arrow

हचुवा डीपीआरको दुगर्तिः रोहिणी सिँचाइ योजनामा ३६ करोड स्वाहा 

logo
नारायण वली, 
प्रकाशित २०७८ फागुन २ सोमबार
rohini-sinchai-yojana.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकाको सीमानामा रहेको रोहिणी खोलामा हरेक वर्ष आउने बाढीले स्थानीयवासी र अन्नबालीमा असर पुर्याउँदै आएको छ । सोही समस्यालाई हल गर्नका लागि सो खोलामा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिँचाइ बाँध निर्माण गर्न थालिए पनि उक्त योजनाको डीपीआर हचुवाको भरमा गर्दा योजना निर्माण अवधि सकिए पनि योजना अझै सम्पन्न भएको छैन ।

आर्थिक वर्ष ०७२–०७३ मा डीपीआर स्वीकृत भएको सो योजनाको काम आर्थिक वर्ष ०७३–०७४ बाट गरिएको पाइएको छ। ४३ करोड २४ लाख ८६ हजार रुपैयाँमा हेडबक्स –बाँध, ड्यामसहित २८ करोड ४० लाख ६६ हजार र नहरतर्फ ८ करोड १ लाख २३ हजार लागतमा अर्घाखाँची बबुल जेभीले निर्माण गर्ने ठेक्का लियो । 

निर्माण गरिएको बाँधले पानीको बहाव थेग्न नसक्दा गत वर्षको वर्षातमा तिलोत्तमाको १० नं क्षेत्रका स्थानीयहरुको ज्यान जोखिममा पर्यो, लाखौंको अन्नबालीमा क्षति पुग्यो ।

देवदह नगरपालिकाको सिक्टहन र तिलोत्तमा नगरपालिकाको १०–१७ नं वडाको करिब १ हजार ५ सय हेक्टर जमीन सिँचाइ गर्ने योजना निर्माणकार्य सम्पन्न नहुँदै पुनः डिजाइनको काम अघि बढाइएको पाइएको छ। बाढीले बाँध वरपरको क्षेत्र डुवान हुँदा पुनः सिँचाइ योजनालाई रिडिजाइन गर्न थालिएको बताइएको छ ।

देवदह बायाँतर्फ २ हजार ६ सय ५५ लिटर प्रतिसकेण्ड पानीको बहाव क्षमता सहितको क्यानल तयार गरिएको छ भने तिलोत्तमातर्फ ९ सय ६५ लिटर प्रतिसकेण्ड पानी जाने क्यानल तयार गरिएको छ । 

तर विडम्बना, बाँध थुन्दा के कस्तो प्रभाव पार्ला भन्ने कुराको पूर्वानुमान नगरी बाँध निर्माण गर्दा करोडौं रुपैयाँ खर्चेर फेरि खोलाकै सतह अनुसार दुवैतर्फ पानी पास गराउने गरी पुनःडिजाइनको काम थालिएको छ । 

यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टंकबहादुर केसीले अहिले बनेको बाँधबाट पानी पास नहुने बर्खामा बस्ती डुवान हुने भएकाले प्राविधिक टोलीले उक्त योजनाको पुनः डिजाइन गर्न लागेको बताए । 

नयाँ डिजाइनलाई पर्यटनसँग जोड्ने गरी बाँध निर्माण गरिने उल्लेख छ । गत कात्तिकमा योजनाको ड्रोन सर्वे भइसकेको र रिपोर्ट आउन बाँकी रहेको प्रमुख केसी जनाए । 

हाल बाँधमा ६६ मिटरको ड्याम वायर निर्माण छ । २–२ मिटरका अण्डर सुल्स भए पनि पानी पास नहुँदा बस्ती डुवानमा पर्ने भएकाले दायाँ बाँयातर्फ २५–२५ मिटरका गेट राखेर पानी पास गर्ने गरी नयाँ डिजाइन जनाइएको छ । 

योजनाको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीको भनाइ छ । सम्झौता अनुसार ०७७ जेठ ३ गते सम्पन्न गर्नुपर्ने भए पनि पेटबनिया सामुदायिक वनभित्र क्यानल लैजानका लागि वनबाट स्वीकृतमा ढिलाइ हुँदा सम्पन्न नभएको देखाइएको छ ।

नयाँ डिजाइनमा पर्यटनलाई जोड्नका लागि देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाले २५–२५ लाख बजेट छुट्याएको पाइएको छ । मन्दिर, तालको दायाँ बायाँ साइक्लिङ रुट र रेष्टुराँको परिकल्पना गरिएको छ ।

यता देवदह नगरपालिकाका प्रमुख हिराबहादुर केसी भन्छन्, ‘योजनाको मुख्य उद्देश्य सिँचाइ हो । तर ठूलो जलाशय हुने भएकाले बौद्धकालीन संरचना निर्माण र बोटहरु सञ्चालनका लागि तिलोत्तमासँग समन्वय गरी डीपीआर तयार गर्न लागेका छौं ।’ 

त्यस्तै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले पहिले नै डीपीआर बनाउँदा गलत गरेकाले ३६ करोड सकेर रिसर्भे गर्नु हेलचेक्राइँ भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ