arrow

संसदमा छुट्टाछुट्टै गठबन्धन बनाउने खेल, यसरी विवादमा फसे रवि लामिछाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
president-election-parties11.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संसदमा माओवादी केन्द्रसहित तीन दलको मोर्चा बन्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी सहितका सात दल पनि गठबन्धन बनाउने कसरतमा लागेका छन् । 

माओवादी, नेकपा एस र जसपाले संसदमा तेस्रो ठूलो शक्ति हुने गरी मोर्चा बनाउन कसरत गरेपछि रास्वपा लगायतका दलले यस्तो तयारी गरेका हुन् । 
रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउन लागेका हुन् । 

गठबन्धन बनाउने अन्तिम तयारीमा पुगेको स्रोतले जनाएको छ । माओवादीसहित नेकपा एस र जसपाले तेस्रो शक्ति निर्माण गरेर संसदमा ५४ सिटको मोर्चा बनाउने प्रयास गरिरहेका छन् । त्यसका लागि तीन दल लामो समयदेखि छलफलमा रहेका छन् । 

जनमत पार्टीले उपराष्ट्रपति निर्वाचनमा उठाएकी उम्मेदवार ममता झालाई रास्वपाले मत दिने निर्णयसँगै यस विषयमा आन्तरिक छलफल शुरु भएको हो । नयाँ बनेको गठबन्धनमा कांग्रेस र माओवादीले जसपा र नेकपा एसलाई मात्रै महत्व दिन थालेपछि उनीहरुले पनि आफ्नो अस्तित्व खोज्न यस्तो मोर्चा बनाउन लागि परेको जनमत पार्टीका एक नेताको दाबी छ । 

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । तर झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत भने दिएनन् । रास्वपाले भने जनमत पार्टीलाई भोट दिएको थियो । संसदमा दुवै नयाँ दल हुन् । 

जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्धा खेपिरहेकी विवादित महिला ममता झालाई उम्मेदवार बनाएको भए पनि भ्रष्टाचार विरोधी भनेर चिनाउन खोज्ने रास्वपाले उपराष्ट्रपतिमा भने उनै झालाई मत दिएको थियो । 

१० वर्षअघि साझा प्रकाशनको अध्यक्ष एवं महाप्रबन्धक हुँदा पदको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको थियो । यति मात्र होइन साझा डुबाउनेमध्येकी एक उनी पनि भएको आरोप लाग्ने गरेको छ । 

२०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो । साझाको भवन बनाउन रकम नपुगे पनि उनले आफ्ना लागि ८० लाखको गाडी किनेकी थिइन् । 

संसदमा मोर्चा बनाउने र शक्ति आर्जन गर्ने नाममा रास्वपा सभापति रवि लामिछानेले उनै विवादित उम्मेदवारलाई मत दिने निर्णय गराएका थिए । ‘भ्रष्टाचार विरोधी अभियानमा लागेका लामिछानेले ममता झालाई मत दिने निर्णय गराए । उनकै प्रस्तावमा झालाई मत लिनपर्छ भनेपछि अन्य सांसदहरले प्रतिवाद गरेनन् । चुपचाप बसे’, रास्वपाका एक सांसदले भने । उनका अनुसार अहिले जनमतसहित संसदीय मोर्चा बनाउने कसरत भैरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ