arrow

बाग्लुङमा डिल्लीराम सुवेदीको बलियो प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
delhiram-subedi-baglung-congress.jpg

काठमाडौं । मंसिर ४ को निर्वाचन नजिकिदै जाँदा बाग्लुङ १ (ख) को चुनावी सरगर्मी बढेको छ । कांग्रेसका युवा नेता प्रखर बक्ता डिल्लीराम सुवेदी र कांग्रेस त्यागेर एमाले प्रवेश गरेका नवराज पौडेलबीचको प्रतिस्पर्धाले यहाँको चुनावी माहोल तातेको हो ।

कलिलो उमेरमै कांग्रेसको केन्द्रीय राजनीतिमा उक्लिएका लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार सुवेदीले क्षेत्रको विकासका लागि महत्वकांक्षी र दिगो योजनाहरु अघि सारेर एमालेका पौडेललाई चुनौती दिइरहेका छन् । 

पौडेलले पनि कांग्रेसकै मत तान्ने र एमालेको सैद्धान्तिक मत लिएर विजयी हुने लक्ष्यका साथ रणनीति बनाएर अघि बढेका छन् । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) का अध्यक्ष साथै नेविसंघको केन्द्रीय उपाध्यक्ष समेत भइसकेका सुवेदी बौद्धिक र तर्कशील युवा नेताको पहिचान बनाइसकेका छन् । 

उनी कांग्रेसको रणनीतिक योजना बनाउने प्रमुख भूमिकामा रहेर काम गरिसकेकाले आफ्नो क्षेत्रको विकासका लागि अब्बल सावित भएको दावी गरिरहेका छन् । 

काठमाडौंस्थित शिक्षा क्याम्पसको स्ववियू सभापति भइसकेका सुवेदी विद्यार्थी आन्दोलनको हरेक मोर्चाको अग्रस्थानमा रहँदै आएका छन् ।

एमालेका पौडेलले पनि लोकप्रिय नारासहित मतदाता रिझाउने प्रयास गरिरहेका छन् । तर दल अदलबदल गरेका कारण उनको राजनीतिक क्रियाकलापप्रति मतदाताले प्रश्न उठाइरहेका छन् ।

कांग्रेस त्यागेर एमाले प्रवेश गरेका पौडेल गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । पौडेलसँगै सुवेदी पनि गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।

पौडेल कांग्रेसका निवर्तमान जिल्ला सचिवसमेत हुन् । तर दल परिवर्तन गर्दा उनको लोकप्रियता र अपेक्षामा कमी आएको मतदाताहरुको भनाइ छ ।

कांग्रेसका सुवेदीले राजनीतिलाई सफा गर्न युवा अनुहारहरु सदन प्रवेश गर्नुपर्ने बताउँदै आएका छन् । 

उनले भने, ‘राजनीतिले झगडा गराउने, घृणा फैलाउने मात्रै नभएर जनतामा प्रेम, सद्भाव र एकता कायम गर्ने सुत्रधारका रुपमा भूमिका खेल्नुपर्छ ।’ 

एमालेबाट संविधानको हत्या भइसकेकाले लोकतान्त्रिक–बाम गठबन्धनको प्रयासमा मात्र संविधान रक्षा गर्न सकिने र गाउँको विकास गर्न सकिने प्रतिबद्धता सुवेदीले मतदातासँग राख्दै आएको प्रतिक्रिया दिए । 

अब्बल एजेन्डा
हुनत प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारहरुले उठाएका मुद्दाहरु प्रभावकारी भएको दाबी गरिरहेका छन् । सबैले लोकप्रिय र महत्वकांक्षी योजनाहरु मतदाताहरुलाई सुनाइरहेका छन् । 

तर गठबन्धनका साझा उम्मेदवार सुवेदीले बाग्लुङको विकासका लागि दिर्घकालिन योजनाहरु अघि सारेको बताउँछन् । कालीगण्डकीको शिरदेखि तिरसम्म र पाखादेखि भीरसम्म संभावना नै संभावना भएकाले त्यसको पहिचानलाई प्रमुख प्राथमिकतामा राखेको उनले बताए । उनले आफ्नो क्षेत्रको विकासका लागि २० बर्षीय योजना अघि सारेको जानकारी दिए । 

‘म तथ्य र तथ्यांकमा काम गर्नुपर्छ भन्छु । कुशल रणनीति र जनजीविकासँग जोडिएका मुद्दामा काम गर्ने व्यक्ति हुँ । सोही अनुसारका मुद्दा अघि सारेको छु,’ उनले भने, ‘गफले गाउँको मुहार फेरिँदैन । केन्द्रमा प्रभाव र क्षेत्रमा इमान्दारका साथ काम गर्न सकिएन जनमतको अपमान हुन्छ, त्यसैले जनमतको कदर गर्न मेरो शसक्त भूमिका रहन्छ ।’

सुवेदीले हरेक वर्ग र समुदायको आवाज बुलन्द गर्ने नीति निर्माण गर्न र समुदायको विकासकै निम्ती आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । उनले युवा, विद्यार्थी, महिला सबैको प्रतिनिधित्व गर्दै प्रदेश सरकारको नीति बनाउन आफू उम्मेदवार रहेकाले मत दिन आग्रह गरे ।

शिक्षा, स्वास्थ्य, रोजगारी र विकास आफ्नो मूल उद्देश्य भएकाले सोही अनुसारका मुद्दाहरु आफूले अघि सारेको बताए । अल्मलिएका योजनाहरु अघि बढाउने र मानवीय आवश्यक्ताहरुलाई पूर्ति गर्ने योजना आफूसँग रहेको उनले सुनाए ।
उनले ‘बरेङ, बलेवा, जैमिनीः समुन्नती र विकासमा अग्रणी’ नारा नै बनाएर घरदैलो गरिरहेका छन् । त्यस्तै एमालेका पौडेलका मुद्दा पनि जनजीविकासँग सम्बन्धित रहेको दाबी गर्दै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेशनका सहवीर थापाले पनि उस्तै एजेन्डाहरु अघि सारेका छन् । 

चुनावी अंकगणित
४६ हजार ८६ मतदाता रहेको सो निर्वाचन क्षेत्रको प्रदेश सभा(ख)मा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं १२, १३ र १४ पर्छन् । बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार छन् । 

गत निर्वाचनमा दुई प्रदेशसभा जितेको जनमोर्चाले यसपटक एउटा प्रतिनिधिसभा जितेर शाख जोगाउने अभियानमा छ । गठबन्धन एकढिक्का भएपछि परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छ । तर एमालेका डा. सूर्यप्रसाद पाठकले पनि मतदाता रिझाउन कम्मर कसेर लागेका छन् । 

क्षेत्र नम्बर १ मा चार पालिकामा ३७ वडा छन् । गत स्थानीय तहको मत परिणामलाई हेर्दा गठबन्धनले ३७ वडामध्ये २९ वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने आठ वडामा मात्रै एमालेका उम्मेदवारले जित हासिल गरेका थिए । 

गठबन्धनका दलमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले १९ वडा, माओवादी केन्द्रले तीन वडा, एकीकृत समाजवादीले तीन वडा र राष्ट्रिय जनमोर्चाले चार वडा जितेका थिए ।

गठबन्धनले ३१ हजार ६३७ मत पाएको थियो भने नेकपा एमालेले २२ हजार ३७६ मत पाएको थियो । यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २६१ मतले अगाडि देखिन्छ । बाग्लुङमा दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र छन् ।
 
उक्त क्षेत्रमा नेपाली कांग्रेस र जनमोर्चाको बलियो प्रभाव छ । यसअघिका चुनावमा कांग्रेस र जनमोर्चाले नै आलोपालो परिणाम आफ्नो पक्षमा पार्दै आएका छन् । 

बागी उम्मेदवारले पनि गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गरिसकेको अवस्था छ । एमालेले पनि संगठन विस्तारलाई तिब्रता दिइरहेको छ । 

तुलनात्मक रुपमा बाग्लुङ क्षेत्र नम्बर १ र दुवै प्रदेश सभामा गठबन्धनले बलियो उपस्थिति देखाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ