arrow

विदेश उडिरहेका माहुरीहरू गाउँमै रोकेर मह बेच्ने योजनामा छु : प्रकाश बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
Prakash Baral kaski 3 (1).jpg

पोखरा । बाटो, बिजुली, खानेपानी सबै उम्मेदवारले बोक्ने चुनावी एजेण्डा हुन् । तर चुनावसम्म मात्रै । त्यसपछि मतदाताहरू त्यही बाटो, बिजुली र पानीको आशमा हुन्छन्, अर्को निर्वाचनसम्म । जितेर गएकाहरू पाँच वर्षसम्म फर्केर गाउँ फकिँदैनन् ।

प्रकाश ती आम उम्मेदवार भन्दा फरक छन् । उनीसँग बाटो, बिजुली र खानेपानीको सपना मात्रै छैनन्, सिङ्गै फेवाताल, अन्नपूर्ण हिमाल र नेपालको पर्यटन क्षेत्र धानेको अन्नपूर्ण सर्किटको केही भाग छ । बरालले निर्वाचित भएकै दिनदेखि आफ्ना एजेण्डा सरकार र सम्बन्धित निकायमा सुनाउने र जतिसक्दो छिटो पर्यापर्यटन विकासका लागि मेहनत गर्ने बताए । ‘फेवातालको फेरोका पीडाबारे मैले बुझेको छु । जनताका समस्या छामेको छु,’ उनले भने, ‘मैले जति सजिलोसँग तालको समस्या समाधान गर्न सक्छु, अरूलाई उत्तिकै गाह्रो छ ।’ 

सन् १९५० मा माउरिस हार्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गर्दा उनी जन्मिएकै थिएनन् । हार्जोगले पाइला टेकेपछि फस्टाएको अन्नपूर्णको पर्यटन आजभोलि सुस्ताएको छ । सुस्ताएको पर्यटन उकास्ने नारा सबैले दिन्छन्, तर कसरी ? कसैसँग रोल मोडल छैन । बरालले संरक्षण सहितको विकास र पर्यावरण सहितको पर्यटन अवधारणा अघि सारेका छन् ।

‘बनिसकेका सडक नबनाउ भन्दा जन विरोधी भइन्छ । अहिले सडकका विषयमा जनप्रतिनिधि र गाउँलेबीच द्वन्द्वजस्तै छ । गाउँमा सडक पनि लैजानुपर्ने छ, पर्यटक पनि छोड्न भएको छैन,’ बरालले भने, ‘यसको तादम्यता भनेकै सोही गन्तव्यमा फरक ठाउँबाट नयाँ ट्रयाकको खोजी गर्ने हो । लगानी महँगो पर्छ तर ढिलो गर्नुहुँदैन ।’ 

फेवातालको डिलदेखि अन्नपूर्णको सिरानसम्म जुनसुकै कुना पनि पर्यटकका लागि नौलो र उत्कृष्ट गन्तव्य छन् । यसलाई सम्हाल्न सक्दा यो क्षेत्रको विकास खोज्न टाढा जानु पर्दैन । न त रोजगारीका लागि नौला नारा र चर्का भाषण आवश्यक पर्छ । ‘हरेक गाउँबाट हिमाल देखिन्छन् । जहाँ पनि होमस्टे चलाउन सकिन्छ । दिनभरि थाकेको मान्छे साँझ यसो उकालो लाग्यो भने कुनै न कुनै पर्यटकीय गाउँ पुग्छ,’ उनले भने, ‘तर ती गाउँहरू रित्ता किन भइरहेका छन् ? हामीले खोज्नुपर्ने कुरा त्यही हो जस्तो लाग्छ । यसबाट गाउँ पनि रित्तिँदैन । जमिन बाँझा हुँदैनन् र कोही बेरोजगार बस्नुपर्दैन ।’ 

घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का, नयाँपुल, बीरेठाँटी, भदौरे, सल्यान लगायत गाउँहरू बिस्तारै रित्तिएका छन् । गाउँलेले गाउँ छोड्नुमा बेरोजगारी मात्रै छैन । अधिकांश बस्तीहरू बाँदर र जङ्गली जनावरसँगको द्वन्द्व झेल्न नसकेर पनि गाउँलेहरू गाउँ छोड्न बाध्य छन् किसानहरू । ‘म चुनाव उठेको क्षेत्र कृषिका लागि पनि उस्तै प्रख्यात छ, जति पर्यटनसँग जोडिएको छ । हरेक गाउँ कुनै न कुनै उत्पादनले परिचित छन्,’ बराल भन्छन्, ‘गाउँका माहुरी उडेर विदेश गइरहेका छन् । अब उनीहरूलाई रोकेर गाउँमै मह उत्पादन गर्ने हो । आएका पर्यटकलाई खुवाउने र पैसा कमाउने । म अहिले बाटा बिजुलीका सपना भन्दा यस्ता योजनामा घोत्लिइरहेको छु ।’ 

उनले अन्नपूर्ण बेस क्याम्प र त्यहाँसम्म पुग्ने पदमार्गलाई अझै व्यवस्थित गर्ने योजना सुनाए । बिरेठाँटीबाट तिखेढुंगा हुँदै टाढापानीबाट घान्द्रुक झर्ने अर्को पदमार्गको मार्गचित्र कोरेका छन् । यहाँ केही कुण्डहरू र विशेष डाँडाहरू पर्छन् । लुम्लेबाट छिरेर तान्चोक, पुम्दीभुम्दीबाट चापाकोट, कास्कीकोट, सराङकोट हुँदै पोखरा झर्ने अर्को पदमार्ग पनि उनको नजरमा छ । यसअघि नै केही योजना चुनावी घोषणापत्र बने पनि काम अघि बढेको छैन । पुम्दीकोटको विशाल महादेव मन्दिरलाई अन्तर्राष्ट्रिय करण गर्न सके हजारौँ स्थानीयले त्यहीँबाट रोजगारी पाउन सक्ने विश्वास बराललाई छ । उनी यो मूर्ति निर्माणमा अहोरात्र खटेका व्यक्ति पनि हुन् । 

फेवातालको फेरोमा पनि फुटट्रयाक बनाउनुपर्ने उनी बताउँछन् । ‘लेकसाइड भनेपछि आजपनि मान्छेहरुले ३ किलोमिटर क्षेत्रलाई मात्रै बुझ्छन् । पुम्दीको फेदी पनि त तालको किनारमा छ । त्यो पनि लेकसाइड हो । तर त्यसले कुनै लाभ पाएको छैन,’ उनी भन्छन्, ‘प्राकृतिक श्रोतबाट प्राप्त लाभको समान उपभोग सबैले गर्न पाउनुपर्छ । फुटट्रयाक बनाइदिने भने कमसेकम पुम्दी क्षेत्रका नागरिकले पनि आफ्ना बारीमा फलेका फसल बेच्ने बाटो बन्छ ।’ राजनीतिमा लाग्दा कसैका पनि साह्रै ठूला सपना र आकाङ्क्षा हुँदैनन् । अहिले प्रधानमन्त्री र विभिन्न पदमा आशिनहरुलाई नै हेरौँ, कतिपयले यो पद अपेक्षा गरेका थिएनन् । राजनीतिक निरन्तरताले हरेक मान्छे देशको बागडोरमा पुग्छ भन्ने पुष्टि गर्न धेरै उदाहरणहरू आवश्यक छैनन् । 

बराल सानो उमेरमै आमा गुमाएर पनि समाजलाई प्रकाश दिनका लागि निरन्तर लागिरहे । जनआन्दोलनदेखि देश परिवर्तनका हरेक मुद्धाहरुमा उनले गाउँलेलाई एक कठ्ठा गरे । सडकमा झारे अनि त्यसको नेतृत्व आफैले लिए । सानै उमेरमा नेविसंघबाट राजनीति थालेका उनी अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यालयको प्रमुख सचिवका रूपमा कार्यरत छन् । करिब डेढ दशक उनले खेलकुद विकास समितिमा रहेर युवाहरूसँग नजिकिने काम गरे । उनै बराल अहिले कास्की क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ