arrow

म्याग्दीको लाम्पाटा-दरबाङ सडक अलपत्र, निर्माण कम्पनी सम्पर्कविहीन

logo
रासस
प्रकाशित २०७९ जेठ १९ बिहिबार
sadak.jpg

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा-क्याराभान जेभी एक महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ । 

२०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुस महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो । 

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा-क्याराभानका प्रतिनिधिले काम सुचारु नगरेको बताए । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ”, उनले भने, “मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।” 

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । विसं २०७८ चैत महिनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । 

सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मङ्गला गाउँपालिका-२ रणवाङका श्रीराम पौडेलले बताए । “दुई तीन वटा ठेकेदार फेरिएका छन्, कसैले पनि काम पूरा गरेका छैनन्, अधकल्चो मात्रै बनाएर छाडेका छन्,” उनले भने “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका देखिन्छ ।” 

सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न निकै कठिनाई भइरहेको यातायात व्यवसायी शक्ति छिनालले बताए । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । 

लामा-समानान्तर जेभीले ठेक्का लिएको बेनी-सिम खण्डको साढे १२ किलोमिटर दुरिको बेनीदेखि सिमखण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनीदेखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानीदेखि सिमसम्मको सडकमा कालोपत्र गर्न थलिएका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए । 

विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य लिइएको थियो । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ । 

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी-दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ