arrow

चुनाव लड्न योजना आयोग छोडेका डा. पौडेल जित्नेमा ढुक्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
bishwo-poudel-planning-commission.jpg

चितवन । ‘तपाईँले देखेको सपना र मैले देखेको सपना एउटै हो, आगामी मङ्सिर ४ त्यो सपना पूरा गर्ने दिन हो,’ चितवन क्षेत्र नम्बर १ मा गठबन्धनबाट कांग्रेस उम्मेदवार डा. विश्व पौडेलको नारा हो। अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा पिएचडी गरेका पौडेलले जनताका घर घरमा पुगेर विकास र समृद्धि नै आफ्नो सपना भएको बताउने गरेका छन्। जनताले विकास चाहेका छन्, शिक्षा, स्वास्थ्य र रोजगारी र राम्रो पूर्वाधारको सपना देखेका छन्, त्यही सपनालाई साकार पार्न म जनतामाझ आएको हुँ, पौडेलले भने।

गएको शनिवार सत्ता गठबन्धनको चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा विकास बुझेको विद्वान् मान्छे डा. विश्व पौडेललाई पठाएको बताउँदै चुनाव जिताउन आग्रह गरे। त्यसले पौडेलका लागि चितवनमा सकारात्मक माहोल थपिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका पौडेल जनताको नजिक बसेर सेवा गर्ने मनसायका साथ निर्वाचनमा होमिएको बताउँछन्। जनतालाई सुविधा हुने गरी कानून र नीति बनाउने ठाउँ संसद् हो, त्यसैले संसद्मा गएर ती काममा लाग्नेछु।

यसअघि राष्ट्रिय योजना आयोगमा बसेका धेरै व्यक्तित्वहरू चुनावमार्फत संसद्मा गएको स्मरण गर्दै पौडेल राजनीतिमा आफ्नो संलग्नता स्वाभाविक भएको बताउँछन्।

प्रभावशाली युवा अर्थशास्त्री पौडेललाई धरैले भावी अर्थमन्त्रीका रूपमा समेत प्रक्षेपण गरेका छन्। तर, उनी आफैँ भने आफूलाई त्यस रूपमा चित्रित गर्न चाहँदैनन्। भोलिका दिनमा पार्टीले दिएको जिम्मेवारी वहन गर्ने हो तर अहिले मेरो एक मात्रै उद्देश्य संसद्मा जानु हो, उनले भने।

पूर्वी चितवन विकासमा पश्चिम चितवनभन्दा धेरै पछाडि परेको उनी बताउँछन्। विगतमा नेतृत्व गर्नेहरूले राम्रोसँग जनताको काम नगर्दा पूर्वी चितवन पछाडि परेको दाबी गर्दछन्। उनको सीधा सङ्केत नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेप्रति छ। सो क्षेत्रबाट यसअघि पाण्डे निर्वाचित भएका थिए। पौडेललाई सत्ता गठबन्धनबाट कांग्रेससहित नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थन छ। पौडेलका लागि प्रतिस्पर्धी पनि कडा भएकाले नयाँ जोस र जाँगर बाकेर चुनावी मैदानमा होमिएका पौडेलका लागि जित निकाल्न निकै कठिन छ । 

चुनाव प्राविधिक विषय मात्रै नभएर जनताका घर घरमा पुग्नु पर्ने जनताका कुरा सुन्नु पर्ने अर्को ठूलो चुनौती रहेको छ। ‘अहिले म घर घरमा जनतासँग हातेमालोमा छु,’ पौडेलले भने।

कांग्रेसका बागी उम्मेदवार बनेर फिर्ता लिएका राजेन्द्र बुर्लाकोटीलाई विश्वासमा लिएर चुनावी प्रचारमा  मैदान होमिएका पौडेल चुनाव जित्ने कुरामा ढुक्क छन्। ‘चितवनले नयाँ अनुहार र विकास खोजेको छ, म अर्थ र विकास दुवैमा जानकार छु, चितवनका जनताले विश्वास गर्ने आशा छ,’ पौडेलले भने।  

पश्चिम चितवनमा शिक्षा, स्वास्थ्य क्षेत्रमा त पूर्वभन्दा अघि थियो नै। पर्यटनमा समेत पूर्वी  चितवनको सौराहालाई पश्चिम चितवनले पछि पार्न लागेकोमा पौडेल चिन्तित छन्। पूर्वाधारमा मात्रै होइन, यी क्षेत्रको विकासका लागिसमेत आफूले पूर्वी चितवनको नारा अगाडि सारेको पौडेल बताउँछन्।

पौडेललाई कति सहज?
लगातार सांसद बन्दै आएका नेकपा एमालेबाट पूर्व अर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे र नयाँ अनुहार भन्दै चितवनमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हरि ढकाल पौडेलकै क्षेत्रमा उम्मेदवार छन्। पौडेलका लागि ढकालको माहोल पनि टाउको दुखाइ बनेको छ। तर पनि अहिले जनताले बिस्तारै आफ्ना बारेमा बुझ्न थालेकाले पछिल्ला दिनहरूमा केही सहज हुँदै गएको पौडेल बताउँछन्।

राजनीतिक रूपमा सुरेन्द्र पाण्डे शालीन र नेकपा एमालेभित्रका बौद्धिक छवि बनाएका नेतामा पर्दछन्। सोही कारण पनि पौडेलका लागि मैदान सहज भने छैन। पाण्डेले अघिल्लो पटक भारी मतसहित चितवन १ बाट विजयीसमेत भएका थिए। पूर्व अर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुवै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति भएकाले धेरैको ध्यान चितवन १ मा केन्द्रित छ।  

यसअघिको निर्वाचनमा पाण्डेले कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई करिब १६ हजार मतान्तरले पराजित गरेका थिए। त्यस बेला माओवादी र एमालेबीच गठबन्धन भएको थियो। तर, यस पटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मात्रै होइन एमाले पनि विभाजित भएको अवस्था छ। प्रदेशसभामा नेकपा समाजवादीका उम्मेदवारसमेतको साथ लिएर उनी हिँडेका छन्।

पूर्वी चितवनका तीन नगरपालिकामध्ये एउटा राप्ती नगरपालिकामा नेकपा समाजवादीले मेयरमा जितेको छ। बाँकी दुई नगरपालिकाहरू रत्नतगर र खैरहनीमा कांग्रेसले जितेको छ। यसअघि यी तीन वटै नगरपालिका एमालेले जितेको थियो। त्यसैले पनि पौडेल जीतप्रति निकै आशावादी छन्। पूर्वी चितवनका जनताले तीन वटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरी परिवर्तनको थालनी गरेका छन्, यो अभियानलाई बीचमै रोक्नुहुँदैन। त्यसैले संसदीय निर्वाचनमा मलाई जिताएर त्यसलाई पूरा गर्नेछन्, आत्मविश्वासका साथ पौडेलले भने।

विगतमा स्थानीय नेतासँग मात्रै प्रतिस्पर्धा गरेका पाण्डे यतिबेला योजना आयोगको उपाध्यक्ष बनिसकेका व्यक्तिसँगको प्रतिस्पर्धामा छन्।
पौडेलले योजना आयोगमा रहँदा नै धेरै योजनाहरू चितवनमा लगेका  कारण पनि प्रतिस्पर्धा रोमाञ्चक हुने देखिन्छ। योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर प्रतिनिधिसभाको उम्मेदवार बनेका डा। पौडेल पूर्व अर्थमन्त्री पाण्डेमाथि भारी पर्नसक्ने आङ्कलन पनि गरिएको छ।

आयोग उपाध्यक्षको पद सम्हालेपछि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका पौडेलले चालु आर्थिक वर्षको बजेटमा पनि चितवन केन्द्रित ठुलै योजनाहरू सुरु गराएका छन्। पौडेलले चितवनको विकास गर्न काठमाडौं–चित्लाङ–चितवन द्रुतमार्गको योजना मात्रै होइन सुरुङ मार्ग निर्माण बजेटमा नै समावेश गरेका छन्। १४ महिना उपाध्यक्ष हुँदा खानेपानी सडक पूर्वाधार, ग्रामीण विद्युतीकरणमा विशेष जोड दिएको बताउँदै आएका छन्। सुरुङ मार्ग, नारायणी र त्रिशूलीको वैकल्पिक सडक निर्माणको योजनासमेत पौडेलले अगाडि सारेका छन्।  

‘मेरो प्रतिस्पर्धी सुरेन्द्र पाण्डे विगत १० वर्षदेखि सांसद भएर काम गर्नु भएकोले अहिले पूर्वी चितवन नयाँ अनुहार खाजेको छ,’ पौडेलले भने। अहिले चितवनको पश्चिमभन्दा पूर्व चितवन पछाडि परेकोले पनि जनताले नयाँ विकास प्रेमी सांसद खोजेको पौडेलको बुझाई छ।  ‘म संसद्मा गएँ भने विकासको आवाज केन्द्रसम्म र सरकारसम्म पुर्‍याउने काममा तल्लीन हुने छु, मेरो विज्ञता पनि यसमै छ,’ पौडेलले भने। सांसदहरूको काम कानून निर्माण गर्ने र जनताको समस्या समाधान गर्ने भएकोले योजना निर्माण सोही ढङ्गले गर्नेसमेत पौडेलले बताए।

पौडेल सन् २०२० नोभेम्बरदेखि जुलाई २०२१ सम्म इन्नोभेटिभ इन्भेष्टमेन्ट कन्सल्टिङ ग्रुपको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। काठमाडौं युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रूपमा साँढे ३ वर्ष र ५ वर्ष ५ महिना असिस्ट्यान्ट प्रोफेसरका रूपमा काम गरेका छन्। यस्तै, सन् २०१८ देखि २०२० सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा इकोनोमिक एडभाइजरका रूपमा काम गरेका छन्। यसै गरी, सन् २०१२ देखि २०१५ सम्म विश्व बैङ्कमा परामर्शदाताको काम गरेको अनुभव पनि उनीसँग छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ