arrow

मतदाता भन्छन्- ‘निर्वाचनपछि काम गरेर खान पाइयोस्, सुखले बाँच्न पाइयोस्’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
election-2079-final1.jpg

भरतपुर ।  आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । 

पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।  

भरतपुर महानगरपालिका-१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गरिन् । “भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उनले गुनासो गरिन् । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भनिन् । 

उनले ठेलामा मकै पोलेर परिवार पाल्दै आएकी छन् । उनले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएका थिए । “पटक-पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उनले भनिन्, “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उहाँले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउनुभयो ।

भरतपुर महानगरपालिका-११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउँछिन् । “यसअघि पटक-पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उनले भनिन् । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गरिन् । 

“महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?” उनले प्रश्न गर्दै भनिन् । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उनका श्रीमान्ले ज्याला मजदुरी गर्छन्। यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उनले बताइन् ।

भरतपुर महानगरपालिका-१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताइन् । उनी भन्छिन् “हामीलाई आश देखाएको वर्षाैँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उनले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भनिन् । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उनले भनिन्, “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” 

अटो चलाउँदै आएका भरतपुर-१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउँछन् । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उनले भने ।

भरतपुर-१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्‍याउनुपर्ने बताए । “फकाउन र प्रलोभन दिन घर-घरमा आउन सक्छन्”, उनले भने, “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।” 

दियालो टोल विकास समिति भरतपुर-१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ