‘हामी अघिल्लो वर्षको मूल्य भन्दा कममा बिक्री गरिरहेका छौं । अब कसरी अगाडि बढ्ने भनी सल्लाह भइरहेको छ । समायोजनको विकल्प छैन ।’

निगममा कार्यकारीको मूल्य बढाउने अधिकार दुई रुपयाँसम्म मात्रै हो । त्यो भन्दा बढी बढाउँदा बोर्डमा जानुपर्छ । निगमको अधिकार क्षेत्रबाट मात्र समायोजन गरेर नपुग्ने अवस्था आएको पौडेलको भनाईबाट बुझ्न सकिन्छ । 

प्रतिलिटर दुई रुपैयाँ फेरि बढाउँदा पनि महिनाको ५० करोडमात्र घट्ने हो । किनकि अहिले महिनाको १ अर्ब ९५ करोड ५ लाख घाटा देखिएको छ । यसका लागि ठूलै रणनीति बनाउनु पर्ने देखिएको भन्दै यसबारेमा छलफल चलिरहेको पौडेलको भनाइ छ । 

यता, प्रवक्ता विनितमणि उपाध्यायका अनुसार भारतीय आयल निगम (आईओएल) ले १ फेब्रुअरीमा पठाएको मूल्यसूचीअनुसार नेपाल घाटामा गएको हो । 

यसको कारणबारे खुलाउँदै प्रवक्ता उपाध्याय भन्छन्, ‘यसअघिको मूल्य समायोजन भएर आउँदा हामीले उपभोक्तालाई ध्यानमा राखेर मूल्य बढाएनौं जसले गर्दा निगम घाटामा गयो ।’

लगातार दुई पटक पठाएको मूल्यवृद्धि समायोजनमा मूल्यवृद्धि नगर्दा अहिले निगम घाटामा गएको हो । उपाध्यायका अनुसार आईओएलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुनासाथ नेपालमा पनि सोही अनुसार समायोजन मूल्य पठाउने गर्दछ । तर उक्त समयमा मूल्य समायोजन नगर्दा भने अप्ठेरो परेको हो । 

निगमले गत डिसेम्बर १६ मा पठाएको मूल्य र १ जनवरीमा पनि पठाएको मूल्यमा समायोजन नगरेका कारणले निगम अप्ठेरोमा परेको हो । 

१६ जनवरीमा समायोजन गरे पनि जति अनुपातमा समायोजन गर्नुपर्ने थियो त्यति नगरेपछि घाटा बढेर गएको उनको भनाई रहेको छ । १६ जनवरीमा २–२ रुपैयाँमात्र डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरिएको थियो । खाना पकाउने ग्यासमा भने मूल्य समायोजन भएको थिएन । 

उपाध्यायका अनुसार अहिले निगम प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० रुपैयाँ र डिजेलमा ४ रुपैयाँ ६७ पैसा घाटामा छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३१७ रुपैयाँ घाटा छ । 

के बढ्दै छ पेट्रोलियम पदार्थको भाउ ? 
उपाध्याय मूल्य समायोजन गर्नुपर्ने अवस्था देखिएको भए पनि नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सरकारले यसमा विचार गर्ने देख्छन् । उनले निगमका तर्फबाट सरकारलाई यसबारेमा जानकारी गराइसकेकाले छिट्टै सरकारबाट केही निर्देशन आउने बताए । त्यसपछिमात्र मूल्य समायोजनबारे केही हुनेछ । 

उनले अवस्था तरल रहेको भन्दै सकेसम्म निगमको मूल्य संचित कोषबाट पैसा निकाल्ने जनाएका छन् । तर त्यो कोषमा पनि धेरै नहुने उनी बताउँछन् । 

अहिले निगमले एक महिनामा १८ देखि २० अर्ब भुक्तानी गर्नुपर्छ तेलको खरिदका लागि भने करिब साढे ३ खर्ब रुपैयाँको ब्यापार रहेको छ । कोषमा रहेको रकमको पनि परिचालन गर्नुपर्छ भन्ने पक्षमा निगम रहेको छ । 

प्रवक्ता उपाध्याय यसरी घाटा चुलिँदै जाँदा भोलिका दिनमा आपूर्ति असहज हुने बताउँछन् । यसो हुँदा अन्तत दुःख पाउने जनताले नै हो । 

उनी त्यो स्थिति नभएको र भोलिका दिनमा पनि त्यस्तो नहोला भन्ने आशा हुँदै भन्छन्, ‘संचित कोषमा रकम रहेकाले तत्काल त्यस्तो नहोला । तर निगमले आफैले पनि विभिन्न योजना परियोजनाहरु अगाडि सारेको छ । ती सबै चिज गर्नका लागि पनि निगम आफैले निगमको अहिलेसम्म भएको मुनाफा त्यसमै प्रयोग हुने हो । पेट्रोलियम पदार्थको खरिदमा पनि हुने हो । त्यसैले लामो समयसम्म मूल्य समायोजन गर्न सकेनौं भने डेडलकको पोजिसनमा आउँछ । पूँजी प्रवाह हुँदैन । चालु पूँजीको अभावमा पेट्रोलियम आयातमा अवरोध पनि हुन सक्छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ