arrow

मुस्ताङमा माहोल बनाउँदै सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
yogush-gauchan-nc-mustang.jpg
फाइल तस्बिर

मुस्ताङ । पुराना पुस्ताविरुद्ध हस्तक्षेप गर्नुपर्ने युवाको चाहनामा राजनीतिक दलका नेताहरू अवरोध बने पनि स्वतन्त्रबाट उम्मेदवारी दिने युवा उल्लेखनीय छन् । केही निर्वाचन क्षेत्रमा भने ठूला दलबाट नै युवाहरूलाई टिकट दिएर मत तान्ने प्रयास भएको देखिन्छ। यसको उदाहरण हो मुस्ताङ ।

मुस्ताङ कांग्रेसले २८ वर्षका योगेश गौचन थकालीलाई उम्मेदवार बनाएको छ। थकाली चुनावका लागि मुस्ताङबाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन्। उनी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका हुन्। एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायी समेत हुन्।

थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति, जिल्ला सदस्य हुँदै मुस्ताङबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।

मुस्ताङलाई व्यवसायको केन्द्र बनाएका थकालीले बाबुको राजनीतिक सहयोगी भएर पनि काम गरे। त्यसैले उनी मुस्ताङबाट काँग्रेसको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएका थिए। २०७४ को चुनावमा पराजित भएपछि उनका बाबु रोमीले विशेष परिस्थिति बाहेक चुनाव नलड्ने घोषणा गरे।

२०७० को चुनावमा रोमी विरुद्ध उनकै मामाका छोरा प्रेम तुलाचन उम्मेदवार बने। रोमी झिनो मतान्तरले जितेर संसद् प्रवेश गरे। त्यही बेला उनी वाणिज्य मन्त्री भएका थिए। त्यसअघि गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी परराष्ट्र सहायक मन्त्री भइसकेका थिए। २०७४ को चुनावमा वाम गठबन्धनबाट प्रेमलाई एमालेले उम्मेदवार बनायो भने काँग्रेसबाट पुनः रोमी बने। रोमी झिनो मतले पराजित हुन पुगे।

२०७४ को निर्वाचनमा आफ्नै बाबुलाई हराएका प्रेमविरुद्ध योगेश अहिले चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्यका लागि मुस्ताङमा अरू पनि उम्मेदवार नभएका होइनन्। तर यी दुईबिच नै मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

कान्छा उम्मेदवार गौतमले आफ्ना चुनावी एजेन्डाबारे पनि खुलाए। उनले भने, ’मुस्ताङ विश्वमै एउटा अनौठो हिमाली तर मरुभूमि हो। यहाँ पर्यटनको ठूलो सम्भावना छ। अहिले आउने पर्यटकहरूको सङ्ख्यालाई बढाएर यहाँका जनताको साथै राज्यको पनि आर्थिक आय बढाउन सक्ने देखेको छु। पर्यटन मेरो मूल मुद्दा हो।’

यता प्रेम तुलाचनको पनि चुनावी मुद्दा उस्तै छ। ’पर्यटन नै यो ठाउँको मुख्य व्यवसाय हो यसलाई अझै कसरी फराकिलो बनाउन सकिन्छ भन्ने योजनासहित चुनावमा होमिएको छु’, तुलाचनले भने।

उनीहरू दुवैले मुस्ताङमा व्यावसायिक स्याउ उत्पादनलाई बढवा दिन सङ्घ, प्रदेश र स्थानीय सरकारलाई स्पष्ट दबाब, खाका दिन उम्मेदवार बनेको बताए।

योगेशले जोमसोम–कोरला सडक सुविधासहित तत्काल सञ्चालन गर्न सरकारलाई घचघच्याइन आवश्यक रहेको पनि बताए। ’मेरो त्यस्तो ठूलो केही आश्वासन प्रतिबद्धता केही छैन। जति गर्न सकिन्छ त्यति नै भन्दै आएको छु,’ उनले भने, ’सीमामा तिब्बतले ठूला भवन, सडकको बन्दोबस्त मिलाइसक्यो हाम्रोतर्फ धुले बाटोबाहेक केही बन्न सकेको छैन। यता पनि राम्रो भौतिक संरचना बनाएर दुई देशको व्यापारिक नाकाको रूपमा विस्तार गर्न सङ्घ सरकारलाई दबाब दिन मेरो उम्मेदवारी हो।’ उनले प्रेम तुलाचनमा विगतमा गर्न नसकेका तर मुस्ताङको हितमा रहेका योजनाहरू आफूले सम्पन्न गर्ने पनि बताए।

तुलाचनले पनि विगतमा गरेका काम अधुरै रहेको र अब पूरा गर्ने आश्वासन दिए। उनीहरूले कृषि उत्पादन, स्वास्थ्य, सञ्चार, शिक्षाको पूर्वाधार तथा ग्रामीण विद्युतीकरणको काम स्थायी रूपमा गर्नै बाँकी रहेको र आफ्नो एजेन्डा त्यसैतर्फ केन्द्रित रहेको पनि बताए।

’हामीले मुस्ताङको विकासको बारेमा सडक, बिजुली, शिक्षाको कुरा त छुटाउन भएन नै,’ योगेश भन्छन्, ’हामीले सडक सञ्जाल जोडेसँगै पदमार्ग हुँदै मुस्ताङ आउनेको सङ्ख्या घट्यो पदमार्ग नै सखाप भएका छन्। अब दिगो पर्यटन विकासका लागि पदमार्गको विकास गर्नुपर्नेछ।’

मुस्ताङको विकासका लागि म्याग्दी–मुस्ताङ सडक खण्ड मुख्य रहेको छ। अहिले यो सडक निर्माणको काम भइरहेको छ।  
यसअघि रोमीले अघि बढाएका कागबेनी–कोराला सडकको काम एमालेका प्रेम तुलाचन सांसद भएसँगै बजेटकै कटौती भयो। योगेशले भने ती काटिएका ठाउँमा बजेट विनियोजन गरेर मुस्ताङको विकासमा टेवा पुर्‍याउने बाचा गरे। कृषि, पर्यटन, जडीबुटी खेतीमार्फत मुस्ताङको विकास गर्ने योजना उनले सुनाए।

युवापुस्तालाई राजनीतिमा ल्याएर स्थापित गर्न सकिएमा रूपान्तरणको मर्म र सिद्धान्त पूरा हुनेमा उनी विश्वस्त छन्।  सत्तासीन गठबन्धनबाट उम्मेदवार बनेका मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचन दुवै ४० वर्षभन्दा कम उमेरकै छन्। काँग्रेसका जिल्ला सचिव विकल पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय छन्। अर्का प्रदेशसभा सदस्यका उम्मेदवार गुरुङ पार्टीको जिल्ला सहसचिव हुन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रदेशसभा सदस्यका उम्मेदवारसहित गरेर ९ जना जना प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट काँग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचन उम्मेदवार छन्।

प्रदेशसभा (क) तर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र  गठबन्धनबाट विकल शेरचन, प्रदेश (ख) तर्फ एमालेका चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार छन्।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो। अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने काँग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो। अध्यक्ष पदमा काँग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा काँग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो। जिल्लामा १० हजार चार सय ८५ मतदाता छन्।

जिल्लाको पाँचै तहको उपाध्यक्षको मत भार तुलना गर्दा काँग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ। पाँच वटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने काँग्रेसले दुई हजार ७० मत पायो। वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ। जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन्।

प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश (ख) को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्ति क्षेत्र गाउँपालिका छन्। यहाँ स्थानीय तह निर्वाचनमा एमालले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने काँग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो। यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र काँग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो।

त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र काँग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश (ख)मा एमालेले अध्यक्ष पदमा काँग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो। मुस्ताङको प्रदेश (क) मा लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिका पर्दछन्। यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा काँग्रेससहितको गठबन्धनले छ सय ९९ मत पाएको थियो। उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो। यस्तै वडाध्यक्ष मताभरमा एमालेले नौ सय पाँच मत र काँग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो।

स्थानीय तहको मत परिणामअनुसार प्रदेश (क) मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो। उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई सय ३४ मत बढी पाएको छ। योगेशले युवाको मत आकर्षण गर्ने सम्भावना छ भने प्रेमलाई विगतको मत जोगाउने चुनौती छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ