arrow

पाँचथर बस दुर्घटना : १६ घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
helicoptor-army.jpg

पाँचथर । पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमा आज साँझ उद्धार गरिएको हो । 

सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । 

नेपाली सेनाको एम-१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पुर्‍याएको हो । घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो ।

फिदिम नगरपालिका-४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-४ सरखण्डेमा दुर्घटनामा परेको हो ।  

दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पुर्‍याइएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । 

फिदिमस्थित समर्पित अस्पतालमा नौ तथा पाथीभरा अस्पतालमा आठ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ