arrow

दार्चलामा कामका आधारमा बडूलाई भर, ठगुन्नालाई सकस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
dilendraprasad-badu-ganesh-singh-thagunna-darchula-election-2079.jpeg

दार्चुला । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता बडू र एमालेबाट ठगुन्नासहित ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

विगका निर्वाचन झै यसपालि पनि कांग्रेस र एमालेबीच कडा टक्कर हुने संकेत देखिएको हो । मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना २०६४ सालयता तेस्रो पटक आमानेसामने हुँदै छन् । २०६४ मा यी दुवैलाई माओवादीका लक्ष्मणदत्त जोशीले पराजित गरेका थिए भने २०७० मा बडूलाई ठगुन्नाले पराजित गरेका थिए ।

ठगुन्ना २०७४ मा पनि दोहोरिएका थिए भने बडू समानुपातिकतर्फको उम्मेदवार बने । त्यसअघि, २०४८ र २०५६ मा भने उनी सांसद चुनिएका थिए । 

एमाले–माओवादी वाम गठबन्धनबाट उम्मेदवार बनेका ठगुन्नाले कांग्रेसका विक्रमसिंह धामीलाई हराएका थिए । ठगुन्नाले २८ हजार ९९८ मत ल्याएका थिए भने धामीले २२ हजार २३३ मत ल्याएका थिए । 

यसपल्ट दुवै जना प्रत्यक्ष चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, सत्ता गठबन्धनविरुद्ध ठगुन्नालाई जित हासिल गर्न सहज छैन । २०७४ मा एमालेको जितको सारथी माओवादी अहिले कांग्रेससँग सहकार्य गरिरहेको छ ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

स्थानीय निर्वाचनमा एमालेले वडागत रूपमा २९ हजार ३९७ मत ल्याउँदा कांग्रेसले २१ हजार ५५४ र माओवादीले ७ हजार ८८१ मत पाएको थियो ।

जिल्लाका ९ स्थानीय तहमध्ये एमालेले २ नगरपालिकासहित ५ र माओवादीले ४ पालिका प्रमुख जितेका थिए । कांग्रेसले नेतृत्व लिन सकेको थिएन । ६१ वडामध्ये ३४ वडामा एमाले विजयी भएको थियो । कांग्रेसले १७ र माओवादीले १० वडाध्यक्ष जितेका थिए ।

विगतका निर्वाचनमा नेताहरूले दिएका आश्वासन पूरा नभएकाले पनि यसपालि मतदातमा चरम निराशा छ । यसको फाइदा बडूले उठाउन सक्ने चर्चा छ । 


बडूले आफूले जिल्लाको लागि सरकारमा छँदा र बाहिर रहँदासमेत काम गरेको भन्दै आगामी ५ वर्ष दार्चुलाको विकासका लागि जनताले जनमत दिने विश्वास व्यक्त गरे ।

उनले २०४८ सालदेखि जिल्लामा ठूला परियोजना भित्र्याएको बताउँदै विकासको निम्ति र मुलुकको स्थिरताका हिसाबले पनि आफूहरु जित्ने दाबी गरे ।

जिल्लाको विकासका लागि आफूले एडीबीका परियोजना, विद्युत उत्पादनका योजना, विद्युतीकरण, संचार सेवा विस्तार, शिक्षा क्षेत्रका महत्वपूर्ण काम, पर्यटकीय पूर्वाधार, खाद्य डिपो संचालन तथा जनजीविकाका सवालमा थुप्रै कामहरु गरेको उनको भनाइ थियो । 

‘विकास मैले गरँे भनेर ठगुन्नाले गीत मात्रै गाए जिल्लाको विकास जति मेरो पालामा मैले गरेको छु’, बडूले भने । 

एमाले उम्मेदवार ठगुन्नाले भने आफूले पाँच वर्षमा गरेको काम हेरेर आफूलाई जनताले मत दिने बताए । दार्चुलामा एमाले बलियो रहेको भन्दै सहजै जित्ने उनको दाबी छ । 

‘एमाले सांगठनिक रूपमा बलियो छ, जस्तोसुकै गठबन्धन भए पनि केही फरक पर्दैन । एमालेको जित सुनिश्चित छ,’ उनले भने ।

तर यसपालि सुदूरपश्चिमबाट एमाले निराश देखिएको बुझिएको छ । त्यसको आभाष भएरै अध्यक्ष केपी शर्मा ओली दुई पटक सुदूरपश्चिम पुगेका छन् । 

प्रतिनिधि सभामा सुदूरपश्‍चिमबाट एमाले शून्य हुँदै, यस्तो छ १६ वटै सिट गुमाउने आँकलन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ