arrow

कपिलवस्तु ३ मा अभिषेकप्रताप कतिको बलियो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
abhishek-prt-shah-pic.jpg

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ मा यस पटक गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह चुनावी मैदानमा उत्रेका छन्। उनका मुख्य प्रतिस्पर्धी हुन् एमालेका मङ्गलप्रसाद गुप्ता। यसो त यस क्षेत्रमा जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्र, जनमत पार्टीका नरसिंह चौधरी र राप्रपाका प्रकाश रजौरिया पनि प्रतिस्पर्धामा छन्।

यद्यपि कांग्रेसका शाह र एमालेका मङ्गलप्रसाद गुप्ताबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका शाहले यसअघि यस क्षेत्रबाट तीन पटक प्रतिनिधित्व गरिसकेका छन्।

२०६४ र २०७० सालमा सङ्घीय समाजवादीबाट संसद छिरेका उनी २०७४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा छिरेका थिए। २०७४ को निर्वाचनमा शाहले २० हजार १ मत ल्याएका थिए। प्रतिस्पर्धीलाई ५ हजार मतान्तरले जितेका थिए। गुप्ताले १५ हजार ८२६, मिश्रले १४ हजार ३३० र चौधरीले ४ हजार ९८७ मत पाएका थिए।

यस पटक पनि आफ्नो जित सुनिश्चित भएको बताउँछन् शाह। ’लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर छ,’ शाहले भने, ’लोकतान्त्रिक वाम गठबन्धनलाई जिताउन अनुरोध गर्दै घरदैलो पुगेको छु।’ आफूले अघिल्ला कार्यकालमा पनि विकास गरेको दाबी गर्दै थप विकासका लागि पुन जिताउन आग्रह गरे शाहले। ’गठबन्धनको सरकारले जनताको समस्याको समाधान गर्नेछ। हाम्रो सरकार बनेपछि विकास ल्याउन पनि सजिलो हुन्छ,’ उनले भने।

एमालेका गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए। लामो समय कपिलवस्तुमा राजनीति गरेका गुप्ता कांग्रेस, तमलोपा, जसपाबाट पनि चुनावी प्रतिस्पर्धामा उत्रेका थिए।

२०४७ र २०५६ मा कांग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा जसपाबाट लडेका थिए। छोराबुहारी अमेरिकामा रहेका गुप्ता बेलाबखर अमेरिका जाने आउने गर्दछन्। सोमवार मात्र गठबन्धनले वहादुरगंजमा आयोजना गरेको चुनावी सभामा कांग्रेस उम्मेदवार शाहले अमेरिका पलायन भएका उम्मेदवार फेरि चुनावी मैदानमा आएको आरोप लगाए। शाहले गुप्तालाई जनताले फेरि अमेरिका पठाइदिने तर्क गरे। यता गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर प्रतिस्पर्धामा उत्रेका मिश्र यस पटक आफ्नै पार्टीबाट उम्मेदवार बनेका छन्। 

यस क्षेत्रको प्रदेश सभा क मा गठबन्धनकातर्फबाट माओवादीका एहसान अहमद खान उम्मेदवार छन्। एमालेले प्रदेश सदस्य भइसकेका अर्जुनकुमार केसीलाई प्रतिस्पर्धामा उतारेको छ भने लोसपाका रवीदत्त मिश्रको उम्मेदवारी परेको छ। प्रदेश ख मा गठबन्धनकातर्फबाट कांग्रेसका वीरेन्द्रकुमार कनोडिया, जनता प्रगतिशील पार्टीका मिर्जा राशिद वेग र राप्रपाबाट जानकी यादवबीचवीच प्रतिस्पर्धा हुने देखिएको छ।

स्थानीय निर्वाचन अनुसार को बलियो?
गत स्थानीय निर्वाचनमा वडा अध्यक्षले पाएको मतअनुसार सत्ता गठबन्धन बलियो देखिन्छ। कांग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा २२ हजार ७७५ पुग्छ। त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीको ४ हजार ६७५, नेकपा एकीकृत समाजवादीको एक हजार ९८६ मत छ। एमालेको मत १८ हजार ७४७ छ। त्यसैगरी राप्रपाको ६ हजार ७४, जसपाको ९ हजार ९७४ रहेको आँकडाले देखाउँछ। २३ वर्षकै उमेरमा सभासद् बनेका शाह निरन्तर सांसद यात्रामा रहेका छन्। गठबन्धनका अन्य दलको सहयोगले यस पटकको यात्रा झनै सहज हुने बताउँछन् उनी।

शाहका मुद्दा के के छन्, के छन् थ्रेट?
यस क्षेत्रमा मधेसी समुदायको बाहुल्यता रहेको छ। यद्यपि यस पटक शाहमाथि अन्तर्घातको आरोप लागेको छ। स्थानीय निर्वाचनमा शिवराज नगरपालिकामा कांग्रेसको पक्षमा नतिजा नआएपछि उनीमाथि यस्तो आरोप लागेको हो। यहाँ राप्रपाका अजय थापा मेयरमा निर्वाचित भए। कांग्रेस नगर समितिले शाहलाई पार्टीबाट निष्कासन गर्न सिफारिससमेत गरेको थियो। यद्यपि यो आरोप अस्वीकार गर्छन् शाह।

यस क्षेत्रमा यातायात, सिँचाइ समस्या मुख्य मुद्दा हुन्। सुकुम्वासी बस्तीको आफ्नै समस्या छन्। यस पटकका उम्मेदवारले यिनै एजेन्डालाई मुद्दा बनाएका छन्। शाहले जनताले आफूलाई निर्वाचित गराउने र यी मुद्दाहरूलाई समाधान गर्ने बताएका छन्। ’मेरो प्रतिस्पर्धा कसैसँग छैन, त्यसैले मेरो जित सुनिश्चित छ,’ शाहले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ