arrow

कोरोनाको संकटमा जनता अनुशासित बनाउन पहिला सरकार अनुशासित बन्नुपर्छ : दिव्यमणी राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
divyamani-rajbhandari-1619608343.jpg

कोरोना भाइरसको संक्रमणका कारण विश्व आक्रान्त छ । संक्रमणको दोस्रो लहरले नेपालमा पनि भयावहको अवस्था बन्दै छ । मैंले संसदमार्फत पटक पटक सरकारलाई सुझाव दिएको हुँ । चैत १८ गते शुरु भएको संसदमा मैंले प्रष्ट रुपमा कुरा राखेको छु । संक्रमण फैलिन नदिन मैंले बुझेको र जानेको सुझाव दिंदै आएको हुँ । स्थिति भयावह हुन सक्छ भनेर सचेत पनि गराएकै हुँ । तर कोही पनि गम्भीर देखिएनन् । केही सांसदहरुले कुरा राख्छन् र गम्भीर बन्छन् तर धेरै यस विषयमा गम्भीर छैनन् । सरकारले सर्वदलीय बैठक बोलाउँछ तर कोभिडका बारेमा आवाज उठाइरहेका र बुझेकाहरुलाई बोलाउँदैन् । उनीहरुबाट सुझाव लिन चाहदैन् सरकार । यसमा सरकार चुकेको छ । संघीय संसदमा उठेका र सरकारलाई दिएका सुझाव सरकार ग्रहण नै गर्न चाहँदैन् । सुझाव सुनेर ग्रहण गर्दै जाने हो भने व्यवस्थापन गर्न सजिलो हुनेथियो । सर्वदलीय बैठकमा यस बारेमा जानकारी राख्ने हामीहरुलाई निम्ता गर्दा के विग्रन्थ्यो ? सरकारले त्यो व्यवस्थापन गर्नै सकेन । सबै पक्ष एक भएर अघि बढ्न सकिन्थ्यो ।

क्वारेन्टाइन व्यवस्थापन खै ?
भाइरसको महामारी अहिले मात्र होइन एक बर्ष अघिदेखि नै शुरु भएको हो । क्वारेन्टाइन र आइसोलेसनहरु पहिले पनि तयार थिए । सीमामा भएका क्वारेन्टाइनहरु सरकारले व्यवस्थापन र मर्मत संभार गरेर जोगाएर राख्न नसक्नु ठूलो विडम्बना छ । ति क्वारेन्टाइनहरु व्यवस्थापन गर्न र सीमाबाट भित्रिएका मानिसहरुलाई पीसीआर टेष्ट गरेर सुरक्षित गरेको भए अहिलको अवस्था आउने थिएन । टेष्ट र क्वारेन्टाइन बढाएको भए यस्तो अवस्था आउने थिएन् ।

५० हजार जनताको पीसीआर हुनुपर्ने
कोरोना भाइरसको लहर बढ्दै जाँदा यतिबेलासम्म ५० हजार मानिसको पीसीआर टेष्ट गरिसक्नुपर्ने थियो । सरकारले त्यही कमजोरी गर्यो । होम आइसोलेसनमा बस्नुपर्ने भन्ने नेपालीले सिकिसकेका छन् । त्यसैले पीसीआर टेष्टमा कुनै कमी गर्नु भएन ।

स्वास्थ्य सामग्री र खोप बढाउनुपर्छ
किटको व्यवस्थाबारे जनतालाई अहिलेसम्म जानकारी छैन । पीसीआर टेष्ट र किटहरुकाबारे सरकारी तयार र व्यवस्थापनबारे जनतालाई थाहा दिनुपर्छ । कुटनीतिक पहलमार्फत स्वास्थ्य सामाग्रीहरु ल्याउन ढिला गर्न मिल्दैन । कहाँबाट कति सामग्री आयो जनतालाई जानकारी दिनुपर्छ । जहाँबाट ल्याउनुपर्ने हो ल्याइहाल्नुपर्यो । मैंले राजदूतहरुसँग, समितिहरुमा पनि कुरा गरें । परराष्ट्रमन्त्रीसँग पनि कुरा गरें । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र खोप लगाइसक्ने भन्नुभएको थियो । त्यसको तयारी खै ? आधार खै ? यसको व्यवस्था किन हुन सकेन् ? युरोप वा डेनमार्क जहाँ ‘कोभाक्स’ जे छ ल्याउनुपर्यो । अरु पनि ल्याउन सरकारले कोशिस गर्नुपर्ने । हाम्रा मन्त्रीहरु दिल्लीमा गएर धर्ना कस्नुपर्ने । १० लाख पछि फेरि १० लाख खोप ल्याउनुपर्यो । भारतमै रहेका नेपालीहरु, भूपु आर्मी, त्यहीं काम गरिरहेकाहरुलाई पनि व्यवस्था गर्नुपर्ने । चाइनाबाट ल्याउन पनि पहल गर्नुपर्छ । यस विषयमा परराष्ट्र र स्वास्थ्यमन्त्रीलाई एसएमएस नै पठाइसकें । छिटो व्यवस्थापन गर्नुहोस भनिसकें ।

कोरोना नियन्त्रणमा सरकार असफल हुनसक्छ
स्थिति थप जटिल बन्दै गइरहेको छ । बेलैमा व्यवस्थापन गर्न नसक्दा अवस्था भयावह हुँदै गइरहेको छ । तर सरकार शिलान्यास र गजुर राख्नमा ब्यस्त छ । सरकार आफैं कानुन बनाउँछ अनि आफैं कानुन उल्लघंन गरिरहेको छ । पार्टीको बैठक गरेर भीड गर्ने र जिल्ला जिल्लामा कार्यक्रम गर्ने, बैठक बस्ने काम सरकारबाटै भइरहेकाले यसतर्फ गम्भीर हुन ढीला हुनुपर्ने भइसकेको छ । सरकार आफैं अनुशासित भएन । आफूले तयार गरेको कानून आफैं पालना हुन नसक्नु दुर्भाग्य हो । सीसीएमसीमा मात्र भएपनि सबैथरी र सबै क्षेत्रका विज्ञ वा जानकारहरुलाई बोलाएर सुझाव लिनुपर्ने हो । यसका लागि छुट्टै संरचना खडा गर्नुपर्ने र जनतालाई जानकारी दिनुपर्ने थियो । त्यसमा सरकारले केही गर्न सकिरहेको छैन । यहाँ ब्यक्तिकुरा होइन लकडाउन गर्नुपर्दा पनि सल्लाह सुझाव लिनैपर्छ । फेसबुकमा फोटो राखेर होइन जिम्मेवार भएर सबैले यतिबेला महामारी नियन्त्रणमा लाग्नुपर्ने बेला हो । पार्टीका मान्छेहरु यसमा गम्भीर हुनुपर्छ । प्रमुख कुरो भनेको ज्यानको सुरक्षा हो । यतिबेला गुट र पार्टीभन्दा माथि उठेर महामारी नियन्त्रणमा लाग्नुपर्ने बेला हो । स्वास्थ्य, आर्थिक, मानसिक, सामाजिक रुपमा देशका जनता पीडित भइरहेका छन् । यस्तोबेला जनतालाई मोटिभेट गर्नुपर्छ । व्यवसायिक र विज्ञहरु परिचालन गर्न सरकारले सक्नुपर्छ । कुटनीतिक नियोगका मान्छेहरु पनि चुप लागेर बस्न सुहाउँदैन् । जनतालाई अनुशासित बनाउन चाहने सरोकारवाला वा सरकार अनुशासित बन्नुपर्छ । उदाहरणका लागि हेरौं न थाइल्याण्डलाई । थाइल्याण्ड आर्मीले चलाएको देश भएकाले प्रधानमन्त्रीले मास्क नलगाउँदा कारवाही भोग्नुपर्यो । कतिपय देशमा कमजोरी गर्ने सरकारले आत्माआलोचना गरेको छ र माफी मागेको छ । राजीनामा दिएको छ । तर हाम्रो देशमा आफैंले बनाएको कानुन आफैं पालना गर्न नसक्ने सरकार छ । यसले समस्या निम्त्याइरहेको छ । यतिबेला नागरिक समाज, राजनीतिक दलहरु देश र जनताका लागि कटिबद्ध हुनुपर्छ ।

सीमा नाका र खोप व्यवस्थित गरौं
अन्तर्राष्ट्रिय उडानको आफ्नै व्यवस्था छ । आफ्नै कानुन छ । त्यहाँ पीसीआर रिपोर्ट खोज्ने गर्छ । तर सीमा नाकामा समस्या देखिएको छ । नाका जाँचका वा चेक एन्ड व्यालेन्स गर्न सक्नुपर्छ । आएका नेपालीहरुलाई नआउ भन्न सकिदैन । शहरबाट गाउँ गाउँ गइरहेका मानिसहरुले गाउँमा संक्रमण फैलाउन सक्ने खतरा रहेकाले आइसोलेशनको व्यस्थापन गर्नुपर्छ । हुनत सरकारले खोप पर्याप्त मात्रा उपलब्ध गराउनै सकेको छैन् । तर जति खोप वितरण गरिरहेको छ त्यो व्यवस्थित गर्नुपर्छ । सिमित अस्पतालमा खोपको व्यवस्था गर्नुभन्दा पनि खुल्ला स्थानहरुमा विभिन्न युनिट खडा गरेर खोप वितरण गरे भीड कम हुने देखिन्छ । जस्तो भृकुटी मण्डपजस्ता खुल्ला स्थानमा खोप वितरण गर्दा भीड कम हुने र व्यवस्थित हुने देखिन्छ । तर हाम्रो सुझाव सरकारले सुन्नेवाला छैन् । भारत, चीन, अमेरिकालगायतका देशहरुबाट ल्याउने भनिएको खोप तुरुन्त झिकाउनसक्नुपर्छ ।

अक्सिजन प्लान्ट मर्मत गरौं  
विरामीहरुलाई अक्सिजनको आवश्यक्ता पर्छ यसको समस्या छ । प्रायः सबै अस्पतालहरुमा अक्सिजन प्लान्टहरु छन् । तर कोही कोहीमा विग्रिएर थन्किएका छन् । तिनीहरुको तुरुन्त मर्मत संभार गरेर संचालनमा ल्याउन निर्देशन दिनुपर्छ । अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा तुरुन्त ब्यवस्था गर्न भन्नुपर्छ । महावीर पुनलगायतको टोलीले तयार पारेको प्लान्ट वा उनको समूहमा रहेका प्राविधिकहरुलाई परिचालन गरेर प्लान्टहरु मर्मत गरिनुपर्छ । माग गरिरहेका प्लान्टहरु पनि तुरुन्त झिकाउन सक्नुपर्छ । छिमेकी देशहरुबाट सहयोग लिनसक्नुपर्छ । अक्सिजनसँगै औषधि व्यवस्थापन सरकारले गर्न सकेन भने झनै भयावह हुनसक्छ । दिल्लीकै जस्तो अवस्था आउनसक्छ । यसमा सचेत रहनुपर्छ ।

यो समय गजुर शिलान्यास गर्ने होइन
महामाहारी झन झन फैलिरहेका बेला सरकारले गजुर र भवनहरु शिलान्यास गरिरहेको छ । यो विलकुल गलत छ । यतिबेला कोरोना भाइरसबाट जनतालाई जोगाउने काममा लाग्नुपर्छ । स्वास्थ्यकर्मीहरुको व्यववस्थापन र उनीहरुलाई सरकारले दिनुपर्ने सेवा सुविधा दिन सरकारले कमी गर्नुहुन्न । कलेजमा रहेका जनशक्तिले पनि यस्तो बेला सहयोग गर्न सक्ने भएकाले उनीहरुलाई परिचालन गर्न सक्नुपर्छ । यतिबेला को प्रतिपक्ष, को विरोधी, कुन गुट यी सबै कुरा विर्सिएर कोरोना नियन्त्रणमा लाग्नु अहिलेको आवश्यक्ता हो । यसमा सरकार लाग्नुपर्छ । यस्तोबेला सकरात्मक आलोचनासहितको सहयोग गर्नुपर्छ । देशका उद्योगीहरु पनि शंखाधर बन्न सक्नुपर्छ । म त शंखाधरको भक्त हुँ । कमाएको पैसा देश संकटका बेला सहयोग गर्नुपर्छ ।(कुराकानीमा आधारित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ