arrow

बलायरका अगाडि फितलो देखिँदै भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
birbahadur-balayar-lekhraj-bhatta-kailali4.jpg

काठमाडौं ।  एमालेले आयातित नेताहरुलाई टिकट दिएपछि कैलालीमा आफ्नै भोट पनि जोगाउन सक्ने अवस्था छैन । एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, अर्कोतिर नेपाली कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर भिडिरहेको चुनावी अवस्था हेर्दा एमालेले आयातित भट्टलाई टिकट दिएपछि सो अवस्था सिर्जना भएको हो । 

कैलाली ४ मा सुदूरपश्चिमका यी दुई नेताबीच पहिलो पटक प्रतिस्पर्धा हँुदैछ । दुवै उम्मेदवारले यो प्रतिस्पर्धालाई ‘प्रतिष्ठा’ का रूपमा हेरेका छन्  । तर एमालेका प्रभावशाली नेता भीम रावलले टिकट नपाएको अवस्थामा बलायरका लागि एमालेका पुराना कार्यकर्ताहरु सहयोगी बन्ने अवस्था छ । 

प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रदेशका ‘हेभिवेट’ मानिने र पटक–पटक मन्त्रीसमेत भएका नेताबीचको प्रतिस्पर्धा उनीहरूको राजनीतिक भविष्यसँग पनि जोडिएको छ । 

भट्ट र बलायरको आ–आफ्नै राजनीतिक विरासत छ  । माओवादी त्यागेर एमालेमा गएका भट्ट सोही क्षेत्रबाट चौथो पटक चुनाव लड्न लागेका हुन् । बलायरका लागि कैलाली ४ नयाँ हो । 

डोटीबाट तीन पटक चुनाव लडिसकेका बलायरको रोजाइ यस पटक पनि डोटी नै थियो । तर गठबन्धन दलहरूको भागबन्डाका कारण डोटी छाड्नुपर्ने भएपछि उनी कैलाली ४ मा उम्मेदवारी दिएका छन् । भट्टको पुर्ख्यौली थलो पनि डोटी नै भएकाले यी दुवै नेताहरु एउटै क्षेत्रमा चुनाव लडिरहेका छन् ।

शुरुदेखि माओवादीमा रहेका भट्टले यसपल्ट पार्टी फेरेपछि अप्ठेरोमा परेका हुन् । एमालेको सिंगो पंक्ति उनको पक्षमा छैन । उनले पहिलो संविधानसभा निर्वाचन २०६४ मा जितेका थिए । २०७० मा पराजित भए । 

२०७४ मा उनले कांग्रेस उम्मेदवार सुनीलकुमार भण्डारीलाई पराजित गर्दै दोस्रो पटक चुनाव जितेका थिए । वाम गठबन्धनबाट २०७४ मा करिब ११ हजार मतान्तरले जितेका भट्टले अहिले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । 

स्थानीय तहको मत परिणामका आधारमा एमाले गठबन्धन दलको कुल मतभन्दा झन्डै १५ हजार मतले पछाडि भएकै कारणले बलायरलाई यसपटक निकै सहज भएको छ ।

कैलालीका गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मिलेर बनेको कैलाली–४ मा ९३ हजार ३ सय ८४ मतदाता छन् । 

गोदावरीमा प्रमुखसहित सातवटा वडा कांग्रेसले जितेको छ । नगर प्रमुखमा भट्टका सहोदर भाइ गोकर्ण भट्ट एमालेबाट उम्मेदवार भएका बेला कांग्रेसका वीरेन्द्र भट्टले झन्डै चार हजार मतान्तरले जितेका थिए । 

एकीकृत समाजवादीसमेत थपिएकाले गठबन्धन दलको मत अझ बढी हुन आएको छ । तर प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय तहको मत फेरबदल हुन सक्ने दुवै उम्मेदवारको बुझाइका कारण भट्टले पनि आफू जित्ने बताइरहेका छन् । 

स्थानीय निर्वाचनमा गौरीगंगामा माओवादीले एमालेलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेको थियो ।

प्रदेश सभाले यसअघि नै गोदावरी राजधानी घोषणा गरिसक्दा पनि कार्यान्वयन प्रक्रिया अलपत्र छ  । 

राजधानी बनाउने भनिएको गोदावरी यही क्षेत्रमा पर्छ । दुवै प्रतिस्पर्धीले गोदावरीलाई राजधानी बनाउने निर्णय कार्यान्वयन गर्ने बताइरहे पनि एमाले सरकारमा भएका बेला भट्टले कुनै पहल नगरेको स्थानीयको गुनासो छ  ।

यसअघि डोटीमा राजधानी हुनुपर्ने बताउँदै आएका बलायरले पनि अहिले गोदावरीलाई नै प्रदेश राजधानी बनाउने प्रतिबद्धता मतदातासमक्ष गर्न थालेका छन् । 

‘मैले जितेपछि सानोतिनो हैन राम्रै विकासे मन्त्रालयको मन्त्री पाउँछु, प्रदेशको राजधानी पनि मेरै निर्वाचन क्षेत्रमा हुनेछ’, बलायरले भने ।  अहिले गेटा मेडिकल कलेजको काम पनि आफ्नै प्रयासमा भएको बलायरको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ