arrow

एमालेमा ‘कू’ : वामदेवले नै हात झिकेपछि पार्टी फुट्ने निश्चित

logo
प्रकाशित २०७७ फागुन २९ शनिबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अब एमाले नै बचाउन नसक्ने निष्कर्षमा पुगेका छन् । नेकपामा ओली समूह र प्रचण्ड–नेपाल समूह सक्रिय रहेका बेलामा दुवैतिर नलागी ओली र प्रचण्ड–नेपाल समूहलाई मिलाएर एक ढिक्का अभियानमा लागेका वामदेव सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई नै ब्युँताइदिएपछि एमालेलाई संगठित गर्ने अभियानमा लागेका थिए । 

फागुन २३ गते सर्वोच्चले अचानक ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपालाई अवैध भन्दै पार्टी नै पुरानै स्थितिमा संचालन गर्न निर्देशन दिएको थियो । 

त्यसपछि माधवकुमार नेपाल पक्ष पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहलाई छाडेर एमालेतिर फर्किए । 

त्यसपछि सबै एमालेका नेताहरु एक ढिक्का भएर एमालेलाई बलियो पार्टी बनाउने योजनामा लागेका थिए । 

तर अचानक एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार (फागुन २८ गते) अचानक महासचिव बाहेकका पदाधिकारीलाई एकलौटी ढंगले हटाएपछि वामदेवको एमाले संगठित गर्ने योजना पनि तुहिएको छ । 

ओलीले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै वामदेवले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको प्रतिक्रिया दिएका छन् । 

गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,  ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो । वामदेव गौतम, नेता–नेकपा (एमाले) ।’

उनले सोही पोष्टमा लेखे, ‘सञ्चारकर्मी साथीहरु यो उहाँको आधिकारिक धारणा हो ।’

गौतम सर्वसम्मत उपाध्यक्ष बनाइएका थिए । तर शुक्रबार ‘कू’ गर्दैै ओलीले पार्टीको विधान नै मिचेर एकलौटी ढंगले पदाधिकारी हटाए । 

अध्यक्षको नाताले ओलीले सबै एमालेका नेता कार्यकर्तालाई मिलाएर लैजानुपर्नेमा स्वेच्छाचारी शैलीमा उल्टै एमाले नै टुक्राउने योजना बुनेपछि गौतम आक्रोशित भएका छन् । 

ओलीले महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेका छन् । 

वामदेवले नै पहिले एमाले र माओवादी केन्द्रलाई एकता गर्नका लागि विशेष भूमिका खेलेका थिए । २०७४ असोज १७ गते भएको एमाले र माओवादीको चुनावी एकता २०७५ जेठ ३ गते आएर पार्टी एकतामा परिणत भएको थियो । 

तर २०७७ को पुस ५ गते ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष छुट्टिएर समानान्तर पार्टी चलाउन थालेको थियो । दुवै समूह आधिकारिकता खोज्दै निर्वाचन आयोगमा धाएका थिए । 

आयोगले निर्णय दिएन । तर त्यसबीचमा सर्वोच्चले संसद ब्युँताइदियो । त्योसँगै पार्टी एक हुने अपेक्षा पनि गरियो । तर फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई नै अलग्याइदिएको थियो । 

पार्टी एकढिक्का गराउन लाग्ने वामदेव नै निराश भएर ओलीसँग मिलेर जान सक्ने अवस्था नरहेको बताएपछि अब पार्टी फेरि पुरानै अवस्थामा चल्ने सम्भावना लगभग समाप्त भएको छ । 

विधान मिचेर ओलीले एमालेका पदाधिकारी हटाएर माओवादी केन्द्रका रामबहादुर थापा बादल लगायतलाई केन्द्रीय सदस्यमात्र बनाएका छैनन् प्रदेशकै जिम्मेवारी तोकेका छन् । 

यी समाचार पनि पढ्नुस् –



नयाँ