arrow

एमाले र माओवादीका नेताहरु चीन जान लामबद्ध, के छ देशहितको स्वार्थ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
uml-maobadi-new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उत्तरतर्फको छिमेकी मुलुक चीन भ्रमणका लागि एमाले र माओवादी केन्द्रका नेताहरू लामबद्ध हुन थालेका छन् । केही दिनअघि एमाले नेतृ तथा सांसद डा. अञ्जन शाक्य सहितको टोलीले चीन भ्रमण गरेर स्वदेश फर्के लगत्तै नेकपा एमालेका नेताहरूको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । 

उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको हो । यसपल्ट चीनले एमाले नेताहरूलाई प्राथमिकतामा राखेको छ ।
 
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरू १० दिने चीन भ्रमणमा जान लागेको हुन् । 

त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।  भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन् ।

केही दिनअघि एमालेबाट विभाजित भएको नेकपा एसका नेताहरू पनि चीन भ्रमणमा गएका थिए ।

त्यसैगरी अर्थमन्त्री वर्षमान पुन चीनको तीनदिने भ्रमणमा जाने भएका छन् । उनी असार २७ गते चीन जाने भएका हुन् ।

अर्थमन्त्री पुन चीनको बेइजिङमा आयोजित उच्चस्तरीय सम्मेलनमा सहभागी हुनेछन् । उनको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृतसमेत गरिसकेको छ । 

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ— २०८१ असार २७ गतेदेखि २९ सम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्रीको भ्रमण स्वीकृत गर्ने ।

कोभिड महामारीका कारण तीन वर्ष रोकिएको यात्रा सन् २०२३ को अप्रिल महिनादेखि सामान्य लयमा फर्किएसँगै नेपाल र चीन दुवै देशबाट उच्च तहका राजनीतिक नेताको भ्रमण तीव्र बढेको छ ।

सन् २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपालले चीन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको भ्रमण हुनुभन्दा पहिले उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एक साता लामो चीन भ्रमण गरेका थिए । 

यादवले युनान प्रान्तको राजधानी खुमनिङ्गमा आयोजित दक्षिण एसियाली व्यापार भेलाको प्रमुख अतिथि भएर २०२३ को अगस्ट १४ देखि २१ सम्म चीन भ्रमण गरेका थिए ।
 
नेपालबाट उपराष्ट्रपति सहभागी भएको मेलामा नेपालसहित दक्षिण एसियाली करिब ४५ देशका व्यापारीहरू सहभागी भएका थिए । उपराष्ट्रपतिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेशमन्त्री वाङ यी, युनान प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुखलगायत उच्चस्तरका राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । 

युनान प्रान्तस्थित युनान विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका यादव एक साता युनान प्रान्तका विभिन्न सहरको भ्रमण गरी नेपाल फर्किएका थिए ।

उपराष्ट्रपति यादवको भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेप्टेम्बर महिनाको अन्तिम साता दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन भ्रमणमा पुगेका थिए । 

प्रचण्डको चीन भ्रमणको पहिलो दिन एसियाली खेलकुद उद्घाटन हुनुभन्दा पहिले हाङ्चौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ अधिकारीसँग भेटवार्ता र छलफल भएको थियो । हाङ्चौंको एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ प्रधानमन्त्री ली छ्यागसँग भेटवार्ता गरेको थियो  ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि राजधानी बेइजिङमा आयोजना गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना १० वर्ष पुगेको अवसरमा अक्टोबर १८ देखि सुरु भएको बीआरआई फोरमको सम्मेलनमा सहभागी हुन सत्ता गठबन्धनका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए । 

सम्मेलनमा सरकारी पक्षबाट तत्कालिन गृहमन्त्री श्रेष्ठले सम्बोधन गरेका थिए । पूर्वप्रधानमन्त्री खनालले पनि सम्मेलनको एउटा सत्रमा सम्बोधन गरेका थिए । त्यसअघि गृहमन्त्री श्रेष्ठ सेप्टेम्बर महिनाको तेस्रो साता सिचुवान प्रान्तको छेङतुमा चार दिने भ्रमणका लागि आएका थिए ।
 
त्यसपछि, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नोभेम्बर महिनाको पहिलो साता चीन भ्रमण गरेका थिए । युनान प्रान्तको राजधानी खुमनिङ्ग आएका नेता नेपालको भ्रमण टोलीमा उनकै दल निकट नेता कार्यकर्ता थिए ।
  
बीआरआई सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री नेपालसँगै कृषिमन्त्री बेदुराम भुसाल पनि भ्रमणमा सामेल थिए । त्यसअघि, चिनियाँ राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा राष्ट्रिय सभाका तत्कालिन अध्यक्ष गणेश तिमिल्सिनाले नेतृत्व गरेको विभिन्न राजनीतिक दलको टोलीले २०२३ को जुलाईको दोस्रो साता   ११ दिने चीन भ्रमण गरेको थियो । 

त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेतृत्व गरेको २० सदस्सीय टोलीले २०२३ को मे महिनाको १९ देखि १० दिने चीन भ्रमण गरेको थियो । सो टोलीले छेन्तु, तिब्बत, कैलाश मानसरोवर, बेइजिङ, सियान र उहान सहरको भ्रमण गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रमुखसँग सापकोटाले भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बारेमा छलफल गरेका थिए । 

चीनले सापकोटा नेतृत्वको टोलीलाई चीनमा गरिबी निवारणका लागि गरिएका कार्यगत सफलताका बारेमा जानकारी गराएको थियो । त्यसपछि माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको टोलीले पनि चीन भ्रमण गरेको थियो । गुरुङको चीन भ्रमण प्रधानमन्त्री प्रचण्ड भ्रमणको तयारीमा मात्र केन्द्रित थियो ।
 
त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्व गरेको २१ सदस्यीय एमाले टोलीले चीन भ्रमण गरेको थियो । 

पोखरेल नेतृत्वको टोलीले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख एवं सीपीसीका पोलिटब्युरो प्रमुख लिउ जियनचाओसँग पनि भेटवार्ता गरेको थियो । सो भेटमा पोखरेलले चीनले यस वर्ष जारी गरेको चीनको राजनीतिक नक्साङ्कनमा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयमा छलफल गरेका थिए ।

बेइजिङपछि छिगहाईमा आयोजित समारोहमा सहभागी हुन पुगेका पोखेरल सो सम्मेलनमा सहभागी नभइ नेपाल फर्किएका थिए । पार्टीका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको आकस्मिक मृत्यु भएपछि उनी कार्यक्रममा सहभागी नभइ नेपाल फर्किएका थिए ।

 २०२२ को डिसेम्बर महिनाको दोस्रो साता एमाले उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एमाले नेता विष्णु रिजाल चीन भ्रमणमा आएका थिए । 

सीपीसीको निमन्त्रणमा त्यसअघि अप्रिल महिनाको अन्तिम साता एमाले नेता रिजाल र माओवादी केन्द्रका विदेश विभाग प्रमुख राम कार्कीले चीन भ्रमण गरेका थिए । 

त्यसैगरी माओवादी केन्द्रका नेता तथा सांसद हितराज पाण्डेको नेतृत्वमा आएको १९ सदस्यीय संसदीय टोली हालै नेपाल फर्किएको छ । सो टोलीमा माओवादी केन्द्र, कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ