arrow

‘सुगम इलाम’ योजनाले मजबुत बन्दै गोविन्द गिरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
govinda-giri-ilam-congress.jpg

काठमाडौं । मंसिर ४ को निर्वाचनका कारण इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेस सभापति डम्बर खड्काले संविधान सभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्बाङलाई दिइरहेको चुनौतीका कारण इलाम २ बढी चर्चामा छ ।

पाँचौं जितको खोजीमा रहेका नेम्बाङका लागि संसदमा ‘डेब्यु’ गर्ने प्रयासमा रहेका खड्का भारी बनिरहेका छन् । खड्काको साथमा रहेका प्रदेश सभाका अनुभवी र युवा अनुहार नेम्बाङका लागि थप चुनौतीका रुपमा मैदानमा छन् । 

त्यस्तै इलाम क्षेत्र नम्बर २ (क) बाट कांग्रेसका पूर्वक्षेत्रीय सभापति तथा शिक्षासेवी गोविन्द गिरी मैदानमा उत्रिदा मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार सकसमा छन् । 

प्रदेश सभा (क) मा गिरीसँग जिल्ला समन्वय समितिको प्रमुख भइसकेका एमालेका गणेशप्रसाद बराल प्रतिस्पर्धामा छन् । बरालले पनि आफ्नो क्षेत्रको विकासका लागि महत्वकांक्षी योजनाहरु बनाएर घरदैलो गरिरहेका छन् । 

तर गिरीले इलाम नाममा सुगम भनेर चिनिएको भए पनि विकासका हिसाबले अझै दुर्गम रहेको भन्दै ‘सुगम इलाम’ बनाउन, संविधान र लोकतन्त्रको रक्षा गर्न उम्मेदवारी दिएको बताएका छन् ।

आफ्नो क्षेत्रको जितपुर माध्यमिक विद्यालयको अध्यक्ष हुँदा नमूना विद्यालय स्थापना गरेर भिन्न छाप बनाएका गिरीले लोकतन्त्र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण तथा मुलुकमा सुशासन कायम गर्न गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दै घरदैलो गरिरहेका छन् । 

२०३६ सालबाट नै राजनीतिमा लागेका गिरी पार्टीको तत्कालीन जितपुर गाविस इकाइ सभापति, क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति सदस्य साथै महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

गिरी र बरालबीचको प्रतिस्पर्धा यस हिसाबले पनि रोचक छ कि दुवै उम्मेदवार एउटै गाउँका हुन् । गिरी अधिकांश समय गाउँमै बिताउँछन् भने बराल सदरमुकाम केन्द्रीत छन् । 

सामाजिक काममासमेत सक्रिय गिरीका लागि आफ्नो क्षेत्रको निकै महत्वाकांक्षी र दीर्घकालीन मानिएको योजना मंगलबारे–जितपुर–दानाबारी–विर्तामोड फास्टट्रयाक निर्माणमा नेतृत्वदायी भूमिका खेलेकोमात्र होइन शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि स्मरणीय काम गरेकाले मतदाताहरुले न्याय गर्नेमा अधिवक्ता एवं युवा नेता समीप घिमिरे विश्वस्त छन् । 

उनी भन्छन्, ‘सालीन, भद्र र इमान्दार गिरी सर क्षेत्र नम्बर २ का मतदाताका लागि प्रिय हुनुहुन्छ । सम्भवतः सबै मतदाताको सुख दुःखमा प्रत्यक्ष जोडिनु भएकाले विजयी हुनेमा आशावादी छौं ।’

गिरीले पनि धेरै मुद्दा अघि बढाएका छैनन् । दैनिक जनजीवनसँग जोडिएका आधारभूत आवश्यकता पूर्तिका साथै गाउँ र सहरी क्षेत्रको समानान्तर विकासका लागि आफ्नो मुख्य मुद्दा भएको बताउँछन् । ‘कार्यान्वयन गर्न नसक्ने लोकप्रिय र महत्वकांक्षी मुद्दा भन्दा पाँच वर्षभित्रमा आरामले कार्यान्वयन गर्न सकिने सिमित मुद्दा मैले अघि बढाएको छु,’ उनले भने ।

इलाम जिल्लामा १० पालिकामध्ये दुई नगरपालिका र तीन गाउँपालिका क्षेत्र नम्बर २ मा पर्छन् । गत स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकाको मेयर–उपमेयर नै जितेको थियो भने एमाले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो ।

यस्तै, चलाचुली गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । फाकफोक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो ।

गत स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा एमालेभन्दा कांग्रेस अगाडि देखिएको छ । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ नम्बर वडा, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्दछन् । 

इलाम नगरपालिकामा नेपाली कांग्रेसका मेयरको मत १३ हजार १६५ छ भने एमालेले १० हजार ५८७ मत ल्याएको छ । देउमाईमा एमालेले ८ हजार ६२२ मत ल्याउँदा कांग्रेस ७ हजार ६२२ मत ल्याएर दोस्रो भएको छ । 

माङसेबुङ गाउँपालिकामा एमालेले ३ हजार ८९८ मत ल्याउँदा कांग्रेसले ३ हजार ४९५ मत पाएको छ ।

फाकफोकथुम गाउँपालिका र माइ नगरपालिकामा एमालेको मत अगाडि देखिन्छ । फाकफोकथुममा एमालेले ५ हजार ३२२ मत ल्याउँदा कांग्रेसले ४ हजार ८२१ मत ल्याएको छ । चुलाचुली गाउँपालिकामा भने करिब तीन हजार मतले कांग्रेस अगाडि छ । 

माई नगरमा एमाले थोरै मतले अगाडि छ । सबै पालिकाहरुको मत हेर्दा गठबन्धन चार हजार बढी मतले अगाडि देखिन्छ । तर स्थानीय तह निर्वाचनको मत परिणामलाई हेरेर संघीय चुनावको विश्लेषण गर्न नसकिने स्थानीयको दाबी छ ।

इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता छन् ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ