arrow

संसद् छिरेर शासकीय र प्रशासकीय प्रणालीमा सुधार ल्याउने शर्माको अठोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
bishwa-prakash-sharma-nc-election-2079.jpg
फाइल तस्बिर

झापा। नेपाली राजनीतिमा चर्चामा रहेका विश्वप्रकाश शर्मा संसदीय अभ्यासका लागि संसद् छिर्ने तेस्रो पटक परीक्षामा छन्। २०७० र २०७४ का दुई निर्वाचनमा वामपन्थी नेतासँग प्रतिस्पर्धा गरेका विश्वप्रकाश शर्मा तेस्रो पटक नेकपा एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धामा चुनावी मैदानमा छन्। उनी यो पटक संसद् छिरेर शासकीय सुधारदेखि प्रशासकीय प्रणाली सुधार गर्ने अठोटका साथ निर्वाचन हाकी रहेका छन्। दुई पटक चुनावी मैदानमा होमिँदा मत जित्न नसके पनि सामाजिक, मानवीय तथा विकासमा खेलेको भूमिकाका कारण मन जितिरहेका शर्मा युवालाई सकारात्मक सन्देश प्रवाह गर्ने उत्प्रेरकका रूपमा पनि चिनिन्छन्।

वाक क्षमतामा अब्बल रहेका शर्माको अब संसद्मा छिरेर नेपालको प्रशासकीय प्रणालीको सुधार गर्ने लक्ष्य छ। साथै किसान, मजदुरलगायत जनताका दैनिक आवश्यकतासँग जोडिएका आधारभूत कुराहरूको सुनिश्चित गरेर विकास निर्माणका काम गर्ने उनको ध्येय छ। त्यसैका लागि तेस्रो पटक चुनावी मैदानमा छन्।

राजनीतिमा परिवर्तन र नेतृत्व पुस्तान्तरण हुनुपर्ने आवाज बुलन्द बनाउँदै आएका छन्। सोही अनुसार भावी प्रधानमन्त्रीका रूपमा शर्माले युवा नेता गगन थापालाई प्रस्ताव गर्ने सार्वजनिक गरिसकेका छन्। यो अभिव्यक्तिले शर्माभित्रको सकारात्मक सोचको उजागर गर्छ।

नेपाली काँग्रेसका महामन्त्री समेत रहेका शर्मा पार्टीभित्र र बाहिर पनि बौद्धिक नेताका रूपमा चिनिन्छन्। सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रिय उनले २०७४ को निर्वाचन पछि तत्कालीन समयमा अहिलेका शर्माका प्रतिस्पर्धी एमालेका अग्नि खरेलको क्षेत्र गौरा दह नगरपालिकाका दृष्टिबिहिन बेसहारा दाजु भाइ राम÷लक्ष्मण को आवासका लागि घर निर्माण कार्यको सुरुवात गरे। 

आफूले ११ हजार हस्तान्तरण गर्दै स्थानीयलाई स्रोत साधन जुटाएर घर पूर्ण गर्न समिति गठन गरेर जिम्मेवारी दिए। त्यसयता विपत्तिमा परेकाले पनि बास बस्न पाउनुपर्छ यो मानवीयता धर्म हो भन्ने कुरालाई आत्मसात् गर्दै आएको शर्मा कहिले आगलागी पीडित, कहिले बाढीले घर बगाएकाहरूको समेत घर निर्माणका लागि उत्प्रेरित गर्दै आएका छन्।

एक लाख २० हजार ३७५ मतदाता रहेको झापा–१ मा स्थानीय चुनावमा एमालेका वडाध्यक्षहरूले ३१ हजार २३२ मत छ भने काँग्रेसका वडाध्यक्षहरूले २४ हजार ५९ मत प्राप्त गरेका छन्।

झापा–१ मा एमाले–राप्रपा गठबन्धनसँग ३७ हजार १५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ। प्रदेश सभाको क्षेत्र ‘२’ पाएको राप्रपाबाट सविना बजगाईँ उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा पनि शर्माले काँग्रेसले स्थानीय चुनावमा प्राप्त गरेको भन्दा लगभग ९ हजार बढी मत ल्याएका थिए।

पटक पटक पराजित भए पनि मतदातासँग निरन्तर जोडिरहेका कारण यो पटक समर्थक पार्टी इतर को पनि सहानुभूति मत प्राप्त हुने बताइएको छ। २०५६ र २०६४ को चुनावबाहेक क्षेत्र नं. १ मा एमाले जित्दै आएको क्षेत्र हो। एमाले र माओवादी एक भएपछि २०७४ मा माओवादीका राम कार्की निर्वाचित भएका थिए।

स्थानीय तह निर्वाचनका क्रममा काँग्रेसभित्र मेचीनगर पालिकाको प्रमुखको टिकट वितरणमा देखिएको समस्या नै एमालेले खरेलको जितको आधार ठानेको छ। स्थानीय तहको तिक्तता अन्त्य भैसकेको काँग्रेस स्रोतको दाबी छ। जनप्रतिनिधि नहुँदै पनि विश्वप्रकाशले गरेको कामको कारण यो पटक मतदाता शर्माप्रति आकर्षित भएको काँग्रेस नेता कार्यकर्ताको भनाई छ।

पार्टीभित्रको आन्तरिक कमजोरी खोज्दै उम्मेदवार, नेता र कार्यकर्ताबिच अविश्वास उत्पन्न गराएर फाइदा लिने प्रतिपक्षी एमालेको रणनीति कति सफल हुने हो हेर्नका लागि मत परिणाम कुर्नुपर्ने हुन्छ। झापा क्षेत्र नं.–१ मा शर्मा र खरेलसहित १५ जना चुनावी प्रतिस्पर्धामा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ