arrow

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीको प्रतिस्पर्धा रोमाञ्चक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
kailai-election.jpg

काठमाडौं । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीका पाँच वटै क्षेत्रमा बलियो चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । कैलालीमा खासगरी गठबन्धन, नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच टकराव हुने देखिन्छ ।

कैलाली १
नेकपा एमालेबाट तपेन्द्र बहादुर रावल, गठबन्धनका लागि नेपाली कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ चुनावी मैदानमा छन् । यी तीन बाहेक थप २ स्वतन्त्रसहित ८ उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा छन् ।

कैलाली १ मा स्थानीय तह निर्वाचनमा एकछत्र जित हात पारेको नागरिक उन्मुक्ति पार्टीले नै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जित हात पार्ने आंकलन गरिएको छ । 

२०७९ को गत स्थानीय तह निर्वाचन कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीले १७ हजार १ सय ९३ मत प्राप्त गरेको थियो । 

यस्तै कांग्रेसले ११ हजार ६ सय ७८, एमालेले १० हजार ३ सय २२, नेकपा एकिकृत समाजवादीले २ हजार २ सय ३२ मत र माओवादी केन्द्रले ६ हजार ९ सय ३० मत प्राप्त गरेको थियो ।

गठबन्धनकै मत जोडेर बल्लबल्ल नागरिक उन्मुक्ति पार्टीको मत नजिक पुग्ने देखिनुले नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठले यस क्षेत्रबाट जित हात पार्ने सम्भावना रहेको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले हराएर कैलाली १ बाट रेशम चौधरीले जित हात पारेका थिए । २०७२ भदौ ७ गते टीकापुर घटनामा दोषी ठहर भएपछि चौधरी अहिले कारागारमा छन् । उनकी श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष बनेर खोलेको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा छोटो समयमै बलियो पकड बनाएको छ ।

कैलाली २
नेकपा एमालेका झपट बहादुर रावल, गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवाल र नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीलाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यी बाहेक थप ६ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

कैलाली २ मा नेकपा एमालेको पकड बलियो रहेको देखिन्छ । २०७९ को गत स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने एमालेले कैलाली २ मा १७ हजार ८ सय ३४ मत प्राप्त गरेको थियो ।

नेपाली कांग्रेसले १३ हजार ८ सय २०, नेकपा एकीकृत समाजवादीले २ हजार ३ सय ६ र माओवादी केन्द्रले ८ हजार ७ सय २४ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले ५ हजार २ सय ४३ मत प्राप्त गरेको छ ।

मत परिणाम र अन्य प्रभावका विषयहरुलाई लिएर हेर्ने हो भने कैलाली २ मा मुख्य रुपमा नेकपा एमाले, गठबन्धन र नागरिक उन्मुक्तिका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।

तर गठबन्धनकाे मत जोड्दा भने बलियाे देखिएको छ ।

कैलाली ३
यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक हुने देखिएको छ । यस क्षेत्रमा पनि खासगरी नेकपा एमालेका गौरी शंकर चौधरी, गठबन्धनका लागि माओवादी केन्द्रका कृष्णकुमार चौधरी र नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ । २ स्वतन्त्रसहित अन्य पाँच जना पनि कैलाली ३ बाट चुनावी मैदानमा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले १९ हजार ९ सय ९२, नेकपा एमालेले ११ हजार  २सय ५७, माओवादी केन्द्रले ११ हजार ७ सय १६, राप्रपाले ६ हजार ६ सय ९९, नेकपा एकीकृत समाजवादीले १ हजार ९ सय ७८ र नागरिक उन्मुक्ति पार्टीले ५ हजार २ सय ४७ मत प्राप्त गरेको छ ।

गठबन्धनसँग माओवादी केन्द्र र कांग्रेसको बलियो मत हुँदा यस क्षेत्रमा गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीको जित्ने सम्भावना बलियो रहेको देखिन्छ ।

कैलाली ४
एमालेका उम्मेदवार लेखराज भट्टको निर्वाचन क्षेत्रका रुपमा चर्चामा रहेको छ । यद्यपि यहाँ भट्टलाई गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर कडा चुनौती रहेको छ ।

यी दुई प्रमुख प्रतिद्धन्द्धी बाहेक कैलाली ४ मा १ स्वतन्त्रसहित ८ उम्मेदवार प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् । गत स्थानीय तहको निर्वाचनमा कैलाली ४ मा सबैभन्दा बढी नेपाली कांग्रेसले २२ हजार ९ सय ९७ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा एमालेले २० हजार ८१, माओवादी केन्द्रले १० हजार १ सय २३ र नेकपा एकीकृत समाजवादीले ४ हजार २९ मत प्राप्त गरेको छ ।

यसरी एमाले मात्रैको मत हेर्ने हो भने लेखराज भट्टलाई चुनाव जित्न चुनौती देखिन्छ । यता गठबन्धनसँग कांग्रेस, माओवादी केन्द्र र एकीकृत समावादीको बलियो मत हुँदा वीरबहादुर बलयारलाई भने सहज जितको सम्भावना बढी छ ।

कैलाली ५
कैलाली ५ बाट नेकपा एमालेका नारदमुनि राना र गठबन्धनका लागि नेपाली कांग्रेसका डिल्लीराज पन्तको प्रमुख प्रतिस्पर्धा हुने ठानिए पनि लामो समय कांग्रेसका बलिया नेताका रुपमा रहेका पुष्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई चुनौती छ ।

पुष्करनाथ ओझालाई कांग्रेसकै मत मिल्ने सम्भावनासमेत बढी रहेका कारण यसको फाइदा एमालेलाई हुनसक्ने देखिएको हो । गत स्थानीय तहको निर्वाचनमा कैलाली ५ मा सबैभन्दा बढी नेपाली कांग्रेसले २२ हजार ७ सय ७९ मत प्राप्त गरेको थियो । यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार १ सय ७५ र नेकपा एकीकृत समाजवादीले २ हजार ९ मत प्राप्त गरेको छ ।

एमालेले कैलाली ५ मा १७ हजार ४ सय २० मत प्राप्त गरेको छ । स्वतन्त्रतर्फका पुष्कर नाथ ओझा, एमालेका नारदमुनि राना र गठबन्धनका लागि नेपाली कांग्रेसका डिल्लीराज पन्तसहित ९ जना उम्मेदवार कैलाली ५ बाट चुनावी मैदानमा छन् । यसै कारणले पनि बलियो प्रतिस्पर्धा रहने र सांगठनिक फाइदा स्वरुप एमालेलाई कैलाली ५ मा जितको सम्भावना बढी हुन सक्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ