arrow

दृढ र विश्वासी धनराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
dhanraj-gurung-profile.jpg

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई चिन्नेहरु अडिक र शालीन नेता मान्छन् । उनी लोभ र मोहमा फस्दैनन् । र उनले राजनीतिलाई पेशा बनाएका छैनन् । उनी आफैं पनि भन्ने गर्छन् ‘नेता बन्नु त जनताको सेवा गर्नका लागि हो । काम गर्नका लागि हो । मलाई सेवा गर्ने मौका दिनुस् ।’ 

स्याङ्जाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गुरुङ गाउँगाउँमा पुगेर सहृदयी बनिरहेका छन् । उनको सीधा प्रतिस्पर्धा नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालसँग हुँदैछ ।

राष्ट्रियताको पक्षमा अडान लिने र भ्रष्टाचार विरुद्धको सक्रियताले निकै लोकप्रिय रहेका गुरुङ र अर्यालबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रतिस्पर्धामा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत साना दल तथा स्वतन्त्र उम्मेदवार भए पनि अन्यको भन्दा उनीहरुको बढी चर्चा देखिएको छ । 

कांग्रेसको १४ औँ महाधिवेशनबाट उपसभापति बनेका गुरुङका लागि संसदीय चुनावमा यो पहिलो प्रतिस्पर्धा हो । २०६४ र २०७० सालको संविधान सभामा गुरुङ समानुपातिकबाट संविधान सभा सदस्य बनेका थिए । 

कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ समानुपातिकको बन्दसूचीमा बसेपछि गुरुङलाई टिकट पाउन मेहनत गर्नु परेन भने जितका लागि पनि सहज देखिएको छ । 

एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल २०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेसका नेता एवम् त्यतिबेलाका बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चामा आएकी थिइन् । 

उनी केपी ओली नेतृत्वको सरकारमा भूमि सुधार र कृषि तथा पशुपक्षी मन्त्री बनेकी थिइन । पद्मा भूमिसुधार मन्त्री रहेको समयमा नेपालको नयाँ (चुच्चे) नक्सा जारी भएको थियो भने सगरमाथाको उचाइ पनि नापिएको थियो । 

उनले यही विषयलाई चुनावी मुद्धा बनाएकी छिन् । तर उनीमाथि मन्त्री हुँदा जिल्लाको विकासमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अर्यालको आलोचना हुने गरेपछि त्यसको प्रतिरक्षा गर्न सकेकी छैनन् । 

त्यतिमात्र हैन उनी गुठी विधेयकमा पनि नराम्रोसँग फसेकी थिइन् । 
गत वर्षको मंसिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनबाट अर्याल एमाले सचिव बनेकी थिइन् । 

विगतमा स्याङ्जालाई कांग्रेसको गढ मानिएको भए पनि एमाले र माओवादीबीच चुनावी गठबन्धन भएपछि एमालेको तर्फबाट अर्यालले जितेकी थिइन् । 

कांग्रेसको गढमा २०७४ सालको चुनावमा एमालेले जित निकालेको थियो । तर अहिले गुरुङलाई पुरानो विरासतलाई फर्काउन धेरै मेहनत गर्नु नपर्ने बताइन्छ । 

०७४ मा अर्यालले ३५ हजार एक सय ४२ मत प्राप्त गर्दा गोपालमान श्रेष्ठले ३१ हजार चार सय ३६ मत प्राप्त गरेका थिए । 

संघीय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङले आफू नेपाली जनताको भरिया बन्न चाहेको बताएका छन् । जनताको दुखसुःखको भरिया बनेर हिँड्न चाहेको बताउँदै चुनावमा खटिएका छन् । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घरदैलो र चुनावी सभामा व्यस्त रहेका गुरुङले मुलुक र स्याङ्जालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै अघि बढ्दा स्याङजाली जनाताको साथ पाइरहेका छन् । 

जनताको अवस्था बदल्न र उज्यालो मुलुक बनाउन भष्ट्र प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा गुरुङको छ । गुरुङको यो सक्रियतासँगै २०७९ सालसम्म आइपुग्दा पाँच वर्षअघिको समीकरणमा फेरबदल भएको छ । 

एमाले विभाजनको असर यस क्षेत्रमा पनि देखिएको छ । पालिका चुनावको मत परिणामअनुसार स्याङ्जामा एमाले दोस्रो स्थानमा छ । पद्मा अर्यालकै जन्मथलो वालिङ नगरपालिका १४ मा अहिले समाजवादीको पकड राम्रो छ । 

यो वडामा कांग्रेसले वडाध्यक्ष र चार वटै सदस्य जित हात पारेको थियो । कांग्रेसबाट वडाध्यक्ष जितेका राजु कुँवरले झन्डै आठ सय मतान्तरले एमालेबाट वडाध्यक्षका उम्मेदवार कृष्ण डुम्रेलाई हराएका थिए ।  

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा वडा तहको मतको आधारमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार आठ सय ६ मत पाउँदा एमालेले ३४ हजार आठ सय नौ मत पाएको छ । 

माओवादीको एक हजार दुई सय ४३ र राप्रपाको पाँच सय ११ र नेकपा समाजवादीको एक हजार दुई सय ३३ मत रहेको छ । 

यो हिसाबमा हेर्दा गठबन्धनका उम्मेदवार अर्थात् कांग्रेसका धनराज गुरुङ अगाडि छन् । अर्याल आफ्नो जित दोहोर्याउने दाउमा भए पनि उनको मत नै फरक रहेको छ ।  

धनराज इतिहास रच्ने किसिमले अघि बढेका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेकपा एसको मत निर्णायक रहेको छ । 

सत्ता गठबन्धनकातर्फ हुँदा पालिका चुनावमा जिल्लामा गरेको सशक्त प्रदर्शन र कांग्रेसको हाराहारी मत रहे पनि चुनाव जित्नका लागि अर्याललाई कठिन रहेको छ । क्षेत्र नं २ मा एक लाख १६ हजार छ सय ७८ जना मतदाता रहेका छन् ।

कांग्रेसका उम्मेदवार गुरुङ्ले स्याङ्जाको लाइफ लाइन सिद्धार्थ राजमार्ग भएको बताउँदै आएका छन् । उनले सिद्धार्थ राजमार्ग विस्तार सहितको योजना लिएर आफू उम्मेदवार बनेको बताएका छन् ।

पोखरा—सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत झण्डै ८२ किलोमिटर सडक स्याङ्जा जिल्लामा पर्दछ । साँघुरो र घुमाउरो राजमार्गका कारण यहाँ अपेक्षित बस्ती  एवं उद्योग, कलकारखाना छैनन् ।

ठूला उद्योग कलकारखाना जिल्लामै छैनन् । जसका कारण रोजगारसहित शिक्षा लगायतका अन्य सेवाका लागि जिल्लाबासी अन्यत्र सुविधासम्पन्न शहरमा धाउनुपर्ने वाध्यता छ । 

‘अब मुग्लिन– नारायणघाटजस्तो राजमार्ग बनाउनुछ,’ गुरुङले भने । उम्मेदवार गुरुङले पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्गका दायाँबायाँ रहेका बस्तीलाई सुरक्षित एवं उपयुक्त तरिकाले व्यवस्थापन गरी राजमार्गलाई डबल लेनको बाटो बनाएर देखाउने प्रतिवद्धता समेत जनाएका छन् ।

‘मैले सिद्धार्थ राजमार्ग विस्तारका लागि राष्ट्रिय योजना आयोगमा कुरा गर्दा उहाँहरुले डबल लेन बनाउन सकिने सल्लाह दिनुभयो, अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढिसकेको छ,’ गुरुङले भने । 

उता अर्याल पनि कम छैनन् । अर्यालले पनि सिद्धार्थ राजमार्ग देखाएरै मत मागिरहेकी छिन् । तर उनले मन्त्री हुँदा स्याङ्जालाई गरेको व्यवहारप्रति उनकै कार्यकर्ता रुष्ट भएको बताइन्छ । 

यसरी हेर्दा पनि गुरुङ सेफ जोनमा छन् भने पद्मालाई जित सुरक्षित गर्न नसकिने भयले सताएको बुझिन्छ । यद्यपि उनले आफू बलियो रहेको दाबी गर्दैै आएकी छिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ