arrow

रामेछापमा कान्छारामको पल्ला भारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
purnabahadur-tamang-kancharam-kailash-dhungel.jpg

काठमाडौं । रामेछापमा कांग्रेस र एमाले आलोपालो चुनाव जितिरहेका बेला यसपटक कांग्रेसले आफ्नो वर्चश्वलाई बढाउँदै लगेको छ । निर्वाचनको तीन दिन अघिसम्म कांग्रेसका नेता कार्यकर्ताहरुले निकै मेहनत गरेपछि यो अवस्था आएको बताइएको छ । 

१ लाख ८४ हजार मतदाता रहेको रामेछाप जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) एमालेका उम्मेदवार भन्दा धेरै अगाडि रहेको बताइए पनि एमालेका कैलाश ढुंगेलले पनि निकै चुनौती दिइरहेका छन् । 

गत स्थानीय तहमा दलहरुले ल्याएको भोटलाई आधार मान्ने हो भने गठबन्धनको तर्फबाट तामाङ एमालेका उम्मेदवारभन्दा ३० हजार भोटले अगाडि भए पनि एमालेका ढुंगेलले निकै चुनौती दिएका छन् ।  

रामेछापमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर घिसिङ तथा नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् । तर प्रमुख प्रतिस्पर्धा तामाङ र ढुंगेलबीचमै हुँदैछ ।  

गत स्थानीय तहमा वडा अध्यक्षमा पार्टीहरुले ल्याएको भोट हेर्दा रामेछापमा नेपाली कांग्रेसको भोट ४१ हजार ५१ छ । नेकपा (एमाले) को  ३९ हजार ३३ छ । यसैगरी  माओवादी २७ हजार ३९, तथा नेकपा (एस) १ हजार ५ सय ७० तथा  राप्रपाको ९ सय ३५ भोट छ । गठबन्धनको सबै मत खस्दा तामाङका लागि निकै सहज भएको छ । 

प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारबीचमा प्रतिस्पर्धा छ । तर प्रदेश सभाको एक क्षेत्रमा भने माओवादी र नेकपा (एस) का उम्मेदवारहरू आपसमा भिड्दै छन् । 

रामेछापमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेशसभाका दुवै क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । तर, केन्द्र र प्रदेश दुवैमा एउटा पनि सिट नपाएपछि नेकपा (एस) ले केन्द्र र प्रदेश गरी तीनवटै सिटमा छुट्टै उम्मेदवारी दिएको छ ।

केन्द्रमा दिएको उम्मेदवारीलाई नेकपा (एस) ले निष्कृय पारेको छ भने प्रदेश सभाको हकमा भने रामेछाप (क) मा दिएको उम्मेदवारीलाई भने एसका नेताहरूले अझै सक्रिय बनाएका छन् । 

रामेछाप (क) मा जसरी पनि जित्ने गरी एसका नेताहरुले प्रचार शुरु गरे पनि त्यहाँ प्रभावकारी हुन सकेन । यस क्षेत्रमा अहिले माओवादी र एमालेका उम्मेदवारबीचमै  प्रतिस्पर्धा छ । 

प्रदेशसभातर्फ रामेछाप (क) मा माओवादीबाट तारानारायण श्रेष्ठ, एमालेबाट शान्तिप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिक्मत सुनुवारले उम्मेदवारी दिएका छन् । 

यसैगरी रामेछाप (ख)बाट एमालेका मिलनकुमार घिसिङ, माओवादीका युवराज चौलागाई तथा एसका झम्कबहादुर कँडेलले उम्मेदवारी दिएका छन् ।

कँडेलले आफ्नो उम्मेदवारी निष्कृय बनाएका छन् । प्रदेश सभा (क) मा मुख्य प्रतिष्पर्धा एमाले, माओवादीबीचमा प्रतिस्पर्धा हुनेछ । ख मा माओवादी र एमालेवीच प्रतिष्पर्धा हुने भएको छ ।

रामेछापमा प्रतिनिधिसभामा ५ जना स्वतन्त्र छन् । तर, मतदाताहरूमा चर्चा र चासो भने प्रमुख दलका उम्मेदवारहरूकै छ । यसैगरी प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूको चर्चा र नाम छैन । 

रामेछापमा तामाङलाई एस पार्टीले सहयोग नगरे पनि आत्तिनु पर्ने अवस्था नभएकाले एसको असन्तुष्टिले खास महत्व नभएको कांग्रेसका नेताहरुले बताउँदै आएका छन् । 

उम्मेदवाररू साना साना कार्यक्रम गरी जनतालाई आकर्षित गर्ने गरेका छन् । तर रामेछापमा स्वतन्त्र उम्मेदवारहरु भने काँही भेटिन्नन् । रामेछापमा प्रतिनिधि सभातर्फ विक्रम लामा, चन्द्रबहादुर राउत, आङछेम्वो शेर्पा, कृष्णबहादुर भुजेल, रामकुमार लामाले उम्मेदवारी दिएका छन् । 

कांग्रेसका उम्मेदवार तामाङले विपन्न परिवारलाई समस्या पर्दा निःशुल्क हेलिकप्टरबाट उद्दार उडान गर्ने बताइसकेका छन् । उनले एउटा भाषणमा विपन्नसँग पैसा लिन्नँ, अरुसँग लागत मुल्य लिएर उद्दारमा सेवा दिन्छु भनेका थिए । उनले अहिले ५ सिट क्षमता भएको एउटा इक्वेरल हेलिकोप्टरले उडान शुरु गरेको छ । 

३ महिनामा कम्पनीले २ वटा हेलिकोप्टर संचालनमा ल्याउने दाबी गरेको थियो । रामेछाप विकासनै आफ्नो  एजेन्डा रहेको र अरुको जस्तो घर र गाडी किन्नुपर्ने आफ्नो अवस्था नभएकोले चुनाव जितेर विकास गर्ने मात्रै  एजेण्डा रहेको पनि उनले बताइरहेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ