arrow

चुनाव जित्नेमा सीता गुरुङ ढुक्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
sita-gurung-terhathum-congerss.jpg
फाइल तस्बिर

काठमाडौँ। खोसिएको प्रजातन्त्र र बहुदल प्राप्तिपश्चात् ०४८ सालमा आम चुनाव भयो। नेपाली काँग्रेसप्रति लहर देखियो। तर, पूर्वी पहाडी जिल्ला तेह्रथुममा काँग्रेस पराजित भयो। नेकपा (एमाले)का उम्मेदवार डा.विजय सुब्बा विजयी भए। उनले सानदार जित निकाले।

०५६ सालको निर्वाचनमा पनि काँग्रेसले बहुमत ल्यायो। पुनः तेह्रथुममा काँग्रेस निरीह बन्यो। उनै सुब्बा सांसद बने। काँग्रेसप्रति लहर उर्लंदा समेत जितेका सुब्बाले ०४८ र ०५६ पछि प्रत्यक्षतर्फ टिकट पाएनन्। समानुपातिकतर्फबाट संविधानसभा सदस्य बने।

सुब्बा अहिले फेरि प्रत्यक्षतर्फ मैदानमा छन्। आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। उनको प्रतिस्पर्धीका रूपमा नेपाली काँग्रेसकी सीता गुरुङ छिन्। टिकट पाएसँगै आफ्नो निर्वाचन क्षेत्र तेह्रथुम पुगेकी गुरुङ प्रचारप्रसारमा व्यस्त रहेकी बताउँछिन्। आफूले चुनाव जित्नेमा उनी ढुक्क छिन्।

४६ वर्षीया गुरुङलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि साथ रहनेछ। एमालेबाट निर्वाचनमा होमिएका ६४ वर्षीय सुब्बालाई पनि जनता समाजवादी पार्टी (जसपा)लगायत दलको साथ धेरै महत्त्वपूर्ण छ। प्रदेश नम्बर–१ को पहाडी जिल्ला तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ। विगतमा तेह्रथुमलाई वामपन्थीहरूको किल्ला मानिन्थ्यो।

विसं २०१५ सालमा काँग्रेसका तेजमान तुम्बाहाम्फेले चुनाव जितेका थिए। त्यो जितलाई फर्काउन काँग्रेसलाई पाँच दशक अर्थात् ४९ वर्ष लागेको थियो। ०६४ मा तुलसी सुब्बाले काँग्रेस विरासत फर्काएका थिए। ०५६ मा राप्रपा छोडेर स्वतन्त्र उम्मेदवार बनेका तुलसीले १२ हजार मत ल्याएका थिए। त्यो निर्वाचनपश्चात् काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई काँग्रेसमा भित्र्याए। उनैले ४९ वर्षपछि तेह्रथुममा काँग्रेसलाई जिताए। पहिलो संविधानसभा निर्वाचनमा तेह्रथुमबाट काँग्रेसका तुलसी प्रत्यक्ष र सीता गुरुङ समानुपातिकमार्फत सांसद भए।

विद्यार्थी राजनीतिबाट उदाएकी सीता दुवै पटक संविधानसभा सदस्य बनिन्। ०६४ मा गुमाएको जिल्ला एमालेले ०७० मा फर्काउँदा पनि उनको संसद् भवनको यात्रा रोकिएन। ०६४ को हारको बदला लिँदै ०७० मा एमालेका भवानी खापुङले चुनाव जिते। त्यति बेला पनि सीता काँग्रेसबाट समानुपातिकमार्फत सांसद बनिन्।

०७४ मा पनि खापुङले जिते। एमालेले माओवादी केन्द्रसँग तालमेल गरेको थियो। काँग्रेसले त्यति बेला सीतालाई प्रत्यक्षतर्फको उम्मेदवार बनायो। तर, उनी पराजित भइन्। खसेको ४४ हजार २०१ मध्ये खापुङले ५०.४४ प्रतिशत अर्थात् २१ हजार ३३५ मत ल्याएका थिए। पराजित गुरुङले ४५.६६ अर्थात् १९ हजार ३१४ मत पाएकी थिइन्। ०७४ मा एमालेका विजयी सुब्बा समानुपातिकतर्फबाट सांसद बने।

समीकरणमा गठबन्धन अगाडि
०७४ को निर्वाचनमा यहाँ कुल मतदाताको सङ्ख्या ६६ हजार ६६७ थियो। अहिले त्यो सङ्ख्या बढेर ७१ हजार ९३३ पुगेको छ। चुनावी समीकरण पनि ०७४ को जस्तो छैन। एमाले–माओवादीबिच तालमेल छैन। एमाले एक ढिक्का पनि छैन। दुई पटक निर्वाचन जितेका खापुङ अहिले एमालेमा छैनन्। उनी एमाले विभाजन भएर बनेको दल नेकपा (एकीकृत समाजवादी)मा छन्। जिल्ला राजनीतिमा पनि उनलाई कमजोर मानिन्छ। उनले एमाले छाडेबापत स्वास्थ्य मन्त्री बन्ने सौभाग्य पाए।

गएको स्थानीय तह निर्वाचनमा ६ मध्ये तीन पालिका काँग्रेसले जित्यो। काँग्रेस त्यस्तै वर्चस्व आसन्न निर्वाचनमा कायम गर्न चाहन्छ। ०७४ मा पाँच स्थानीय तह जितेको एमाले विभाजनको सङ्कट र सत्ता गठबन्धनका कारण अहिले तीन स्थानीय तहमा खुम्चिएको छ।

“एमाले पटक–पटक जित्दा जनताले कति विकासको अनुभूति गरे, त्यो देखिएको विषय हो। जनताको दुःख र विकास निर्माणको कार्यमा एमाले चुक्यो। वाम गठबन्धन भनेर भोट मागियो, तर जतनलाई पानी समेत खुवाउन सकेनन्,” काँग्रेस उम्मेदवार गुरुङले भनिन्, “अघिल्लो पटक ठूलो मार्जिनले चुनाव हारेको होइन। यस पटक त गठबन्धन पनि छ। त्यसमा पनि जनताको उत्साह छ। जनताले माया, सद्भाव दिनुभएको छ। म चुनाव जित्नेमा ढुक्क छु।”

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यहाँ गठबन्धन बलियो देखिन्छ । त्यति बेला एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २२ हजार ३१८ मत पाएका थिए। काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २३ हजार ६७७ मत ल्याएका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका वडाध्यक्षका उम्मेदवारहरूले दुई हजारको हाराहारीमा मत पाएका थिए।

पार्टी विभाजनको असर, खापुङको बहिर्गमन तथा टिकट वितरणमा असन्तुष्टि देखिएकाले एमालेभित्र भय छ। सुब्बा आफैँ पनि ०६९ मा एमाले छोडेर अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा लागेका थिए। उनी ०७१ मा एमालेमा फर्किएका हुन्। त्यसपछि नेता सुवास नेम्वाङको निकट हुँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र बन्न पुगे। उनै उम्मेदवार सुब्बा अहिले विजयी हुनेमा विश्वस्त छन्।

“चुनाव मैले नै जित्ने हो। मतदाताको प्रतिक्रिया राम्रो छ। जित्ने आधारहरू प्रशस्त छन्। पार्टीभित्र एकमना र एकताको विकास हुँदै छ। पार्टी सचेत भयो भने जित सुनिश्चित छ,” सुब्बाले भने, “गठबन्धन आफैँमा कमजोर छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)को सङ्ख्या सानो छ। गठबन्धनमा मतदाता सन्तुष्ट छैनन्। त्यसैले निर्वाचन जित्न सहज छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ