arrow

केपीका खास कमिशनमा अड्कियो सास

logo
बाबु नेपाली,
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-vaccine-pm-oli.jpg
तस्वीर– फाइल ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बारम्बार एजेन्टहरुले आफूलाई काम गर्न नदिएको भन्दै मिडियामा गुनासो पोखेको पोख्यै छन् । कोरोना भाइरसको महामारीले गर्दा देश आक्रान्त भइरहँदा उनले प्रारम्भिक चरणमा कोरोना भाइरस विरुद्धको खोप ल्याएर सबै नेपालीलाई लगाउने लक्ष्य बोकेको बताउँदै आएका थिए । 

उनले आफ्नो बलबुँताले नै भारतबाट शुरुआती १० लाख डोज कोभिशिल्ड उपहारमा ल्याउन सफल भएको बताएका थिए । तर त्यसपछि विस्तारै चलखेल बढ्दै गयो । सरकारले पैसा हालेर किनेको खोपसमेत पनि आएन । २० लाख डोज खोप किनेकामा १० लाख त आइपुग्यो तर बाँकी १० लाख डोज आएन । 

त्यो खोप नआउनुमा हात कमिशनखोरहरुकै थियो । मन्त्री त्रिपाठी छट्पटाउँदै मिडियामा आउन थाले । उनले आफूलाई कामै गर्न नदिएकोसमेत भने । काम गर्न कसले दिएन ? कुरो स्पष्टै थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका खास खासले गर्दा कमिशनको खेल शुरु भयो । उनीहरु यसलाई अवसरको रुपमा लिन थाले । जसरी ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा चलखेल गर्यो त्यसरी नै खोपका लागि झन् ठूलो चलखेल हुन थाल्यो । 

मन्त्री त्रिपाठीले एजेन्टमार्फत खोप ल्याउन चाहन्नथे । उनले मिडियामै भनेका थिए, ‘म मर्न परे मर्न तयार छु, तर नेपाली सबै जनतालाई जसरी पनि खोप ल्याएरै छाड्छु ।’

उनलाई थाहा छ कि एजेन्टमार्फत खोप ल्याइयो भने त्यो महंगो पर्न जान्छ । त्यसमा कालाबजारी पनि हुन सक्छ । यो सिंगो देशको एकमात्र लक्ष्यनिहीत चिज भएपछि यसमा एजेन्टको जरुरी छैन । 

त्यसो त मन्त्री त्रिपाठी पनि ओलीका खास नै हुन् । त्रिपाठीले चुनावमा ओलीले दिएको सूर्य चिन्हबाटै चुनाव लडेका हुन् । उनी पटक पटक नयाँ पार्टी गठन गर्छु भनेर लागे पनि अहिलेका दिनसम्म केपी ओलीकै एमाले हुन् । 

तर उनलाई काम गर्न गाह्रो भएको भने यथार्थ नै हो । उनले ओलीलाई गएर पनि यसबारेमा कुरा नगरेका हैनन् । तर बालुवाटारमा ओलीका खासहरु ताँती लागेर ढोका ढोकामा खडा हुने गर्छन् । 

तिनीहरु सबै देश विकासका लागि ओलीका सल्लाहकार बनेर भन्दा पनि सल्लाहकारको नाममा देशको ढुकुटी रित्याउन लागिपरेको घुमाउरो आरोप स्वयं त्रिपाठीले लगाएका छन् । 

तर कमिशनको चक्करमा लागेर भारतमा आउन लागेको सिरम इन्स्टिच्युट अफ इन्डियाको कोभिशिल्ड खोप रोकियो । १० लाख डोज रोकेर ५० लाख खोप एजेन्टमार्फत ल्याउने खेल भयो । अन्ततः त्यही १० लाख खोप पनि आउने टुंगो छैन । 

गत फागुनमै खोप लगाएकाहरुले दोस्रो डोज लगाउन ढिला भइसकेको छ । अबको १५ दिनसम्ममा दोस्रो डोजको खोप लगाउनु पर्छ । तर भारतमासमेत हाहाकार भएकाले तत्काल खोप आउने सम्भावना छैन । 

सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाएको थियो । तर त्यो खोपको दोस्रो डोज समयमा नपाए वृद्धवृद्धाको अवस्था के हुन्छ ? यसमा सरकारको ध्यान गएको छैन । जबकि ती वृद्धवृद्धाले लगाउने खोपको रकम सरकारले बुझाइसकेको छ केही बाँकी राखेर । 

पृष्ठभूमिमा फर्किंदा सिरमले सहुलियत चार डलरमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुसार अग्रिम भुक्तानीको सर्तलाई पालना गर्न गत फागुनमा मन्त्रीपरिषद्ले नै सार्वजनिक खरिद ऐनमा भएको नियमलाई निलम्बन गर्दै सिरमलाई अग्रिम भुक्तानीको बाटो खोलिदियो । 

खरिद ऐनमा कुनै पनि वस्तु खरिद गर्दा शुरुमै पूर्ण भुक्तानी गर्न नपाइने नियमअनुसार उक्त ऐनलाई निलम्बन गरेपछि सरकारले २० लाख डोजका लागि ९३ करोड रुपैयाँ सिरमलाई  पठायो । सम्झौताअनुसार दुई हप्ताभित्र सिरमले १० लाखका दरले दुई पटक गरी खोप नेपाल पठाउनु पर्ने थियो । 

गत फागुन दोस्रो साता सिरमले १० लाख डोज खोप नेपाल पठायो । बाँकी १० लाख डोज भने अहिलेसम्म पठाएको छैन । त्यसको कारण कमिशनकै कारण भएको प्रमाण पहिलेदेखि नै स्वास्थ्य मन्त्रीले नै दिँदै आएका छन् । 

त्यही कमिशनखोरहरुका कारणले गर्दा नै नेपालले खोप पाएन । कमिशनखोरहरु १० लाख खोप रोकेर ५० लाख ल्याउने र त्यसबाट १० प्रतिशतमात्र कमिशन पाए पनि त्यसबापत ३२ करोड रुपैयाँ हुन आउँछ भन्नेमा लागे ।  

मन्त्री त्रिपाठीभन्दा पनि माथि रहेका ती कमिशनखोरहरु अरु कोही नभएर केपी ओलीका खास हुन् । नत्र सरकारले नै सेरमसँग ५० लाख खोप किन्न सम्झौता अगाडि बढाउँदा किन रोकियो । 

नेपाल डिष्ट्रिब्युटर हुकाम इन्टरप्राइजेजले कमिशनको खेल खेल्न थालेको बारेमा मन्त्री त्रिपाठीले मिडियालाई बताइसकेका छन् । हुकाममा विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतु सिंह वैद्यको नाममा शेयर स्वामित्व छ । 

वैद्य अहिले ओलीका खास हुन् । उनलाई ओलीले भिजिट नेपाल २०२० को संयोजकसमेत बनाएर आफ्नो निकटस्थ जनता सामु छर्पष्ट पारेका थिए । 

बिचौलियालाई रोकेर खोप ल्याउनुको विकल्प छैन । 

यसै प्रसङ्गमा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कहीं कतै कमिशनको कुरो आएको छ भने त्यस्तालाई कारबाही गर्नुपर्छ भनेर मिडियामा भनेका छन् । 

यदि त्यस्तो हो भने यसको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्ने र खोप बिना कुनै कमिशन ल्याउन अगाडि बढाइनु पर्छ । यस्तो सम्वेदनशील विषयमा कमिशनको खेललाई किन्तू परन्तुसँग जोड्नु हुँदैन । 

देश अप्ठेरोमा परेका बेलामा जुनसुकै पनि बाटोबाट भए पनि खोप ल्याउनु स्वभाविकै हुन आउँथ्यो होला । तर एजेन्टहरु त्यसमा सक्रिय भएनन् । एजेन्टहरु आउने खोपमै दलाली गर्न थाले । 

ओलीका खासहरु कमिशनको चक्करमा लाग्दा अहिले जनताको सास अड्किएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि एजेन्ट छिरेपछि खोप खरिद प्रक्रिया रोकिएको स्वीकारोक्ति मिडियामा गरिसकेका छन् । 

ओलीका खासहरुले दिउँसै अँध्यारो पारेर कमिशनको चक्करमा खोप नै रोकेका हुन् भने यो सरासर राज्यद्रोह हो । किनकि मानिसका लागि स्वास्थ्यभन्दा ठूलो केही हैन । अहिले सम्पूर्ण नेपालीको ज्यान जोखिममा परिरहेका अवस्थामा सरकारको एकमात्र प्रमुख एजेन्डा कोरोना महामारी नियन्त्रण नै हुनुपर्छ । 

कोरोनाको औषधि नबनिसकेका अवस्थामा एकमात्र आधार यस विरुद्धको खोप नै हो । जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे आफूलाई कमिशनबारेमा केही जानकारी नभए पनि खोपमा कमिशन हुन नहुनेमा जोड दिन्छन् ।

उनले अहिलेको एकमात्र विकल्प भनेको सरकारले जसरी भए पनि खोप ल्याएर सम्पूर्ण नेपालीलाई लगाउनु नै भएको बताउँछन् । 

तर खोप नै कमिशनको चक्करमा आएन भने के हुन्छ ? सत्तासँग निकट रहेका एजेन्टहरु यसरी कमिशनमा अल्झने हो र जनतालाई भटाभट मार्ने हो भने यसको जिम्मेवार सरकार किन नहुने ? 

सरकारले थुप्रै अध्यादेश ल्याउँदासमेत कोरोनासम्बन्धी अध्यादेश नल्याएर आफ्नो नियत स्पष्ट पारेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको आरोप छ । 

सरकारले अहिलेसम्म स्वास्थ्य संकटकालसमेत लगाएको छैन । निरन्तर कोरोनाको खोपमा कमिशनको चलखेल हुँदा पनि सरकार मौन छ । स्वास्थ्यमन्त्री सरकारभित्रै पनि गौण भएका छन् उनीभन्दा माथिकाहरु एजेन्टसँग सल्किएपछि । 

यही कमिशनको चक्करले आफूलाई लज्जित बनाएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्रतिक्रिया छ । 

खोप लगाउन नपाउँदा, उपचारका लागि अक्सिजन नपाउँदा, अस्पतालमा बेड नपाउँदा, आईसीयू नपाउँदा कुनै बिरामीले मर्नुपर्यो भने त्यो सरकारकै कमजोरी हो । 

प्रधानमन्त्री ओलीलाई अहिले सत्ता बचाउने रन्को छ । उनले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिँदै छन् । तर त्यही मत लिनुअघिको पीसीआर परीक्षणमा केही सांसदहरुलाई कोरोना देखिइसकेको छ । 

केही मन्त्रीहरु अझै पनि कोरोनाबाट उन्मुक्त हुन सकेका छैनन् । कोरोनाले आफ्नो पराई भन्दैन । मापदण्ड उल्लंघन गर्ने कसैलाई छाड्दैन । 

तसर्थ स्वास्थ्य मापदण्ड पालना अनिवार्य रुपले गर्दै सरकारले खोप ल्याउनुको विकल्प छैन । यही खोपमा कमिशनको खेल रच्ने र रचाउने जोसुकै होउन् उनीहरु ‘देशद्रोही’ नै हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ