arrow

हाइड्रोजन  ऊर्जाले निकट भविष्यमा नै विस्थापित गर्ला त पेट्रोलियम पदार्थलाई ? 

 नेपालमा के हुँदै छ तयारी

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
Nepal-oil-KU.jpg

काठमाडौं । तापमान वृद्धि र जलवायु परिवर्तन नियन्त्रण गर्न १९६ देशले हस्ताक्षर गरेको पेरिस सम्झौतालाई कार्यान्वयन गर्न तर्फ अगाडि बढेका देखिन्छन् । जैविक इन्धन ( पेट्रोलियम पदार्थ ) को वैकल्पिक इन्धनको रूपमा हाइड्रोजन  र सोलार ऊर्जाको अध्ययनमा विश्वका विकसित मुलुकहरू ठुलो लगानी गर्दै आएका छन् ।

विभिन्न अध्ययनहरूले हाइड्रोजन ऊर्जामा सफलता भएपछि कार्यान्वयन गर्न ठुलो ठुलो लगानी गर्न थालेसँगै निकट भविष्यमा नै जैविक इन्धनको स्थान हाइड्रोजन इन्धनले लिन सक्ने देखिएको छ । जैविक इन्धनले विश्वमा व्यापक रूपमा वातावरण प्रदुषण बढाएसँगै   यसको विकल्पको रूपमा हाइड्रोजन इन्धन हुने देखिएको छ ।    

यसका लागि विश्वका सबै मुलुकहरूले हाइड्रोजनलाई प्रमुख इन्धन बनाउनको लागि उत्पादन थालिसकेका छन्  ।

विद्युतीय र सौर्य ऊर्जाका तुलनामा समेत बढी प्रभावकारी हुने देखिँदा अमेरिका, जापान, दक्षिण कोरिया एवं युरोपमा हाइड्रोजन गाडी प्रयोगमा आउन थालेको छ भने विभिन्न गाडी कम्पनीहरूले समेत अध्ययनलाई तीव्र बनाएका छन् ।

सुरुको दिनमा सन् २०३५ सम्म हाइड्रोजन नै प्रमुख इन्धनका रूपमा स्थापित हुने अनुमान अनुसन्धानकर्ताले गरे पनि अनुसन्धानमा भएको प्रगतिले त्यो भन्दा चाँडो नै हाइड्रोजन इन्धनले विश्वव्यापी रूपमा प्रमुख इन्धनको ठाँउ लिन सक्ने अनुसन्धानकर्ताहरुले बताउन थालेका छन् ।

विश्वभर नाम चलेका दर्जनौं कम्पनीहरूले हाइड्रोजन गाडी उत्पादन सुरु गरिसकेका छन् । हालै टोयटाले हाइड्रोजन गाडीका लागि आवश्यक पर्ने 'फ्युल सेल' समेत उत्पादन गरिसकेको छ । टोयटामात्रै हैन्, हुन्डाइ र होन्डाका हाइड्रोजन गाडी समेत बजारमा आइसकेका छन् । रेल, गाडी, अन्तरिक्ष यान, औद्योगिक क्षेत्र सबैतिर अब, हाइड्रोजन इन्धनको प्रयोग हुन थालेको छ ।

अष्ट्रेलिया, क्यानडा, चाइना, फ्रान्स, जमर्नी, जापान, नर्वे, दक्षिण कोरिया, बेलायत, अमेरिका, मोरक्को, चिलीलगायतका थुप्रै मुलुकहरूले अबको १०-१५ वर्षभित्रमा हाइड्रोजनलाई प्रमुख इन्धनका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढेका छन् ।
नर्वेले सन् २०३५ सम्ममा जैविक इन्धन (पेट्रोलियम पदार्थ)माथि प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ ।

एसियामा के हुँदै छ ?

चीनले सन् २०३० सम्मा कम्तीमा १० लाख हाइड्रोजन गाडी सञ्चालन गर्ने लक्ष्य राखेको छ । जापान र दक्षिण कोरिया हाइड्रोजन इन्धन सम्बन्धी नीति नै बनाएर अघि बढेका छन् । जापानले हाइड्रोजन इन्धन रणनीति नै अघि सारेर सन् २०३० सम्मका लागि मार्गचित्र बनाएको छ ।

दक्षिण कोरियाले हाइड्रोजन सम्बन्धी विभिन्न योजना एवं हाइड्रोजन गाडीमा प्रयोग हुने फ्युल सेल उत्पादन सम्बन्धी काम गरिरहेको छ । हालै दक्षिण कोरियाले हाइड्रोजनबाट अर्थतन्त्र वृद्धि र सुरक्षा नियन्त्रण सम्बन्धी कानुन समेत बनाएको छ ।

भारतले पनि हाइड्रोजन इन्धनलाई अब, मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । हाइड्रोजन उत्पादन गरेर यातायात र उद्योगका क्षेत्रमा प्रयोग गर्नका लागि भारतीय वित्त मन्त्रालयले सन् २०२०-२१ का लागि बजेट नै छुट्टाएको छ । 

भारतले ग्रिन हाइड्रोजनको उत्पादनका लागि नेशनल हाइड्रोजन मिसन (एनएचएम) कार्य योजना अघि सारेको हो ।भारतले समेत एनएचएम अन्तर्गत हाइड्रोजन उत्पादनका एवं व्यवस्थापनका लागि पूर्वाधार विकास एवं कार्य योजना बनाउने भएको छ । 

भारतीय आयल निगमले आन्ध्र प्रदेशमा ग्रिन हाइड्रोजन उत्पादन सुविधा बनाउने भएको छ । पानीबाट अक्सिजनलाई अलग गरेर उत्पादन गरिने हाइड्रोजनलाई ग्रिन हाइड्रोजन भनिन्छ । 

विश्वभरका सबैजसो मुलुकहरूले पानीबाटै हाइड्रोजन उत्पादन गर्ने गरी काम गरिरहेका छन् । हाइड्रोजन ग्यास उत्पादन गरेर तेल र ग्यास जसरी नै भण्डारण गरिन्छ । र यसलाई गाडीमा तेल भरे झैं भरिन्छ ।

उक्त हाइड्रोजनले वायुमण्डलमा भएको अक्सिजनसँग प्रतिक्रिया गर्छ सो क्रममा ऊर्जा उत्पादन हुन्छ र विकारका रूपमा पानीको बाफ मात्रै बाहिरिन्छ । जसले वातावरणमा असर पार्दैन ।

तेलजन्य पदार्थबाट कार्बन्डाइअक्साइड, सल्फरडाइअक्साइड जस्ता हानिकारक ग्यासहरू उत्सर्जित हुन्छन् ।

हाइड्रोजन उत्पादन र व्यवस्थापनका लागि काठमाडौं विश्वविद्यालयको पहल

नेपालको सन्दर्भमा काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनको प्रयोग र व्यवस्थापनका लागि महत्त्वपूर्ण पहल चालेको छ ।नेपालमा हाइड्रोजन इन्धनको विकास गर्न काठमाडौ केयु अन्तर्गत ग्रिन हाइड्रोजन ल्याबको स्थापना भएको छ । सो ल्याबलाई आर्थिक सहयोग गर्न नेपाल आयल निगम र केयु बिचमा सम्झौता समेत भएर काम अगाडि बढिरहेको बताइएको छ ।

ल्याबका प्रमुख एवं मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक डा. बिराज सिंह थापाले ल्याबले हाइड्रोजन ऊर्जाको बारेमा अध्ययन गर्ने उद्देश्यका साथ काम गरिरहेको हाम्राकुरालाई बताए । केयुले अघि सारेको योजना मध्ये सुरुमा नेपालमा नीतिगत रूपमा हाइड्रोजन इन्धनको प्रयोग गराउनु हो । हाल नेपालमा हाइड्रोजन इन्धन बिक्री नै गर्न नमिल्ने स्थिति रहेको डा. थापा बताउँछन् ।

केयुले हाइड्रोजनको उत्पादन, प्रयोग, फाइदा र पर्यावरणको रक्षा गर्ने स्पष्ट अनुसन्धान गरी सरकारी निकायलाई बुझाउँदै हाइड्रोजन इन्धनबारे नीति ल्याउन मद्दत गर्ने बताए ।

त्यस्तै केयुमा हाइड्रोजन इन्धनको विकास सम्बन्धी अध्ययन गर्नका लागि सुविधा सम्पन्न रिसर्च सेन्टरको स्थापना गर्ने अर्का लक्ष्य राखेको छ ।

र नेपालमा कसरी हाइड्रोजन इन्धन भण्डारण गर्ने, कसरी प्रयोग गर्ने, कसरी उत्पादन गर्ने लगायतका कुराहरूमा खोज गरी सहजीकरण गर्ने तेस्रो उद्देश्य राखेको छ ।

नेपालमा हाइड्रोजन इन्धनको प्रयोग कहाँ कहाँ हुनसक्छ ?

‘प्रविधिको विकाससँगै असम्भव भन्ने कुरा कम हुँदै गइरहेको छ । दुई-चार दशकअघिसम्म नेपालमा सिमेन्ट कारखाना थिएनन्, तर अहिले दर्जनौं छन् । यो सबै सहज प्रविधिका कारण भएको हो,’ डा. थापा भन्छन् ।

मल उत्पादन

नेपालले विभिन्न देशबाट करोडौंको युरिया मल आयात गर्दै आएको छ । युरिया मल उत्पादनका लागि अत्यावश्यक हाइड्रोजन नेपालमै उत्पादन गर्न सक्ने युरिया उत्पादन पनि नेपालमै गर्न सकिन्छ ।

खानी

नेपालमा भारतबाट प्रशोधित फलाम आयात गरेर त्यसलाई रड र अन्य आवश्यक आकारमा ढाल्ने गरिन्छ । तर, हाइड्रोजन उत्पादन गर्न सकिएमा नेपालमै रहेका फलाम खानीबाट फलाम प्रशोधन गर्न सकिने डा. थापा बताउँछन् ।

फलाम प्रशोधनका लागि हाइड्रोजन अत्यावश्यक तत्त्व हो । नेपालमा खानी उत्खनन गर्न कुरा चल्न थालेसँगै अब, हाइड्रोजनको प्रयोग हुने र खानी क्षेत्रमा ठुलो लगानी हुनसक्ने डा. थापाको अनुमान छ ।

यातायात

विश्वमा तीन कम्पनीले हाइड्रोजन गाडी उत्पादन गरिसकेका छन्, भने बाँकी धेरै कम्पनी यही दौडमा छन् ।

हाइड्रोजन गाडीमा डिजेल भरेजस्तै हाइड्रोजन भरिन्छ र वायुमण्डलीय अक्सिजनसँग प्रतिक्रिया गरी ऊर्जा उत्पादन हुन्छ । सोही ऊर्जाबाट गाडी चल्छ र विकारका रूपमा पानीको बाफ मात्रै बाहिरिन्छ । 

त्यसैले हाइड्रोजन स्वच्छ इन्धनका रूपमा ट्रक, बस, कार, रेलमा प्रयोग गर्न सकिन्छ । विश्वमा हजारौं हाइड्रोजन कार गुडिरहेका छन् ।

प्रशोधन उद्योग

इँटा भट्टाजस्ता प्रशोधन उद्योगमा कोइलालाई इन्धनका रूपमा प्रयोग गरिँदै आएको छ । तर, यसले फाल्ने धुवाँका कारण वायुमण्डलमा ठुलो असर पर्छ ।

हाइड्रोजनलाई प्रयोग गर्ने हो भने, हाइड्रोजनले शुद्ध आगो निकाल्छ अर्थात् कुनै पनि प्रदूषण हुँदैन । यस्ता उद्योगमा पनि हाइड्रोजनको प्रयोग गर्न सकिन्छ ।

पृथ्वीको अस्तित्व जोगाउनका लागि तापमान नियन्त्रण गर्नु अत्यावश्यक रहेको कुरा सर्वव्यापी रूपमा प्रस्ट नै छ ।जसका लागि अहिले प्रयोग हुँदै गरेको घातक इन्धनको प्रयोग बन्द हुनु सबै भन्दा प्रमुख उपाय हो ।

त्यसका लागि सौर्य, विद्युतीय र हाइड्रोजन ऊर्जा प्रमुख विकल्पका रूपमा देखिएका छन् ।टिकाउ, दिगो, अति शुद्ध र बहु उपयोगी भएका कारण हाइड्रोजन ऊर्जा नै अबको ढिलोमा पनि दुई दशक भित्रमा प्रमुख ऊर्जा बन्ने निश्चित प्राय देखिन्छ ।

यो पनि पढ्नुस् :



नयाँ