arrow

सङ्खुवासभामा मजबुत बन्दै दीपक खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
deepak-khadka-elected-congress-president-sankhuwasabha.jpg
फाइल तस्बिर

काठमाडौँ। सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य कालागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबिच मुख्य प्रतिस्पर्धा छ।

विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन्। तर, चुनावी माहौल भने काँग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन्। गौतम नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् भने खानेपानी तथा सरसफाइ राज्यमन्त्री भइसकेका खड्का हाल काँग्रेसको जिल्ला सभापति छन्। दुवै नेता राष्ट्रिय राजनीतिमा बलियो पहुँच बनाएका नेता हुन्।

०७४ मा यहाँबाट बाम गठबन्धनका कारण गौतमले चुनाव जितेका थिए। खड्का यस पटक गौतमसँग त्यसैको बदला लिने दौडमा छन्। त्यसो त खड्का र गौतमबिच बदलाको शृङ्खला सुरु भएको ०७० देखि नै हो।

दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पटक आमनेसामने हुँदा युवा नेता खड्काले गौतमलाई पराजित गरेका थिए। तर, ०७४ मा भने उनै गौतमले पराजित गरे, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा। तर, यस पटक भने माओवादी केन्द्रको समर्थन खड्कालाई छ। खड्का गठबन्धनको बलमा चुनावी परिणाम सहजै आफ्नो पक्षमा पर्ने विश्वासमा छन्।

०७४ मा बाम गठबन्धनबाट गौतमले ३२ हजार ७६९ मत ल्याउँदा काँग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए। जबकि ०७० मा काँग्रेस, एमाले र माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धामा हुँदा काँग्रेसका खड्काले ११ हजार ५५२ मत पाएका थिए भने एमालेका गौतमले १० हजार ९७३ र माओवादी केन्द्रका राजेन्द्र किराँतीले ४ हजार २९२ मत पाएका थिए। जिल्लामा अहिले मतदाताको सङ्ख्या थपिएको छ। हाल जिल्लामा एक लाख १६ हजार ५५४ मतदाता छन्।

पाँच महिना अघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका दसमध्ये काँग्रेसले छ स्थानीय तह जितेको थियो भने एमालेले चार वटा स्थानीय तह जितेको थियो। स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धनका उम्मेदवार खड्का जित नजिक छन्।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यहाँ एमाले पहिलो दल छ। एमालेले ३२ हजार ९११ मत पाएको छ भने काँग्रेसले ३० हजार ८४९, माओवादी केन्द्रले ७ हजार १२२, नेकपा एकीकृत समाजवादीले एक हजार १०१ र जसपाले ४७१ मत पाएका छन्। यस आधारमा एमालेको भन्दा गठबन्धनको मत करिब छ हजारले अगाडि हुन जान्छ।

काँग्रेस उम्मेदवार खड्का आफूले पाँच महिना अघि स्थानीय चुनावमा पाएको मतको संरक्षण मात्रै गरे पुग्ने अवस्था रहेको बताउँछन्। ‘उम्मेदवारी दर्तापछि एक चरण गाउँ डुलिसकेको छु। यस पटक मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। फेरि म ०७४ मा पनि थोरै मतान्तरले मात्र पराजित भएको हुँ। मैले चुनाव हारे पनि मतदाताबाट टाढिएको छैन,’ उनले भने, ‘जसले जित्नुभयो, उहाँले पनि जिल्लामा राष्ट्रिय बजेट र योजना भित्राउन सक्नुभएन। उहाँप्रति एमालेमै निराशा छ। त्यसैले यस पटकलाई मलाई निकै सहज छ।’ उनले गठबन्धनका कारण समेत आफूलाई सहज हुने दाबी गरे।

खड्काले जिल्लाको विकास निर्माणलाई प्राथमिकतामा राखेर चुनावी एजेन्डा अघि सारेका छन्। ‘मतदाताको चासो विकास निर्माणकै कुरामा छ। त्यसैले चुनावी एजेन्डा पनि त्यही छन्,’ उनले भने, ‘अहिले यहाँ सबैभन्दा महत्त्वपूर्ण एजेन्डा भनेको जोगबनी–किमाथाङ्का सडक हो। यो सडक जिल्लाको विकास र समृद्धिका लागि माध्यम बन्ने अवस्था छ। भारत र चीनलाई एउटै सडकले, त्यो पनि छोटो दुरीमा जोड्न सकेको खण्डमा त्यसले हाम्रो जिल्लालाई मात्रै होइन, राष्ट्रकै आर्थिक विकासमा योगदान पुग्ने आधार खडा हुन्छ। त्यसपछि जलविद्युत उत्पादन, पर्यटन प्रवर्द्धन, कृषिको व्यवसायीकरण, स्वरोजगारीको सिर्जना र आर्थिक समृद्धि हाम्रा मूल एजेन्डाहरू हुन्।’

यता एमाले स्थायी कमिटी सदस्य एवम् सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पनि यस पटक आफैँले जित्ने दाबी गरे। ‘जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ। मैले एउटा उम्मेदवारको रूपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु। किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिको रूपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के–के काम भयो भनेर यहाँका जनताले छर्लङ्गसँग बुझेका छन्, अनुभूत गरेका छन्,’ गौतमले भने, ‘त्यसमाथि अहिलेको जुन गठबन्धन छ, त्यसमा तालमेल मिलेको छैन, सिद्धान्त मिलेको छैन। नेताले गठबन्धन गर्दैमा मतदाताको बीचमा गठबन्धन हुँदैन।’ उनले मतदाताले भने आफूसँग गठबन्धन गरेको दाबी गरे।

गौतमले समृद्ध सङ्खुवासभा निर्माणलाई प्रमुख चुनावी मुद्दा बनाएर अघि बढेको दाबी गरेका छन्। ‘हामीले गएको पाँच वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तर र पूर्णता नै अहिले मेरो चुनावी प्राथमिकताहरू हुन्,’ उनले भने, ‘यस पटक विगतमा मैले थालेका योजनाको समापनकै लागि मैले जित्ने हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ