arrow

पिताको इतिहास जोगाउन चुनावी मैदानमा सुजाता

भन्छिन्, ‘मेरा लागि यो क्षेत्र नितान्त नौलो हो, काम गर्नुपर्ने धेरै रहेछन्, अब जनजीविकाको सवाल र महिलाहरुका धेरै काम गर्नुपर्ने रहेछ, अन्य काम पनि सरकारबाट पर्याप्त नभए जीपी फाउन्डेसनमार्फत भए नि पूरा गर्छु’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
sujata-koirala-2079-07-20.jpg

मोरङ । मंसिर ४ को प्रतिनिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरुले उम्मेदवारी दिएको मोरङका क्षेत्रहरुमा चुनावी माहोल तातेको छ । मोरङका ६ वटै क्षेत्रका उम्मेदवारहरुको चुनावी अभियानलाई लिएर कार्यकर्ताहरुले हार–जितको भविष्यवाणी गरिरहेका छन् ।

त्यसमध्ये पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति दिवंगत गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र नम्बर २ धेरैको चासोमा छ । अस्वस्थ्यताका कारण लामो समयको आरामपछि प्रत्यक्ष चुनावमा उत्रिएकी गिरिजापुत्री एवम् पूर्वमन्त्री सुजाता कोइरालाले कस्तो परिणाम ल्याउँछिन् भन्ने विषयले चर्चा पाएको छ । 

सुजातासँग प्रतिस्पर्धा गर्न एमालेको भ्रातृ संगठन अनेरास्ववियूबाट पार्टी राजनीतिमा आएका ऋषिकेश पोखरेल मैदानमा छन् । २०७० सालमा दोस्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेलले सुजातालाई टक्कर दिइरहेका छन् । २०५२ मा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति भइसकेका उनले ०७० मा कांग्रेसका डा. मिनेन्द्र रिजाललाई पराजित गरेका थिए । पोखरेल र सुजातासहित यहाँ अन्य १३ जना उम्मेदवार छन् । 

यसपालि राजनीतिक यात्राको लामो समयपछि पहिलो पटक प्रत्यक्ष चुनावमा होमिएकी सुजाता र पोखरेलबीचको भिडन्तलाई निकै रोचक रुपमा हेरिएको छ । एमाले र कांग्रेसले आलोपालो चुनावी परिणाम आफ्नो पक्षमा लिँदै आएको उक्त क्षेत्रमा २०७४ मा भने प्रतिनिधि सभातर्फ कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल विजयी भएका थिए ।

अहिले नयाँ बनेर समेटिएको उक्त क्षेत्रबाट विगतमा गिरिजाप्रसाद र भरतमोहन अधिकारी दुईपटक विजयी भएका थिए । त्यस्तै कांग्रेसका आमोद उपाध्याय ०६४ मा विजयी भएका थिए । 

यसपटक संयुक्त गठबन्धनको तर्फबाट सुजाताले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएकी छन् भने ऋषिकेश फेरि उक्त क्षेत्रको नेतृत्व गर्न कसिएका छन् ।

पिताको विरासत जोगाउने अवसर
कार्यकर्ताको जोडबल र आफ्ना निकट नेताहरुको दबाबमा उम्मेदवार बनेकी नेतृ सुजाताले भनिन्, ‘यो मेरो अन्तिम चुनाव हो । फेरि चुनाव लड्न आउँदिन । यो क्षेत्रमा विजयी भएर पिताजी (गिरिजाबाबु) को इतिहास जोगाउनु छ । उहाँले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्नुछ । त्यसपछि जनताको मन मनमा बस्नेगरी काम गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुछ,’ उनले भनिन्, ‘यहाँका जनतामाझ पिताजीले धेरै बाचा र संकल्प गर्नुभएको थियो । तर उहाँ दिवंगत भएपछि ती बाचा पूरा हुन सकेनन् । त्यो यस पटक पूरा गर्छु, । पाँच वर्ष खटेर काम गर्छु । यो मेरो संकल्प हो ।’

हुन पनि उक्त क्षेत्र मुख्य शहर विराटनगरबाट टाढा छ । भौतिक पूर्वाधार, विकास निर्माण साथै जनताका आधारभूत आवश्यक्ताहरु अझै अधुरै छन् । किसान, सुकुम्बासी र भूमिहीनका समस्याहरु प्रशस्त छन् । भारतसँग सिमा जोडिएका उक्त क्षेत्रका कतिपय गाउँका समस्या अनेक छन् । तटबन्ध, सिंचाइ, खानेपानी र स्वास्थ्य सम्बन्धी समस्याहरु बग्रेल्ती छन् । 

सुजाता भन्छिन्, ‘मेरा लागि यो क्षेत्र नितान्त नौलो हो । काम गर्नुपर्ने धेरै रहेछन् । यहाँ छिर्ने वातावरणनै मैले पाएको थिइनँ । लामो समय बिरामी भएर स्वास्थ्यलाभमा खर्चिनुपर्यो । अहिले आउँदा त परिस्थिति फरक भएछ । अब जनजीविकाको सवाल र महिलाहरुका धेरै काम गर्नुपर्ने रहेछ । अन्य काम पनि सरकारबाट पर्याप्त नभए जीपी फाउन्डेसनमार्फत भए नि पूरा गर्छु ।’

तर यसअघि चुनाव जितेका कांग्रेस नेता डा मिनेन्द्र रिजाल सुजाताको घरदैलोमा उपस्थिति नहुँदा केही कार्यकर्तामा निराशा पैदा हुने र परिणाम तलमाथि हुने अनुमान पनि गरिएको छ । 

असन्तुष्टीहरुलाई सम्बोधन गर्न र चुनावी माहोल तताउन सुजाता तरुण दल, नेविसंघलाई परिचालन गरेर चुनावी मैदानमा पठाइसकेको बताउँछिन् । उनी पार्टीबाट असहयोग नहुने भन्दै चुनावी मोर्चामा डा. रिजाललाई पनि आफूसँगै हिँडाउने बताउँछिन् । 

टोल अनुसारका मुद्दा 
मोरङ क्षेत्र नम्बर २ मा रतुवामाई, सुनवर्षी, रंगेली, पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाको केही वडाहरु समेटिएका छन् । यहाँ पालिका र टोल अनुसार फरक फरक समस्या छन् । ती समस्याहरुको सम्बोधन गर्न उम्मेदवारहरुले बेग्लाबेग्लै मुद्दाहरु अघि बढाएका छन् ।

सुजाता र ऋषिकेशबीचको प्रतिस्पर्धा जस्तै मुद्दामा पनि उस्तैखाले प्रतिस्पर्धा देखिन्छ । ठूलो समस्या मानिने खोला नियन्त्रणका लागि तटबन्ध निर्माण हो । बक्राहा खोलामाथि पुल, तटबन्धलगायत योजना र काम गिरिजाप्रसादकै कार्यकालमा पूरा भएकाले सुजातालाई केही सहज भएको छ । सुकुम्बासी र भूमिहीनहरुको समस्या विकराल देखिन्छ । 

तर एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले अंश र वंशको आधारमा गरिएको राजनीतिले जनताका जनचाहना पूरा नहुने प्रतिक्रिया दिएका छन् । आफू सोही क्षेत्रमा वर्षौंदेखि सक्रिय रहेकाले जनताका साझा समस्याहरु आफूले प्रत्यक्ष देखेको र भोग्दै आएकाले आफूले मात्र समस्या समाधान गर्ने दाबी गर्छन् ।

यता सुजाता कोइरालाले पाँच वर्षभित्रमा यस क्षेत्रका सडक निर्माण पूरा गर्ने बताउँछिन् । उनले भनिन्, ‘यहाँ बेरोजगारीको समस्या छ । महिलाहरुका समस्या छन् । मलखादको अभाव छ । सुकुम्बासी र भूमिहीन साथै नागरिकताको समस्या छ । पाँच वर्षभित्र यी समस्याहरु समाधान गर्ने मेरो संकल्प नै हो ।’

मतभारको अंक गणित
स्थानीय तहमा खसेको मतलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ल्याएर मूल्यांकन गर्न नहुने बताइए पनि त्यही मतभार अबको निर्णायक हुने अनुमान गरिएको छ । हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेको इतिहास छ । त्यसपछिका चुनावमा पनि कांग्रेसका उम्मेदवारहरु विजयी भएको पाइन्छ । 

एक लाख २४ हजार सात सय २९ मतदाता रहेको यस क्षेत्रमा गत बैशाखमा भएको स्थानीय निर्वाचनमा एमाले बलियो देखिन्छ । तर गठबन्धनको पूर्ण मतभार हेर्दा एमाले कमजोर देखिन्छ । 

वडाहरुमा स्थानीय तह निर्वाचनमा एमालेले ३१ हजार ३४० मत पाएको थियो । कांग्रेसले २८ हजार ६१४ मत पाएको थियो । अनि माओवादी केन्द्रले ७ हजार २७१ र जसपाले ४ हजार ३४६ मत पाएको थियो ।

प्राप्त मतका आधारमा विश्लेषण गर्दा कोइराला र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । घरदैलो पुगेका उम्मेदवारहरुमध्ये सुजातालाई गिरिजाप्रसादको प्रतिनिधिका रुपमा मतदाताले स्वीकारिरहेका छन् ।

पाका पुस्ताले सुजातालाई आशीर्वाद दिइरहेका छन् भने नयाँ पुस्तासँग उनी आफैं साक्षात्कार गरिरहेकी छिन् । उक्त क्षेत्रको प्रदेश सभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती र प्रदेश सभा (ख) मा कांग्रेसका विनोद कार्की मैदानमा छन् । एमालेबाट क मा दानबहादर कार्की र ख मा लिलाबल्लभ अधिकारी चुनावी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ